चमत्कार भए सीके, नभए उपेन्द्र र जयप्रकाशबीच प्रतिस्पर्धा

 सप्तरी २ मा ३ ‘हेभिवेट’ बीच रोचक भिडन्त



निर्बाचनमा जित हासिल गर्न बौद्धिक जमातको मात्रै भएर हुँदैन् । निर्बाचनमा अन्तिम छेलोखेलो पैसा, जातिय समिकरण, जनाधार समर्थन र स्थानीय सुरक्षा निकायमा पहुँचको आधारमा हुन्छ, जुन पछिल्लो समयमा सीके राउतको पक्षमा त्यति बलियो देखापरेको छैन् ।


राजेश बर्मा

सप्तरी । देशभरकै निर्बाचन क्षेत्रमध्ये रोचक र संवेदनशिल क्षेत्रमा पर्छ, सप्तरीको क्षेत्र नम्बर २ । हुन पनि यो क्षेत्रबाट ३ ठूला नेताले उम्मेदबारी दिएका छन् । यसमध्ये दुई जना पार्टीको अध्यक्ष नै छन् । अर्का स्थानीय पुराना नेता छन् । 

क्षेत्र नम्बर २ बाट मधेश आन्दोलनबाट चर्चित नेता बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादब एमाले –जसपा गठवन्धनबाट उम्मेदबारी दिएका छन् । यस्तै यो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का स्थानीय नेता जयप्रकाश ठाकुर सत्ता गठवन्धनबाट उम्मेदबारी दिएका छन् ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) पनि सोही क्षेत्रबाट उम्मेदबारी दिएका छन् । राउत भने गठबन्धन बिना एक्लो उम्मेदबारी दिएका छन् ।

विगतमा स्वतन्त्र मधेश गठबन्धनको केन्द्रिय संयोजक रहेर स्वतन्त्र मधेश अभियान सञ्चालन गरेका सीके राउत २०७५ फागुन २४ गते तत्कालिन केपी ओली सरकारसँग ११ बुँदे सहमति पश्चात् नेपालको मूल राजनितिक धारमा फर्केका थिए । 

स्वतन्त्र मधेश अभियान सञ्चालन गरेर उनी चर्चाको शिखरमा पुगेका थिए । यो अभियानका कारण तत्कालिन समयमा सरकारले उनलाई राज्यबिरुद्ध संठगित अपराध गरेको अभियोगमा पटक पटक पक्राउ गरि मुद्दा चलाएको थियो । यसले गर्दा उनी धेरै समय बन्दी जीवनसमेत बिताएका छन् । 

‘स्वतन्त्र मधेश गठबन्धन’ मार्फत् मधेशमा पृथक्तावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउत बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए । नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए ।

राउत युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भइसकेका छन् । 

प्रतिनिधी सभाको निर्बाचनका लागि यि तीन ‘हेभिवेट’ बीच कडा रोचक भिडन्त हुने हुँदा देशभरकै विशेष ध्यान सप्तरीको २ नम्बर क्षेत्रले आकृष्ट गरेको छ ।

सीके राउतको घर पनि यही क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नम्बर २ मा पर्छ । स्थानीय जनजिविकाका बिषय, भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रण, सुशासन, राजनीतिकरुपमा स्वायत्तताको एजेण्डा बोकेर सीके राउत निर्बाचनमा होमिएका छन् ।

सीके राउत एक्लो उम्मेदबारी दिएर पनि अन्य दुई उम्मेदबार यादब र ठाकुरमाथि ‘भारी’ परेको सप्तरीबासीको भनाई छ । राजविराज बडा नम्बर १ का सरोज यादब भन्छन,‘हिन्दीमा एउटा भनाई छ, शेर एक्लै शिकार गर्छन, झुण्डमा त् स्यालले मात्रै शिकार गर्छन ।’

