नेपालमा १९ वर्ष जेल बसेका चार्ल्स शोभराजलाई छोड्न आदेश


शोभराज शृङ्खलावद्ध हत्याका दोषी हुन्। सिरियल किलर। अझ उनले त बिकिनी किलरको उपमा समेत पाएका छन्। 


काठमाडौं  ।  नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। उनी सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो।

सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो। न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न भनिएको छ।

“आफूलाई थुनामा राखिनु गैरकानुनी भएको भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर निवेदन दायर गर्नुभएको थियो। सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको हो,” अदालतका प्रवक्ता विमल पौडेलले भने।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्। सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।


शोभराज कहिले छुट्लान् जेलबाट ?

पौडेलका अनुसार शोभराजको लगत रहेको भक्तपुर जिल्ला अदालत तथा कारागार कार्यालयमा सर्वोच्च अदालतको आदेश पठाइनेछ। 'अब उहाँहरूले लगत रुजु गरेर अन्य मुद्दामा लगत बाँकी रहे वा नरहेको कुरा यकिन गरेर मात्रै उहाँलाई छोड्नेरनछोड्ने कुरा गर्नुहुन्छ।' अन्य मुद्दाको सजाय भुक्तान गर्न बाँकी नरहेको अवस्थामा शोभराज रिहा हुन सक्छन्।

सुन्धारास्थित केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतले आदेशको बोधार्थ जेलमा पनि पठाएको जानकारी दिए। 'भक्तपुर जिल्ला अदालतबाट लागत बाँकी रहे नरहेको जानकारी हामीलाई आएको छैन। बाँकी नरहेको जानकारी आयो भने अहिले त राति भयो  बिहीवार बिहान हामी रिहा गर्न सक्छौँ,' उनले भने।

चार दशकअघि नेपालमा अमेरिका र क्यानडाका एक‍एक महिलाको हत्या गरेको अभियोग उनीमाथि थियो। ती मुद्दामा उनी दोषी ठहर भए।

सर्वोच्च अदालतले किन मुक्त गर्ने आदेश दियो ?


सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ। आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ।

हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ। कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।

नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए । 'हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ,' आदेशमा भनिएको छ 

बुधवारको आदेशमा न्यायाधीशद्वयले सर्वोच्च अदालतले २०७५ साल फागुनमा दिइएको आदेशमा रहेको 'निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई ठेकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियोू बेहोरा र त्यसपछि २०७९ साल वैशाखमा परेको अर्को रिट निवेदनमा सर्वोच्च अदालतले जारी गरेको परमादेशको सम्बन्धमा कुनै निर्णय पनि नभएको पनि उल्लेख गरिएको छ।

कहाँ कहाँ गरे अपराध ?

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ। ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ। सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे  'द सर्पेन्ट' नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो।

भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय 'सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिले' जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले यसअघि बीबीसीसँग बताएका थिए। शोभराज सन् २००३ मा काठमाण्डूबाट पक्राउ परेका थिए । 

भारतमा किन परेका थिए जेल ? कसरी भागेका थिए तिहाड जेलबाट ?

प्रेम विवाह गरेको नेपाली युवति निहिता विश्वास

फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो। भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे।

भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए।थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ। थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो। सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो। त्यसपछि सन् २००३ मा उनी काठमाण्डूमा देखा परे। 

नेपालको सर्वोच्च अदालतले फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । उनको उमेरका आधारमा यो निर्णय गरिएको अदालतले जनाएको छ । ७८ वर्षका शोभराज मुटु रोगबाट पीडित छन् ।शोभराज दुई अमेरिकी पर्यटकको हत्याको आरोपमा सन् २००३ देखि नेपालको जेलमा छन् । अदालतले उनलाई रिहा भएको १५ दिनभित्र सुपुर्दगी गर्न आदेश दिएको छ ।

‘द सर्पेन्ट’ र ‘बिकिनी किलर’ जस्ता उपनामले चर्चित चार्ल्स शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । उनकी आमा भियतनामको नागरिक थिइन् र उनका बुबा भारतीय थिए। बुबाले उनलाई अपनाउन अस्वीकार गरे।

