Madheshi Poltical Party

मधेशवादी दलमा फुटको श्रृखला


  • राजेश बर्मा

धेसवादी दल एक आपसबाट फुट्नु र फेरी जुट्नु र फेरी फु ट्नु कुनै नौलो कुरा होइन। पछिल्लो समयमा नेपाल सदभावना पार्टी(आ.) को सरिता गिरीसमूहबाट अलग्गिएर सभासद मोतीलाल दुगडले नब नेपाल निर्माण पार्टी गठन गरेका छन। यसअघि उक्त पार्टीको आधिकारिता निर्बाचन आयोगले गत श्राबण महिनामा श्यामसुन्दर गुप्तालाई दिएको थियो । 


सोही पार्टीका अर्का दुई समूह सरिता गिरी र खुशीलाल मण्डललाई भने निर्बाचन आयोगले अर्काे पार्टी खोल्न मार्ग प्रसस्त गरेको थियो। यसरी हेर्दा नेपाल सदभावना पार्टी सक्ता समिकरणको नाममा पटक पटक गरी ८ पटक फुटिसकेको छ। उता सक्ता समिकरणकै नाममा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी पनि पछिल्लो समयमा महेन्द्र राय यादबको नेतृत्वमा फुटिसकेको छ। यादबले तमलोपा नेपाल राखेर अर्काे पार्टी गठन गरेका छन।

संविधानसभा निर्बाचनमा चौथो शक्तिको रुपमा उदय भएको उपेन्द्र यादब नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल पनि यतिखेर फुट्दै आठवटा दलमा बिभाजन भइसकेको छ। फोरमबाट अन्तिम पटक जयप्रकाश गुप्ताले फोरम गणतान्त्रिक पार्टीको नामबाट चोइटिएका छन। मधेसवादी दल कहिले आन्तरिक कलह र कहिले बाह्रय हस्तक्षेपका कारण फुट्दै आएका छन । पछिल्लो समयमै राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीबाट अलग्गिएर महासचिब अनिल झाले छुट्टै संघीय सदभावना पार्टी गठन गरेका छन। सदभावना पार्टीका अध्यक्ष महतोले एमालेको कारणले आफ्नो पार्टी फुटेको विश्लेषण गर्छन। मधेसवादी दल फुट्नुमा कांग्रेस, एमाले र माओवादीको चलखेल रहेको आरोप भने लगाउन उनीहरु चुकेका छैनन। मधेस मुद्दाको सबालमा संयुक्त मधेसी लोकतान्त्रिक मोर्चामा उनीहरु एकमत देखिएपनि सक्ता नजिकता र सक्ता समिकरणको नाममा पटक पटक बिभाजन भएको देख्न सकिन्छ। यसरी हेर्दा कुनै पनि मधेसवादी दल फुटको राजनीतिबाट अछुतो नरहेको प्रस्ट हुन्छ। फुटको राजनीतिले मधेस मुद्दा कमजोर नभएको जतिसुकै दावी गरे गरिएपनि राजनीतिक दलको फुटका कारण मधेस मुद्दा संस्थागत हुन सकेको छैन। फुटको राजनीतिले अन्तत: मधेस मुद्दा कमजोर हुनुका साथै उनीहरु सक्ता स्वार्थमा मात्र लिप्त रहेको नराम्रो सन्देश पनि पनि फिजिएको छ। तराई मधेसका जनता पनि अहिले मधेसवादी दलको यस्ता गतिविधिबाट वाक्क दिक्क भइसकेका छन। उनीहरुलाई मधेसवादी दलले मधेश आन्दोलनले उठान गरेको मधेसका सबाललाई संस्थागत गर्न सक्छन भन्ने बिषयमा बिश्वस्त छैनन।

