नेपालीको रोजाईमा जिउँदो माछा



राजेश बर्मा 
केही समययता राजधानीमा जिउँदो ताजा माछाका उपभोक्ता निकै बढेका छन्। राजधानीको घरमा बसेर बारा र चितवनको ताजा जिउँदो माछाको स्वाद लिन उपभोक्ता पल्किसकेका छन्। मृत माछाभन्दा केही महँगो हुने जिउँदो माछा स्वास्थ्यका लागि उत्तम मानिएकाले पनि उपभोक्ता हुरुक्कै भएका छन्। अन्य मासुजन्य उत्पादनभन्दा बहुउपयोगी गुणको खानी मानिएको माछा स्वास्थ्यका लागि राम्रो मानिन्छ। 


अन्य जनावरको मासुको तुलनामा माछाको मासुमा भिटामिन, मिनरल, ओमेगा, क्यालोरी, केमिनो एसिडलगायतका तत्व पर्याप्त पाइने भएकाले यसको उपयोगिता बढ्दै गएको हो। स्वच्छ र ताजा माछाको नियमित सेवनले क्यान्सर रोगी, मुटुरोगी, मस्तिष्क रोगी र गर्भवती महिलालाई फाइदा पुर्‍याउँछ।


माछा नियमित सेवन गर्दा बालबालिकाको स्मरण शक्तिमा समेत वृद्धि हुन्छ।जिउँदो माछा भित्रिनुमा भारतीय माछामा फर्मालिन रसायन प्रयोग भएको हल्लाले महत्वपूर्ण भूमिका खेलेको छ। फर्मालिन प्रयोग भएको माछा खाँदा रोग लाग्न सक्छ भन्ने बुझेका राजधानीका उपभोक्ताले विकल्प खोज्दै गएपछि जिउँदो माछाको व्यवसाय सुरु भएको हो। हल्लैहल्लाबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट माछा भित्रिने मुख्य ६ नाकामा स्थलगत अनुसन्धान नै गरेको थियो। 


तर, मानिसको स्वास्थ्यसँग खेलबाड गर्नेगरी फर्मालिन प्रयोग नभएको विभागले पुष्टि गरेपछि उक्त व्यवसायले पुनर्जीवन पाएको थियो।सर्वसाधारणले विकल्प खोजेपछि मत्स्य विकास निर्देशनालयका निर्देशक रामानन्द मिश्रले माछा व्यवसायी तथा किसानलाई जिउँदो माछाको व्यवसाय सुरु गर्न सुझाएका थिए।

यसैलाई आधार मानेर सबैभन्दा पहिले भैरहवामा जिउँदो माछाको व्यवसाय सुरु भयो। त्यसपछि मत्स्य व्यवसायी संघले राजधानीमा सुरुआत गर्‍यो।  सुरुताका १० दिनमा दुई सय ५० किलो पनि बिक्री नहुने जिउँदो माछाको बजार हाल नपत्याउँदो रूपमा फैलिएको छ। अहिले राजधानीमा दैनिक साढे १५ क्विन्टलसम्म जिउँदो माछाको कारोबार हुन्छ।

राजधानीमा जिउँदो माछा भित्र्याउने श्रेय जान्छ पाँचजना माछा व्यवसायीलाई। नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरी, उपाध्यक्ष छोटेलाल चौहान, कोषाध्यक्ष विनोद चौधरी, सदस्य मधुसूदन अधिकारी र बारा जिल्लास्थित संघका अध्यक्ष जंगबहादुर साहले २०६९ सालबाट बारा र चितवनबाट जिउँदो माछा ल्याएर राजधानीमा बिक्री गर्न थाले। 

यो व्यवसाय त्यति सजिलो भने थिएन। उनीहरू प्राविधिक रूपमा जानकार थिएनन्, जसका कारण पहिलो गाँसमै ढुंगा भनेझैं भयो। पाँचैजनाले तीनतीन लाख गरेर १५ लाखको लगानीमा बारा र चितवनबाट जिउँदो माछा भित्र्याउन सुरु गरेका थिए। 

'तर प्राविधिक र वैज्ञानिक जानकारी नहुँदा पहिलो खेपमै ठूलो घाटा बेहोर्नुपर्‍यो,' अध्यक्ष गिरीले भने, ‘जिउँदो माछा ल्याउन सतर्कता अपनाउनुपर्ने रहेछ। तर यस विषयमा कतैबाट जानकारी नपाउँदा झन्डै ७५ प्रतिशत माछा बाटामै मरे।'