अर्थात जसपा अध्यक्ष उपेन्द्र यादब र लोसपा नेता जयप्रकाश ठाकुर गठवन्धनको भिडको सहयोगमा निर्बाचनको मैदानमा खडा भएका छन् । तर सीके राउत आफ्नै बलवुतामा एक्लो उम्मेदबारी दिएर पनि सबैमाथी भारी परेको यादबको टिप्पणी छ । 

यादबका अनुसार सप्तरी जिल्लाको बौद्धिक जमात सीके राउतको पक्षमा छन् । बाहिर जे जस्तो हल्ला भए नि उक्त क्षेत्रमा उपेन्द्र यादब र सीके राउतबीच ठूलो प्रतिस्र्पधा रहेको उनको दाबी छ । 

जानकारहरुका अनुसार उपेन्द्र यादब र सीके राउतबीच ठूलो प्रतिस्र्पधाको कुरा उठिरहे पनि अन्तिम प्रतिस्र्पधा भने उपेन्द्र यादब र जयप्रकाश ठाकुर बीच हुने तय छ । किनभने ति दुवैजना उम्मेदबार बलियो गठवन्धनबाट प्रतिस्र्पधा गर्दैछन् ।  

कारण हो, निर्बाचनमा जित हासिल गर्न बौद्धिक जमातको मात्रै भएर हुँदैन् । निर्बाचनमा अन्तिम छेलोखेलो पैसा, जातिय समिकरण, जनाधार समर्थन र स्थानीय सुरक्षा निकायमा पहुँचको आधारमा हुन्छ, जुन पछिल्लो समयमा सीके राउतको पक्षमा त्यति बलियो देखापरेको छैन् । 

सीके राउत आफै बौद्धिक जमातको मानिन्छन् । तर तराई मधेशमा शिक्षित बर्गको प्रतिशत झण्डै ५० प्रतिशतको हाराहारीमा मात्रै छन् । बाँकी अशिक्षित छन् । अशिक्षाकै कारण निर्बाचनको अन्तिम समयमा पैसाको चलखेलको बलमा अप्रत्यासित परिणाम आउने विगतहरुका निर्बाचनहरुले देखाएको छ । 

समाजिक सञ्जालमार्फत सीके राउतको पक्षमा ठूलो समर्थन देखिए पनि फिल्डमा भने त्यो अनुसारको लोकप्रियता हेर्न भने पाइएको छैन् । स्थानीय तह निर्बाचनभन्दा केही महिना अघिसम्म सर्वसाधारणको जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने रसायनिक मल, भ्रष्टाचार नियन्त्रण लगायतको सबालमा तराई मधेशका जिल्लामा आन्दोलन गरेर अन्य मधेशवादी दललाई प्रभावित गर्न सीके राउतको पार्टी सफल भएको थियो । 

त्यो वेलाको ‘सेन्टिमेन्ट’ ले अहिलेको निर्बाचनमा कतिको प्रभाव पार्न सक्छ, त्यो हेर्न बाँकी छ । स्थानीय तहको निर्बाचनमा देशभर ८५ हजार मत प्राप्त गरेको सीके राउतको पार्टीमा साढे ५ लाख संगठित सदस्य रहेको बताइएको छ । 

मूल राजनीतिक धारमा आएका सीके राउत पहिलो पटक प्रतिनिधीसभा र प्रदेश सभाको निर्बाचनमा भाग लिएका हुन । उनी हालसम्म ‘अनटेस्ट खेलाडी’ को रुपमा देखिएका छन् भने उपेन्द्र यादब पटक पटक ‘टेस्ट’ भइसकेका नेता छन् । जयप्रकाश ठाकुर भने अहिलेसम्म जित हासिल गरेका छैनन् ।

अहिले विभिन्न तप्का, भेग र क्षेत्रबाट टेस्ट भइसकेका नेतालाई मत नदिने अभियान चलिरहँदा यसले उपेन्द्र यादबलगायत अन्य पुराना नेतालाई केही हानी गर्न सक्ने स्थानीयबासीहरु बताउँछन् । 