संविधानसभाको निर्बाचनमा आनन्दीदेवी सिंह नेतृत्वको नेसपा(आ.), राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, उपेन्द्र यादब नेतृत्वको मधेसी जनअधिकार फोरम, महन्थ ठाकुर नेतृत्वको तमलोपा गरी चार मधेसवादी पार्टी सहभागी भएका थिए । आज तिनै पार्टी १३ भन्दा बढी टुक्र ामा बिभाजित छन । राजनीतिक दलको बिभाजन वा एकीकरण अस्वाभाविक होइन । बिचार र कार्यनीतिमा बिवाद, नयाँ नेतृत्वको उदय, क्षेत्रीय आकँाक्षाको लहर वा सरकारमा सहभागिताको प्रश्नले नै नेपलामा दल बिभाजन भएको देखिन्छ । खासगरी सरकारमा सहभागिताको प्रश्नले नै मधेसवादी दलहरु लाई बिभाजित र छियाछिया बनाएको देखिन्छ। मधेसवादी दलहरु मा भएको बिभाजनको एकमात्र कारण सरकारमा सहभागिता बिषय हो । सरकामा जाने नेता र पार्टीेबीच समन्वय हुन नसक्नाले दलहरु बिभाजनमा परेको देखिन्छ। 

क. पहिलो मधेसवादी दल र सदभावना पार्टीको उदय र फुटको चलखेल
नेपाली राजनीतिमा पहिलो मधेसवादी दल भनेर नेपाल तराई कांग्रेसलाई चिनिन्छ। २००८ सालमा बेदानन्द झा अध्यक्ष रहेका उक्त पार्टीको महासचिब रामजनम तिबारी थिए। तराई कांग्रेसले तत्कालिन समयमा आम निर्बाचनमा भाग लिएका थिए। आम निर्बाचनमा सहभागी भएपनि उक्त पार्टीले अन्य राजनीतिक दलको निकटतम प्रतिद्वन्द्व भएर हारको सामना गर्नुपरेको थियो। त्यसपछि रामजनम तिबारी कांग्रेसमा प्रवेश गरे । २०१७ सालमा राजा महेन्द्रले कु गर्दा उनले दरबारलाई सहयोग गरेका कारण गृहमन्त्रीको पद समेत सम्हालेका थिए। यसैक्रममा २०१० सालमा रघुनाथ ठाकुरको अध्यक्षतामा मधेसी जनक्रान्ति दल गठन भएको थियो। उता २०१२ मा रघुनाथ मिश्रको अध्यक्षतामा पनि तराई मुक्ति मोर्चा गठन भएको थियो। ठाकुर शान्तिपूर्ण आन्दोलन र मिश्र सशस्त्र क्रान्तिमा विश्वास गर्न नेता मानिन्थे। राज्य बिरुद्ध लागेको र ०१५ सालमा निर्बाचन बहिष्कार गरेको भन्दै ठाकुरलाई ०२७ मा ठाकुरको राज्यद्वारा हत्या गरिएको इतिहासबिदहरु बताउछन। ठाकुरलाई मधेस आन्दोलनको बैचारिक अगुवाको रुपमा मानिन्थ्यो। मधेसीलाई मानवोचित अधिकार प्राप्त भए नेपालको अभिन्न हिस्साको रुपमा रहन सक्नेउनको बिचारलाई पछयाउदै अहिले धेरै मधेसवादी दल अस्तित्वमा आइसकेका छन।

यति बेला सप्तरीका गजेन्द्रनारायण सिंह नेपाली कांग्रेसका जिल्ला सदस्यको रुपमा सकृय थिए। उनी २००८ देखि २०१५ सम्म नेपाली काग्रेसको जिल्ला अध्यक्ष पनि बने। त्यसपछि केन्द्रीय सदस्य भएका थिए । पार्टीमा मधेसवादको पक्षमा कडा रुपमा प्रस्तुत हुंदै आएका कारण २०१५ मा उनलाई टिकट नदिएर उनका प्रतिद्वन्द्वी नागेश्वर सिंहलाई टिकट दिएको थियो।  यसैकारण काग्रेसबाट उनको दुरी बढदै गएको थियो। ०३४ मा उनी पूर्वान्चल काग्रेस पार्टी गठन गरी मधेस पक्षिय राजनीतिमा सकृय भए। त्यसलगक्तै २०४० मा गैरसरकारी संस्थाको रुपमा नेपाल सदभावना परिषद गठन भएको थियो। परिषदको अध्यक्ष रामचन्द्र मिश्र भएका थिए। पछि २०४७ वैशाखमा परिषद नेपाल सदभावना पार्टीको रुपमा परिमार्जित भएको थियो। 

