मनसँग मन जोड्दै पुल

  • राजेश बर्मा

पुल भन्नासाथ झट्ट दुईवटा सडकलाई वारीदेखि पारीसम्म जोड्ने भौतिक पूर्वाधारलाई बुझाउछ । तर यसले दुई सडकलाई जोड्ने काम मात्रै गरेको छैन । पुलले एउटा व्यक्तिलाई अर्काे व्यक्तिको मनलाई पनि जोडेको छ । यसले एक स्थानको व्यक्तिलाई अर्काे स्थानमा पुग्नमा पनि सहयोग पुरयाउदै आएको छ ।
पछिल्लो समयमा पुलको विकास क्रमसंगै सामाजिक, सांस्कृतिक, शिक्षा, आर्थिक र स्वास्थ्य क्षेत्रको विकासक्रम पनि चुलिदै गएको छ । नदी वारपार गर्न पुल नहुंदा पछिल्लो समयमा धेरै विरामीहरु समयमा उपचार गराउन नसक्दा अकालमै मृत्युवरण गर्नुपरेको यर्थाथ पनि हामी नभएको होइन । पुलकै कारण ग्रामिण क्षेत्र अहिले सहरी क्षेत्रमा रुपान्तरण हुँंदै गएको छ । एक अर्कालाई जोडन सहयोग गर्दै आएको तिनै पुल कहिलेकाही मानविय क्रियाकलापका कारण जोखिममा पनि पर्दैआएका छन । 

नेपालमा राणाकालिन समयमा बनेका काठे पुल हुंँदै आर्क प्रविधि र झोलुगे पुल प्रविधि नेपालमा भित्रिएको थियो । त्यसपछि आरसिसि कंक्रिटहुँंदै अहिले नेपालमा प्रि स्ट्रेस कंक्रिट प्रविधिसम्मको पुल बन्न थालेको छ । नेपालमा मुख्ययता ः दुई प्रकारको पुलहरु बनेका छन र बन्ने क्रममा छन । यस्ता पुलहरुमा राजमार्गमा बनाइने ठूला प्रकारका पुल छन । अर्काे भने वडा–वडालाई जोडन, गाबिस–गाबिसलाई जोडन र गाबिसलाई सदरमुकामलाई जोडन तयार गरिने स्थानीय स्तरका पुल हुन ।
राजमार्गअन्तर्गत सिंगल आर्क, सस्पेन्सन, केवुल स्ट्रेट, स्टिल ट्रस, आरसीसी कंक्रिट र हालै भित्रयाइएको प्रि स्ट्रेस कंक्रिट प्रविधिको पुलहरु सडक विभागको पुल शाखाले २०२२ सालदेखि निर्माण गर्दैआएको छ । रुस, व्रिटेन, भारतीय, चीन र आफनै श्रोतसाधनबाट गरेर विभागले हालसम्म मुलुकभरका राजमार्गहरुमा एक हजार ७ सय ८ वटा पुल निर्माण गरिसकेको छ । यसैगरी डोलिडारले स्थानीय स्तरका सडक अन्तर्गत सस्पेण्डेड ट्रेल ब्रिज (दुवै पुछारमा टावर नभएको झोलुगे पुल), सस्पेन्सन झोलुगे ट्रेल ब्रिज (दुवै पुछारमा टाबर भएको झोलुगे पुल) र स्टील ट्रस प्रविधिको पुलहरु निर्माण गर्दैआएको छ । पुलकै विकास क्रमलाई हेर्दा  प्राक्टिकल एक्सन, कृषि विकास मन्त्रालय र क्याब्रीले आफै र दातृ निकायको सहयोगमा तुहिन र रोपवे निर्माण  भएको देखिन्छ । यसवाहेक अत्याधिक बाढी आएका कारण क्षतिग्रस्त भएका पुलको स्थानमा आपातकालिन स्थितिमा अस्थायी रुपमा वेली पुल पनि सञ्चालन हुँदै सडक बिभागको कथन छ । दोश्रो विश्व युद्धबाट प्रयोग हुन थालेको वेली पुलको प्रयोग नेपालमा ०५३ सालमा बाढी आउदा नौविसे–मुग्लिंग, मलेखु–बेसी, भिमफेदी सडक खण्डको कुलेखानी पुल र पूर्वाञ्चलको भान्टावारी नजिकको पुल भत्किंदा भएको थियो ।
पुलको इतिहासलाई पल्टाउने हो भने २००७ सालदेखि पुल निर्माणका लागि विभिन्न सरोकारवाला निकाय बनेको देखिन्छ । त्यही बर्षमा सरकारी, नीजि र विभिन्न मुलुकको सहयोगमा बाटोकाज गोश्वारा, बनाउने अड्डा, समरजंग कम्पनी, नयाँ बाटोकाज अड्डा, सार्वजनिक कार्य विभाग खडा भएको देखिन्छ । त्यसपछि ०१४ मा सडक यातायात संगठन र ०१८ मा सडक विभाग खडा गरिएको थियो । त्यसपछि ०२२ सालमा सार्वजनिक कार्य विभागलाई सडक विभागमा संयोजन गरेर सडक विभाग निर्माण गरिएको थियो । २००७ मा खडा गरिएको बनाउने अड्डाले तत्कालिन समयमा पुलहरु निर्माण गरेको सडक बिभागको तथ्याँंकले देखाएको छ ।
सडक विभाग अन्तर्गतको पुल आयोजना प्रमुख कृत्यानन्द ठाकुरका अनुसार प्रि स्ट्रेस कंक्रिट प्रविधिलाई प्रयोग गरेर पहिलो पटक नेपालकै सवैभन्दा लामो एकहजार २ सय मिटरको पुल बर्दियामा कोठियाघाटमा निर्माण गर्न लागिएको छ । पाँच बर्षको निर्माण अवधी भएको यो पुलको निर्माण अवधी अझै तीन बर्ष बांकी छ । यसै गरी लेगुवामा स्टिल ट्रस प्रविधिबाट सय मिटर लामो पुल निर्माण गरिएको छ । सिंगल आर्क प्रविधि प्रयोग गरेर ववई नदी, पोखरा बागलुंगको बीचमा कालिगण्डकी,  केवुल स्ट्रेट प्रविधिको कर्णालीमा ३ सय ७५ मिटर लामो, त्रिशुली, मुग्लिग, आवुखैरेनीमा सिंगल सस्पेन्सन प्रविधिको पुल निर्माण गरिएको छ । बिभागले आफनै डिजाइन र नेपाली प्राविधिकको सहयोगमा सिंगल सस्पेन्सन प्रविधिको अर्काे पुल अहिले दुधकोशीको जयराम घाटमा निर्माण गर्न लागेको छ ।

