यो बर्ष अनिकालको चिन्ता

चामलको माग ३४ लाख तर उत्पादन २८ लाख टन 


राजेश बर्मा
काठमाडौं/ यो बर्ष गहुँको उत्पादन सप्रन नसके खानपानमा (खाद्य सुरक्षा) गम्भिर असर पु¥याउने लक्ष्ण देखापरेको छ । धानवालीको उत्पादन १० प्रतिशतले घटेपछि जेलिएको खाद्य सुरक्षा गहुँको उत्पादनमा निर्भर भएको छ । 

बन्द हडताल तथा भारतले लगाएको अघोषित नाकावन्दीका कारण मल, बीउ र इन्धन अभावका कारण गहुँको उत्पादनमा पनि कमी आउने सम्भावना बढेको छ । देशभित्र रहेको मल, बीउ र इन्धनसमेत बन्द र हडतालका कारण एक स्थानबाट अर्को स्थानमा पु¥याउन नसकिंदा उत्पादनमा ह्रास आउन सक्ने बिज्ञहरुले औल्याएका छन् ।

कृषि विकास मन्त्रालयले करिब ३० प्रतिशतको हाराहारीमा गहुँको उत्पादनमा कमी आउन सक्ने आंकलन गरेको छ । भारतको अघोषित नाकावन्दी यसरी नै लम्बिने हो र गहुँको उत्पादनमा पनि कमी आउने हो भने नेपालीले यो बर्ष निक्कै महँगो मूल्यमा खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता हुन सक्छ । ‘धानवालीको उत्पादनमा कमी आएपछि खाद्य सुरक्षाको लागि हाम्रो ध्यान गहुँ वालीको उत्पादनमा केन्द्रित छ’, कृषि विकास मन्त्रलायका सचिब उत्तम भट्टराईले अन्नपूर्ण पोष्टसँग भने,‘तर अघोषित नाकावन्दीका कारण इन्धन र मलको अभाव र भएको बीउ पनि बन्द र हडतालका कारण एक स्थानबाट अर्को स्थानमा पु¥याउन नसकिंदा गहुँवालीको उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ ।’

मन्त्रालयकाअनुसार गहुँ वालीको लागि ३० हजार मेट्रिक टन मलको व्यवस्था गरिएको छ । यसैगरी किसानलाई वितरण गर्न सात हजार मेट्रिक टन गहुँको बीउको पनि व्यवस्था गरिएको छ । ‘तर भएको मल र बीउ बन्द हडताल र इन्धन अभावमा एक स्थानबाट अर्को स्थानमा पुगाउन समस्या परेको छ’, सचिब भट्टराईले भने,‘जमिन जोत्न पनि अहिले ट्रयाक्टरको प्रयोग हुन्छ । तर ट्रयाक्टरलाई डिजेलको अभाव छ । किसान महंगो मूल्यमा डिजेल किनेर ट्रयाक्टरको सहयोगमा जमिन जोत्न सक्षम छैंनन् ।’

मन्त्रालयकाअनुसार यसपटक धानको क्षेत्रफलमा कमी, ढिलो रोपाई, बन्द र हडतालका कारण समयमा मलको अपुग र सिंचाईको अभावमा धान उत्पादनतर्फ १० प्रतिशतले कमी आएको छ । खाद्य असुरक्षा बढ्ने खतरा उत्पन्न भएपनि मन्त्रालयले भने न्युनिकरण गर्न कुनै ठोस नीति कार्यान्वयनमा ल्याउन तयारी गरेको छैंन् । ‘खाद्य असुरक्षा न्युनिकरण गर्न तत्कालै कुनै ठोस नीति तयार भएको छैंन्’, भट्टराईले भने,‘तर खाद्य असुरक्षाबाट जोगिन भाते बानीमा परिवर्तन गर्न आवश्यक छ । आन्तरिक उत्पादनले अपुग भएपनि आयातीत चामलकै भरपर्नु पर्ने हुन्छ ।’ भातको साटो कोदो, फापर र आलुलाई खानाको रुपमा बढी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ ।

उत्पादन भएको धान पनि बन्द र हडतालका कारण किसानले अत्यन्त सस्तो मूल्यमा बिक्रि गरेका छन् । सरकारले धानको समर्थन मूल्य तोकेपनि बर्षेनीझै यसपटक पनि कागजमै सिमित बनेका कारण किसानको लागि पनि यो बर्ष अभिशाप जस्तै बनेको धान बिज्ञ डा. भोलामानसिंह बस्नेतले बताए ।

मन्त्रालयकाअनुसार यो बर्ष चार प्रतिशत क्षेत्रफलमा रोपाई हुन सकेन् । यस्तै तराईका करिब १२ वटा जिल्ला र कर्णालीका जिल्लामा ३० प्रतिशत क्षेत्रफलमा रोपाई हुन सकेन् । रोपाई भएको क्षेत्रफलमा सिंचाईको अभाव र वन्द, हडताल तथा नाकावन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारत तथा तेश्रो मुलुकबाट आउनुपर्ने मल आउन नसक्दा १० प्रतिशतका दरले करिब चार लाख ९० हजार मेट्रिक टन कम धान फलेको छ । यो बर्ष ४२ लाख ९९ हजार मेट्रिक टन मात्र धान फलेको छ । अघिल्लो बर्ष ४७ लाख ८८ हजार मेट्रिक धान फलेको थियो । 

नेपालको कूल जनसंख्या दुई करोड ८१ लाख चार हजार दुई सय ८९ जनाको पेट भर्न बार्षिक तीन अर्ब ४२ करोड ८७ लाख २३ हजार दुई सय ५८ किलो(३४ लाख २८ हजार सात सय २३ मेट्रिक टन) चामल आवश्यक पर्छ । यसपटक उत्पादन भएको धानबाट दुई अर्ब ८७ करोड २८ लाख किलो(२८ लाख ७२ हजार आठ सय मेट्रिक टन) चामल मात्रै उत्पादन हुने अपेक्षा गरिएको छ । यसअनुसार यो बर्ष ५५ करोड ५९ लाख २३ हजार दुई सय ५९ किलो(पाँच लाख ५५ हजार नौं सय २३ मेट्रिक टन) चामल अपुग भएको छ । एक जनालाई बार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ । सय किलो धानबाट ६० किलो चामल उत्पादन हुन्छ ।

Comments