यो पार्टी नै राज्यसत्ताको परिधिमा पुग्ने पहिलो मधेसवादी दल थियो । यतिवेला सदभावना पार्टीको अध्यक्ष गजेन्द्रनारायण सिंह भएका थिए। सक्ताकै लागि पहिलो पटक यहाँ सदभावना पार्टी फुटेको देखिन्छ। गजेन्द्रनारायण सिंहको कार्यकालमा दुई पटक पार्टी फुटेको देखिन्छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन पार्टीका नेताद्वय रामेश्वर राय यादब र रामजनम तिबारीमध्ये पार्टीले यादबलाई सिफारिश गर्दा २०५० मा पार्टी फोडेर तिबारीले आफै अध्यक्ष भएर नेपाल सदभावना पार्टी(आर) भनेर गठन गरे। त्यसपछि २०५२ मा लोकेन्द्रबहादुर चन्दको सरकारमा नेपाल सदभावना पार्टीको तर्फबाट बनमन्त्री हुँदा रामेश्वर राय यादबले आफु अध्यक्ष तथा ह्रदयेश त्रिपाठीलाई उपाध्यक्ष र राजेन्द्र महतोलाई महासचिब बनाएर उक्त पार्टीबाट अलग्गिएर समाजवादी जनता दल गठन गरेका थिए। यादबका कारण नेपाल सदभावना पार्टी दोश्रो पटक फुटेको थियो। 

यसैबेला पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएको थियो। उनको अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्ष बद्रि मंडल भएका थिए। ०५९ मा राजा ज्ञानेन्द्रलाई समर्थन गरेर बद्रि मंडल गृहमन्त्री बन्दा राजविराजमा सम्पन्न चौथो महाधिवेशनबाट तेश्रो पटक बिभाजन भई बद्रि मंडलको नेतृत्वमा संस्थापन पार्टी र चोइटिएका गजेन्द्रबाबुको धर्मपत्नी अध्यक्ष रहने गरी नेपाल सदभावना पार्टी(आ.) को गठन भएको थियो। यो पार्टीमा ह्रदयेश त्रिपाठी, राजेन्द्र महतो र राजेन्द्र बिमललगायतका नेता प्रवेश गरेका थिए।

सदभावनामा फुटको राजनीति यहि टुँगो लागेन। संविधानसभा निर्बाचन अघि ०६३ मा फेरी अर्थात चौथो पटक पार्टी बिभाजनमा प:यो। राजेन्द्र महतो र ह्रदयेश त्रिपाठीबीच सरकारमा जान उत्पन्न भएको बिबादका कारण बीरगंज महाधिवेशनबाट राजेन्द्र महतोले सदभावना पार्टी भनेर छुट्टै पार्टी गठन गरे। उता आनन्दी देवी नेतृत्वको संस्थापन पक्ष भने यथावतै थियो। त्रिपाठी भने संस्थापन पक्षमै सकृय रहेका थिए।  राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी पनि बिभाजनमा प:यो। पार्टीको नौमध्ये चार सभासदलाई लिएर महासचिब अनिलकुमार झाले संघीय सदभावना पार्टी खोलेका छन । यसपछि पाँचौ पटक संविधानसभा निर्बाचन अघि नै फेरी संस्थापन पक्षमा बिभाजन देखियो। सरकारमा जान उपयुक्त अवसर नपाउदा ह्रदयेश त्रिपाठीलगायत केही नेता तमलोपामा प्रवेश गरे भने ०६५ मा सम्पन्न लाहान महाधिवेशनबाट सरिता गिरी, भैरहवा महाधिवेशनबाट श्यामसुन्दर गुप्ता र जनकपुर महाधिवेशनबाट खुशीलाल मण्डलको समूहमा संस्थापन पार्टी तीन चिरामा बिभाजन भएको थियो।

