जुम्लाको स्याउ : भविष्यसँगै चुनौती

  • जुम्ला / राजेश बर्मा
करिब एक शताब्दी अघि भारतको कस्मिरबाट बिरुवा ल्याएर जुम्लामा रोपिएका स्याउका बिरुवाका हांगाहरुमा यतिखेर फुल लागेर हावासंगै झुमेको देख्दा किसानहरु हर्षित भएका छन । हर्ष पनि किन नलागोस त । प्राकृतिक प्रकोप नआए यसपटक बोटले पर्याप्त उत्पादन दिने तय छ । यसबर्ष किसानहरु मनग्गै प्रतिफल लिने सुरसार कसेका छन । यो बर्ष स्याउ उत्पादनका लागि अन सिजन भएर पनि उनीहरु प्रफुल्ल देखिन्छ । स्याउको बोटमा लहलहाइरहेका फुलको मगमग बास्नाले किसानहरु झनै उत्साहित बनेका छन । 



अधिकांश किसानहरु यतिखेर घरमा भेटिदैंनन । उनीहरुलाई दिनभर स्याउको बोट स्याहार्दै वगैचामा मात्र देख्न सकिन्छ । बिक्रम सम्बत १९६० मा कस्मिरबाट ल्याइएका केही बिरुवाबाट जुम्लामा स्याउको सामान्य रुपमा प्रारम्भिक खेती गर्न सुरु गरिएको थियो । त्यतिन्जेल अव्यवसायिक रुपमा सुरु भएको स्याउको खेती यतिखेर व्यवसायिक रुप लिदैं गएको छ ।

अहिले हरेक घर परिबारका वगैचामा कम्तिमा १० वटा स्याउको बोट देख्नु अनिवार्य जस्तो नै मानिन्छ । स्याउको बोट मात्रै होइन । आरु र ओखरको बिरुवा पनि त्यति नै लहलहाइरहेका देखिन्छ । गत बर्ष असिना पानीका कारण बोटमै अधिकांश स्याउका दाना नष्ट भएर दुखित बनेका किसानहरु यसपटक मनग्गै आम्दानी सोहर्ने कुरामा ढुक्क छन । स्थानीय बासिन्दाको मूख्य आयस्रोत नै अहिले स्याउको उत्पादन बनेको छ । हो त नी यसपटक बोटबाट राम्रै आम्दानी लिने सोचमा छौं, पटमारा गाबिस ९ उर्थु चौताराका किसान मनवहादुर बिष्ट भन्छन, गत बर्षको घाटा पनि यस पटक निकाल्ने सोचमा यहाका किसान छन ।

जुम्लास्थित जिल्ला विकास समितिको गत २०६३ मा सम्पन्न १४ औं परिषदले जिल्लालाई अर्गानिक जिल्लाको रुपमा घोषणा गरेपछि यतिखेर यहां उत्पादन गरिएका स्याउसहित तरकारीहरुले बिशेष महत्व बोक्न थालेको छ । जुम्लेली बासिन्दाले अहिले कुनै पनि प्रकारका कृषि उपजमा रसायनिक मलको प्रयोग गर्दैनन । ‘अर्गानिक उपज भनेपछि स्वदेशी उपभोक्तादेखि विदेशी उपभोक्ताले बढी मूल्यमा खरिद गर्न तम्तयार हुन्छन । अगार्निक उत्पादन भनेपछि उपभोक्ता हुरुक्कै हुन्छन,’ अर्का किसान कर्ण बिष्ट बताउछन । जिल्ला विकास समिति, जिल्ला कृषि बिकास कार्यालयलगायत सरकारी र गैरसरकारी कार्यालयहरु मिलेर रसायनिक मल प्रतिवन्ध मात्रै लगाएका छैनन । कसैले रसायनिक मल भित्र्याए वा भित्र्याएनन भनेर कडाईका साथ उनीहरुले आफै अनुगमन पनि गर्दै आइरहेका छन । जिल्ला कृषि विकास कार्यालय जुम्लाका बागवानी विकास अधिकृत बिष्णुवहादुर महत यस्तै भन्छन ।                
                                                      
