आर्थिक सर्वेक्षण २०६९/७० ले नेपालमा रोजगारीको स्थिति भयावह भएको देखाएको
छ। लामो समयदेखि देशमा कुनै नयाँ उद्योगधन्दा खुल्न सकेको छैन। न कुनै
उल्लेख्य विदेशी लगानी नै आएको छ। अनि के गर्ने त ? काम खोज्न बाहिर देशमा
जाने। ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि बाहिरिएका छन् र यो क्रम
जारी छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको
अनुमति लिई र नलिई दुवै किसिमले विदेशका काम गर्न गएकाहरुको संख्या ३०
लाखभन्दा बढी छ।
सबभन्दा बढी नेपाली मलेसियामा छन्। तर त्यहाँको तलब भने तुलनात्मक रुपमा
अरु देशमा भन्दा कम छ। आर्थिक वर्ष २०६९/७० को
दोस्रो चौमासिकसम्म मलेसियामा काम खोज्दै जानेको संख्या १ लाख २ हजार २ सय
४० रहेको छ। दोस्रो स्थानमा साउदी अरब (६० हजार+) र तेस्रो स्थानमा कतार
(५५ हजार+) रहेको छ।
तथ्याङ्क अनुसार पुरुष धेरै जाने देश मलेसिया हो भने महिला धेरै
जाने देश युएई हो। यो वर्ष विदेश गएकाहरुमध्ये ३८ प्रतिशत पुरुष मलेसिया,
२३ प्रतिशत साउदी अरब र २१ प्रतिशत कतार गए। महिलातर्फ भने ३५ प्रतिशत
युएई, २८ प्रतिशत मलेसिया र २० प्रतिशत कुवेत गएका रहेछन्।
साढे १६ हजारभन्दा बढी महिला काम गर्न विदेश गएका बेला पुरुषको संख्या भने हजार हैन, लाखमा छ। २ लाख ६० हजारभन्दा बढी।
सरकारको काम अनुमति खोल्दै बस्नु !
किन वर्षेनी लाखौँको संख्यामा नेपाली विदेशिन्छन् त ? कारण सरकारी
सर्वेक्षणले नै स्वीकारेको छ- “देशमा दिनानुदिन बढिरहेको बेरोजगारी समस्या
समाधान गर्ने तर्फ स्पष्ट नीति तथा कार्यक्रमको अभाव एवम् खाका तयार नभएको
कारण” सरकारको काम संस्थागत रुपमा विदेशमा रोजगारीका लागि अनुमति खुल्ला
गर्नु रहेको देखियो। यो पृथ्वीमा कूल १९३ देश संयुक्त राष्ट्र संघका सदस्य
छन्। नेपालले संस्थागत रुपमा विदेशमा काम गर्न जान अनुमति दिएका देशको
संख्या १०९ पुगिसकेको छ।
रेमिट्यान्सले नेतालाई दबाब छैन, अर्थतन्त्रमा रोग
सरकारलाई रोजगार देऊ भन्दै दबाब दिन सक्ने ३० लाख युवा देशबाहिर गएपछि
नेता, नीतिनिर्मातालाई हाइसन्चो भएको छ। त्यही भएर लाजै नमानी “देशमा
दिनानुदिन बढिरहेको बेरोजगारी समस्या समाधान गर्ने तर्फ स्पष्ट नीति तथा
कार्यक्रमको अभाव एवम् खाका तयार नभएको” रिपोर्ट लेखिरहेका छन्।
नहोस् पनि किन, विदेशमा बसेकाले पैसा कमाएका छन्, यहाँकाले बसी बसी खान पाएका छन्, कुनै मेहनतै नगरी। मुलुकमा वैदेशिक रोजगारबाट भित्रने रकमको ७९ प्रतिशत खर्च खानपिनको
निमित्त हुने सर्वेक्षणहरू देखाउँछन्। बचत हुने रकम कुल आयको ०.६ प्रतिशतमा
सीमित देखिन्छ। अनि व्यापार तथा लगानीका निमित्त ३ प्रतिशतभन्दा कम उपयोग
हुने गर्छ। यस अर्थमा भित्रने रकम बढे पनि त्यसको खपत जीवन धान्ने कार्यमा
नै अत्याधिक हुने तथा लगानी र सञ्चय न्युन हुने भएकाले हामी कति डच रोगबाट
प्रभावित भएका छौँ, त्यसको विश्लेषण गर्न धेरै स्रोत र साधन खति गर्नु
आवश्यक परोइन। (सिजापति, विनोद, २०१२)
घरपरिवार बिग्रँदै
नेपाली कांग्रेसकी नेतृ ममता थेवेले झापा जिल्लामा आउन थालेको
सामाजिक विकृतिबाट चिन्तित हुँदै भनेकी थिइन्- ‘वैदेशिक रोजगारले देशमा
पैसा त भित्रियो, घरपरिवारले विनापरिश्रम खान/लगाउन पनि पाउने भए तर समाजमा
थुप्रै अकल्पनीय विकृति पनि भित्रन थालेका छन्। थेवेले भनेको अकल्पनीय
