खाद्यान्नमा ठूला व्यापारीको कालोबजारी



राजेश बर्मा

काठमाडौं / भारतबाट दैनिक उपभोग्य सामग्रीको आपूर्ति बन्द भएपछि ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि गरेका छन् । ठूला व्यापारीले भन्सार विभागले मूल्यांकन शुल्क बढाएको र बन्दका कारण ढुवानी खर्च बढेको भन्दै मिलोमतो गरेर चामल र खानेतेलको मूल्यमा बढाएका हुन् । 

चामलमा प्रतिकिलो पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म र खानेतेलमा ३० रुपैयाँ बढी थपेर उपभोक्तालाई ठग्दै आएका छन् । सोयाबिन र सनफ्लावर तेलको मूल्य वृद्धि गरिएको छ । व्यापारीले मिलोमतोमा कालोबजारी गर्न सुरु गरे पनि सरकारी निकायले नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।


खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला विक्रेताले अहिले चामल र खानेतेलको उपभोक्ता मूल्यमा वृद्धि गरेको बताए । ढुवानी खर्च र भन्सार मूल्यांकन बढेको भन्दै थोक व्यापारीले मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्यमा वृद्धि भएको उनले जानकारी दिए । 

उनका अनुसार पछिल्लो डेढ साता यता भारतीय सीमाबाट खाद्य वस्तु आयात भएको छैन । उनका अनुसार करिब तीन साताअघि आयात भएको खाद्य वस्तु ठूला व्यापारीसँग मौज्दात छ । 

‘बाहिरबाट खाद्य पदार्थ आउँदै नआएपछि ठूला व्यापारीले भनेअनुसार बढेको भन्सार शुल्कको आधारमा कसरी खाद्य वस्तु भित्रियो’ ,अध्यक्ष बज्राचार्यले भने, ‘पहिलेदेखि सञ्चित गरेर राखेको सामग्रीमा कुनै पनि बहानामा मूल्य वृद्धि गर्न पाइँदैन् ।’

 उनले यो विषयमा आवश्यक कदम चाल्न सोमबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य तथा आपूर्ति विभागलाई जानकारी गराएका थिए । तर हालसम्म कुनै सुनुवाइ भएको छैन । ‘सोमबार नै सिडियो र वाणिज्यका महानिर्देशकलाई जानकारी गराए पनि कुनै चासो देखाइएको छैन्’ ,बज्राचार्यले भने, ‘आफूखुसी कृत्रिम मूल्य कायम गरिएको छ ।’

थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भट्टले भन्सार विभागले केही साताअघि मूल्यांकन शुल्क बढाउनु र बन्द हडतालका कारण ढुवानी खर्च वृद्धि भई चामल र खानेतेलको मूल्यमा वृद्धि भएको दाबी गरे । उनले भने, ‘केही साता अघि चामलको भन्सार मूल्यांकनमा शुल्क वृद्धि गरिएको थियो । भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले हाल कुनै पनि भन्सार मूल्यांकन वृद्धि नगरिएको जानकारी दिए । 

‘सरकारले दुई महिना यता कुनै पनि भन्सार मूल्यांकन शुल्क बढाएका छैन’ ,उनले भने, ‘व्यापारीले विभिन्न बहानाबाजी गरेर आफूखुसी मूल्य थपेर कालोबजारी गरेका छन् । भन्सार शुल्कमा कुनै वृद्धि भएको छैन ।’

भन्सार विभागअन्तर्गतकै मूल्यांकन शाखाका निर्देशक मुक्ति पाण्डेका अनुसार पछिल्लो दुई महिना यता चामलको भन्सार मूल्यांकन शुल्क वृद्धि नगरिएको जानकारी दिए । उनले भने, ‘मूल्य वृद्धि भएको छैन । पछिल्लो समयमा सीमा अवरोधका कारण करिब सात दिनदेखि चामल आयात भएको छैन ।’

वाणिज्य तथा आपूर्ति विभागमा महानिर्देशक शम्भु कोइराला मूल्य वृद्धिबारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । उनले भने, ‘वास्तविकना के हो म विस्तृत रूपमा अध्ययन गरेर आवश्यक कदम चाल्ने छु ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आफूले यो विषयमा जानकारी प्राप्त गरेको बताए । उनले आवश्यक छानबिन गरेर दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०७२ आस्विन १७ आईतवार
http://www.annapurnapost.com/News.aspx/story/20100

Comments