उनका अनुसार रसायनिक मल मुक्त जिल्ला घोषणा गरिएपछि हालसम्म जिल्लामा कसैले यस्ता प्रकारका मल भिल्लयाएको जानकारीमा आएको छैन । प्राङ्गारिक (अर्गानिक) मात्र उत्पादन गर्ने जिल्लाको रणनीतिका कारण जुम्लाको स्याउको लागि भविष्य सुनिश्चितसंगै चुनौती पनि थपिएको छ । एकातिर बजारको माग हवात्तै छ भने अर्कातर्फ अर्गानिक कृषि प्रणालीका कारण गुणस्तरयुक्त थोरै उत्पादनले किसानहरु लाई यतिखेर पिरोल्नसम्म पिरोलेको छ । 

बागवानी विकास अधिकृत महतको श›दमा भन्नुपर्दा अर्गानिक कृषि प्रणालीबाट बजारको माग धान्न ठुलै समस्या सिर्जना भएको छ । बजारको मागलाई धान्न पम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक प्रणालीबाट व्यवसायिक रुपमा खेती गर्नु आवश्यक देखिन्छ । यति मात्रले पुग्दैन । उत्पादन बढाउन जैविक विषादी र जैविक मलको आवश्यता पनि टड्कारै रुपमा देखिन्छ । त्यसपछि बाटोघाटो र ढुवानीको समस्या यथावतै छ । कर्णाली कोरिडर क्षेत्रमा सामान्य रुपमा कच्ची सडक बन्दा तुलनात्मक रुपमा किसानहरुले केही राहत पाएका छन।

वैज्ञानिक तवरबाट बोटबाट स्याउको दाना टिप्ने, प्याकिङ्ग गर्ने र ग्रेडिङ्ग गर्नेलगायतका समस्या पनि यथावतै रु पमा देखिएको छ । जुम्लामा अहिले गोल्डेन डेलिसस, रेड डेलिसस, रिचार्ड डेलिसस, रोयल डेलिसस, गोल्डन र जोनाथन गरी मूख्य गरी ६ प्रकारका स्याउको जात फल्दै र हुर्कदै छ । सबैभन्दा ठूलो बगैचा बनएर जुम्लामै अत्याधिक स्याउ फलाउने उर्थुका मनबहादुर बिष्टका अनुसार सुरु आत ताका उत्पादन हुने स्याउ स्थानीयबासिन्दाहरु ले आफै उपभोग गर्दै आएका थिए । 

तर पछिल्लो समयमा कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोष(आईफ्याड) को ऋण सहयोगमा कृषि तथा सहकारी मन्त्रालयले नेदरल्याण्डस विकास नियोग(एनएनभी) र नेपाल उद्योग बाण्ज्यि महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहयोगमा लागु गरेको उच्च मूल्य कृषि बस्तु विकास आयोजना(एचभिएपी) पछि स्याउको खेती प्रणालीले क्रमिक रु पमा कांचुली फेर्दै गएको छ । एचभिएपीले जुम्लाको स्याउलाई विशेष प्राथमिकतामा समावेश गरेपछि स्थानीय किसानहरुका लागि स्याउ खेतीदेखि बजारीकरण गर्नसम्म सजिलो भएको छ। एचभिएपी लागु भएपछि रोजगारी समस्या न्युनिकरण हुनुका साथै गरिवी न्युनिकरणमा पनि सघाउ पु:याएको छ। सामान्य किसान परिबारले पनि यस खेतीबाट बार्षिक रुपमा ३० हजार आम्दानी गर्न थालेका छन। एचभिएपीले उत्पादनदेखि उपभोक्तासम्मबीच भरयाँङ बनाएर पुल निर्माण गरिदिएका कारण पनि किसानहरु हौसिएका छन।