त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सेली उपनिवेशमा जन्मेका कारण उनले फ्रान्सेली नागरिकता पाएका थिए। भेष बदल्न सिपालु चार्ल्स शोभराजले पर्यटक र युवतीलाई लक्षित गर्थे । चार्ल्स शोभराजलाई भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा २० भन्दा बढी हत्याको आरोप लागेको थियो। उनलाई सिरियल किलर भनिन्छ तर अगस्ट २००४ अघि उनी त्यस्तो कुनै पनि मुद्दामा दोषी ठहरिएका थिएनन्।

एक अपराधीको रूपमा शोभराज या त सुरक्षालाई झुक्याएर जेलबाट बाहिर निस्किराखेका थिए वा अधिकारीलाई घूस दिएर जेलमा सुविधा पाइरहेका थिए । शोभराज भारत बाहेक अफगानिस्तान, ग्रीस र इरानको जेलबाट पनि सुरक्षा घेरा तोडेर बाहिर आएको विश्वास गरिन्छ । फ्रान्सेली पर्यटकलाई विष खुवाउने मुद्दामा उनले भारतमा झण्डै २० वर्ष जेलमा बिताएका थिए।

यो विश्वास गरिन्छ कि शोभराजले आफ्नो प्रारम्भिक जीवनमा फ्रान्समा सानातिना अपराध गरेका थिए, तर सिरियल किलर बन्ने सुरुआत सन् १९६३ मा एसिया भ्रमण गर्दा भएको थियो। उनको आपराधिक घटनाहरू गर्ने शैली सधैं एउटै हुने विज्ञहरू बताउँछन्। उसले फ्रान्सेली र अंग्रेजी बोल्ने पर्यटकहरूसँग मित्रता गर्थे जसले ड्रग्स लिन्थे । उनले तिनीहरूको सामान लुट्थे र त्यसपछि तिनीहरूलाई मार्थे।

सन् १९७२ देखि १९८२ को बीचमा शोभराजमाथि हत्याका २० भन्दा बढी आरोप लागेका थिए । यी सबै घटनामा पीडितहरूलाई लागूऔषध खुवाइएको थियो। उनीहरूको घाँटी थिचिएको थियो । उनीहरूलाई मारिएको थियो वा जलाइएको थियो।

यो भनिन्छ कि चार्ल्सको हिंसा गर्ने शक्तिको अनुमान उनी जेलबाट भागेकोबाट गर्न सकिन्छ। उनी दुई पटक भारतको जेलबाट भागेका थिए । एक पटक तिहाड जस्तो उच्च सुरक्षा कारागारबाट पनि उनी भागेका थिए । सन् १९७६ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो तर दश वर्षपछि मात्र १९८६ मा उनी तिहाड जेलबाट भागेका थिए । शोभराजले जेलमा बर्थडे पार्टी आयोजना गरेका थिए । यसमा कैदीसँगै गार्डलाई पनि बोलाइएको थियो ।

पार्टीमा वितरण गरिएको बिस्कुट र अंगूरमा निद्राको औषधि मिसाइएको थियो । केही बेरमै शोभराज र उनीसँगै जेलबाट भागेका चार जना बाहेक सबै बेहोस भए । भारतीय अखबारमा आएको रिपोर्टका अनुसार शोभराज बाहिर आउनेमा यति ढुक्क थिए कि उनले जेलको गेटमा तस्विर समेत खिचे ।

रिचर्ड नेभिलको बायोग्राफीमा, चार्ल्स शोभराज भन्छन्, “जबसम्म मसँग मानिसहरूसँग कुरा गर्ने मौका छ, म तिनीहरूलाई बहकाउन र झुक्याउन सक्छु।”

भनिन्छ कि दश वर्षको जेल सजायको अन्त्यमा, उनी जानाजानी भागेका थिए ताकि उनी फेरि समातिन सकून् र जेलबाट भागेको अभियोगमा उनीमाथि मुद्दा चलाउन सकियोस्। यसो गर्दा उनी थाइल्याण्ड सुपुर्दगीबाट बच्न सक्थे। थाइल्याण्डमा उनीमाथि पाँचवटा हत्याको अभियोग लगाइएको थियो र उनलाई मृत्युदण्डको सजाय हुने लगभग निश्चित थियो।

