आठ महिनामा ४२ अर्बको कृषिजन्य बस्तु आयात

तीनबर्षमा मात्र एक खर्ब ४४ अर्बको आयात

  • राजेश बर्मा
कृषि मुलुकको “उपमा” दिइएको नेपाल पछिल्लो समयमा कृषिजन्य बस्तुमा परनिर्भर बन्दै गएको छ । सरकारले कृषिलाई उचित प्राथमिकतामा राखेर आवश्यक नीति तथा बजेट उपलब्ध गराएको दावी गरेपनि मुलुक कृषिमा आत्मनिर्भरको साटो दिनानुदिन ओरालो लाग्दै गएको एक सर्वेक्षणको प्रतिवेदनले देखाएको छ ।

अर्थमन्त्रालयले शुक्रबार जारी गरेको सर्वेक्षण प्रतिवेदनले नेपाल कृषिजन्य बस्तुमा निर्यातमुखिभन्दा आयातमूखि बन्दै गएको स्पष्ट पारेको छ । मन्त्रालयले चालु आर्थिक बर्ष ०६९/०७० को प्रथम आठ महिनाको आर्थिक सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक बर्षको प्रथम आठ महिनामा ४२ अर्ब ३६ करोड मूल्य बराबरको कृषिजन्य(खाद्य बस्तु र जीवजन्तु) र सुर्ति तथा पेयजन्य पदार्थ बाहिरी मुलुकबाट आयात भएको छ । सोही अवधीमा १२ अर्ब ३७ करोड मूल्य बराबरको कृषिजन्य र सुर्ति तथा पेयजन्य पदार्थ बाहिरी मुलुकमा निर्यात भएको छ । सरकारले कृषि विकास मन्त्रालयलाई चालु आर्थिक बर्षमा करिब १२ अर्ब रुपैयाँं उपलब्ध गराएको थियो । सरकारले कृषिलाई कूल बजेटको ४ देखि ५ प्रतिशतसम्म बजेट उपलब्ध गराउदै आएको छ ।

सवेक्षणअनुसार चालु आवमा ३९ अर्ब ५७ करोड मूल्य बराबरको कृषिजन्य बस्तु तथा २ अर्ब ७९ करोड मूल्य बराबरको सुर्ति र पेय पदार्थ आयात भएको छ । गत आर्थिक बर्ष ०६८/०६९ को प्रथम आठ महिनाका तुलनामा खाद्य बस्तु र जीवजन्तुतफ ५९.९ र सुर्ति तथा पेय पदार्थतर्फ ५५.२ प्रतिशतले बढी आयात भएको हो । आव ०६९/०७० को प्रथम आठ महिनाको बस्तुगत आयात दर भने गत बर्षको सोही अवधीमा भएकोभन्दा ५८.९ प्रतिशतले बढि हुने अनुमान गरिएको छ । “सरकारले कृषिको यान्त्रिकरण र व्यवसायिकरण गर्ने भनेपनि कागजमै सिमित भएकाले कृषिजन्य बस्तुमा नेपाल परनिर्भर हुँंदै गएको छ,” कृषिबिज्ञ तथा पूर्व सचिब डा. हरि दाहालले भने,“कृषिमा सरकारको उचित लगानीको अभाव पनि टड्कारो रुपमा देखिएको छ ।”

भारत, चीन, थाइल्याण्ड, इण्डोनेशिया, अर्जेण्टिना, सिंगापुरलगायतका मुलुकबाट तरकारी, पशु तथा पंक्षिजन्य, दुग्धजन्य, खाद्य तथा तयारी खाद्य पदार्थ, पेयजन्य, बीउविजन, तेल तथा तेलहन, दालजन्य पदार्थ आयात हुँंदै आएको छ । चालु आर्थिक बर्षको प्रथम आठ महिनामा कृषिजन्य बस्तुतर्फ २१.८ प्रतिशतले बृद्धि भएर १२ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ । यसैगरी ८७.६ प्रतिशतले बृद्धि भएर १४ करोड मूल्य बराबरको सूर्ति तथा पेय पदार्थ निर्यात भएको छ । गत आव ०६८/०६९ को सोही अवधीमा खाद्य बस्तु र जीवजन्तुतर्फ १० अर्ब ४ करोड र ७ करोड मूल्य बराबरको सुर्ति तथा पेयपदार्थ निर्यात भएको थियो ।

चालु आवको आठ महिनाको बस्तुगत निर्यात गत बर्षको सोही अवधीमा भएको निर्यातभन्दा ९.२ प्रतिशतले कम हुने अर्थ मन्त्रालयको अनुमान छ । प्रतिवेदनअनुसार पछिल्लो दश बर्षको अवधीमा करिब २२.१ प्रतिशतले बृद्धि भएको खाद्य बस्तु तथा जीवजन्तुको आयात दर गत आर्थिक बर्ष ०६७/०६८ को तुलनामा पछिल्लो आव ०६८/०६९ मा ३९.४ प्रतिशतले बृद्धि भएर २९ अर्ब २६ करोड पुगेको छ । कृषि बजार निर्देशनालयका कृषिअर्थ विद् सुनिलनाथ लोहनीले मुलुकभित्र आन्तरिक उत्पादन कम भएर आयात दर बढेको जानकारी दिए ।

