फागुनदेखि किसानलाई सेक्स सिमेन


दुध उत्पादनमा डेढलाख बृद्धिको अपेक्षा
राजेश बर्मा
काठमाडौ / पशु पालनमा गोरू तथा साँढेको उपयोगिता कम हुन थालेपछि सरकारले आगामी फागुनदेखि बाछी मात्र जन्मिने वीर्य (सेक्स सिमेन) बितरण गर्ने तयारी गरेको छ । 

प्रचुर परिमाणमा दूध उत्पादनका लागि बाछाभन्दा बाछी आवश्यक पर्ने भएकाले पशुपंक्षि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दूग्ध विकास बोर्डले बाछी मात्र जन्माउन सेक्स सिमेन बितरण गर्न लागेको हो । बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार बोर्डले बाछी मात्र जन्माउन आठ हजार मात्रा(डोज) बितरण गर्ने गृहकार्य गरिएको छ । यसमा चार हजार होलेस्टेन फ्रिजन र चार हजार मात्रा जर्सी जातको गाईको हुनेछ ।

उनकाअनुसार सेक्स सिमेनको प्रति मात्राको मूल्य दुई हजार सात सयदेखि तीन हजार पर्छ । तर किसानलाई भने प्रति मात्रा २५ रुपैयाँमा उपलब्ध गराइने छ । ‘सेक्स सिमेन महँगो भएपनि हामीले एउटा किसानसँग २५ रुपैयाँ लिएर एक मात्रा उपलब्ध गराउछौं’, बोर्डका कार्यकारी निर्देशक पन्तले भने । उनकाअनुसार यो सिमेनको प्रयोग गरेर बाछी मात्रै जन्माउन सकिन्छ । बाछी मात्रै जन्मिएपछि दूध उत्पादनमा बृद्धि गर्न सकिन्छ ।

बोर्डले तीन बर्षअघि ६ सय मात्रा सेक्स सिमेन ल्याएर सफल प्रयोग गरेपछि अहिले आठ हजार मात्रा ल्याएर बितरण गर्न लागिएको हो । पन्तले भने,‘यसअघि हामीले ६ सय मात्रा ल्याएर परीक्षण गरेका थियौं । परीक्षणको क्रममा कूल मात्राबाट ९२ प्रतिशत बाछी मात्रै जन्मियो ।’ सेक्स सिमेन बितरणका लागि बोर्डले गत महिनामा टेण्डर आह्वान गरेको थियो । टेण्डरमा पाँच वटा आपूर्तिकर्ताले युरोप र अमेरिकाबाट ल्याएर उपलब्ध गराउने भनेर बोलपत्र बुझाएका छन् । 

बोर्डकाअनुसार जिल्ला पशु सेवा कार्यालय, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, केन्द्रिय दुग्ध सहकारी संघ र राष्ट्रिय पशु प्रजनन महाशाखाको सहकार्यमा व्यवसायिक पशु पालक किसानलाई यो सिमेनको मात्रा बितरण गरिनेछ । 

नेपालमा बैज्ञानिक रूपमा गर्भाधान गरिने पद्धती कार्यान्वयनमा नआएकाले बाछा जन्मिने संख्या बढ्दो छ । जसका कारण दूध उत्पादनमा बृद्धि हुन सकेको छैन् । जनसं या बृद्धिसँगै नेपालमा पछिल्लो समयमा दूध उत्पादन हुने समयमा समेत दूधको अभाव हुन थालेपछि सरकारले दूध उत्पादनमा बृद्धि गर्न यो विधिलाई कार्यान्वयनमा ल्याउन लागेको हो । नेपालमा बर्षेनी दूध उत्पादन ४ प्रतिशतले बढेपनि खपत भने ८ प्रतिशतका दरले बढ्दै गएको छ ।

उनकाअनुसार अन्य मुलुकमा गोरू र साँढेलाई मासुको रूपमा प्रयोग गरिएपनि नेपालमा धार्मिक आस्था तथा सामाजिक सद्भावका कारण गोरू र साँढे प्रयोगविहिन अवस्थामा छ । गोरूलाई खेत जोत्न तथा साँढेलाई गर्भाधान प्रकृयाका लागि मात्र प्रयोग गरिदैंआएको छ । गाईले बाछा र बाछी करिब समान संख्यामा जन्माउने गर्छ । ‘नेपालमा बाछाको प्रयोग त्यति सारो छैन’, उनले भने,‘पोथीसँग सहवास गराउने र खेत जोताउने वाहेक अन्य काममा प्रयोग गर्न नपाइने हुँदा बाछामा गरिएको लगानी व्यर्थ देखिएको छ । पोथीमात्रै जन्मिए त्यसले दूध उत्पादनमा प्रचुर परिमाणमा योगदान पु¥याउने भएकाले सेक्स सिमेन बितरण गर्न लागेका छौं ।’ 

सेक्स सिमेनको सहयोगमा गाईलाई कृत्रिम गर्भाधान गराइनेछ । कृत्रिम गर्भाधान गराएको नौं महिनामा गाईले बाछी जन्माउन सक्षम हुनेछ । सेक्स सिमेनको प्रयोग गरी उत्पादन भएको गाईले दैनिक २५ लिटरसम्म पोषिलो दूध दिन्छ । सामान्य जातका गाईले भने १२ लिटर दूध दिने गरेको छ । आठ हजार मात्रा बितरण गरेपछि उत्पादन हुने बाछीको सहयोगमा आगामी तीन बर्षमा डेढ लाख लिटरसम्म दूधको उत्पादनमा बृद्धि हुने बोर्डले दाबी गरेको छ ।

पशु उत्पादन निर्देशनालयका निर्देशक डा. बिमलकुमार निर्मलकाअनुसार गाईमा ‘एक्स एक्स’ भनेर दुईवटा क्रोमोजोम हुन्छ । यस्तै साँढेमा ‘एक्स र वाई’ भनेर दुइवटा छुट्टाछुट्टै प्रकृतिको क्रोमोजोम पाइन्छ । साँढेको ‘वाई’ र गाईको ‘एक्स’ भन्ने क्रोमोजोम मिलेर बाछा जन्मिन्छ । सेक्स सिमेन पद्धतीअन्तर्गत जटिल प्रक्रियाबाट साँढेको बीर्यमा पाइने दुई छुट्टाछुट्टै क्रोमोजोममध्ये ‘वाई’ भन्नेलाई झिक्ने काम हुन्छ । ‘वाई’ भन्ने क्रोमोजोमलाई झिकेपछि साँढेको बीर्यमा ‘एक्स’ भन्ने र गाईको ‘एक्स एक्स’ भन्ने बीर्यलाई मिसाएर छुट्टै प्रकारका ‘सेक्स सिमेन’ तयार गरिन्छ। ‘यस्तो सेक्स सिमेनको सहयोगमा गाईलाई गर्भाधान गराउँदा ९५ प्रतिशतसम्म बाछी मात्रै जन्मिन्छ’, डा. निर्मलले । 

Comments