नेपालमा सबैभन्दा बढी आरसिसी कंक्रिट प्रविधिको पुल अत्याधिक लोकप्रिय भएको छ । करिब सय बर्ष आयुको यो पुल नेपालमा अत्याधिक परिमाणमा निर्माण भएका छन । यसअघि आगामी ५० बर्षमा आउने बाढीको अबस्थालाई दृष्टिगत गरेर पुल निर्माण गरिदैं आएको थियो । अर्थात पहिलेको पुलको आयु सरदर ५० बर्षसम्मको हुन्थ्यो । पुलको निर्माण अबस्थालाई तुलनात्मक गर्ने हो भने पहिलेभन्दा अहिले धेरै परिमाणमा बन्ने गरेको छ । गत आर्थिक बर्ष ०६४÷०६५ सम्म प्रत्येक बर्ष करिब ३० वटासम्म पुलको डिजाइन तयार हुन्थ्यो । “तर अहिले प्रत्येक बर्ष तीनसयको संख्यामा पुलको डिजाइन तयार हुने र त्यसमध्ये करिब ६० वटासम्म निर्माण हुने गरेको छ,” आयोजना प्रमुख ठाकुर भन्छन ।



पाइपलाइनमा पुल
सामरिक सडक संजाल(एसआरएन) अन्तर्गत सडक बिभागले ४ सय पुल निर्माण गर्ने लक्ष्य राखेको छ । बजेटको अभावका कारण यतिका संख्यामा रहेका पुलको निर्माण सम्पन्न हुने समय भने निर्धारण गरिएको छैन । यसमध्ये सयको संख्यामा  एसआरएन अन्तर्गत राजमार्ग, सहायक राजमार्ग र महत्वपूर्ण सडक खण्डमा निर्माण गर्ने योजना छ । “बाँंकी पुल स्थानीय सडक संजाल(एलआरएन) अन्तर्गत बनाइने योजना छ,” आयोजना प्रमुख ठाकुर भन्छन,“विश्व वैंकको सहयोगमा एसआरएन अन्तर्गत सयवटा र थप ७१ वटा पुल आगामी पाँचबर्षभित्रमा निर्माण गर्ने योजना छ ।”