सन् १९९७ मा रिहा हुँदासम्म बैंककमा उनीमाथि मुद्दा चलाउने म्याद सकिएको थियो। सन् १९९७ मा भारतले उनलाई फ्रान्स सुपुर्दगी गरेको थियो । सन् २००३ मा फेरि चार्ल्स शोभराज नेपाल फर्किए । यसपटक नेपालको प्रहरीले पक्राउ गर्न सक्ने अवस्थामा उनी निडर भएर आए र यसपटक पनि उनले पत्रकारसँग कुरा गरे । तर उनलाई नेपालको राजधानी काठमाडौंको क्यासिनोबाट पक्राउ गरियो ।

नक्कली राहदानीमा यात्रा गरी क्यानाडाली नागरिक र एक अमेरिकी महिलाको हत्या गरेको आरोपमा नेपालले उनीविरुद्ध करिब २८ वर्ष पुरानो मुद्दा फेरि खोलेको थियो । शोभराजले आरोप अस्वीकार गरे तर प्रहरीले आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो । सन् २००४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

गत वर्ष अप्रिलमा चार्ल्स शोभराजले नेपालको जेलबाट विदेशी मिडियालाई अन्तर्वार्ता दिएपछि फेरि चर्चामा आएका थिए । प्रश्न उठिरहेको थियो कि जेलमा रहेका कैदीले मिडियासँग कसरी कुरा गरे ? शोभराजको जेल सजाय र उनको भावी योजनाको बारेमा अन्तर्वार्तामा आधारित रिपोर्टहरू दुई बेलायती पत्रिकाहरूमा प्रकाशित भएका थिए।

चार्ल्स शोभराज जसले नेपालमा दुई जनाको हत्या यसरी गरेका थिए

१९ वर्ष जेलमा रहेका चार्ल्स शोभराजलाई सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दियो। सिरियल किलरका रुपमा उनी त्यसै कुख्यात भएका हैनन्। उनले कम्तिमा १२ जनाको हत्या गरेको भनिएको छ। अझ त्यो संख्या ३० जना पुगेको पनि भनिन्छ। तर हत्यासँगै उनी यति चलाख पनि थिए कि कानुनको पञ्जाबाट सधैँ उम्किने। किन हो बुद्धि बिग्रिएर उनी सन् २००३ मा नेपाल पसे। 

यहाँ उनले गरेको हत्याको फाइल बन्द भइसकेको थिएन। अन्ततः यहीँ उनले जन्मकैदको सजाय भोग्नु पर्‍यो। खासमा उनले २०८० सालसम्म कैद बस्नु पर्ने भए पनि बुढ्यौली, रोग आदि मानवीय कारणले छिट्टै छुट्न पाए। उनको मुटुको शल्यक्रिया २०७४ सालमा भएको थियो। त्यसैबेला मैले पहिलोपोस्टका लागि चार्ल्स शोभराज चिनाउने यो फिचर लेखेको थिएँ। शोभराज नचिन्नेका लागि पुनः एक पटक त्यही फिचर।

०३२ साल पुस ८ गते।

कोन्नी जो ब्रोन्जिक

बिहान सात बजे हवल्दार गुणहरि अधिकारी गस्ती गर्दै थिए। काठमाडौंबाट भक्तपुर जानलाई अहिले जस्तो जापानले बनाइदिएको ६ लेनको बाटो थिएन। तर त्यतिबेलाको नयाँ चाइनिज रोड भनिने ठाउँबाट सिनामंगल जाने बाटोमुनि मनहरा खोलादेखि पश्चिम, पीच सडकदेखि पूर्व, सडकमुनि केही मानिस भेला भएको देखे।

भीडलाई पन्छाउँदै हेर्दा त्यहाँ एक महिलाको लाश देखियो। अन्दाजी १८-२० वर्षकी। उनले प्रहरी प्रतिवेदनमा लेखे,  ‘नाङ्गो शरीर, पेट्रोल हाली आगो लगाएको, शरीरको पछाडिको भाग डढेको, गन्जीसमेत आगोले डढेको, मृतक लाशको भुँडीको बीच मुटुको भागमा छुराले हानी कर्तव्य गरी मारेको जस्तो देखिने, जात छुट्याउन नसकिने, हेर्दा युरोपियन देखिने।

