रसायनिक बिषादी खरिद गर्न विदेशिन्छ ५७ करोड



राजेश बर्मा
काठमाडौं/ नेपालमा खाद्यान्न तथा तरकारी बालीमा प्रयोग गर्ने भनेर बार्षिक ५७ करोड मूल्यबराबरको बिषादी आयात हुँदै आएको छ ।

बाली संरक्षण निर्देशनालयका अनुसार सरकारले कडाई गरेपछि पछिल्लो दुई बर्षदेखि बिषादी आयातको नाममा केही मात्रामा नेपाली रुपैयाँ बाहिरिएको हो । दुई बर्षअघिसम्म करिब ८० करोडभन्दा बढी रकम बाहिरिन्थ्यो । मुलुकमा विभिन्न कृषिका परियोजना तथा सरकारले पनि वार्षिक कार्यक्रमहरुमा रासायनिक मल प्रतिस्थापन गर्ने लक्ष्य लिए पनि रासायनिक विषादी प्रतिस्थापन हुनु नसक्दा वार्षिक उक्त रकम बाहिरीने गरेको हो ।

मुलुकमा उत्पादन नहुने रासायनिक विषादी आयातका लागि प्रत्येक वर्ष उक्त परिणाममा नेपाली रुपैयाँ बाहिरिने गरेको निर्देशनालयले जानकारी दिएको छ । बुधबारदेखि सप्ताह व्यापी रुपमा ‘विषादी प्रयोग मुक्त सप्ताह’ मनाउन लागेको निर्देशनालयले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले अहिलेसम्म नेपालमा एक हजार पाँच सय ४२ विषादी दर्ता गरेको रजिष्टर भएको जानकारी दिए । मानव स्वास्थ्यमा हानी पुरयाएको भन्दै निर्देशनालयले यो अवधीमा १६ वटा घाताक विषादीको प्रयोग, आयात र बिक्रिमा प्रतिबन्ध लगाइएको छ । 

शर्माका अनुसार गत आर्थिक वर्षमा चार सय १० मेट्रिक टन ‘खास विषादी’ नेपाल भित्रिएको जानकारी दिए । निर्देशनालयका अनुसार किटनासक एक सय ३८, रोगनाशक एक सय ६४, झारनासक एक सय एक र अन्य सात टन विषादी आयात गरिएको थियो । छिमेकी मुलुक भारत र चीनबाट आयातित विषादीको ठूलो परिणाम तरकारी उत्पादनमा प्रयोग हुँदै आएको निर्देशनालयले जानकारी दिएको छ । नेपालमा प्रतिहेक्टर तीन सय ९६ ग्राम विषादीको प्रयोग हुँदै आएको निर्देशनालयले जनाएको छ । 

अन्य देशको तुलनामा नेपालमा विषादीको प्रयोग निकै कम रहेको भन्दै निर्देशनालयका निर्देशक शर्माले भने, ‘विषादीको प्रयोग गरेपछिको पर्खनु पर्ने अवधिको ख्याल नगर्ने, बाली काट्ने समयमा विषादीको प्रयोग गर्ने, विक्री पुर्व विषादीमा डुवाउने, दर्ता नगरिएको विषादी प्रयोगमा ल्याउने लगायतका समस्या देखिएको छ ।’ विषादी ऐन २०४८ लाई समय सापेक्ष बनाई मन्त्रालयमार्फत मन्त्रीपरिषद्मा पुगेको भन्दै उनले केही समयमै संसद्बाट उक्त ऐन पारित हुने विश्वास व्यक्त गरे । 

गत वर्षदेखि राजधानीको मुख्य तरकारी बजार कालिमाटिमा ‘विषादी अवशेष द्रुत विश्लेषण इकाई’ सुरु गरिएपछि पछिल्लो आठ महिनाको अवधीमा कालीमाटी बजारमा मानव स्वास्थ्यलाई हानी गर्ने बिषादी प्रयोग भएको तरकारी नभेटिएको उनले जानकारी दिए । उनकाअनुसार यस्ता इकाई मुलुकभरका थप पाँच स्थानमा स्थापना गर्न लागिएको छ । बिषादी प्रतिको जनचेतनाका कारण पछिल्लो समयमा विषादीको प्रयोगमा कमी आएको जानकारी गराउदै निर्देशक शर्माले किसानको सहकार्यमा ‘प्लान्ट क्लिनिक’ को स्थापना गर्न लागिएको बताए । यस्ता क्लिनिकको सहयोगमा किसान आफै बिषादीको परीक्षण गर्न सक्षम हुने उनले बताए । यसका लागि पहिलो चरणमा २५ जना किसानलाई आवश्यक प्रशिक्षण उपलब्ध गराइनेछ ।

Comments