विकृतिमध्ये सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्ध हो। जनजातिहरूमा
परापूर्वकालदेखि नै कमाइका निम्ति मुग्लान लाग्ने चलन थियो। परिवारका सदस्य
खास गरेर पत्नी श्रीमान् बिदामा आउने दिन कुरेर बस्ने गर्थिन्। पेन्सन
पाकेर घर फर्केपछि वास्तविक पारिवारिक जीवन सुरु हुन्थ्यो। त्यो उनीहरूको
जीवनपद्धतिको अभिन्न अंग बनिसकेको थियो। अन्य जातजाति वा समुदायमा कामका
लागि विदेश जाने परम्परा बिरलै थियो। अहिले श्रीमान् वा श्रीमती रोजगारीका
निमित्त विदेशिने चलन छ, रकम भित्रिन्छ। तर कसैले कसैलाई कुरेर बस्दैन।
अन्यसँग सम्पर्क बढ्ने अनि त्यसबाट पारिवारिक सम्बन्धमा नराम्रो असर पर्ने
तथा बालबालिकाको भविष्य जटिल समस्या बन्दै गएको छ। (ऐ.ऐ.) आफ्नी स्वास्नीलाई आफू विदेशमा हुँदा अर्कैले भगाइदिएपछि पीडित
बनेका लोग्नेले भगाउने केटा कै स्वास्नीसित बिहे गरेको अनौठो खबर झापाबाटै
आएको हो। जस्ले जस्की स्वास्नी उडायो उसैले उस्की स्वास्नी उडाइदिए।
हाम्रै आँखाअगाडि श्रीमान् बाहिर गएकी श्रीमति र श्रीमति बाहिर गएको
श्रीमान् कति बिग्रिएका उदाहरण छन्। अस्ति एक जनाले सुनाउँदै थिए- एक जना
आफन्त दिदीले श्रीमान् विदेश गएको भन्यो कि मान्छेले अर्कै नजरले हेर्ने
हुनाले ढाँटेर बाहिर जिल्लामा गएको भन्ने गरेकी छिन् रे। श्रीमानले
विदेशबाट पैसा पठाए जति श्रीमतिले यता अर्कै केटासँग उडाउँदै वा श्रीमतीले
विदेशबाट पैसा पठाए जति श्रीमानले यता अर्कै केटीसँग लागेर उडाएको प्रशस्त
देखिन्छ। कतिको त नेपाल फर्कँदा पैसा पनि छैन, घरवार पनि छैन। हाम्रो
कानुनमा पुरुषले चाहेर सम्बन्ध विच्छेद गर्न गाह्रो भएकोले उल्टै पैसा
तिरेर गर्नुपर्छ डिभोर्स। एक दिन मेरा एक फेसबुके मित्रले मलाई फोन गर्दै
रुन्चे स्वरमा सुनाएका थिए- “हाकाहाकी मसित २ लाख रुपियाँ मागिन्। आज पैसा
दिएर अदालत गएर डिभोर्स गरेँ।”
अनि किन दिएको त पैसा ? “के गर्ने यार कति सहने टेन्सन। मलाई त ठीकै थियो। बिचरा बूढा बा,
आमाहरुलाई टेन्सन, पेशी भन्या छ, अदालतमा बयान दिन बोलाएको छ। बरु दिएको
खाओस् भनेर।”
नेपालमात्र हैन, विदेशमा पनि उस्तै। विदेशमा गएका अर्कैका श्रीमान् र
अर्कैकी श्रीमतीले छिल्लिएर गरेका कुराकानीका अडियोहरु युट्युबमा समेत
अपलोड भएका छन्। विदेशबाट फर्किएकी एक दिदीले सुनाइन्- ‘केटाहरुले फोन
नम्बर पाउनै हुँदैन। रातिराति फोन गरेर टेढोटेढो कुरा गरेर हैरान गर्छन्।
फोन अफ गरेर राख्नुपर्छ। कति पटक त सिम चेन्ज गरेको छु।’
विदेशमा गएका सबै केटा र सबै केटी उस्तै हुँदैनन्। तर ३० लाख
बाहिरिएको यो देशमा ९० प्रतिशत चोखा भए पनि ३ लाख पुरुष, ३ लाख महिला गरी ६
लाख अझ उनीहरु पनि विवाहित भए थप ६ लाख गरी १२ लाख पीडित हुन्छन्। यो
समस्या प्रवृत्ति बनेर बिस्तारै फैलने क्रममा छ जसले हाम्रो पारम्पारिक सोच
र मान्यतालाई भत्काउँदै लैजान बाध्य बनाउनेछ। यसको परिणाम भविष्यमा
देखिँदै जानेछ।
[वैदेशिक रोजगारीबाट भएका आर्थिक/सामाजिक विकृतिलाई तपाईँले नजिकबाट
हेर्नुभएको छ कि ? तपाईँले देखे सुनेका केही घटना छन् भने तल कमेन्टमा
लेख्नुस्। यस्ता घटना समाचारमा आउँदैनन् तर के हदसम्मको स्थिति छ, त्यो
बुझ्न जरुरी हुन्छ।]
काठमाडौ, असार २९ , 2070
Comments
Post a Comment