लौ हेर्नुस ! सिंहदरबारकै क्याण्टिनको खाना गुणस्तरहिन

  • राजेश बर्मा

नेपालकै प्रमुख उच्च प्रशासनिक केन्द्र सिंहदरबारभित्रका खाना तथा खाजा खाने चमेनागृह(क्यान्टिन) को अवस्था खत्तम छ भने बाहिरका चमेनागृहबाट आम उपभोक्ताले के अपेक्षा गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदका चमेनागृहसम्मले गुणस्तरहिन तथा बासी खाना खुवाउदै आएको रहष्य खुलेको छ । 


खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागद्वारा पहिलो पटक सिंहदरबारभित्र रहेका अधिकाँंश ठूला चमेनागृहमा गरिएको अनुगमनको क्रममा यस्तो रहस्य खुलेको हो । विभागले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र सेनासहितको ६ वटा मन्त्रालयको चमेनागृहमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा अधिकाँंश चमेनागृहले सरसफाईमा व्यापक कमजोरी फेला परेको थियो । “अधिकाँंश चमेनागृहको खाद्य पदार्थ गुणस्तरहिन भेटिएको छ । पकाइएको खानेकुरा पनि बासी भेटियो । खाना कम्तिमा पनि दुई दिन पुरानो रहेको जस्तो देखियो । सरसफाईको समस्याका साथै थोरै स्थानमा धेरै खाद्य पदार्थ भण्डारण र खानेपानीको धेरै समस्या देखिएको छ,” विभागका महानिर्देशक जीवनप्रभा लामाले भनिन, “केही चमेनागृहको खाद्य पदार्थको कच्चा पदार्थसमेत गुणस्तरहिन भेटिएका छन ।”


 विभागले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उर्जा मन्त्रालय, बन तथा भूसंरक्षण मन्त्रालय, सेना, वातावरण मन्त्रालय र राष्ट्रिय योजना आयोगको सिंहदरबारस्थित चमेनागृहमा अनुगमन गरेको थियो । “अनुगमनको क्रममा समस्या देखिएका चमेनागृहलाई सुधार गर्न कडा निर्देशन दिएका छौं,” महानिर्देशक लामाले अन्नपूर्ण पोष्टलाई भनिन, “केही दिनपछि फेरी उक्त चमेनागृहमा अनुगमन गर्दैछौं । सुधार नगरिएको भेटिएमा कारवाही गछौं ।” विभागले यसै महिनाको विभिन्न समयमा अनुगमन गरेको थियो ।


उनका अनुसार उच्च प्रशासनिक केन्द्रसहित केही स्वास्थ्य संस्थाका चमेनागृहमा पनि समस्या भेटिएको छ । थापाथलीस्थित प्रसुतीगृहको लामा फास्टफुड अव्यवस्थित रुपमा सञ्चालनमा रहेको फेला परेको छ । अस्पताल हाताभित्रको उक्त फास्टफुडमा पनि सरसफाईको व्यापक रुपमा समस्या देखापरेको विभागले जनाएको छ । यसैगरी न्युनतम सरसफाईमा पनि ध्यान नपुरयाएको भन्दै विभागले नर्भिक अस्पताल र नाईटिंगेल कलेजको चमेनागृहलाई सुधार गरेर ७ दिनभित्रमा बयान दिन आउन बोलाएको छ ।  

विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार अनुगमनकै क्रममा दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा व्यक्तिगत तथा भान्साको सरसफाईमा सुधार गर्न निर्देशन दिदैं उपभोग्य म्याद सकेको ५० लिटर दूध नष्ट गरिएको छ । यसका साथै नवदुर्गा डिपार्टमेण्ट स्टोर, बानेश्वर डिपार्टमेण्ट स्टोर, केके मार्ट, सानेपाको विग मार्ट र कुपण्डोलका कुमारी सपिड्ड सेन्टरबाट उपभोग्य म्याद सकेको २६ प्याकेट वेकरी जफत गरिएको छ ।

विभागका अनुसार हालै अनुज्ञापत्र नलिएका तथा अन्य प्रकृयासमेत पूरा नगरेका गोंगवुका अग्रज ग्रुप अफ इण्डस्ट्रिजलाई ७ दिनभित्रमा विभागमा हाजिर भएर सुधारको जानकारी गराउन निर्देशन दिएको छ । सरसफाईमा ध्यान नपुरयाएको तथा खाद्य पदार्थ गुणस्तरहिन भएको भन्दै विभागले सुन्धारास्थित प्रकृति चिया नास्ता होटलको भान्सामा सिलबन्दी गरेर तीनदिनभित्रमा बिभागमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै नेपाली वा अंग्रेजी भाषामा लेवल स्पष्ट रुपमा नखुलेका खाद्य पदार्थ बिक्रि बितरण गर्दैआएका लाजिम्पाटस्थित ब्लुमुन सपिंग सेन्टर र ललितपुरको पुल्चोकस्थित सेल्वेज डिपार्टमेण्टल स्टोरमा लेवल नमिलेका पेयपदार्थ, खुर्सानीको धुलो र सुकमेललगायतका खाद्य पदार्थ जफत गरी विक्रि बितरणमा पनि रोक लगाइएको छ । 

 प्रवक्ता कोइरलाका अनुसार अनुगमनकै क्रममा भक्तपुरका ५ वटा पसलबाट खाद्य पदार्थको नमूना संकलन गरेर सरसफाईमा सुधार ल्याउन निर्देशन दिइएको छ । यसका साथै टेकुस्थित ह्युमट वद्यशाला, ललितपुरस्थित दुईवटा खड्गी मासु पसल तथा वद्यशाला व्यवस्थित गर्तसमेत निर्देशन दिइएको छ ।

Comments