‘आणबिक उर्जा’ को सहयोगमा कृषिमा ‘नयाँं चमत्कार’ गरिने


राजेश बर्मा
काठमाडौं / नेपालका कृषि बैज्ञानिकहरु अहिले कृषिमा नयाँ चमत्कार गर्ने प्रविधि विकास गर्न जुटेका छन् । शहर नै ध्वस्त बनाउन सक्ने क्षमताको ठूला बिनाशकारी बम र क्षेप्यास्त्र बनाउन प्रयोग गरिने आणविक (न्युक्लियर) शक्तिको प्रयोग गरेर कृषिमा नयाँ प्रविधि बिस्तार गर्न नेपालका बैज्ञानिकहरु कम्मर कसेका छन् । 

आणविक शक्तिको प्रयोग गरिने नयाँ प्रविधि नेपालका लागि नौलो भएपनि चीन, बंगलादेश, भियतनाम, इण्डोनेसिया, मलेसिया, कोरियासहित दर्जनौं मुलुकमा यो प्रविधिको प्रयोग भइरहेको छ । यही प्रविधिको प्रयोग गरेर विश्वभर अहिले तीन हजार दुई सय २२ वटा खाद्यान्न बालीका जात विकास गरेर सूचीकृतसमेत भइसकेका छन् ।

नेपालमा भने नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले बिज्ञान तथा प्रविधि मन्त्रालय, अन्तर्राष्ट्रिय अटोमिक इनर्जी एजेन्सी(आईएइए), अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र, आईआरआरआईको सहयोगमा यस्तो प्रविधिको विकास गर्न छलफल थालेको छ । आणविक शक्तिको प्रयोग गरेर नयाँ प्रविधि विकास गर्नका लागि आईएइएले आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गर्ने जनाएको छ ।

नार्कअन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान(नारी) का निर्देशक तथा बरिष्ठ बैज्ञानिक डा. बिन्देश्वर साहकाअनुसार नेपालमा पनि यो शक्तिको प्रयोग गरेर सफल नयाँ प्रविधि विकास गर्न लागिएको हो । उनकाअनुसार कुनै पनि शक्ति दुई पक्ष हुन्छ । एउटा राम्रो र अर्को नराम्रो । आणबिक शक्तिलाई पनि शक्ति सम्पन्न राष्ट्रहरुले राम्रो र नराम्रो गरी दुई प्रकारको काममा प्रयोग गर्दैआएका छन् । 

‘आणबिक शक्ति खरावका लागि मात्रै होइन राम्रो कामको लागि पनि प्रयोग गर्न सकिन्छ’, उनले भने,‘आणबिक शक्तिको प्रयोग गरेर शक्ति सम्पन्न राष्ट्रहरुले युद्ध प्रयोजनका लागि क्षेप्यास्त्र र बिनाशकारी बम बनाइरहेका छन् भने केही अन्य राष्ट्रहरुले सोही शक्तिको प्रयोग गरेर कृषिमा नयाँ प्रविधि विकास गरेर चमत्कार गरेका छन् । हामी पनि यो शक्तिको प्रयोग गरी कृषिमा नयाँ प्रविधि बिकास गर्न लागेका छौं ।’ 
उनकाअनुसार यो शक्तिको प्रयोग गरेर प्रविधि विकास गर्नका लागि अहिले आईएइएले ३० लाख मूल्यबराबरको बालीको वीउको प्रजनन समय छोट्याउने प्रविधिसम्बन्धी उपकरण नारीलाई उपलब्ध गराएको छ । आइएइएले एक करोड ४० लाख मूल्य पर्ने अर्को उपकरण कोवाल्ट ६० गामा इरिडिएटर पनि नेपाललाई उपलब्ध गराउन प्रतिवद्धता जनाएको छ । जापान एटोनोमिक इनर्जी एजेन्सीका बैज्ञानिक डा.योसिनिरो हासेले यो प्रविधिबाट बिकास गरिएका बालीका बीउलाई पानी अत्यन्त कम आवश्यक पर्ने, रोग प्रतिरोधी क्षमताको र उत्पादन पनि झण्डै दोब्बर दिने क्षमताको छ ।

बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब गजेन्द्र ठाकुरले आणबिक शक्तिको प्रयोग गरेर नयाँ प्रविधि विकास गर्न लाग्ने खर्च तथा योजना तयार बनाएर आफुलाई उपलब्ध गराउन नार्कलाई सुझाव दिएका छन् । उनले माघको अन्तिम सातामा आयोजना हुने आणबिक शक्तिसम्बन्धी सम्मेलनमा उक्त  प्रस्ताव अन्तर्राष्ट्रिय निकायलाई उपलब्ध गराउने आश्वासन दिए । उनले कृषिको नविनतम प्रविधि विकासका लागि मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउन आश्वासनसमेत दिए ।

नार्कका कार्यकारी निर्देशक डा. यमराज पाण्डेले बिज्ञान र प्रविधिलाई चासो नदिइएकाले नेपाल प्रविधि विकासमा निक्कै पछि रहेको बताए । सरकारले बिज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने उनले सुझाव दिए । इरीका नेपाल प्रतिनिधी डा.भव त्रिपाठीले आणबिक शक्तिको प्रयोग गरेर बीउको मूल गुणमा परिवर्तन ल्याएर नयाँ बीउ उत्पादन गर्न सकिने बताए ।


आणबिक शक्तिको बीउमा कसरी प्रयोग हुन्छ ?
बीउ एक्स रे रेडिएसन मेसिनको सहयोगमा बीउको मूल गुणमा परिवर्तन गरिन्छ । एक्स रे मेसिनमा बीउ राखेपछि मेसिनबाट निस्कने आणबिक शक्तिसहितको रेडिएसन रे (प्रकाश) ले बीउको डिएनए र क्रोमोजोमलाई टुक्रा टुक्रा पार्छ । टुक्रा टुक्रा परेको कणहरु अर्को टुक्रामा विस्तारै जोडिन पुग्छ । जोडिएर बनेको असंख्य नयाँ बीउलाई विभिन्न चरणमा परीक्षण गरिन्छ । परीक्षणको क्रममा जुन बीउले कम समयमा बढी उत्पादन दिने, रोगबाट मुक्त हुने र कम पानी सोस्ने क्षमताको विकास हुन्छ । त्यही बीउलाई छनौट गरेर त्यसबाट नयाँ बीउ उत्पादन गरी किसानलाई बितरण गरिने योजना छ ।

Comments