अर्कोतर्फ सीके राउतको तुलनामा उपेन्द्र यादब सधै केन्द्रिय सत्ता र प्रदेश सत्तामा बसेकाले उनको प्रभाव निक्कै देखिएको छ । त्यति मात्रै होइन, निर्बाचनमा जित हासिल गर्न खर्च पनि राम्रै गर्न सक्ने अवस्थामा उपेन्द्र यादबको रहेकाले उनको अवस्था अहिलेसम्म रक्षात्मक देखिएको छ । 

अर्कोतर्फ उनी यादब समुदायबाट प्रतिनिधित्व गर्छन् । यो समुदायबाट उक्त क्षेत्रमा प्रतिनिधि सभाको निर्बाचनमा उनी एक मात्र उम्मेदबार भएकाले त्यसको प्रत्यक्ष फायदा पनि उनलाई पुग्ने राजविराजका सुरेश उपाध्यायले बताए । 

यसबाहेक उक्त क्षेत्रबाट उम्मेदबारी दिएका नेकपा माओवादीका उमेश यादबले पनि जातिय समिकरणको हिसावले माओवादी खेमाको मतसमेत उपेन्द्र यादबलाई दिलाउन भित्री तयारी गरेकाले उपेन्द्र यादबको पक्ष निक्कै बलियो बन्दै गएको स्थानीय विश्लेषकहरुको दाबी छ । 

क्षेत्र नम्बर २ मा यादब समुदायको करिब १८ हजार मत छ । एमाले–जसपा गठवन्धनबाट उम्मेदबार बनेका उपेन्द्रलाई एमालेसहित काँग्रेसको पनि राम्रै मत झर्न सक्ने आँकलन गरिएको छ । व्यक्तिगत रुपमा काँग्रेससँग उपेन्द्र यादबको राम्रो सम्बन्ध रहेको र उक्त क्षेत्रमा काँग्रेस, माओवादी तथा माधव नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधी सभाका लागि कोही उम्मेदबार नभएकाले त्यसको फायदा उनलाई जान सक्ने आँकलन गरिएको छ । 

उक्त क्षेत्रमा बलियो उम्मेदबारको रुपमा हेरिएका उपेन्द्र यादबप्रति स्थानीयबासीको गुनासो पनि त्यतिकै छ । जितेपछि खासै काम गर्न नसकेको उनीमाथि एकातिर गुनासो पनि त्यतिकै छ । केन्द्रिय सरकारमा पटक पटक मन्त्रीसहित प्रदेश सरकारको नेतृत्व गरेको जसपाको राष्ट्रिय अध्यक्ष भएर पनि यादबले समग्र मधेश प्रदेशको प्रमुख बिकासे मुद्दाको सबालमा खासै काम गर्न नसकेको ठूलो आरोप छ । 

यो बिषयमा पूर्व मन्त्री तथा मधेश जानकार जयप्रकाश गुप्ता आनन्दले पनि समाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।  अन्य प्रदेशको तुलनामा विकासका सम्पूर्ण सुचकाँकको आधारमा सबैभन्दा कमजोर मधेश प्रदेश गरेको उनको भनाई छ । 

‘मधेस प्रदेशको स्थिति मात्र खराब छ भन्ने होईन । तर, मधेस प्रदेश तुलनात्मक रूपमा बढी खराब देखिन्छ, संघीयता लागू भएपछि के सुधार भयो त ?,’ सामाजिक सञ्जालमा प्रश्न गर्दै उनले भनेका छन,‘बहुआयामिक गरिबी, जर्जर बनेको शैक्षिक र स्वास्थ्य, कुपोषण, बेरोजगारी, औद्योगिक क्षेत्र र  भौतिक पूर्वाधारको तथ्याँकमा पुरानो अवस्थाको योगदान कति छ र उपेन्द्र यादवहरूले कति सुधार गरे ? सुधारमा उनको योगदान कति छ ? किन नसोध्ने उपेन्द्रहरूसंग ?’

