तातोपानी र रसुवा नाका अवरोध

 ‘द्विपक्षीय व्यापारमा अघोषित नाकावन्दी’


: राजेश बर्मा
काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले विभिन्न बहानामा द्विपक्षीय ब्यापारमा अघोषित रुपमा अवरोध सिर्जना गरेको छ । चीनसँग जोड्ने व्यापारिक नाका तातोपानी र रसुवागढी नाकामा पटक पटक भएको अवरोधका कारण करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । 


२०७२ बैशाखमा गएको भुकम्पको समयदेखि तातोपानी र रसुवा नाका विभिन्न बहानामा पटक पटक गरी अवरुद्ध भएका छन् । यसको प्रत्यक्ष असर नेपाली व्यवसायीले भोग्न बाध्य भएका छन् । चीनसँगको व्यापार सहज रुपमा नहुँदा यसको चौतर्फि रुपमा असर परेको छ । 


पछिल्लो समयमा कोभिड १९ को महामारीसँगै चीनले नेपालको हकमा ‘जिरो कोभिड पोलिसी’ को नीति अबलम्बन गरेपछि चीनबाट नेपालमा मालसामानको आयात सहज रुपमा भएको छैन् । यसबाहेक नेपालबाट चीनतर्फ हुने निर्यात व्यापार पनि अवरुद्ध छ । नेपालको हकमा ‘जिरो कोभिड पोलिसी’ नीति लागु गरेको चीनले अन्य मुलुकसँग भने अर्बौ मूल्यबराबरको आयात निर्यात कारोबार गरिरहेको छ । 


चीनसँग द्विपक्षीय व्यापार गरिरहेका व्यवसायीहरुले चीनको यो नीतिलाई ‘अघोषित नाकावन्दी’ को संज्ञा दिएका छन् । चीनसँग नियमित रुपमा व्यापारिक कारोबार गर्दैआएको नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार बाणिज्य संघलगायतले चीनले पछिल्लो समयमा नेपालसँग अघोषित रुपमा द्विपक्षीय ब्यापारमा अघोषित नाकावन्दी लगाएको आरोप लगाएको छ । यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोवाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायतका सामान अड्केको व्यवसायीहरुको भनाई छ ।


महासंघका अध्यक्ष नरेश कटुवालले पछिल्लो १५ महिनादेखि चीनले कुनै न कुनै बहानामा तातोपानी र रसुवा नाकामार्फत हुने आयात निर्यात व्यापारमा अवरोध सिर्जना गरेको बताए । ‘विभिन्न बहानामा हुँदै आएको यो अवरोधलाई अघोषित नाकाबन्दीको रुपमा हामीले बुझनुपर्छ,’ कटुवालले भने,‘चीनको नीतिका कारण हामी व्यवसायी सडकमा आइपुग्यो । करोडौं रुपैयाँबराबरको घाटा व्यहोरिसक्यौं ।’ सरकारले पनि आफुहरुको पीडामा मल्हम लगाउन नसकेको उनको भनाई छ ।


समस्या समाधानका लागि विभिन्न राजनीतिक दलका नेता, सरकारी निकाय, अर्थ मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, परराष्ट्र मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराएपनि समस्या समाधान नभएको उनीहरुको आरोप छ । 


उनकाअनुसार भुकम्पमा क्षतिग्रस्त बनेको तातोपानीको मितेरी पुलको निर्माण सम्पन्न भएपछि पनि आँशिक रुपमा खोलिएको उक्त नाका पुनः विभिन्न बहानामा दर्जनौं पटक अवरुद्ध पारिएको छ । पछिल्लो समयमा कोभिड १९ को महामारी आउनुपूर्व दैनिक ४–५ कन्टेनर आइरहेको तातोपानी नाका कोभिडपछि पूर्ण रुपमा ठप्प छ ।
दैनिक १ सयको संख्यामा कन्टेनर आउने उक्त नाका पूर्ण रुपमा सुचारु भइसक्दा पनि १० भन्दा बढी संख्यामा कन्टेनर नआएको व्यवसायीहरुको भनाई छ । पटक पटकको तातोपानी नाका अवरुद्धका कारण व्यवसायीले बैकल्पिक मार्गको रुपमा केरुङ–रसुवागढी नाका प्रयोग गर्न थालेका हुन् । ‘तर पछिल्लो समयमा केरुङ–रसुवागढी नाका पनि व्यवसायीहरुका लागि अभिशाप नै बन्यो,’ नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने,‘नेपाली व्यवसायीको हकमा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध पारियो ।’ 


भुकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झण्डै ४ बर्षपछि २०७६ जेठ १५ गतेदेखि पुनर्निमाणपश्चात तातोपानी नाका सुचारु गरेको थियो । यसपछि केही समय खुल्ने र केही समय बन्द भइराख्ने उक्त नाका कोभिड १९ को संक्रमणको नाममा फेरी गत माघदेखि बन्द गरियो । 


