नाकावन्दीले कृषितर्फ मात्रै साढे ८१ अर्बको क्षति

भारतमा रोकिएको मलतर्फ मात्रै २९ करोड घाटा


राजेश बर्मा
काठमाडौं / भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण कृषि क्षेत्रतर्फ मात्रै ८१ अर्ब २० करोड ६२ लाख २३ हजार मूल्यबराबरको घाटा भएको छ । धान, गहुँ र मकै रोप्न आवश्यक पर्ने रसायनिक मल भारतको बिभिन्न स्थानमा रोकिदा नेपालले कृषितर्फ यो परिमाणमा क्षति व्यहोरेको हो । 

राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि पत्रकार प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको नाकावन्दी र कृषि क्षेत्रमा परेको घाटा बिषयक अन्तरक्रियामा कृषि विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक तथ्याँकअनुसार माछा, फलफूल, तरकारी, मसला, दूध, कुखुराजन्य, खसीबोका, गहुँ र धान तथा मलतर्फ नाकावन्दी पश्चात नेपालले ठूलो मूल्यबराबरको घाटा व्यहोर्न बाध्य भएको हो । ‘ढुवानी अवरोध र इन्धनको अभावमा कृषि क्षेत्र धरासायी बन्यो’, कृषि बिकास मन्त्रालयका सहसचिब डा. सुरज पोखरेलले भने,‘कृषिको समग्र क्षेत्रले यति ठूलो परिमाणमा पहिलो पटक क्षतिसँगै घाटा व्यहोरेको हो ।’

मन्त्रालयकाअनुसार यि सबै क्षेत्रका गरेर कृषितर्फ मात्रै गत ०७२ को मंसिरसम्म(६५ दिनमा) ८१ अर्ब २० करोड ६२ लाख २३ हजार मूल्यबराबरको क्षति भएको छ । भारतको कलकत्ता वन्दगाह र बिरगञ्जस्थित सुख्खा वन्दरगाहमा रसायनिक मल आएर पनि नेपाली सीमा भित्रन नपाउदा २९ करोड २० लाख ५८ हजार मूल्यबराबरको घाटा पनि यसमा जोडिएको छ । मन्त्रालयकाअनुसार भारतले गरेको अघोषित नाकावन्दीका कारण पछिल्लो ६५ दिनमा कृषितर्फ ठूलो मूल्यबराबरको घाटा भएको छ ।

मन्त्रालयकाअनुसार उत्पादन भएका कृषि बस्तुको ढुवानी गर्न नसकिएकाले कृषि उपज किसानकै घरबारीमा खेर गएको र उपभोक्ताले उपभोग गर्न नपाएकाले तरकारीतर्फ मात्रै १८ अर्ब ६२ करोड १० लाख ४५ हजार मूल्यबराबरको क्षति भएको छ । यस्तै मसलातर्फ दुई अर्ब ४० करोड ८८ लाख ८१ हजार मूल्यबराबरको क्षति भएको छ । यसैगरी ढुवानी अवरोधका कारण स्याउ तीनसय मेट्रिन टन, मौसमी ५० मेट्रिक टन, अनार ५० मेट्रिक टन पहिलो १५ दिनमा खेर गएको छ । यसबाट चार अर्ब ८३ करोड ७० लाख १५ हजार मूल्यबराबरको क्षति फलफूलतर्फ परेको छ ।

मन्त्रालयकाअनुसार इन्धन अभावका कारण निजी क्षेत्रका दुग्ध उद्योगहरु बन्द भएका छन् भने किसानको दुध संकलन हुन नसक्दा पछिल्लो ४५ दिनको अवधीमा दुग्ध क्षेत्रतर्फ ६८ करोड ३३ लाख ८१ हजार मूल्यबराबरको क्षति पुगेको छ । यसैगरी इन्धन अभाव, ढुवानी र दानाको अभावमा कुखुराजन्यतर्फ मात्रै पाँच अर्ब ६० करोड ५१ लाख ९९ हजार मूल्यबराबरको क्षति भएको छ । जसमध्ये ब्रोइलरतर्फ दुई अर्ब ९४ करोड, लेयर्स चल्लातर्फ ४९ करोड, अण्डातर्फ ९२ करोड र तयारी मासुतर्फ दुई अर्ब ५१ करोड मूल्यबराबरको क्षति किसान र व्यवसायीले व्यहोर्नु परेको छ ।