विश्व वैंकले पुल निर्माणका लागि करिब ६० मिलियन अमेरिकी डलर सरकारमार्फत अर्थमन्त्रालयलाई उपलब्ध गराएको छ । पुलको कार्यप्रगती तथा मूल्यांकनको आधारमा विभागले उक्त रकम प्राप्त गर्नेछ । रकममध्ये अघिल्लो बर्षमा डेढ अर्ब एसआरएन र डेढ अर्ब एलआरएन अन्तर्गतका सडकका लागि छुट्टयाइएको छ । विश्व वैंकले उपलब्ध गराएको रकमबाटै पुरानो सडक मर्मत सम्भार पनि गरिनेछ । बिभागले पुल व्यवस्थापन प्रक्रियामाध्यमबाट पुलको प्राथमिकिकरण गरेर नयां पुल निर्माण र पुरानो पुलको मर्मत सम्भार गर्दै आएको छ ।

एलआरएनअन्तर्गत सुदुरपश्चिमाञ्चलमा १६, पूर्वाञ्चलमा ३२, मध्यमाञ्चलमा १३, पश्चिमाञ्चलमा १५, मध्यपश्चिमाञ्चलमा १६ र बांकी अन्य क्षेत्रमा पुल निर्माण गरिनेछ । यसैगरी स्थानीय निकाय अन्तर्गत मुलुकभरका जिल्लाहरुमा विभिन्न प्रविधिका ५ हजार ६ सय ४४ वटा पुल निर्माण गर्न माग छ । यस चालु आर्थिक बर्षमा ४ सय निर्माण गर्ने लक्ष्य छ ।


मर्मत सम्भार
बिभागले राजमार्गअन्र्तगतका जिरी–तामाकोशी, जिरी– सुनकोशी, त्रिशुली– तादी, मुग्लिग, आवुखैरेनी–मस्र्यादी, भिमाद–खैरेनीटार, पोखरा–वाग्लुग सडक खण्डमा पर्ने कालिगण्डकी पुल र सुर्खेतको भेरी पुलको मर्मत सम्भार गरेर पुन सञ्चालनमा ल्याएको छ । यसैगरी माओवादीको दशबर्षे जनयुद्धको क्रममा ध्वस्त बनाइएका कपिलबस्तुको सुरही नाकानजिकको पुल, हेटौडा अमलेखगञ्ज नजिकको पुल, पोखरा र वाग्लुंग सडक खण्डको पुललगायत करिब आधा दर्जन पुलहरु यतिखेर पुननिर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

मर्मत सम्भारका लागि बर्षेनी करिब ६० लाखसम्म रुपैयां निकासा दिने सरकारले केही बर्ष यतादेखि बर्षेनी ६४ करोडभन्दा बढी रकम निकासा गर्न थालेको छ । “रकम अभावमा पहिले पुल मर्मत सम्भार गर्न निक्कै चुनौती थियो,” आयोजना प्रमुख ठाकुर भन्छन,“तुलनात्मक रुपमा बल्ल अलि बढी मात्रामा यो शिर्षकमा सरकारले रकम उपलब्ध गराउन थालेपछि पुलहरुको मर्मत सम्भार गर्न सजिलो भएको छ ।” मु्ख्यतया पुल भुकम्प र ठुलठूला बाढीका कारण जोखिममा पर्दैआएका छन । “पुलको दुवै पुछारको तल फालिएको फोहोरका कारण पनि पुल त्यतिकै जोखिममा पर्दैआएको छ,” उनले भने,“फोहोरका कारण पुलको वेयरिंग र कंक्रिटमा खिया लागेर फुटेर सम्भावना अत्याधिक देखिएको छ ।”

स्थानीय निकायका पुलतर्फ सन १९९० अघि निर्माण भएका सबै प्रकारका एकहजार दुईसय झोलुगे पुलको मर्मत सम्भार गर्न डोलिडारले पुलको अबस्थाको बारेमा हालै अनुसन्धान पनि गरेको छ । स्थलगत निरीक्षण पश्चात त्यसमध्ये १ सय ३० वटा अत्यन्त जोखिममा रहेको पाइएको छ । जोखिममा रहेका यस्ता पुलहरुको मर्मत सम्भार यसै आर्थिक बर्षमा गरिने डोलिडारअन्तर्गतको पुल शाखाका इन्जिनियर स्मिता शर्माले बताइन ।