ख.फोरमको बिभाजन
गैरसरकारी संस्थाको रुपमा परिचित उपेन्द्र यादब नेतृत्वको मधेसी जनअधिकार फोरम मधेस आन्दोलन ०६३ पछि पार्टीको रुपमा अस्तित्वमा आएको थियो। यो पार्टीले संविधानसभा निर्बाचनमा ५२ सिट ल्याएर चौथो शक्तिको रुपमा उदय भएको थियो। उपेन्द्र यादबले पार्टीमा यादबबाद लादेको र पार्टीमा जातिय समानुपातिक प्रतिनिधित्व गराउन नसकेको भन्दै पार्टीका अर्का नेता भाग्यनाथ गुप्ता, किशोर विश्वासलगायतका नेताहरुले ०६३ भदौं १५ मा पार्टी फुटाएर मधेसी जनअधिकार फोरम मधेसको नाममा संगठित भएका थिए। पछि फोरम मधेसबाट पनि चोइटिएर भाग्यनाथ गुप्ताले मधेसी जनअधिकार फेारम र किशोर विश्वास समूहले आदिवासी जनजाति मधेसी दलित गणतान्त्रिक मोर्चाको नाममा संगठित भएको देखिन्छ ।

संस्थापन पक्षबाट दोश्रो पटक अर्का नेता अमर यादबले ०६५ चैत्र ७ गते मधेस तराई फोरम भनेर अर्काे दल खडा गरेका थिए। संस्थापन पक्षबाटै प्रभावशाली नेता बिजय गच्छदारले ५२ मध्ये २७ सभासदलाई लिएर पुन: पार्टी फोडे । उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भनेर ०६६ जेठमा अर्काे पार्टी नै दर्ता गरेका थिए। पुष्पकमल दाहाल नेतृत्वको सरकार बिघटनसँगै नयां सरकारमा पार्टीको नेतृत्व कसले गर्ने बिबादका कारण पार्टी फुटेको थियो। बिजय गच्छदारको पार्टी पनि ०६७ पुसमा बिभाजनमा प:यो। पार्टीका नेता संजय साहले पार्टी फुटाएर मधेस क्रान्ति फोरम भनेर अर्काे दल खडा गरेका थिए। फुटको पीडा गच्छदारले फेरी सहनु प:यो । गच्छदार समूहबाट बाहिरिएका उपेन्द्र झा यतिखेर नयाँ दल खडा गर्न प्रयासरत छन। उता संस्थापन पक्षले फेरी बिभाजनको मार खेप्नुप:यो। पार्टीका कार्यवाहक अध्यक्ष जयप्रकासप्रसाद गुप्ताले पार्टी फोडेर ०६८ जेठ ९ मा मधेसी जनअधिकार फोरम गणतान्त्रिक भनेर छुट्टै दल दर्ता गरे। माधवको सरकार ढलेर झलनाथ खनाल नेतृत्वको सरकार बन्दा संस्थापन पक्ष बिभाजित भएको थियो। यसपटक गुप्ताले संस्थापन पक्षको २५ जनामध्ये आधा सभासदलाई समेटेर पार्टी गठन गरेका थिए।

ग.तमलोपा पनि बिभाजनबाट मुक्त रहन सकेन
 मधेस बिद्रोह २०६३ को सफलतापछि नेपाली का्रग्रेस, नेकपा एमाले र नेपाल सदभावना पार्टीका केही नेताले खोलेका तराई मधेस लोकतान्त्रिक पार्टी पनि दुई पटक बिभाजनमा परिसकेको छ। संविधानसभा निर्बाचनपछि पाँचौ ठूलो शक्तिको रुपमा उदाएको महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी पनि बिभाजनबाट मुक्त रहन सकेन। संविधानसभा निर्बाचनमा २१ सिट हासिल गरेको तमलोपाका अर्का नेता महेन्द्र राय यादबले  माधव नेपाल सरकारमा उद्योगमन्त्री हुँदा पार्टी फुटाएका थिए। ०६७ मा पार्टीले मन्त्रीबाट फिर्ता बोलाउन लागेको भन्दै पार्टीका २० मध्ये ९ सभासदलाई फुटाएर तमलोपा नेपाल भनेर अर्काे दल दर्ता गराएका थिए।