उनका अनुसार आयात दर बढनुमा मागअनुसार उत्पादन हुन नसक्नु, उपभोक्ता सम्पन्न भएर आफ्नै मुलुकका उत्पादनभन्दा बाहिरी मुलुकका उत्पादनलाई बढी रुचाउनु, उत्पादन कम हुनु र उत्पादन लागत बढी भएर बाहिरी मुलुकको पदार्थसँंग प्रतिस्र्पधा गर्न नसक्नु, उत्पादन भएका पदार्थ पनि गुणस्तरयुक्त अर्थात निर्यात योग्य हुन नसक्नु प्रमुख कारणहरु हुन । “आयात दरलाई घटाएर निर्यात दर बढाउन तथा आत्मनिर्भर हुन सरकारले सिंचाई, रसायनिक मल, बीउविजन, कोल्ड स्टोर, बजार व्यवस्थापन, बिमा, गोदामलगायतका क्षेत्रगत बिषयमा पर्याप्तमात्रामा अनुदान र लगानी लगाउनुपर्ने अवस्था छ,” अर्थविद् लोहनीले भने ।
   


विगत दश बर्षमा करिब १६.६ प्रतिशतले बृद्धि भएको खाद्य बस्तु र जीवजन्तुको निर्यात गत आब ०६६/०६७ मा ३१.३ प्रतिशतले कमी आएकोमा आब ०६८/०६९ मा ९.६ प्रतिशतले बृद्धि भएर १५ अर्ब ९३ करोडमा पुगेको छ । “उपलब्ध श्रोत र साधानको आधारमा विगतका आवधिक योजनाहरुमध्ये पाँंचौ योजनादेखि कृषिलाई उच्च प्राथमिकतामा राखिएको दावी सरकारले गरेपनि मुख्य गरेर सधै बजेट अभावका कारण यो क्षेत्रले स्वरुप फेर्न सकेन,” कृषि बिज्ञ भोलामान सिंह बस्नेतले भने । गत आब ०६८/०६९ मा कूल गार्हस्थ उत्पादनमा ३५.३६ प्रतिशतले योगदान पुरयाउदै कृषि क्षेत्रले यस आर्थिक बर्षमा ३४.३३ प्रतिशतको हाराहारीमा मात्र योगदान पुरयाउन सक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको पछिल्लो एक तथ्याँंकअनुसार गत तीन बर्षमा १ खर्ब ५४ अर्ब मूल्य बराबरको कृषिजन्य बस्तु बाहिरी मुलुकबाट आयात भएको छ । गत आब ०६६/०६७ देखि ०६८/०६९ सम्मको अवधीमा यस्ता पदार्थ आयात भएको हो । तीन बर्षको अवधीमा तरकारीतर्फ ६६ अर्ब ३६ करोड, तयारी खाद्य पदार्थतर्फ ३९ अर्ब ८ करोड र तेलजन्यतर्फ ३२ अर्ब ७९ रुपैयाँं विदेशिएको छ । यसैगरी पशु तथा पशुजन्यतर्फ ६ अर्ब ५० लाख रुपैयाँं बाहिर गएको छ । गत आबमा यस्ता बस्तु आयात गर्ने नाममा ७६ अर्ब ५ करोड विदेशिएको थियो । गत बर्षमात्रै चामलको नाममा १३ अर्ब ९६ करोड ६० लाख र दुग्धजन्य पदार्थको नाममा १ अर्ब १२ करोड बाहिर गएको छ । (बिस्तृत तथ्याँंक तलको बक्स २ हेर्नुहोस्) कृषिमा आत्मनिर्भर हुन नसक्दा कृषिजन्य उत्पादन खरिदमा मात्रै बार्षिक कूल बजेटको करिब ३६ प्रतिशत रकम बाहिरिन्छ । चालु आर्थिक बर्षमा सरकारको कूल बजेट ४ खर्ब ४ अर्ब थियो ।

कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३५ प्रतिशतको हाराहारीमा छ । करिब दुई तिहाई जनसंख्या यसै क्षेत्रमा क्रियाशिल रहेपनि कृषि क्षेत्रको अवस्था खस्कदै गएको पूर्व सचिब डा. दाहालको भनाई छ । करिब ७५ प्रतिशत किसान गरिवीको रेखामूनि छन भने कूल जनसंख्यामध्ये ४ प्रतिशतले मात्र व्यवसायिक कृषि प्रणाली अपनाउदै आएका छन । मन्त्रालयका अनुसार कूल जनसंख्यामध्ये करिब ६९ प्रतिशतको संख्यका सर्वसाधारणसँंग एक हेक्टरभन्दा कम जग्गा उपलब्ध छ ।
 पहिलो आठ महिनामा भएको आयात 
पदार्थ                                                   आयात मूल्य             निर्यात मूल्य             बर्ष
कृषिजन्य/सुर्ति तथा पेयजन्य            ४२ अर्ब ३६ करोड          १२ अर्ब ३७ करोड        ०६९/०७० (आठ महिना)
श्रोतः अर्थ मन्त्रालय

तीन बर्षको क्षेत्रगत आयात अवस्था 
पशु तथा पशुजन्य ः
आव ०६६/६७             २१ करोड २७ लाख
        ०६७/६८             २ अर्ब ३७ करोड
        ०६८/६९             ३ अर्ब ४२ करोड
तरकारीजन्य ः
 आव ०६६/६७           ९ करोड ३५ लाख
     ०६७/६८             २१ अर्ब ७२ करोड
     ०६८/६९             ३५ अर्ब २७ करोड
तयारी खाद्यजन्य ः
आव ०६६/६७             ३ अर्ब ८३ लाख
        ०६७/६८             १६ अर्ब ४८ करोड
         ०६८/६९            १८ अर्ब ७५ करोड
श्रोतः कृषि विकास मन्त्रालय
काठमाडौं, २८ असार, २०७०

Comments