गुप्ताले जसपा अध्यक्ष याबद लामो समयसम्म मन्त्री पदमा आसिन रहेको र बलियो बजेटसहित प्रदेश सरकार सञ्चालन गरेपनि अन्य प्रदेशको तुलनमा मधेश प्रदेश किन निक्कै पछि परेको बिषयमा प्रति प्रश्न गरेका छन् ।

उनकाअनुसार आम चुनावले मतदातालाई राजनीतिक पार्टी र निर्वाचित प्रतिनिधीहरूको मूल्यांकन गर्ने अवसर पनि प्रदान गर्छ । यादव नेतृत्व गरेको जसपा पार्टी मधेसमा सम्पूर्ण अवधी राज गरेको बताउदैं गुप्ताले उक्त पार्टीले मधेसको बिकासमा के कति योगदान दिन सक्यो भनेर प्रश्न सोध्न युवापुस्तालाई आग्रह समेत गरेका छन् । ‘अहिले समृद्धि तथा बिकासको नारा दिइएको छ । हिजो कति गर्न सक्यौं र आज कति बिश्वास गर्ने ? यो प्रश्न खडा भएको छ,’ उनले भने । 

उनकाअनुसार मधेस प्रदेशमा २७.७ प्रतिशत मानिस गरिबीको चपेटामा छन् । स्वतन्त्र विज्ञहरूले यो दर ३५ प्रतिशत भन्दा माथि रहेको औल्याएको छ । यो प्रदेशमा बहुआयामिक गरिबीको मापदण्डमा मुलुकभरमै उच्च छ । ७७ जिल्लामध्ये यो प्रदेशका ८ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५ प्रतिशत छ । यो प्रदेशमा स्कूल जाने उमेरमध्ये ५० प्रतिशत बालबालिका मात्रै स्कूलमा भर्नासम्म हुन्छन् । कुपोषणको शिकार जनसंख्याको आधारमा कर्णाली प्रदेशपछि दोश्रोमा प्रदेश २ छ । 

यो प्रदेशमा १५–४९ उमेर समूहका महिलामध्ये ५८ प्रतिशत महिला एनिमीयाबाट पीडित र ३६.८ प्रतिशत नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन । यो प्रदेशबाट २४.२० प्रतिशत युवा श्रम बेच्न बाहिरिने बताउँदै गुप्ताले मधेस प्रदेशको आर्थिक बिकाश दर पनि २.३ प्रतिशत मात्रै रहेको जानकारी दिए । 

युवा साक्षरताको तुलना गर्दा मधेश प्रदेशमा मुलुक मै सबैभन्दा कम ६३ प्रतिशत मात्रै छ । गण्डकी प्रदेशमा भने युवा साक्षरताको प्रतिशत ९५ प्रतिशत छ । ५४ लाख जनसंख्यामा १३ वटा सरकारी अस्पताल रहेको भन्दै गुप्ताले अबको निर्बाचनमा गुण र दोषको आधारमा सहि उम्मेदबार छानेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । 

उपेन्द्र यादब विगतको निर्बाचनमा सोही क्षेत्रबाट जित हात पारेका थिए । २०७४ सालको निर्बाचनमा उपेन्द्र यादबले राजपासँग गठवन्धन गरि संघीय समाजवादी पार्टीबाट उम्मेदबार भएर जितेका थिए । उनले २१ हजार ६ सय २० मत ल्याएर प्रतिनिधी सभा सदस्यमा निर्बाचित भएका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) गठवन्धनका माओवादीका उम्मेदबार उमेशकुमार यादबले ११ हजार ५ सय ८० मत ल्याएका थिए । यस्तै राजपाबाट विद्रोह गरि स्वतन्त्र उम्मेदबारी दिएका जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याएर तेश्रो स्थान प्राप्त गरेका थिए । 

स्थानीय तहको मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार ठाकुरसँग ३६ हजार ९९२ मत छन् भने जसपा–एमाले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवसँग  १९ हजार २७१ मत मात्रै छ । दुईबीच १७ हजार बढी मतको अन्तर  छ । 