प्रहरीले लाश जाँच प्रकृति मुचुल्का उठायो जसमा थप विवरण थियो – गोडा उत्तानो परेको, कपालको रौंहरू डढेको,  आँखा चिम्लिएको,  टाउकोदेखि पैतालासम्म डढेको,  नाकको दाहिने प्वालबाट रगत निस्केको,  फिँज आएको र बायाँ नाकको प्वालबाट तरल पदार्थ आई दुबै प्वाल बन्द भएको, दाँतले जिब्रो टोकेको।

विभत्स विवरण यतिमा सीमित थिएन। अगाडि लेखिएको थियो, ‘ पूरै शरीरको भाग नाङ्गो, दुबै दूधको मुन्टा नदेखिएको, दूधको दाहिने पट्टी भागमा अन्दाजी ३ अंगुल जति कोरिएको, मुटुको भाग नेर ४ वटा छुरी रोपको जस्तो, दुबै हात खुम्चिएको र हातका औंलाहरू डढेको, योनीको भाग पूरै डढेको,  बायाँ कान डढेको,  बायाँ खुट्टा डढेको अन्दाजी १८-२० वर्षकी जात नचिनिने, हेर्दा टुरिष्ट जस्तो जनाना व्यक्तिको लाश।’

‘बायाँ गोडामा कपडाको डोरी बनाई बाँधेको, सो डोरी जली अन्दाजी १ कुरेत जति बाँकी रहेको, बायाँ तिघ्राको भित्रीभागमा घिस्रिएको दाग चिन्ह देखिएको, बायाँ गोडाको बायाँ साइडको माथिल्लो पैतालादेखि देब्रे चाकको पुठ्ठासम्म आगोले जली भित्रको हाड तथा नशाहरू देखिने, दुबै हातको कुमको पछाडि पाता र पुठ्ठाको बीच भाग वा कम्मरको बीचमा आगोले जली भित्रको मासु देखिने, बायाँ पाखुराको बीचमा पूरै डढेको, दायाँ गोडाको औंलादेखि तीघ्रासम्म आगोले डढी फोका उठी फुटेको‘’

राजधानीमा सनसनी

राजा वीरेन्द्रको शासनकाल। नगेन्द्रप्रसाद रिजाललाई हटाएर वीरेन्द्रले तुल्सी गिरीलाई तेस्रो पटक प्रधानमन्त्री बनाएको भर्खर २३ दिन भएको थियो। घटनाले राजधानीमा सनसनी मच्चियो। अनुसन्धान सुरु गर्नुपर्ने प्रहरी सुरुमै अलमलिएको थियो। कहाँबाट सुरु गर्ने अनुसन्धानरु लाश कसको हो नै पत्ता लागेको थिएन। नेपाली भए त हराएको उजुरी चौकीमा पर्थ्यो होला। तर विदेशीको जस्तो देखिन्थ्यो।

काठमाडौँका होटलहरुमा कुनै पर्यटक हराएको छ कि छैन खोज्न थालियो। त्यतिबेला अहिलेको ठमेलभन्दा लोकप्रिय फ्रिकस्ट्रिट अर्थात् झोँछेको ओरियन्टल लजका प्रोपाइटरले एक अमेरिकी युवती कोन्नी जो ब्रोन्जीच र क्यानेडियन नागरिक क्यारियरे लरेन्ट त्यहाँ बसेको र धुलिखेल जान्छु भनी गएकोमा नफर्किएको बयान दिए।

क्रिस्टी एम।म्याकमिलन नामका एक अस्ट्रेलियनले ब्रोन्जीचलाई देखे चिन्छु भनिन्। भोलिपल्ट अर्थात् पुस ९ गते उनले लाश कोन्नी जो ब्रोन्जीचकै हो भनी सनाखत गरिदिइन्। एक बेलायती र एक अस्ट्रेलियाली नागरिकले पनि सनाखत गरिदिएपछि लाश ब्रोन्जीचकै हो भन्नेमा शंका भएन।

लाशको पोस्टमार्टमको प्रतिवेदन पनि भोलिपल्टै आयो, जसमा लेखिएको थियो, मुटुको चोटको कारणबाट रक्तश्राव भई आकस्मिक आघातको कारणबाट मृत्यु भएको। लाश फेला परेको पर्सिपल्ट अमेरिकन दूतावासका अधिकारीले बुझेर लगे।