त्यसपछि गत कात्तिक १५ गतेदेखि सामान्य रुपमा खुलाइएको उक्त नाकाको मितेरी पुलको मर्मत सम्भारको नाममा फेरी जनवरी २१ गतेदेखि फेब्रुअरी ८ तारिखसम्मका लागि पुनः बन्द गरिएको छ । कोभिड १९ को संक्रमणको बहानामा पछिल्लो समयमा चीनको खासा बजारसम्म नेपाली कन्टेनर र व्यवसायीलाई जान समेत रोक लगाइएको छ । 


यसअघिसम्म नेपाली व्यवसायी र कन्टेनर सोझै खासासम्म जान पाउने व्यवस्था थियो । ‘तर पछिल्लो समयमा सामान बोकेको चीनियाँ कन्टेनर तातोपानी बन्दरगाहसम्म आइपुग्छ,’ पौडेलले भने,‘नेपाली व्यवसायीले तातोपानी वन्दरगाहबाट अर्को कन्टेनरमा सामान लोड गरेर काठमाडौंसम्म आउनु पर्ने व्यवस्था बनाइयो ।’
पौडेलकाअनुसार तातोपानी नाकाबाट पहिले दैनिक करिब ५० करोड मूल्यबराबरको सामान भित्रिन्थ्यो । तर पछिल्लो समयमा उक्त नाका सुचारु भएपनि दैनिक १० करोडको सामान भित्र्याउन पनि हम्मे परेको पौडेलको भनाई छ । ‘तातोपानीको बिकल्प रसुवा नाका बनेपनि त्यहाँबाट पनि दैनिक २–३ करोडको मात्रै सामान भित्रिन्छ,’ पौडेलले भने,‘चीनको यो नीतिका कारण हाम्रो व्यापार व्यवसाय पूर्ण रुपमा धरासायी बन्यो ।’


तातोपानीस्थित भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले मितेरी पुलको मर्मत सम्भारका लागि उक्त नाका करिब २० दिनका लागि चीनले बन्द गरेको जानकारी दिए । मितेरी पुलमुनी बाढी र पहिरोका कारण कटान धेरै भएकाले मर्मत सम्भारको लागि उक्त नाका तत्कालका लागि बन्द गरिएको खत्रीले जानकारी दिए ।


द्विपक्षीय ब्यापारको बिषयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत पछिल्लो समयमा दिक्कदार बनेको छ । विभिन्न बहानामा पटक पटकको अवरोध र छलफलपछि पनि अवस्थामा सुधार नआएपछि विभागीय मन्त्री लेखराज भट्टले समेत असन्तुष्टि व्यक्त गरेका छन् । 


गत् मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले चीनको व्यवहारका कारण उक्त मुलुकसँगको व्यापारको बिषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका थिए । मन्त्री भट्टले छिमेकी मुलुक भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएका थिए । 


आइतबार अन्नपूर्ण पोष्टसँग कुरा गर्दै मन्त्री भट्टले चीनले कोभिडको समस्या देखाएर नेपालतर्फको द्विपक्षिय व्यापारमा अवरोध सिर्जना गरेपनि अन्य मुलुकसँग भने राम्रै आयात निर्यातसम्बन्धी कारोबार गरिरहेको जानकारी दिए । ‘समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयका साथै हाम्रै मन्त्रालयको विभिन्न स्तरबाट पहल र छलफल भइरहेको छ,’ मन्त्री भट्टले भने,‘आशा गरौं निकट समयमै समस्या समाधान हुनेछ ।’
०००
 

बैकल्पिक रसुवागढी झनै महँगो

तातोपानी नाका लामो समयसम्म विभिन्न बहानामा अवरुद्ध हुँदा व्यवसायीले रसुवागढी नाका रोजेका थिए । तर पछिल्लो समयमा उक्त नाका पनि फलदायी साबित नभएको व्यवसायीहरुको भनाई छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीकाअनुसार कोभिड १९ को संक्रमण अघिसम्म दैनिक करिब १ सय वटा कन्टेनर उक्त नाकाबाट आउथ्यो । तर पछिल्लो समयमा दैनिक ५–६ वटा भित्र्याउन पनि समस्या छ ।  कार्कीकाअनुसार अहिले नयाँ सामान बोकेर कन्टेनर आउदैनन् । गत् बर्षकै सामान बोकेर थन्केर बसेको करिब ४–५ सय कन्टेनरमध्ये ५–६ बटा कन्टेनर आउने गरेको छ ।
तातोपानीजस्तै हिजोआज नेपाली व्यवसायी र कन्टेनरलाई केरुङ पोर्टसम्म जान दिइएको छैन् । केरुङबाट सामानसहित हिडेको कन्टेनर रसुवा नाकासम्म आइपुग्छ । त्यहाँबाट अर्को कन्टेनरमा सामान लोड गरी काठमाडौंसम्म भित्र्याउने गरिन्छ । ‘उता जान पनि दिएको छैन, नयाँ सामान पनि लिन दिएको छैन,’ कार्कीले भने,‘यसले गर्दा गत् बर्ष खरिद गरेको र थन्केर बसेको थोत्रो सामान अहिले हामीले थोरथोरै परिमाणमा भित्राइरहेका छौं ।’
यसबाहेक केरुङ पोर्टदेखि रसुवागढी नाकासम्मको २६ किलोमिटर दुरीलाई करिब ६० हजार आरएमबी(१० लाख ८१ हजार नेपाली रुपैयाँ) असुल गर्न थालिएपछि नेपाली व्यवसायी झनै मारमा परेका छन् । कोभिडअघिसम्म केरुङदेखि रसुवा नाकासम्मको भाडा दर १६ हजार आरएमबी(२ लाख ८८ हजार नेपाली रुपैयाँ) मात्रै थियो । उक्त दुरीमा भाडा दर ७ लाख ९३ हजार रुपैयाँ बृद्धि गर्दा नेपाली व्यवसायीको लागत खर्च बढेर धान्नै नसक्ने अवस्था बनेको कार्कीले जानकारी दिए ।
०००
 



