चीनियाँ ‘खानेतेल’ खान अयोग्य


एसिडको मात्रा उच्च भेटियो 
राजेश बर्मा
काठमाडौं / चीनियाँ सरकारले अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराएको तोरीको खाना पकाउने तेल (कुकिङ्ग आयल) ‘न्युन गुणस्तर’ अबस्थामा भेटिएको छ । न्युन गुणस्तर अवस्थाको खाने तेल मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।

चीनियाँ सरकारले गत् पुस एक गते १० लाख आरएमबी मूल्य बराबरको पहिलो चरणअन्तर्गत उपलब्ध गराएको अनुदान सहयोग वापतको कुकिङ्ग आयल(खाने तेल) न्युन गुणस्तर अवस्थामा भेटिएको हो । खानेतेलमा मानव स्वास्थ्यलाई हानी गर्ने गरी एसिडको मात्रा उच्च मात्रामा भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागकाअनुसार लामो समयसम्म असुरक्षित रुपमा राखिएको अत्यन्त पुरानो खानेतेलमा एसिडको मात्रा(भ्यालु) उच्च मात्रामा भेटिन्छ ।

कृषि बिकास मन्त्रालयका अनुसार खानेतेलमा एसिडको मात्रा ०.५ मात्रै हुनुपर्छ । ‘तर चीन सरकारले अनुदानमा उपलब्ध गराएको खाने तेल खाद्य ऐनको मापदण्ड विपरित एसिडको भ्यालु १.३ देखि १.४ पाइएको छ’, मन्त्रालयका एक अधिकारीले भने,‘यस्तो खानेतेल मानव स्वास्थ्यका लागि निक्कै हानिकारक मानिन्छ । उच्च मात्रामा एसिडको मात्रा भेटिने खाने तेल प्रयोगमा ल्याउन अनुमति दिन सकिदैंन् । अनुदानमा प्राप्त भएको खानेतेललाई के गर्ने भनेर सरकारले नै आधिकारिक रुपमा निर्णय गर्नुपर्छ ।’ कृषि मन्त्रालयकाअनुसार चामल, खानेतेल र नुनको नमूनाको गहन बिश्लेषण गर्दा खानेतेल न्युन गुणस्तर अवस्थामा फेला परेको हो ।
चीन सरकारले अनुदान सहयोगमा नेपाल खाद्य संस्थानलाई खाने तेल ५३ वटा ड्रममा १० हजार ६ सय लिटर, तीन सय ९८ बोरामा ९९.५० क्वीन्टल(नौं हजार नौं सय ५० किलो) नुन र एक हजार एक सय ९७ बोरामा दुई सय ८७.९८ क्वीन्टल (२८ हजार सात सय ९८ किलो) अरबा चामल उपलब्ध गराएको थियो । 

संस्थानका महाप्रवन्धक शिवहरी श्रेष्ठले  प्राप्त भएको तीनवटै खाद्य पदार्थको नमूना आवश्यक परीक्षणका लागि पुसको अन्तिम साता खाद्य बिभागमा पठाइएको जानकारी गराएपनि गुणस्तर परीक्षण प्रतिवेदनको बारेमा जानकारी दिन मानेनन् । ‘चामम, तेल र नुनको नमूना खाद्य विभागमा परीक्षणको लागि पठाएका थियौं’, महाप्रवन्धक श्रेष्ठले भने,‘चामल र नुनको प्रतिवेदन राम्रै आएपनि तेलको गुणस्तरको बारेमा मलाई कुनै जानकारी प्राप्त भएको छैंन् ।’

संस्थानले उक्त तेल प्रति लिटर एक सय ५० देखि एक सय ८० रुपैयाँ र चामल ४० देखि ४५ रुपैयाँ प्रति किलो बिक्रि गर्ने तयारी गरेको छ । यसैगरी नुन साल्ट ट्रेडिङ्ग कर्पोरेशनले निर्धारण गरेको मूल्यमा नै बिक्रि गर्ने योजना बनाएको छ ।

कृषि मन्त्रालयकाअनुसार खाद्य ऐनले उच्च परिमाणमा एसिडको मात्रा भेटिएको खानेतेल उत्पादन गर्ने, आयात गर्ने र बिक्रि बितरण गर्ने उद्योग, संस्था र व्यक्तिमाथि मुद्दा हालेर कारवाही गर्न सक्ने व्यवस्था गरेको छ । खाद्य बिभागका प्रवक्ता पूर्णचन्द्र वस्तीकाअनुसार एसिडको उच्च मात्रा भेटिने खानेतेल सेवन गर्दा झाडापखाला (डायरिया) र फुड प्वाइजन हुने खतरा हुन्छ ।  

आपूर्ति मन्त्री गणेशराज पुनले अनुदान सहयोगमा प्राप्त भएको खाद्य पदार्थको गुणस्तर निर्धारणको आधारमा मात्रै बिक्रि बितरणको व्यवस्था मिलाइने जानकारी दिए ।  संस्थानका अनुसार चीनले उपलब्ध गराएको उक्त तीनवटै खाद्यान्न संस्थानको टोलीले केरुङ्गबाट प्राप्त गरेको थियो । अनुदानमा प्राप्त भएको खाद्य पदार्थ बिक्रि गर्न आपूर्ति मन्त्रालयले निर्देशन दिएपछि पाँच सदस्यीय मूल्य निर्धारण सिफारिस समिति गठन गरेर ती खाद्य पदार्थको मूल्य निर्धारण गरिएको हो । 

यसअघि भूकम्प पीडितलाई राहत उपलब्ध गराउने नाममा दुवई सरकारले गत बैशाखमा नेपाललाई आठ हजार पाँच सय लिटर खाने तेल उपलब्ध गराएको थियो । उक्त खानेतेल पनि गुणस्तरहिन भेटिएपनि नष्ट गरिएको थियो ।

Comments