कैलाश देव
सरकारमा सहभागी हुने समयमा मधेसवादी दल बढी फुटेको देखिन्छ। कतिपय बेलामा सत्तामा नजाने अबस्थामा पनि फुटेका छन। मधेसी जनअधिकार फोरमबाट अमर यादब र भाग्यनाथ गुप्तालगायतका नेताहरु सक्तामा जानुभन्दा पार्टीमा अध्यक्ष उपेन्द्र यादबको चलखेलका कारण फ ुटाएका थिए। उनीहरु फुट्दा सैद्धान्तिक मतभेद भएर फुटेको अहिलेसम्म देखिएको छैन। एउटा नेता वा कार्यकर्ताले अर्काे नेता र कार्यकर्ताको नेतृत्व र अधिनता स्वीकार गर्न नसक्नुले पनि पार्टी फुटेको हो। यो प्रवृति बढी देखिएको छ। तराई मधेसमा पार्टीकोभन्दा आफ्नो व्यक्तिगत रुपमा बर्चस्व कायम गराउन खोज्नु बिभाजनको अर्काे कारक तत्व हो। पार्टी फोडेर भएपनि वा जसरी भएपनि आफ्नो नेतृत्व तथा प्रभाव कायम राख्न बिभाजन गर्दै आएका छन। तर, उदेकलाग्दो वा राम्रो पक्ष के छ भने उनीहरु मधेस मुद्दाको सबालमा एकीकृत रुपमा बढेका देखिन्छन। पार्टी बिभाजन भएपनि मधेस मुद्दाको सबालमा उनीहरु मोर्चाको रुपमा गोलबन्द भएर एक हुनु त्यो भने राम्रो पक्ष हो।

डा.रामदयाल राकेश
मधेसवादी नेताहरु आ आफ्नो बर्चस्व कायम गराउन पार्टी फोडदै आएका छन। डाडु र पन्यु आफ्नै हातमा राख्न पनि उनीहरु पार्टी फोडेर अध्यक्ष बन्ने लहर चलेको छ। डाडु पन्यु आफ्नै हातमा भए नीतिगत निर्णय आफै गर्न पाउने, सरकारमा पनि आफै सहभागी हुन पाउने र आर्थिक उपार्जन पनि गर्न पाउने सोचकै कारण पार्टी फुटाउने क्रम बढेको छ। पार्टी अध्यक्ष बन्दा आफै सम्पन्न हुने खालको लहर पनि चलेको छ। पार्टीको कुर्सि र सत्ता मोहका कारण फुटको राजनीति धेरै देखिएको छ मधेसवादी दलमा। पहिले पार्टीले सरकारमा सहभागी हुन कार्यकर्तालाई सिफारिस गर्थे तर, अहिले आफै सरकारमा सहभागी हुन पार्टी फोडदै आएका छन।

डा.योगेन्द्रप्रसाद यादब
मधेसवादी दलका नेताहरु व्यक्तिगत स्वार्थका कारण पार्टी फुटाउदै आएका छन। अहिलेसम्मका मधेसवादी दलका नेताहरुको अबस्था हेर्ने हो भने पार्टीलाई व्यक्तिगत रुपमा आफ्नो गोजीमा राखेर हिडदै आएको देखिन्छ । पार्टीले सामुहिक फायदाका लागि काम गर्ने हो। तर, पार्टी व्यक्ति बिशेषको गोजीमा भएपछि कसरी सबैका लागि समान रुपमा काम गर्न सक्छ? पछिल्लो समयमा फुटको राजनीतिले यही कुरा दर्शाउछ,’ उनले भने।

Comments