स्थानीय निकायका पुल
बीसौं शताब्दीको प्रारम्भतिर सरकारी तवरबाट मुख्य व्यापारिक मार्गका महत्वपूर्ण स्थानहरुमा स्थानीय निकायका पुल निर्माण गर्ने क्रम सुरु भएको थियो । व्यवस्थित तथा योजनाबद्ध तबरले निर्माणको थालनी भने बि.स. २०२१ देखि मात्र भयो । प्रारम्भमा मुख्य पैदल मार्ग तथा रणनीतिक महत्वका घाट तथा नदीहरुमा मात्र पुल निर्माण भएको देखिन्छ । तर स्थानीय पैदल मार्गमा पनि झोलुङगेसहित सस्पेन्डेड(दुवै पुछारमा टावर नभएको), सस्पेन्सन(दुवै पुछारमा टाबर भएको) र स्टील ट्रस प्रविधिको पुल निर्माणको माग अत्याधिक रहेको देखिएको छ । पुलको विकास क्रमलाई हेर्ने हो भने नेपालमा २०२५ देखि स्वीस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा बाग्लुंगबाट झोलुगे पुल बन्न थालेको हो ।

त्यसपछि स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलिडारले एसडीसीको प्राविधिक सहयोगमा स्थानीय स्तरको पुल बनाउन थालेको हो । झोलुगे पुल मुख्यतया तीन प्रकारको हुन्छ । जसमा सस्पेन्डेड(दुवै पुछारमा टावर नभएको), सस्पेन्सन(दुवै पुछारमा टाबर भएको) र स्टील ट्रस (यो ३२ मिटरभन्दा सानो हुन्छ) हुन । अधिकांश यस्ता पुल दुई थरीका हुन्छन । एउटा एकसय २० मिटर भन्दा सानो र अर्काे एकसय २० मिटरभन्दा ठूलो हुन्छन ।

डोलिडारअन्तर्गतको पुल शाखाका इन्जिनियर स्मिता शर्माका अनुसार गत आर्थिक बर्ष ०६८÷६९ सम्म मुलुकभर झोलुगे पुलको संख्या ५ हजार ६१ वटा थियो । जसमध्ये गत आर्थिक बर्षमा ३ सय २५ निर्माण भएको थियो । यस्ता खाले पुलका लागि एउटा पुल र अर्काे पुलबीचको दुरी कम्तिमा एक घण्टाको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । डोलिडारले अघिल्लो बर्षमा विभिन्न जिल्लामा २१ वटा रोपवे निर्माण गराउन सर्वे डिजाइन गराएको थियो । जसमध्ये ९ बटा बन्ने अबस्थामा पुगेको छ । यसमध्ये मकवानपुर र स्याग्जामा दुईवटाको अघिल्लो बर्ष र पाल्पा र बाग्लुंग्मा दुईवटाको यस वर्ष टेण्डर आहवान गरिएको छ ।
सबै भन्दा बढी  झोलुगे पुल निर्माण भएका जिल्ला
बाग्लुंग    ४५५
गुल्मी        १८६
खोटांग    १२१
लम्जुंग    ११३
दोलखा    १०४
ताप्लेजुंग    ९९
इलाम        ८६
रोपवे र तुहिन
नेपालमा रोपवे र तुहिनको इतिहास धेरै पुरानो छ । स सानो समुदाय भएका स्थानमा मुख्य गरी तरकारीजस्ता मालसामान बोक्न रोपवे र सर्वसाधारणलाई बोकेर नदि वारीपारी गराउन तुहिनको निर्माण भएको देखिन्छ । तर परिस्कृत रुपमा सन २००१ देखि रोपवे र तुहिनको निर्माण हुन थालेको हो । हालसम्म विभिन्न सरोकारवाला निकायहरुबाट २८ वटा रोपवे र करिब २४ को संख्यामा तुहिन निर्माण भएको देखिन्छ ।
नेपालमा रोपवेको आधुनिकीकरण गरेर प्राक्टिकल एक्सनले सन २००१ देखि ०११ सम्म दुई चरणमा रोपवे र तुहिन निर्माण गरेका थिए ।  उक्त संस्थाका प्रोजेक्ट म्यानेजर रवीन्द्रवहादुर सिंहका अनुसार गोरखामा ५, तनहुँंमा ४, कालिकोटमा ३, अछाममा ३ र  धादिंगमा ३ वटा निर्माण गरिएको थियो ।

यसैगरी प्राक्टिकलले नै सुर्खेत, लम्जुंग, गोरखा, तनहुं, कालिकोट, अछाम र धादिंगमा तुहिन निर्माण गरेको छ । कृषि विकास मन्त्रालयले स्याग्जामा एक र चितवनमा एउटा तथा क्याब्री भन्ने संस्थाले धादिंगमा दुईवटा रोपवे निर्माण गरेको छ । यसमध्ये धादिंगको तार चुडेपछि एउटा रोपवे सञ्चालनमा छैन । यसैगरी गोरखामा पनि तुहिन चुंडिएर सञ्चालनमा छैन । अन्य सबै सञ्चालनमा रहेका छन ।

Comments