गुणस्तरहिन मदिराजन्य पदार्थ बिक्रि गर्न नपाइने


नियमन गर्ने ‘मापदण्ड’ बन्दै
राजेश बर्मा
काठमाडौं / भट्टीमा पाइने घरेलु रक्सी र महँगा शोरुममा पाइने मदिराजन्य पदार्थ सेवन गरेर ‘हयाङ्ग ओभर’ भएर बेस्कनी तपाईको टाउको दुखेको छ ? स्वास्थ्यमा प्रतिकूल असर पारेको छ वा अन्य कुनै समस्या आएको छ भने अब धन्धा मान्नु पर्दैन् । सरकारले चाडै मदिराजन्य पदार्थको गुणस्तर निर्धारणसम्बन्धी आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याउदैंछ ।

नेपालमा हालसम्म मदिराजन्य(हल्कोहल) पदार्थको गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जिवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानी नोक्सानीको बारेमा हालसम्म कुनै मापदण्ड नभएकाले आम उपभोक्ताले गुणस्तरहिन सस्तो र महँगो मदिरा सेवन गरेका कारण मदिरा सेवन गरेको अर्को दिन ‘हयाङ्ग ओभर’ को बिकराल दुखाईका साथै कहिलेकाही ज्यानसम्म गुमाउनुपरेको छ ।

यस्ता समस्यालाई समाधान गर्न कृषि बिकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले मदिराजन्य पदार्थको गुणस्तर निर्धारण गर्न र अहिले भइरहेको जताभावी आयात निर्यातमा लगाम लगाउन मापदण्ड तयार पार्ने गृहकार्य सुरु गरेको छ । 

‘मदिराजन्य पदार्थको क्षेत्र अहिलेसम्म आफुखुशी छाडा रुपमा चलेको छ’, बिभागका महानिर्देशक संजिवकुमार कर्णले भने,‘यो क्षेत्रलाई नियन्त्रण गर्न कसैले चासो न देखाएकाले बिभागले बजार र गुणस्तरमा नियन्त्रण गर्न आवश्यक मापदण्ड तयार गर्ने गृहकार्य सुरु गरेको हो । अब खाद्य बिभागले नै मदिराजन्यको गुणस्तर र बजारको पनि नियन्त्रण गर्ने काम गर्छ ।’ 

बिभागकाअनुसार हालसम्म अन्त शुल्क कार्यालय र भन्सारले मदिराजन्य पदार्थमा प्रयोग हुने इथाइल अल्कोहल र स्प्रिटको आयात मात्राअनुसार राजस्व मात्रै असुल गर्दैआएको छ । ‘तर उक्त इथाइल अल्कोहल कुन गुणस्तरको छ । मानव स्वास्थ्यलाई हानी गर्छ वा नोक्सानी गर्छ । आयातित त्यस्ता इथाइल अल्कोहल र स्प्रिटबाट कस्तो गुणस्तरको मदिराजन्य पदार्थ तयार पारिएको छलगायतका बिषयमा ति मध्ये कुनै पनि निकायले मापदण्ड तयार पारेर नियमन गरेको छैंन्’, महानिर्देशक कर्णले भने,‘भट्टिमा पाइने सस्तो मदिरा र पाँच तारे होटेलमा पाइने महंगा मदिरा सेवन गरेका कारण सर्वसाधारण हताहत भएको समस्या पनि आइरहेको अवस्थामा हामी आफै यो क्षेत्र हेर्ने भनेर मापदण्ड तयार गर्न लागेका छौं ।’

खाद्य बिभागले अहिले ह्वीस्की, वाइन, रम, भोड्का, जीन, बियर, टकिला, घरेलु रक्सीलगायतका मदिराजन्य पदार्थको कच्चा पदार्थ, प्रयोग हुने रसायन, मदिरामा मिथाइल वा स्प्रिटको मात्रा कति छ ?, प्रयोग हुने कच्चा पदार्थ र रसायनबाट मानव स्वास्थ्य र वातावरणमा गर्न सक्ने प्रतिकूल असर, आयात निर्यातसहित दण्ड तथा कारवाहीसम्मको व्यवस्थाका लागि आवश्यक मापदण्ड बनाउने काम सुरु गरेको छ । बिभागकाअनुसार यो मापदण्ड आगामी बर्षको बैशाखको अन्तिम सातादेखि कार्यान्वयनमा ल्याइनेछ ।

यो मापदण्ड तयार भएर कार्यान्वयनमा आएपछि मदिरा उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीले पनि नेपालमा आयात गर्न तथा नेपालबाट बाहिर निर्यात गर्न अनिवार्य रुपमा मदिराको गुणस्तर परीक्षण गराउनुपर्ने छ । गुणस्तर परीक्षण पश्चात मात्रै आयात वा निर्यात गर्न पाइने व्यवस्था गरिदैंछ । महानिर्देशक कर्णकाअनुसार उपयुक्त तापक्रम र उपयुक्त जिवाणुका साथै प्रविधिको प्रयोग नभएको अवस्थामा इथाइल अल्कोहलका साथै मिथाइल अल्कोहल पनि बन्ने सम्भावना हुन्छ । ‘यही मिथाइल अल्कोहल सेवनका कारण सर्वसाधारणको ज्यान जाने खतरा हुन्छ’, 

आन्तरिक राजस्व बिभागकाअनुसार नेपालमा एक वर्षमा झण्डैm ६१ अर्ब रुपैयाँभन्दा बढीको रक्सीको कारोबार हुन्छ । मुलुक भित्र उत्पादित दर्ता बाहेकको लोकल ठर्राबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयातीत गरी ६१ अर्ब ९२ करोड ३७ लाख १७ हजार बराबरको मदिरा नेपालीले सेवन गर्दैआएका छन् ।

स्वदेशी र विदेशी विभिन्न कम्पनीको विभिन्न ब्राण्डको ५ करोड ७३ लाख ३९ हजार एक सय १५ लिटर मदिरा गत वर्ष नेपालभित्र खपत भएको छ । मदिरा व्यवसायी महासंघका अनुसार नेपालमा बर्षेनी बिभिन्न मुलुकबाट १० अर्बभन्दा बढीको मदिरा आयात हुन्छ ।

नेपालमा मात्रै विभिन्न दर्तावाला उद्योगले उत्पादन गरेको ३ करोड ६५ लाख ३२ हजार चार सय २६ लिटर मदिरा उत्पादन गरेको आन्तरिक राजस्व विभागको तथ्याक छ । त्यसमध्ये ३९ लाख ५१ हजार एक सय एक लिटर विदेश निर्यात गरेको भन्सारको तथ्याँक छ । बाँकी रहेको ३ करोड २५ लाख ८१ हजार ३२५ लिटर नेपालमै खपत हुने गरेको हो । यसमा बियर समावेश छैन ।

गत वर्ष नेपालमा बीयर मात्रै २४ अर्ब र बियर बाहेक अन्य मदिरा ३५ अर्ब रुपैयाँको कारोबार भएको आन्तरिक राजस्व विभागका अन्तःशुल्क व्यवस्थापन शाखाले जनाएको छ । सोही बर्षमा बिभिन्न मुलुकबाट उच्च गुणस्तरको दुई करोड आठ लाख ६ हजार ६ सय ८९ लिटर मदिरा नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।  विदेशबाट भित्रिएको बियर, वाइन, जिन, भोड्का, ह्विस्कीलगायतको रक्सी नेपालीले पिउने गरेका छन् ।

Comments