जाडोमा रौशीको मज्जा नै वेग्लै


  • राजेश बर्मा
त्यसो पनि शुक्रबारलाई नेपालीहरुले पश्चिमेलीहरुको सिको गर्दै “गुड फ्राइडे” को नाममा गेट टु गेदर पार्टी मनाउन थालेको धेरै भइसक्यो । त्यसमा पनि राजधानीको चिसाम्मे जाडोको समयमा यस्ता पार्टीले झनै महत्व राख्दछ । चिसोले शरीरलाई जमाउन खोज्दा ता–तातो विभिन्न परिकार खानुको मज्जा भने झनै छुट्टै हुन्छ । गत शुक्रबार गुड फ्राइडेको नाममा गेट टु गेदर गर्ने विभिन्न समूहहरु राष्ट्रिय सभागृहमा मनग्गै भेटिए ।
शुक्रबार सांझ अन्य दिनभन्दा अलि बढी हावा बगेर होला र चारैतर्फबाट खुल्ला भएर पनि होला सभागृह निक्कै चिसिएको थियो । चिसिएका हुलका हुल गुड फ्राइडे मनाउने नाममा सभागृहमा आयोजना गरिएको फुड फेस्टिभल अर्थात खाना महोत्सवमा शरीर तताउन रौशी(रक्सी) पाउने स्टालमा जम्मा भएका देखिन्थे ।
 त्यही हुलमा भेटिएका नयां बानेश्वरका रमेश श्रेष्ठ आफ्ना साथीलाई रौशी खान सल्लाह दिदैं देखिए । “अरे यार π यस्तो चिसोमा रौशी खानुको मज्जा नै वेग्लै हुन्छ । खाएर त् हेर π जस्तो सुकै चिसिएको शरीर एकछिनमै तताईदिन्छ,” रमेशले आफ्ना सहकर्मी साथहरुलाई भन्दै थिए । रौशी खाने अवसर भने जुटाईदिएको थियो काठमाडौं महानगरपालिकाले । महानगरपालिको १८ स्थापना दिवसको अबसरमा आयोजना गरिएको खाना महोत्सवमा राई, तामांग, मगर, नेवार, ब्राह्मण, क्षेत्रीलगायतका समुदायले राखेको स्टालमा बिहिबार, शुक्रबार र शनिबार शरीर तताउने खालका विभिन्न परिकार खानेहरुको लर्काे यतिकै देखियो । महोत्सवमा यस्ता समूदाय आफ्नो परम्परा र संस्कृति झल्कने भेषभुषमा आफ्नै समूदायको मौलिक खानासहित चलन चल्तीमा रहेका खाना पनि पस्कन सफल भएका थिए ।

तीनदिने महोत्वसमा तामांग, ज्यापु महागुथी, कामधेनु, मां पुचः, तताकेहे पुनः, लालिगुरांस मिसापुचः, नेवा राष्ट्रिय मिसा अभियान, नेवाः धौ, अन्नपूर्ण मिसापुचः, ब्राह्मण समाज, गुरुंग संघ, शेर्पा संघलगायतका संस्थाले १८ वटा खानाको स्टाल राखेका थिए । सवै स्टालको आफ्नै महत्व र बिशेषता थियो । रमेश पनि पांचजनाको समूहमा त्यही महोत्सवमा गुरुंग राष्ट्रिय परिषदले राखेको तमु ह्युल छोंज धीं मा लोकल कोदोबाट बनेको रौशी खान आएका रहेछन । परिषदले राखेको स्टालमा चामलको तातै रोटी र साधेको गुन्द्रुकको अचारसंग रौशीको मज्जा नै वेग्लै भएको रमेश र उनका साथीहरुले अनुभव सुनाए । यो समूहले माग्दै थप्दै गरेर हेर्दा हेर्दै बीस ओटा रोटी र चालीस गिलास रौशीका गिलास रित्याइसके ।