जसमाथि शंका उसैको हत्या

पुस १८ गते सब इन्सपेक्टर नन्दराम श्रेष्ठले प्रतिवेदनमा लेखे, पुस ५ गतेका दिन क्यारियरे लरेण्ट ओरियन्टल लजबाट धुलिखेल जान्छु भनी निस्केपछि फेरि उक्त लजमा फर्की नआएको। लाश भेटिएको दिन पुस ८ गते बिहान ११:३० बजे उनी बैंकक जाने प्लेनबाट बैंककतर्फ गैसकेको बुझिएको। कोन्नी जो ब्रोन्जीच लाई निज क्यारियरे लरेण्टले कर्तव्य गरी मारी भागी गएको।’

यहाँसम्म प्रहरी पूरै गुमराहमा थियो। क्यारियरे लरेन्टको त पुस ६ गते नै भक्तपुरस्थित साँगा भञ्ज्याङको सडक किनारामा लाश भेटिसकेको थियो। अर्थत् सुरुमा प्रहरीले जोमाथि शंका गरेको थियो, उसको पनि हत्या भइसकेको थियो।

को थियो त हत्यारा ?

अमेरिकी युवती कोन्नीको सोल्टी होटलमा बस्ने एक भियतनामी युवकसँग चीनजान थियो। एक अस्ट्रेलियाली युवती जेनले यो कुरा खुलाएपछि प्रहरीको अनुसन्धान त्यतातिर लाग्यो।  सोल्टी होटलमा भियतनामी पर्यटक नबसेको, तर हिन्द–चीन अनुहारसँग मिल्दोजुल्दो एक युवक र निजको साथमा एक युरोपियन केटी डिसेम्वर १८ देखि बसी २४ मा होटल मल्लमा सरेको र २५ तारीखमा पुनः सोल्टी होटलमा आई कोठा नं। ४१५ मा बसेको थाहा भयो।

केटाले आफ्नो नाम हेनरिकस बिटञ्जा बतायो। केटीले कुकी हेमकर। दुवैले आफू हल्यान्डका नागरिक बताए। केही अघिसम्म हत्यारा ठानिएका लरेन्ट क्यायिरको हत्याराले उसैको पासपोर्ट लिई आफ्नो फोटो टाँसी कीर्ते हस्ताक्षर गरी बैंकक गएको र भोलिपल्ट नै फिर्ता भै अमेरिकी युवती कोन्नी जोको हत्यारा लरेन्ट क्यारियर नै हो भन्ने भ्रम पार्ने उद्देश्य लिएको निचोडमा प्रहरी पुग्यो।

बिटन्जा र हेमकर। यी दुईलाई थाइल्यान्डमा हत्या गरी शोभराज र उनका सहयोगी उनीहरुको नामबाट सोल्टी होटलमा बसेका थिए।

निगरानी मै बेपत्ता

बिटन्जा र हेमकर। यी दुईलाई थाइल्यान्डमा हत्या गरी शोभराज र उनका सहयोगी उनीहरुको नामबाट सोल्टी होटलमा बसेका थिए।


शंकाको घेरामा यही हेनरिकस बिटञ्जा र कुकी हेमकर थिए। तर ठोस सबूद र पर्याप्त शंकाको अभावले गर्दा हिरासतमा राख्न मिलेन। दुवैलाई सोल्टी होटलमा नै बस्न दिई सामान्य निगरानीमा राखिएको थियो। तर २७ डिसेम्वर राति १० बजेसम्म दुवै जना कोठामा रहेको थाहा थियो, त्यसपछि कतिबेला निस्के प्रहरीलाई पत्तै भएन।