सुरुमै घाटा भएपछि पाँचजनामध्ये चारजनाले उक्त व्यवसायबाट हात झिके। बाराका जंगबहादुर साहले भने जिउँदो माछा व्यवसायको बिँडो थाम्ने साहस गरे। उनै जंगबहादुरका कारण अहिले राजधानीमा छ्याप्छयाप्ती जिउँदो माछा पाइन्छ र उपभोक्ताको भान्छामा ताजा माछा पाक्दै आएको छ।

नेपालमै सबैभन्दा बढी माछा उत्पादन हुने जिल्ला बाराबाट साहले एक सय ५० किलो माछा ल्याएर व्यवसाय थालेका थिए, अहिले चितवनबाट समेत आयात गरी दैनिक साढे १५ क्विन्टलसम्म माछा बिक्री गर्छन्। अहिले उनी वार्षिक करिब १४ करोडको जिउँदो माछाको कारोबार गर्छन्। बाराका ९६ गाविसको साढे ६ सय पोखरीमा माछा उत्पादन हुन्छ। व्यवसाय फस्टाउँदै गएपछि उनले १२ हजारदेखि १५ हजार मासिक तलबमा काठमाडौंमा तीनजना र बारामा आठजनालाई रोजगारीसमेत दिएका छन्।

जिउँदो माछाका खरिदकर्ता स्वास्थ्यप्रति बढी सचेत कर्मचारी, उच्च घरानियाँ र मध्यम वर्गीय उपभोक्ता रहेको जानकारी गराउँदै उनले भने, 'होटेल तथा रेस्टुराँले पनि जिउँदो माछा उपभोग गर्ने हो भने यो व्यवसाय थप फस्टाउँथ्यो। होटेल र रेस्टुराँमा सतप्रतिशत भारतबाट आयातित माछा पाक्छ।'

 जिउँदो एक किलो माछाको मूल्यमा मरेको दुई किलो माछा खरिद गर्न पाएपछि होटेल तथा रेस्टुराँलाई मरेकै माछाबाट धेरै फाइदा भएको उनको कथन छ। जिउँदो माछाको कुल मागमध्ये करिब ६० प्रतिशत राजधानीमा खपत हुन्छ। उनका अनुसार राजधानीमा जिउँदो माछाको थोक मूल्य चार सयदेखि चार सय ५० रुपैयाँ तोकिएको छ। मरेको माछा भने एक सय ४० देखि दुई सय ९० सम्ममा पाइन्छ।


राज्यबाट अपेक्षा
सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर जिउँदो माछाको व्यवसाय सुरु गरिए पनि राज्यले हालसम्म प्रविधि र बजारीकरणका लागि सहयोग नगरेको साहको गुनासो छ। 'कृषि विकास मन्त्रालयबाट हालसम्म बजारीकरण र प्राविधिक विषयमा कुनै सहयोग प्राप्त भएको छैन,' उनले भने। 

उनका अनुसार बालाजु र कालीमाटी बजारमा पसल राख्न पाऊँ भन्दै दुई वर्षदेखि पहल गरे पनि राज्यले सुनुवाइ गरेको छैन। माछा आयात गर्न वातानुकूलित (एसी), अक्सिजन तथा पानीसहितको विशेष भ्यान आवश्यक पर्छ। सुलभ रूपमा त्यस्तो भ्यान उपलब्ध गराइदिन पहल गरेको पनि दुई वर्ष नै पुग्यो। 'तर त्यो पनि सुनुवाइ भएको छैन,' उनले भने।

मत्स्य विकास निर्देशनालयका निर्देशक मि श्रका अनुसार पछिल्लो समयमा जिउँदो माछाको लोकप्रियता बढ्दै गएपछि सरकारले चालू आर्थिक वर्षदेखि माछा ढुवानी गर्ने सवारीसाधन आयात गर्दा भन्सार शुल्कमा ५० प्रतिशत छुट गरेको छ। उनका अनुसार माछाले राष्ट्रिय गार्हस्थ उत्पादनमा एक प्रतिशत तथा कृषि गार्हस्थ उत्पादनमा तीन प्रतिशतले योगदान पुर्‍याएको छ। निर्देशनालयका अनुसार ५६ जिल्लामा माछा उत्पादन हुन्छ। 

तराईका २०, मध्य पहाडका ३० तथा हिमाली क्षेत्रका ६ जिल्लामा माछा उत्पादन हुन्छ।सरकारले आगामी पाँच वर्षमा नेपाललाई माछामा आत्मनिर्भर बनाएर आगामी १५ वर्षमा प्रतिव्यक्ति प्रतिवर्ष खपत हुने माछाको भाग बढाउने योजना अघि सारेको छ। 