परिषदका सदस्य सीता गुरुगले रोटी र गुन्दु्रकको अचारसंग रौशी खानेको सयौ समूह आएको बताइन । “चिसो बढेर पनि होला महोत्सवमा सबैभन्दा बढी रौशीकै बिक्रि भयो,” गुरुंग समुदायको मौलिक संस्कृति झल्कने पोशाक र भेषभुषमा सजिएकी सीताले थप्दै भनिन, “खाना पारखीहरुले बफ मासु, साधेको आलु, कलेजो र पांग्रा पनि निक्कै रुचाए ।” परिषदले गुरुंग समुदायको मौलिक खाना परिकारमध्ये कोदोको रौशीलाई स्टालमा प्रमुखताका साथ सामेल गराएको थियो । तर अचम्म लाग्यो धेरै रौशी खानेहरु पनि असभ्य रुपमा प्रस्तुत देखिएनन  । “जल्ले जे जे खाएपनि यहां सभ्य रुपमै प्रस्तुत भए । खाएर कोही मात्तिएको देखिएन,” सीताले खाना पारखीहरुको प्रशंसा गर्दै भनिन । महोत्सवमा नेवार, क्षेत्री, राई, लिम्बु, मधेसी, ब्राह्मण समुदायका खानाका पारखीहरु प्रायः जसो आएको सीताको भनाई छ ।

त्यसो त् किरांत खालिंग राई उत्थान संघले राखेको स्टालमा पनि कम घुंइचो थिएन । खानेहरुको उत्तिकै भीड । खानेको मागभन्दा दिनलाई भ्याई नभ्याई भएको थियो संघका केन्द्रिय सदस्य चन्द्र खालिंगलाई । किंरात (राई) समूदायको मौलिक मात्तिने पेय पदार्थ छयांगलाई विशेष प्राथमिकता गरेर राखेका थिए खालिंगले । उनले तीन महिना अघि पकाएर राखेको छयांग अर्थात “वेन्ची” खानेको संख्या पनि मनग्गै थियो । खालिंगलाई छयांग, चिकेन र वफ ममः बितरण गर्न हम्मे हम्मे नै परेको थियो । महोत्सवको एउटै छानामुनी शायद पहिलो पटक होला राजधानीका धेरै समुदायलाई सहभागी गराएर खानाको स्टाल राखिएको । विभिन्न जातजातिको आ आफ्नै मौलिक खाना, आ आफनै भाषा र आ आफनै भेषभुषा देखिएपनि सबैले चाहि एउटै सन्देश दिन खोजेका थिए त्यो हो “ चार वर्ण छत्तिस जातका हामी सबै एक हौं” एउटै छानामुनी सबै समुदायको गजव समिश्रण देखिएको थियो । अनि खान आउन विभिन्न समुदायको उपस्थित पनि उस्तै मिलेको थियो ।

ज्यापु महागुथीका महिलाहरुलाई भने खाने कुरा पकाउन नै भ्याई नभ्याईजस्तो देखिन्थ्यो । महागुथीले तीनवटा स्टाल राखेको थियो । ति सबै स्टालमा नेवारी समूदायको मौलिक स्वादको खानाहरु राखिएको थियो । कोही चटामरी बनाउन, कोही योमरी बनाउन, कोही समयबजी बनाउन अनि कोही वारा(वः) बनाउन व्यस्त देखिन्थे । कराहीबाट तात्तै निस्कन नपाउदै खान माग्नेहरुको लर्काेलाई थाम्न गाहे मानिरहेका महागुथीका उपाध्यक्ष पञ्चनारायण महर्जन भन्छन,“महोत्सव उपलब्धीमूलक रहयो । खानेकुरा यही बनाउने भएकाले सत प्रतिशत शुद्धता भएर होला खानेहरुको भिड थामिनसक्नु छ ।”

महर्जनका अनुसार महानगरपालिकाले पहिलो पटक सबै जातीय समुदायलाई एकै ठाउमा राखेर खानाको महोत्सव आयोजना गरेर सबै समुदायलाई एउटै सुत्रमा बांध्न ठूलो टेवा पुरयाउन सफल भएको छ । “जात जातबीच उत्पन्न हुन थालेको तिक्ततालाई हटाउन पनि समय समयमा सबै समुदायलाई सामेल गराएर यस्ता महोत्सव निरन्तर रुपमा गराई राख्नुपर्छ,” महर्जनले भने । उनका अनुसार महोत्सवमा प्राय ः जसो शरीरलाई न्यानो बनाउने खानाहरु अवलोकनकर्ताले रुचाएका थिए । “बढी बारा र चटामरीको बिक्रि भएको छ,” उनले भने ।

Comments