तेत्तिस जिल्लामा खाद्यान्न अभाव

  • राजेश बर्मा
सरकारले यसबर्ष मुलुकभरका जिल्लाहरुमध्ये तेत्तिस जिल्लामा खाद्यान्न अभाव हुने बताएको छ । कृषि विकास मन्त्रालयका अनुसार राजधानीसहित तेत्तिसवटा जिल्लामा आफ्नै उत्पादनले खान नपुग्ने अबस्था सिर्जना भएको हो । गत बर्ष यस्तो सूचीमा २७ वटा जिल्ला परेको थियो ।


मन्त्रालयका प्रवक्ता डा.प्रभाकर पाठकका अनुसार खाद्यान्न अभाव हुने जिल्लाहरुमा पाँंचथर, उदयपुर, सुनसरी, सप्तरी, सिराहा, दोलखा, रसुवा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, धादिंग, मकवानपुर, महोत्तरी, सर्लाही, रौतहठ र चितवन रहेका छन । यसैगरी मुस्तांग, कास्की, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, रोल्पा, प्युठान, जाजरकोट, बाजुरा, बझांग, दार्चुला र अछाम रहेका छन ।

मन्त्रालयका अनुसार तेत्तिस जिल्लाको खाद्यान्न उत्पादनको अवस्था हेर्दा ति जिल्लाहरु आफ्नै जिल्लागत उत्पादनमा आत्मनिर्भर नरहेको देखिएको छ । “यस्तो अवस्थामा उक्त जिल्लामा खाद्यान्न अभाव हुन सक्छ,” प्रवक्ता डा. पाठकले भने, “यस्तो अवस्थामा यस्ता जिल्लामा अन्य जिल्लाबाट माग अनुसारको खाद्यान्न पठाउनुपर्ने अबस्था सिर्जना हुन्छ ।”

मन्त्रालयको तथ्याँंक अनुसार राजधानी काठमाडौं जिल्लाका १९ लाख ५९ हजार ५ सय ९६ जनालाई प्रतिव्यक्ति प्रतिबर्ष  १ सय ९१ किलोका दरले ३ लाख ९३ हजार ८ सय ७९ मेट्रिक टन खाद्यान्न आवश्यक छ । तर राजधानीमा उत्पादन भने ३ लाख ३८ हजार ८९ मेट्रिक टन मात्र भएको छ । यसैगरी ललितपुरका ५ लाख ३ हजार एकसय १८ जनालाई १ लाख एकहजार एकसय २७ मेट्रिक टन खाद्यान्न आवश्यकता भएकोमा ६३ हजार ५ सय २२ मेट्रिक टन मात्र उत्पादन भएको छ । यस्तै भक्तपुरमा पनि ३ लाख २४ हजार २ सय ३४ जनाका लागि ६५ हजार एकसय ७१ मेट्रिक टन आवश्यकता भएकोमा ३९ हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । सबैभन्दा कम उत्पादन भएको जिल्लाहरुमा दार्चुला, अछाम, बझांग, जाजरकोट, प्युठान, रोल्पा, रुकुम, जुम्ला, कास्की, डोल्पा, मुस्तांग, चितवन, सर्लाही, मकवानपुर, काभ्रे, सुनसरी, उदयपुर र पांचथर परेका छन । यस्ता जिल्लाहरुमा खाद्यान्न उत्पादनमा सत्तरीदेखि ९९ प्रतिशतसम्म कमी आएको छ ।

मन्त्रालयका अनुसार यसबर्ष धान, मकै, कोदो, गहुँं, जौं तथा फापर गरेर ८७ लाख, ३८ हजार मेट्रिक टन उत्पादन भएको थियो । “जसमध्ये करिब ८ लाख मेट्रिक टन विभिन्न प्रकारका प्रशोधनका कारण नष्ट हुनेछ,” प्रवक्ता डा. पाठकले भने, “सबै प्रशोधन गरेर यस बर्ष करिब ५६ लाख ४८ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुनेछ । ”

नेपालको कूल जनसंख्यालाई  ५२ लाख ४० हजार मेट्रिक टन आवश्यक पर्ने जानकारी गराउदै प्रवक्ता पाठकले राष्ट्रिय रुपमा यसबर्ष ४ लाख ८ हजार मेट्रिक टन समग्र खाद्यान्न बचत हुने अवस्था भएपनि धान कम उत्पादन भएकाले करिब ९ लाख मेट्रिक टन चामलको अभाव हुने जानकारी दिए । उनका अनुसार यसबर्ष मकैतर्फ २ लाख ६२ हजार र गहुंतर्फ १० लाख ५० हजार मेट्रिक टन बचत हुने अबस्था छ गतबर्ष ८ लाख ८६ हजार मेट्रिक टन खाद्यान्न बचत भएको मन्त्रालयको दावी छ ।  मन्त्रालयका अनुसार वीउ व्यवस्थापनका लागि करिब १ लाख ७५ हजार मेट्रिक टन र पशुपंक्षीको दानाको लागि करिब ३ लाख ९० हजार मेट्रिक टन खाद्यान्नको आवश्यकता पर्दछ ।

२७ जेठ २०७०

Comments