कसरी मारिइन् पत्रकार उमा ?


२०६५ माघ २  - बिहिवार
सिरहा घर भएकी पत्रकार उमा सिंह गत आइतबार साँझ सवा सात बजेतिर जनकपुर–१४, रजौतस्थित डेरामा खाना बनाउँदै थिइन्। गोविन्द कार्कीको उक्त घरमा उमा बसेर पत्रकारिता गरेदेखि नै बस्न थालेकी हुन्। लोडसेडिङ्गका कारण चकमन्न अँध्यारोमा उमा एक्कासि चिच्याइन्। वरिपरिका सबै ढोका थुनेर भित्र बसे। उमाको कोठाभित्र एक समूह पस्यो। उमाको घाँटीमा खुकुरी प्रहारपछि लछारपछार गर्दै बाहिर बरण्डामा ल्याएर शरीरका विभिन्न भागमा पुनः खुकारी प्रहारपछि त्यो समूह फरार रह्यो।
प्रहरीलाई प्रतक्षदर्शीले जानकारी गराएअनुसार हत्याहरू हुल बाँधेर आएका थिए। भित्र पाँचजना र बाहिर १० जनाजति मफलरले अनुहार छोपेका हत्याराहरू रहेको प्रहरीको अनुमान छ। तर समयमा खबर नभएका कारण प्रहरीले हत्याराको पत्तो लाउनमा बिलम्ब भएको पनि प्रशासनको भनाइ छ। 

आफ्नै कोठामा अज्ञात समूहको खुकुरी प्रहारपछि अस्पताल ल्याउने क्रममा मृत्युवरण गरेकी २५ वर्षीया पत्रकार सिंहको मङ्गलबार जनकपुरधामस्थित गङ्गासागर घाटमा अन्त्येस्टि गरियो। पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, जनपद प्रहरीका एसपी यादव खनालसमेत स्थानीय नागरिक समाजसँगको वार्तापछि शव अन्त्येष्टिको सहमति भएको हो। सहमतिमा स्थानीय प्रशासनले एक महिनाभित्र हत्यारा पत्ता लगाइ छाड्ने प्रतिबद्धता जनाएको छ। स्रोतका अनुसार स्थानीय प्रशासनले डीएसपी रामशरण कार्कीको संयोजकत्वमा पाँच सदस्यीय टोली मङ्गलबारबाटै परिचालन गरेको छ, अनुसन्धानका लागि। 

हत्याको विरोधमा मङ्गलबार धनुषाका संपूर्ण शैक्षिक संस्था, उद्योग, बजार बन्द रहे। स्थानीय अखबारले सम्पादकीय खाली राखे। अखबारमा उमा सिंहको हत्याबारेको समाचार मात्रै प्रकाशित भयो। यसैगरी विद्युतीय सञ्चारमाध्यमले पनि सोमबार दिनभर शोकधुन मात्रै बजाए भने मङ्गलबार उमाको हत्यासँग सम्बन्धित समाचार मात्रै प्रशारण गरे। सिरहाका पत्रकार राजेश बर्मा भन्छन्, “उमाको हत्यारा पत्ता लागेन भने मधेसमा महिला पत्रकारको सङ्ख्या शून्यमा झर्नेछ।” पछिल्लो समय उमाका कारण महिलाहरू पत्रकारितामा प्रवेश गरिरहेका थिए। 

कसले गर्‍यो हत्या ?
पत्रकार उमाका बुवा रञ्जित सिंह र दाजु सञ्जय सिंह लाई ०६२ सालमा माओवादी सिराहाका कार्यकर्ताले अपहरण गरेका थिए। अपहरणपछि हत्या गरिएको आधिकारीक जानकारी नदिईएपनि सिराहाकै जङ्गलमा लुगा र जुत्ता फेला पारेपछि उनीहरूको हत्या भइसकेको ठहर सिराहावासि र परिवालरले गरेका थिए। यसपछि आफ्ना बुवा र दाजुको हत्याको बदला पत्रकारिता मार्फत लिने उनको अभिव्यक्ति पटक पटक सार्वजनिक भएको थियो। यसकै कडी थियो, बुवा र दाजुको हत्यापछि शिक्षिका जागिर छोडेर पत्रकारितामा सक्रिय हुनु। 

उनले स्थानिय दृष्टिकोण टाईम्स विक्लीमा केहि दिन अघि मात्रै हत्याराको किटानीसाथ कारवाहि नगरेकोतर्फ प्रशासनलाई कटाक्ष गर्दै लेख लेखेकि थिइन्। त्यसको केहि दिनपछि ज्यान मार्ने धम्कि आएको कुरा नजिकका केहि साथिलाई सुनाएकि थिइन्। रेडियो टुडे नामक स्थानिय एफएममा दुईवर्षदेखि समाचार सम्पादन र वाचन गर्दै आएकी उनले 'गरमागरम चाय' नामक कार्यक्रम पनि चलाउँथिन्। मधेसमा हुने महिलामाथिका हिंसा उनका कार्यक्रमका मुख्य विषय हुन्थ्ये। उनले राजधानीका दैनिक पत्रिकाहरूमा पनि सामाजिक विषयमा लेख लेख्थिन्। एफएम सञ्चालक वृजकुमार यादव भन्छन्, “उमाभित्र पेशाप्रति प्रतिबद्ध एउटा पत्रकार थियो। ” यादवका अनुसार उमा हिन्दी, मैथिली र नेपाली भाषामा पोख्त थिइन्। उनी जनकपुर बहुमुखि क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर गर्दै थिइन्। 