सुरुमा बोट रोपेर स्याउको खेती गर्न सुरु गरेको बिष्टले अहिले ४ सय बोटबाट बर्षेनी १ सय ५० मेट्रिक टनसम्म स्याउको दाना उत्पादन गर्दैआएका छन। जिल्लामा ३९ जना किसान स्याउको खेतीका लागि प्रसिद्ध छन । उनीहरु स्याउका सबैभन्दा ठूलो किसानको रु पमा गनिन्छन । गत आर्थिक बर्ष ०६७/६८ देखि ६ बर्षको लागि लागु भएको एचभिएपीका कारण स्याउका व्यापारी पनि अहिले किसानकै घर आंगनमा आइपुग्दा उनीहरुलाई अहिले झन हौसिएका छन । 

‘स्याउको बजार खोज्न अहिले हामीलाई कुनै समस्या छैन,’ जुम्लास्थित उद्योग बाण्ज्यि संघका निवर्तमान अध्यक्ष सर्पानन्द हमाल भन्छन,‘ठूला व्यापारीहरु अहिले घर आंगनमा आएर स्याउ किनेर लानुहुन्छ ।’ व्यापारीहरु बर्षको एकपटक मात्रै होइन । स्याउको बोट गोडमेल गर्ने र बोटमा फुल लागेको बेला पनि जुम्ला पुग्ने गरेको हमाल बताउछन । राजधानीका ठूला व्यापारीमध्ये एक भिमप्रसाद हुमागाई गत बर्षदेखि स्यानीय स्याउ खरिद गर्न आफै जुम्ला आउने गरेको बताउछन। उनका अनुसार मुलुकभर खपत हुने स्याउको अवस्थालाई हेर्दा जुम्लामा कम्तिमा बार्षिक २ सय मेट्रिक टन फलाउनुपर्ने स्थिति छ।

बीएच इन्टरप्राइजेज सञ्चालन गर्दै आएका हुमागाईले मात्र बर्षेनी १० करोड मूल्य बराबरको स्याउको कारोबार गर्दै आएका छन । उनले गत बर्षदेखि जुम्ला, मुगु र डोल्पामा फल्ने स्याउ आफै पुगेर खरिद गरेर राजधानीलाई मुलुकभरका शहरमा बिक्रि बितरण गर्दैआएका छन । गत बर्ष हुमागाईले जुम्ला, मुगु र डोल्पाबाट ४० मेट्रिक टन स्याउ खरिद गरेका थिए । हुमागाई चीनबाट पनि स्याउ खरिद गरेर नेपालमा बिक्रि बितरण गर्दै आएका छन । सातामा ४४ लाख मूल्य बराबरको दुई कन्टेनर स्याउ चीनबाट ल्याउदै आएका छन ।

करिब ७ हजार फिटदेखि २१ हजारको उचाईमा रहेको जुम्ला जिल्लाको ३० वटै गाउ विकास समितिको हावापानी एकनास भएकाले स्याउ खेतीको लागि सर्वोत्तम स्थान मानिन्छ । राष्ट्रिय जनसंख्या २०५८ अनुसार यस जिल्लाको कूल जनसंख्या ८६ हजार ६ सय ३ रहेको छ । करिब ७५ प्रतिशत स्थानीय बासिन्दाले कृषि क्षेत्रमै लगानी गरेका छन । यसमध्ये अधिकांशको आर्थिक जोहोको आकर्षण केन्द्र विन्दु स्याउ खेती नै हो । कूल कृषि योग्य क्षेत्रफल ३९ हजार ४ सय ८६ हेक्टरमध्ये गत आर्थिक बर्ष ०६७/०६८ सम्म २ हजार २ सय ५० हेक्टरमा स्याउ खेतीको बिस्तार गरिएको थियो।