सप्तरी–२ मा ९५ हजार ३ सय ९४ मतदाता छन् । १५ हजार मत यादव समुदायको छ भने २३ हजार मत मुस्लिम समुदायको छ । यी दुवै समुदायमाथि उपेन्द्र यादवको पकड रहेको बताइएको छ । मधेसको चुनावमा जातीय फ्याक्टर महत्वपूर्ण मानिन्छ । अन्तिम समयमा जातिय समिकरणको मुद्दा बोकेर उपेन्द्र यादब सहज रुपमा जित हासिल गर्न सक्ने स्थानीय बासिन्दाको भनाई छ ।

तर उपेन्द्र यादबलाई जित हात पार्न त्यति सहज भने छैन् । एकातिर सीके राउतको चर्चा परिचर्चा छ भने अर्कोतर्फ सत्ता गठवन्धनको उम्मेदबार जयप्रकाश ठाकुर पनि त्यतिकै बलियो उम्मेदबारको रुपमा अगाडी आएका छन् । यसले गर्दा उपेन्द्र यादबलाई कठिनाई हुन सक्छ । लामो समयसम्म केन्द्रिय सरकारमा प्रतिनिधित्व र प्रदेश सरकारको नेतृत्व गरेको जसपा पछिल्लो समयमा विभिन्न भ्रष्टाचारमा समेत लिफ्त भएकाले यहि निर्बाचनको समयमा सर्वसाधारणले हिसाव किताव गर्ने भएकाले यादबलाई प्रतिस्र्पधा गर्न त्यति सहज भने छैन् । 

अर्कोतर्फ विगतमा एमालेलाई प्रतिगमनको संज्ञा दिएर उक्त पार्टीविरुद्ध आन्दोलन गर्नु र अहिले सोहि पार्टीसँग गठवन्धन गर्नुले पनि तल्लो स्तरमा पार्टीको धेरै हदसम्म शाख पनि गिराएको स्थानीयबासीन्दाहरुको भनाई छ ।

समग्रमा भन्नुपर्दा सप्तरी २ मा अन्तिम समयमा आश्चर्यजनक चमत्कार भयो भने सीके राउत पनि अगाडी आउन सक्छन् । चमत्कार हुन नसके अहिलेसम्म उपेन्द्र यादब र जयप्रकाश ठाकुरबीच कडा प्रतिस्र्पधा हुनेछ ।

सप्तरीको क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनबाट काँग्रेसका रामदेव साह तेलीले उम्मेदबारी दिएका छन् । उनको विपक्षमा एमाले–जसपा गठवन्धनबाट जसपाको नवलकिशोर साह सुडीले उम्मेदबारी दिएका छन् । स्वतन्त्रतर्फ डा.रोहितकुमार पोखरेललगायतले उम्मेदबारी दिएका छन् । यो क्षेत्रमा जसपाको पलडा भारी रहेको बताइएको छ ।

यस्तै सप्तरीको क्षेत्र नम्बर ३ मा एमाले–जसपा गठवन्धनको एमालेतर्फका ताराकान्त चौधरीले उम्मेदबारी दिएका छन् । उनको विपक्षमा सत्ता गठवन्धनबाट काँग्रेसका पुराना नेता दिनेश यादबले उम्मेदबारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठवन्धनको दिनेश यादबको पलडा निक्कै भारी रहेको स्थानीयबासिन्दाको आँकलन छ । 

त्यस्तै क्षेत्र नम्बर ४ मा सत्तागठवन्धनबाट काँग्रेसका तेजुलाल चौधरी, एमाले–जसपा गठवन्धनबाट जसपाका बालकिशोर यादबसहित स्वतन्त्र उम्मेदबारले उम्मेदबारी दिएका छन् । स्थानीयबासिन्दाका अनुसार यो क्षेत्रमा जसपाका बालकिशोर यादबको अवस्था निक्कै बलियो देखापरेको छ । 

२०७९ कार्तिक २२ गते प्रकाशित


https://www.souryaonline.com/2022/11/497018.html

Comments