सिराहाका जानकारका अनुसार उमाका बुवा रञ्जित सिंह सिराहा, पीपरा–४ का 'हुनेखाने' मा गनिन्थे। माओवादीले जग्गाकै विवादमा उनको अपहरण गरेका थिए। पहिले करिव १५ विघा जग्गा रञ्जितसँग थियो। नहर र बाटोले काटेर करिव १० बिघा जग्गा अहिले पनि बाँकि छ। यसमध्ये केही कट्ठा जमिन घडेरीको रुपमा रहेको थियो। त्यो जग्गा उमाको नाममा आमाले नामसारी गरिदिएकि थिइन्। दुईविघा जग्गा उमाका दाजु सञ्जयको नाममा छ। र, बाँकि जग्गा उमाकि आमा शुशीला सिंह, ५६, का नाममा छ। 

उमाकी भाउजु ललिता सिंह, ३६, भन्छिन्, “उमाका नामको जग्गा बिक्री गर्दा करिव ५० लाख रुपियाँ हाराहारीको हुन्छ।” उनै ललिताका अनुसार सञ्जयका नाममा कृषि विकास बैंकमा अढाई लाख बराबरको ऋण पनि छ। सिंह परिवारको एकमात्र छोरो अनिनेश सिंह, १८, सितामढी विहारमा बसेर पढ्छन्। उनलाई पनि माओवादीले 'बिउ' नै सकाउँने धम्कि दिएपछि सिमानापारी पुर्‍याइएको हो। ललिताका दुइ छोरी पीपरामा नै पढ्छन्। उनीहरूको खर्च ललिताको माइतीले व्यहोरिदिन्छ। आगामि फागुनमा महोत्तरी निवासि एक युवासँग उमाको बिवाह हुने पक्का भएको थियो। विहेपछि त्यो सम्पत्ति अर्कैका नाममा जाने भयले उमाको हत्या 'पारिवारीक किचलो'का कारण भएको हुन सक्ने एकथरीको ठहर छ। 

यता हत्यारा पत्ता लगाएर कारवाहि नगरेसम्म पत्रकार महासंघले देशव्यापी रुपमा आन्दोलन जारी राख्ने अध्यक्ष झा ले जानकारी दिएका छन्। झा भन्छन्, “शहिद घोषणा गरेर र क्षतिपूर्ति वापत रकम छुट्याएर राज्यको जिम्मेवारी पुरा हुँदैन। उमाको हत्यारा पत्ता नलागे कुनै पनि सञ्चारकर्मिले निर्धक्क कलम चलाउँनेस्थितिको अन्त्य हुनेछ।”

सिराहा जन्मभूमि भए पनि जनकपुरलाई कर्मथलो बनाइरहेकी होनहार पत्रकार उमा सिंहमाथि खुकुरी प्रहार भएको जानकारी पाउनासाथ नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा लगायतका पदाधिकारीले गृहमन्त्री बामदेव गौतमसँग सम्पर्क प्रयास गरे। गृहमन्त्री सम्पर्कमा नआएपछि र उमाको तत्काल हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पुर्‍याउन सके बचाउन सकिन्छ भन्ने जनकपुरका सञ्चारकर्मीको भनाइ आएपछि अध्यक्ष झाको सम्पर्क प्रधानसेनापति रुक्माङ्गत कटवालसँग भयो। रातीको मौसम हेलिकप्टरकानिम्ती अनूकुल नभएपछि त्यो प्रयास पनि सफल भएन। जनकपुरबाट एम्वुलेन्समा काठमाडौं ल्याउँदै गर्दा सर्लाहीको ढल्केवरमा पुगेपछि करिव १२ बजे राती एक होनहार पत्रकार उमाले मृत्युवरण गरिन्। 

भोलिपल्ट पत्रकार महासंघको आकस्मिक बैठक बस्यो। अध्यक्ष धर्मेन्द्र झा को संयोजकत्वमा एक टोली हत्यास्थल जनकपुर जाने निर्णय भयो। खराव मौसमका कारण समयमा जहाज नउडेकाले करिव तीन वजे महासंघ टोली घटनास्थल पुग्यो। जिल्ला प्रशासन कार्यालय धनुषाको प्राङ्गणमा राखिएको शव हत्यारा पत्ता नलगाएसम्म नउठाउँने प्रतिवद्धता स्थानिय बुद्धिजिवी र पत्रकारको रहेको थियो। यसै बिचमा राजधानीबाट बरिष्ठ पत्रकारहरू कनकमणी दिक्षीत, नारायण वाग्ले, शिव गाउँले लगायत घटनास्थल पुगे। सबैको समन्वयमा स्थानिय प्रशासनसँग वार्ता भयो। 

स्थानीय प्रशासनसँग सहमति भए अनुसार गृहमन्त्री वामदेव गौतम यथाशिघ्र जनकपुर पुगेर त्यहाँ कार्यरत सञ्चारकर्मि र नागरिकको सुरक्षा हुने प्रतिबद्धता नजनाएसम्म जिल्ला प्रशासन अगाडि धर्ना जारी रहनेछ। साथै एकमहिनाभित्र हत्यारा पत्ताल लाउँने प्रतिवद्धता सुरक्षाकर्मिले जनाएका छन्। धनुषाका बरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, “जबसम्म उमाको हत्यारा पत्ता लाग्दैन, तबसम्म मधेसका पत्रकारले सही पत्रकारिता गर्न सक्दैनन्।”
(नेपाल पत्रकार महासंघको प्रारम्भिक प्रतिवेदनबाट)

Comments