उनीहरु बसेको कोठा नम्बर ४१५ मा छापा मार्दा तीन वटा सुटकेश, जुत्ता तथा अन्य कपडा भेटियो। एउटा मनी ब्याग पनि भेटियो जुन सांगामा भेटिएको लाश लरेन्ट क्यारियरको भएको भन्ने उनका दाजु गील्स एम क्यारियरले पुष्टि गरे। थाइल्यान्डको बैँककमा पनि विदेशीहरुको हत्या भएको थियो। सबैलाई नशालु पदार्थ खुवाई जीउमा ग्यासोलिन हाली आगो लगाई छोडी दिएका थिए हत्याराले। सन् १९७६ मे ७ र ८ को पत्रिका बैंकक पोष्ट मगाई हेर्दा त्यहाँ एलेन गोटियरको नाममा जुन फोटो छापिएको थियो, उही व्यक्ति काठमाडौँमा हेनरिकस बिटञ्जाको नामले बसेको रहेछ। र मोनिक लेक्लर्क यहाँ कुकी हेमकरको नामले बसेकी थिइन्।

एलेन गोटियर तथा मोनिक लेक्लर्कलाई दिल्ली पुलिसले गिरफ्तार गरिसकेको थियो। उनीहरुको वास्तविक नाम थियो चार्ल्स शोभराज र मेरी एण्ड्रे लुसी लेक्लर्क। एसपी चन्द्रवीर राईले २०३३ साउन २० गते संकलित प्रमाणहरूको आधारमा सुश्री कोन्नी जो ब्रोन्जीचको जघन्य अपराधमा चार्ल्स शोभराज जो काठमाडौं बस्दा हेनरिकस बिटञ्जाको नामले बसेको थियो, भारतीय नागरिक अजय चौधरीको सहयोगमा हत्या गरेको सिद्ध भएको भन्दै गृह पञ्चायत मन्त्रालयलाई सम्बोधन गरी भारतमा पक्राउ भएका ती अपराधीहरूलाई नेपालमा कारवाही गर्न नेपाल भारत अपराधी आदान प्रदान (सुपुर्दगी ऐन) अन्तर्गत कारवाही शुरु गरिदिन हुन भनेर प्रतिवेदन लेखे।

अपराधीहरू सुपुर्द भई आएपछि कारवाहीको लागि पेश गरिने भन्ने उल्लेख भएअनुसार मुद्दा हाल तामेलीमा राखिदिनु भन्ने आदेश काठमाडौ जिल्ला अदालतले २०३४ असार १४ गते दियो।

जाग्यो पुरानो मुद्दा


सुपुर्दगी त के हुनु। तर २६ वर्षपछि २०६० सालमा दरबारमार्गको रोयल क्यासिनोबाट चार्ल्स शोभराज पक्राउ परे। त्यसपछि यो मुद्दा तामेलीबाट फेरि जाग्यो। शोभराजले आफू पहिले नेपालमा आउँदै नआएको भन्दै हत्या आरोप अस्वीकार गरे।

तर जिल्ला अदालतले २०६१ साउन २८ गते हत्या गरेको नै ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।कसूर प्रमाणित गर्ने कुनै प्रत्यक्ष प्रमाण पनि नभएको भन्दै शोभराजले पुनरावेदन अदातलमा चुनौति दिए, त्यहाँ पनि उनको विरुद्ध फैसला आयो। त्यसपछि सर्वोच्चमा गए,  परिस्थितिजन्य प्रमाणहरूबाट  हत्या भएको स्थापित हुन आएको भन्दै फैसला सदर भयो २०६७ साउनमा।

शोभराज शृङ्खलावद्ध हत्याका दोषी हुन्। सिरियल किलर। अझ उनले त बिकिनी किलरको उपमा समेत पाएका छन्। भारतीय पिता र अविवाहित भियतनामी आमाको कोखबाट सन् १९४४ को अप्रिल ६ तारिखमा गुरुमुख शोभराजका रुपमा उनको जन्म भएको हो। जन्मेको केही समयपछि नै भारतीय पिताले आमालाई छाडे। आमाकी नयाँ ब्वाइफ्रेन्डले झड्केलो बाबुका रुपमा शोभराजलाई हुर्काए। उनी फ्रान्सेली नागरिक थिए। झड्केलो बाबु र आफ्नै आमाका अरु सन्तानको तुलनामा उनलाई कम महत्त्व दिइएकोले हो कि किशोर उमेर मै उनमा समस्या आइपर्‍यो।