सरकारी तथ्यांकलाई हेर्ने हो भने हाल ४ सय ५० हेक्टरमा लगाइएको स्याउको बोटले फल दिदैं आएको छ । एक हेक्टरको बोटबाट ९ मेट्रिक टन स्याउ फल्ने सरकारी कार्यालयको दावी छ । ४ सय ५० हेक्टरबाट ४ हजार ५० मेट्रिक टन स्याउ फल्ने सरकारी दावी भएपनि स्थानीय किसानहरु ले भने कूल करिब ८० मेट्रिक टन मात्र गुणस्तरयुक्त प्राङ्गारिक स्याउ फल्ने गरेको बताएका छन । एक रोपनीमा २० वटा बोट हुन्छन । प्रति बोटबाट सय किलोसम्म स्याउ फल्ने गरेको स्थानीय किसानहरु बताउछन । 'मौसमले साथ दिएको बर्षमा सय किलोसम्म स्याउ फलेको छ,' स्थानीय कमला बिष्टले बताइएन । गत बर्षको सरकारी तथ्यांक हेर्ने हो भने ७० मेट्रिक टन स्याउ फलेको देखिन्छ । बांकी क्षेत्रफलमा बिस्तारै बिरुवा रोप्ने, हुर्काउने र स्याहार गर्ने क्रम जारी छ । एउटा बोट परिपक्व भएर फल्ने झण्डै आठ बर्ष कुर्नुपर्छ ।

कृषि बिकास कार्यालयले चालु आर्थिक बर्षमा ४ हजार ५ सय मेट्रिक टन स्याउ फल्ने अपेक्षा गरेको छ । गत बर्षको सरकारी तथ्यांकलाई हेर्दा १ सय २५ मेट्रिक टन स्याउ जुम्लाबाट बाहिरिएको देखिन्छ । स्याउ व्यापारीहरुका अनुसार मुलुकको स्याउको मागलाई धान्न जुम्लामा मात्र कम्तिमा २ सय मेट्रिक टन स्याउ फलाउनुपर्ने हुन्छ । ‘अहिले हम्मे हम्मे गरी ७० मेट्रिक टन उत्पादन गर्न पनि समस्या हुन्छ,’ कमला विष्ट भन्छिन । जुम्लामा उत्पादन हुने कुनै पनि अबस्थाको स्याउ खेर जादैंन । राम्रा र गुणस्तरयुक्त दाना बिक्रि हुन्छ । केही कमसलको चाना बनाएर सिकुटी र अझ कमशलको रक्सी(मार्फ) बनाएर बिक्रि गर्ने चलन छ । भएन त एउटा उत्पादनबाट तीनथरीको व्यापार। उत्पादन हुने स्याउको अन्तराष्ट्रियस्तरको गुणस्तर निर्धारित प्रमाणपत्र समेत यही उपलब्ध भएकाले पनि स्थानीयलाई स्याउ बिक्रि गर्न सजिलो भएको छ।

कम छैनन चुनौती पनि
अर्गानिक खेती प्रणालीसंगै अहिले जुम्लाका किसानहरु माझ जैविक मल र बिषादीको अभाव पनि त्यतिकै खडकिएको छ । भेडाको मलमुत्रबाट जैविक मल(गोठे मल) बनाएर स्याउको बोटमा प्रयोग गर्दैआएका जुम्लाका बासिन्दाले घासको अभावमा भेडा पालन गर्न बिस्तारै छाडेकाले यतिखेर स्याउका बोटका लागि जैविक मल तयार गर्न समस्याबाट गुज्रदै आएका छन। रसायनिक मलको प्रयोग गर्दा बढी उत्पादन दिने बोटले जैविक मल र बिषादीको अभावमा तुलनात्मक रुपमा कम उत्पादन दिदैं आएको छ। भण्डारण गर्ने कक्षको अभावमा पनि उत्पादन हुने स्याउमध्ये करिब ५० प्रतिशत जति खेर जाने क्रम पनि यथावत छ। फलेका स्याउलाई हवाईजहाजमार्फत मुलुकका विभिन्न स्थानमा पु:याउन लाग्ने ढुवानी खर्च पनि ठूलो चुनौतिको रुपमा देखिएको छ।

Comments

Post a Comment