Murder Of Sadarul Miya News

पूर्व सभासद् मियाँको हत्या 'छोरी र प्रेमीबाट'

विघटित संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा गए राति हककै छोरीसहित दुई जना गिरफ्तार भएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले कल्याणपुर गाविस–२ स्थित हकको घरबाट उनकै छोरी २२ वर्षीया रवेदा खातुन र हत्यामा संलग्न लहान नपा–५ का ४० वर्षीय अब्दुल राउखलाई लहानबाट गिरफ्तार गरेको जनाएको छ।
पूर्वसभासद् हकको हत्यामा संलग्न भएका कारण लहान–५ निवासी राउख र हककै छोरी रवेदालाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरी वरिष्ठ उपरीक्षक भोगबहादुर थापाले जानकारी दिए।
हत्यामा संलग्न रवेदाका प्रेमी लहान नपा–५ का मौलवी भन्ने जमिर उल भने फरार रहेका छन्। रवेदा र जमिरले आफूहरुको विवाह भइसकेको बताए पनि हकले अस्विकार गर्दै आएकाले योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। 
उनका अनुसार केही पाउन केही गुमाउनुपर्छ भन्दै प्रेमी जमिर र रवेदाकै योजनामा हकको हत्या गरिएको हो। माग्न जाँदा नदिएपछि उनीहरुले आपसमा विवाह गरेको बताउँदै आएका छन्। 
रवेदा र जमिरको प्रेमसम्बन्धमा आमाको सहमति रहेपनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ।
हत्यामा संलग्न दुई अभियुक्त गिरफ्तार भएपनि हत्याका मुख्य योजनाकार जमिर र अन्य सहयोगीहरु सीमावर्ती क्षेत्र भारतमा भएकाले गिरफ्तार पर्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइलका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ।
स्वतन्त्र सभासद् हकको राजनीतिक वा व्यवसायिक रिसइवीका कारण हत्या भएको हुनसक्ने आशङ्का गरिएकामा छोरी नै हत्यामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ।
सप्तरीको कल्याणपुर गाविस–२ विसनपुरका ५५ वर्षीय पूर्व सभासद् हकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा गत जेठ ७ गते बिहान ८ : ३० बजे उनको घरदेखि ५०० मिटर पश्चिम रहेको खोजपुर गाविस–७ स्थित हुमा आयल टेड्रर्समा शव फेला परेको थियो।
छिमेकी रामेश्वर साहको छोरीको बिहेबाट जेठ ६ गते राति १० बजे आफ्नै पेट्रोल पम्पमा सुत्न गएका उनी बिहानसम्म घर नफर्केपछि परिवार र पम्पका कर्मचारीहरु खोज्न जाँदा उनको मृत शरीर फेला परेको थियो।
हत्यामा संलग्न सबैजना नियन्त्रणमा नआएसम्म गिरफ्तारीबारे कसैलाई पनि जानकारी नदिन केन्द्रीय अनुसन्धान ब्युरोले निर्देशन दिएको थियो। 
तर, हत्यामा संलग्न रहेको आरोपमा हकका छोरी गिरफ्तार भएपछि उनीहरुको परिवारबाटै होहल्ला हुन थालेकाले आज दुई अभियुक्तलाई सगरमाथा अञ्चल प्रहरी कार्यालयमा सार्वजनिक गर्न लागिएको हो। प्रहरीले आज कर्त्तव्य ज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ।

Comments