जेल उनको पुरानो घर हो। उनी पहिलो पल्ट सन् १९६३ मा चोरीको आरोपमा जेल परेका थिए। चोरी र डकैती गर्दै आएका शोभराजले पहिलो हत्या सन् १९७५ मा गरेको पत्ता लागेको छ। उनको पहिलो शिकार सियाटलकी टेरेसा नोल्टन थिइन्। आफ्ना धेरै शिकारलाई हत्या गरेर जलाइदिन्थे शोभराज।

डच विद्यार्थीहरु हेनरिकस बिटञ्जा र उनकी प्रेमिका कुकी हेमकरलाई थाइल्यान्डमा हत्या गरेर उनीहरु कै पासपोर्ट लिएर नेपाल पसेका थिए शोभराज र उनका सहयोगी। यहाँ आएर क्यानाडेली र अमेरिकी दुई नागरिकको हत्या गरेर उनीहरु भागेका थिए। भारत लगायत अरु थुप्रै देशमा अरु थुप्रैको पनि उनले हत्या गरे। तर भारतमा उनलाई मृत्युदण्डको सट्टा १२ वर्षको जेल सजाय सुनाइयो।

भारतको जेलमा गार्डहरुलाई घुस खुवाएर जेलभित्रै टिभी, मीठो खाना, आरामदायी बाससहित विलासी जेल जीवन उनले बिताए। जेलै उनका लागि ठीक पनि थियो। किनभने थाइल्यान्डमा उनले गरेको हत्याको लागि त्यहाँको सरकारले २० वर्षका लागि अरेस्ट वारेन्ट जारी गरेको थियो। उनी भारतबाट रिहा भएको भए निश्चित रुपमा थाइल्यान्डलाई सुपुर्दगी गरिन्थ्यो र त्यहाँ उनले मृत्युदण्ड पाउँथे। चलाख शोभराजले रिहा हुन २ वर्ष बाँकी छँदा मार्च १९८६ मा कैदी र गार्डहरुका लागि पार्टी दिएर स्लिपिङ पिल खुवाएर जेलबाट टाप ठोके। तर उनलाई तुरुन्तै गोवामा गिरफ्तार गरियो र उनलाई थप १० वर्ष जेल सजाय सुनाइयो।

सन् १९९७ को फेब्रुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा हुँदा उनीविरुद्धका धेरै वारेन्ट, प्रमाण र प्रत्यक्षदर्शी हराइसकेका थिए। सुपुर्दगी गर्ने कुनै देश नरहेकोले भारतीय अधिकारीहरुले उनलाई फ्रान्स फर्कन दिएका थिए।

पाप धुरीबाट करायो

फ्रान्स फर्केपछि उनी विलासी जीवन बिताइरहेका थिए। उनले आफ्नो अन्तर्वार्ता, कथाका लागि मोटो रकम असुल्थे। तर पाप धुरीबाट कराउन बाँकी थियो। त्यसैले उनी नेपाल आए। सन् २००३ को सेप्टेम्बर १७ मा दि हिमालयन टाइम्सका पत्रकारले शोभराजलाई काठमाडौँको सडकमा भेट्टाए। पत्रिकाले यो स्कूप समाचार छापेको दुई दिनपछि प्रहरीले उनलाई दरबारमार्गको याक एन्ड यति होटलको क्यासिनोबाट उनलाई गिरफ्तार गरेको थियो।

त्यसयता उनको बास सुन्धाराको केन्द्रीय कारागारस्थित गोलघरमा छ। स्क्यान्डल मच्चाउन खप्पिस शोभराजको एक युवती निहिता विश्वाससित प्रेम र बिहेको प्रसंग पनि एकताका चर्चामा थियो। तर अहिले त्यो सेलाइसकेको छ।नेपालको कानुन अनुसार जन्मकैद भनेको २० वर्षको जेल सजाय हो। सन् २००३ देखि जेलमा रहेका थिए उनी।

कयौँको बाँच्ने इच्छालाई  क्रुरतापूर्वक निमोठेका उनलाई पछि मृत्युको भयले सताएको थियो। त्यसैले पछिल्लो समयमा उनले भन्ने गरेका थिए( म जेलमा मर्न चाहन्नँ। उनको इच्छा पूरा भयो, उनले जेलमा मर्न परेन।



२१ डिसेम्बर २०२२ (६ पुष २०७९)

स्रोत  : बीबीसी र माईसंसार डटकम

Comments