निर्विवाद रुपमा आयात निर्यात हुनुपर्छ  
–प्रकाश दाहाल, सहसचिब 

द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय

सहसचिब स्तरीय द्विपक्षीय संयन्त्रको बैठक गत् सेप्टेम्बर २८ तारिखमा सम्पन्न गरेका छौं । तातोपानी नाका र रसुवा नाका निर्विवाद र सहज रुपमा सञ्चालन हुनुपर्ने बिषयलाई यो बैठकमा मूल एजेण्डाका रुपमा उठाएका थियौं ।
त्यसपछि स्थानीयस्तरमा पनि पटक पटक बैठक र छलफल भएको हो । यसवाहेक चीनियाँ दुताबासमा पनि पटक पटक पत्राचार गरी ध्यानाकर्षण गराउने काम भएको छ । ल्हासास्थित महाबाणिज्य दुताबासले पनि उताका व्यापारीसँग २–३ पटक बैठक बसेर छलफल गरेको छ । 


महाबाणिज्य दुताबासले फेब्रुअरीको दोश्रो सातातिर उतातर्फको ब्यापारिक मार्ग र बजारको बिषयमा स्थलगत रुपमै अध्ययन गर्ने कार्यक्रम तय गरेको छ । तर कोभिड १९ का कारण अनुमति भने पाइएको अवस्था छैन् । हामीले स्थलगत भ्रमण पनि गरेका छौं । अहिलेको स्टाटस तातोपानीको हकमा मितेरी पुलको मेन्टिनेन्सको लागि फेब्रुअरी ८ तारिखसम्म बन्द गरिएको छ । हाम्रो अनुरोधमा उनीहरुले उतापट्टि अध्ययन गर्दा तातोपानी नाकातर्फ चीनियाँ भुभागमा नेपाली ट्रक कन्टेनर आउन बाँकी छैन भनेर जवाफ आएको छ ।
रसुवागढीको हकमा भने व्यवसायीहरुसँग धेरै पटक कन्टेनर र ट्रक चीनको केरुङ्गमा अलपत्र परेको बिषयमा तथ्याँक माग गरेको छु । तर हालसम्म प्राप्त भएको छैन् । मालसामानसहितको कतिवटा कन्टेनर र ट्रक कहा कहा कुन अवस्थामा अलपत्र परेका छन्, त्यो बिषयमा बिबरण माग गरेअनुसार हालसम्म तथ्यगत जानकारी केही पनि आइपुगेको छैन् । 


हाम्रो महाबाणिज्य दुताबासले पारीपट्टीका ब्यापारी र दुई यातायात व्यवसायीहरुसँग कुराकानी गर्दा मोटामोटी ५०–६० वटा गाडी उतापट्टी बाँकी छन भनेर जवाफ आएको छ । तर नेपाली व्यवसायीहरुले करिब १ हजारको संख्यामा सामानसहितको कन्टेनर उता रहेको जानकारी दिएका छन् । धेरै समयसम्म त्यहाँ रोकिएका कन्टेनरहरु डाइभर्ट भएर विभिन्न रुट प्रयोग गरी भारतहुँदै नेपाल आएको जानकारी पनि प्राप्त भएको छ ।
अहिले त् एकतर्फी सामान चीनबाट मात्रै आइरहेको छ । हाम्रो भनाई चाँही, उताबाट आयात हुँदा यताबाट निर्यात पनि हुनुप¥यो भन्ने हो । अब आयात निर्यात दुवै निर्विवाद रुपमा खोल्नुपर्छ । उनीहरुले चाँही हामी जिरो कोभिड पोलिसी नीति लागु गरेको भन्छन् । कोभिडको भाइरस एक अर्कोमा नसर्ने समस्या समाधान भएपनि आयात निर्यात सहज रुपमा खोल्छौं भनेर उनीहरु विभिन्न बैठक र छलफलमा भन्दै आएका छन् ।
2077.10.15
 

Comments