यस्तै दसैंको अवधीमा स्वदेशकै विभिन्न स्थानबाट खसीबोका नआउदा र आएको पनि बिक्रि नहुँदा १५ दिनको अवधीमा खसीबोका क्षेत्रतर्फ १२ करोडको क्षति भएको छ । मन्त्रालयकाअनुसार माछातर्फ भने तीन अर्ब ६० करोड १८ लाख १६ हजार मूल्यबराबरको र अन्यतर्फ एक अर्ब ५६ करोड ९० लाख ९७ हजार मूल्यबराबरको क्षति भएको छ ।

डा. पोखरेलकाअनुसार सिंचाई तथा रसायनिक मल अभावका कारण यसपटक धान उत्पादनमा १२.७ प्रतिशतले कमी आउने अनुमान गरिएको छ । जसका कारण धानतर्फ १४ अर्ब १३ करोड १७ लाख ३१ हजार मूल्यबराबरको क्षति हुने अनुमान गरिएको छ । यस्तै बिउ ढुवानी गर्न नसकिंदा र मलको अभावमा गहुँंको उत्पादनमा ३० प्रतिशतले कमी आउने मन्त्रालयले जनाएको छ । जसले गर्दा गहुँंको उत्पादनतर्फ मात्रै १२ अर्ब ५९ करोड ६६ लाख ६३ हजार मूल्यबराबरको क्षति हुने बताइएको छ । तराई–मधेस आन्दोलनका कारण सीमाक्षेत्रमा भएको अवरोधले नेपालतर्फ आउँदै गरेको एक सय २० मेट्रिक टन रासायनिक मल सुख्खा बन्दरगाहमा थन्किएर बसेको सहसचिव डा. पोखरेलले जानकारी दिए । मन्त्रालयकाअनुसार   कलकत्ता वन्दगाह र बिरगञ्जस्थित सुख्खा वन्दरगाहमा रसायनिक मल र कृषि बस्तु आएर पनि नेपाली सीमा भित्रन नपाउँदा विभिन्न बिलम्ब शुल्क, व्याज, गोदाम शुल्कतर्फ मात्रै सरकारले दैनिक ६४ लाख ९० हजार अतिरिक्त खर्च गर्नुपरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले जमिन जोत्नका लागि प्रयोग हुने ट्रयाक्टर, पावर टे«लरलगायतका यान्त्रिकरण उपकरण इन्धनको अभावमा सञ्चालनमा आउन नसक्दा र गहुँंको बीउमा प्रयोग हुने भाइटाभेक्स–२०० सुख्खा बन्दरगाहमा नै थन्किनु तथा गहुँको बीउ नपाउनुले उत्पादन वृद्धिमा थप जटिलता पैदा हुन सक्ने बताए । आर्थिक पत्रकार जुनारबाबु बस्नेत नेपालमा यस वर्ष खाद्यसंकट आउनसक्ने बताए  । कृषिको आधुनिकीकरणसँगै सुरु भएको धानबाली भित्र्याउन प्रयोग हुने थ्रेसर, जग्गा तयारीमा प्रयोग हुने ट्रयाक्टर, पावररटे«लर एवम् कृषि उत्पादन तथा ढुवानीमा प्रयोग हुने यातायातका साधनसमेत इन्धन अभावका कारण नचल्दा कृषि क्षेत्र धराशायी बन्दै गएका कारण खाद्य सङ्कट आउन सक्ने सम्भावना पत्रकार बस्नेत व्यक्त गर्नुहुन्छ 


कुन क्षेत्रमा कति क्षति
बिषय                           क्षति रकम
माछा                          ३६०१८१६८७५
फलफूल                       ४८३७०१५१२५
तरकारी                        १८६२१०४५९००
मसला                         २४०८८८१०५०
कुखुराजन्य                  ५६०५१९९९८५
दुध                              ६८३३८१८८०
खाद्यान्न                    २६७२८३९५५४१
खसीबोका                     १२०००००००
अन्य                            १५६९०९७५७५
मलतर्फ                        २९२०५८०००
स्रोत : कृषि विकास मन्त्रालय    

Comments