‘योजनाअन्तर्गत अहिलेको प्रतिव्यक्ति वार्षिक खपत २.३ किलोलाई बढाएर १० किलो पुर्‍याउने लक्ष्य छ,' मिश्रले भने। नेपालमा ८० प्रतिशत आफ्नै उत्पादन र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशत भारतीय र ३५ प्रतिशतमात्रै स्वदेशी उत्पादन उपभोग हुन्छ। यसअनुसार राजधानीमा दैनिक १२ हजार मेट्रिक टन भारतीय र पाँच हजार मेट्रिक टन स्वदेशी माछा बिक्री हुन्छ । कालीमाटी बजारमा मात्रै वार्षिक चार हजार मेट्रिक टन भारतीय माछा आयात हुन्छ। 

राजधानीमा भारतबाहेक सिंगापुर, थाइल्यान्ड र भियतनामबाट पनि माछा आयात हुन्छ । गत आर्थिक वर्षमा नेपालमा ६९ हजार पाँच सय मेट्रिक टन माछा उत्पादन भएको थियो। निर्देशक मिश्रका अनुसार हरेक व्यक्तिले स्वस्थताका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार वार्षिक २८ किलो माछामासु उपभोग गर्नुपर्ने हुन्छ। नेपालमा भने माछामासु उपभोग प्रतिव्यक्ति १४ किलोमात्र छ।

यसमा माछाको हिस्सा दुई किलो तीन सय ग्राम छ भने बाँकी हिस्सा कुखुरा, खसीबोका, राँगा, बंगुरलगायतको छ। नेपालीलाई आवश्यक थप १४ किलो मासुजन्य उत्पादन आपूर्ति गर्न माछा पहिलो र उत्तम विकल्प रहेको विज्ञको तर्क छ। मिश्रले माछा खरिद गर्दा केही सावधानी अपनाउन सुझाव दिएका छन्। माछालाई सुँघ्दा पिरो गन्ध आएमा त्यसमा फर्मालिन हालिएको हुन सक्ने भन्दै त्यस्तो माछा खरिद नगर्न आग्रह गरे।

जंगवहादुर साह
'घाटा हुँदा पनि हरेस खाइनँ'
अहिले बारा र चितवनबाट दैनिक १५ क्विन्टलभन्दा बढी जिउँदो माछा ल्याएर राजधानीका ५२ देखि ५५ वटा पसलमार्फत बिक्री गर्ने व्यवस्था मिलाएको छु।  पोखरा, दाङ, सिन्धुली, बर्दिया र चितवनमा पनि जिउँदो माछा बिक्री गर्ने व्यवस्था छ। सँगै काम सुरु गरेका चारजनाले पहिलो पल्ट नै घाटा लागेपछि हात झिके तर मैले हरेस खाइनँ।

भर्खरै सञ्चालनमा आएको बल्खु तरकारीबजारमा डेढ लाखको लगानी गरेर एक्लै सुरु गरें। तर प्राविधिक जानकारी नहुँदा फेरि लगानी डुब्ने खतरा भयो । जिउँदो माछा ढुवानी गर्न आवश्यक पर्ने प्राविधिक जानकारी लिन भारतको आन्ध्र प्रदेशका विभिन्न स्थान पुगें। माछाविज्ञसँग सल्लाह लिएर व्यवस्थापन गरें। त्यसपछि असफलता बेहोर्नुपरेको छैन। राजधानीमा जिउँदो रहु, कमन, ग्रास, बिगठ, सिल्भर, नैनी, कत्लेजातका माछा बिक्री गर्छु। 

बिहान ४ बजे नै माछा आइपुग्छन्। पानी र अक्सिजन सुविधा भएका ६ वटा मिनी टाटामा माछा भित्र्याउँछु अनि भाग लगाएर बल्खु, कुलेश्वर, कलंकी, गोंगबु, सामाखुसी, बसुन्धरा, पेप्सीकोला, नयाँबानेश्वर, भक्तपुर, बालाजु, इमाडोल, नख्खुपोट, खुमलटार, थानकोट, चाबहिललगायत स्थानका ५५ भन्दा बढी पसलमा पुर्‍याउँछु।

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठमा प्रकाशित
प्रकाशित मिति २०७२ भाद्र २६ शनिबार
http://www.annapurnapost.com/News.aspx/story/18962

Comments

  1. Hello there and thank you for an incredible article. I truly simply cherish your website. I will bookmark it and returned for additional.
    Slim 24 Pro | Fair look | Zero Addiction | Air sofa

    ReplyDelete

Post a Comment