- Get link
- X
- Other Apps
यातायातका साझा चरित्र
लीलामणि पौड्याल |
एउटा उखान छ- बाह्र वर्षमा खोलो पनि फर्किन्छ। सार्वजनिक यातायात क्षेत्रमा साझा यातायातमा यो उखान ठ्याक्कै मिल्न आएको छ। यो सिटी बस बन्द भएको बाह्र वर्ष भएछ। साझाको खोला फर्केको छ। खोला फर्कने उखानचाहिँ पुनर्उत्थानको शुभसंकेत हो। अब साझा कहिल्यै बन्द नहोस्, हार्दिक शुभकामना !
साझा यातायात बन्द हुनुमा सरकारको प्रत्यक्ष संलग्नता छैन। यसमा पाँच लाखजति मजदुर कार्यरत रहेको मोटामोटी अनुमान छ। अर्बौं रुपैयाँ लगानी भएको छ निजी क्षेत्रको। तर यत्रो लगानीमा सञ्चालन भएको साझा यातायातमा धेरैले काम पाइरहेका छन्। अर्थतन्त्रमा महत्त्वपूर्ण आयाम कोरेको सार्वजनिक यातायातमा सार्वजनिक चरित्रचाहिँ छँदै छैन।
केही समय पहिले म गृह मन्त्रालयमा थिएँ। त्यतिबेला यातायात व्यवसायीले देशव्यापी सार्वजनिक यातायात बन्द गरेका थिए, मजदुरले होइन। वास्तवमा बन्दको फाइदाचाहिँ तिनै मालिकले लिए। त्यसको हिस्सा हामीले पनि पाउनुपर्छ भनेर मजदुरले उत्पादन बन्द गरे मालिकलाई दबाब दिएर। मालिकले हडताल गर्ने चलन नेपालमा मात्रै छ, अन्यत्र कुनै मुलुकमै छैन।
आफ्नो यातायात व्यवसाय चलाए पो फाइदा हुन्छ। फायदा पु:याउने व्यवसाय बन्द गरेर के फाइदा? बन्द किन गरे भने हुनेनहुने सबै माग सरकारबाट पूरा गराउन सकिन्छ भनेर। तर यस विषयमा सरकारसँग कुनै विकल्प थिएन। अनि उनीहरू वार्ताका लागि भन्दै गृहमन्त्रालयमा आए। मैले उनीहरूसँग भनें, मालिकले आफ्नो व्यवसाय बन्द गर्दैनन्। गरिरहनुस् तपाईंहरू बन्द। कति दिनसम्म गर्नुहुन्छ बन्द? बन्द गरिरहने हो भने वार्ता किन गर्ने बेकारमा ?
सार्वजनिक यातायात बन्द गर्न पाइँदैन भनेर सरकारले विशेष सेवा घोषणा गरेको छ। यो कुरा भन्दा उनीहरूको भनाइ थियो- मेरो सम्पत्ति हो। बन्द गर्न पाउनुपर्छ। सबैभन्दा ठूलो कमजोरी बुझाइ रहेको छ, तर त्यसो होइन। सार्वजनिक भन्नेबित्तिकै त्यो अरूलाई प्रदान गरिसकेको वस्तु हो। त्यस्तो वस्तुलाई आफ्नो खुसी र सन्तुष्टिका लागि बन्द गर्न मिल्दैन।
त्यस्तै मैले सार्वजनिक यातायात चलाएँ भने त्यसमा चढ्दा बसको मालिक भनेर विशेष सुविधा लिन पाउँदिनँ। म एउटा यात्रु जस्तै हुँ। टिकट लिएर बसमा बसेको छु भने बसका कर्मचारीले मेरो टिकट फिर्ता लिन पाउँदैनन्। सार्वजनिक चरित्र भनेको यही हो।
मैले भन्न खोजेको के हो भने यति ठूलो उद्योग छ तर पनि यसमा सार्वजनिक चरित्रपन छैन। अनि दोस्रो पक्ष सार्वजनिक यातायातमा केही गुण हुन्छन्। अनि पालना गर्नुपर्ने आचरणका कुरा हुन्छन्। तर ती आचरण पालना भइरहेको छैन। आज म यस उद्घाटन समारोहमा आउँदा सार्वजनिक यातायात नै चढेर आउनुपर्छ भन्ने लाग्यो र रत्नपार्कबाट माइक्रोबस चढें। त्यतिखेर रत्नपार्कमा लगनखेल जाने तीनवटा माइक्रोबस क्युमा थिए। एउटामा १८ जना यात्रु चढेका थिए तर पनि ऊ थप यात्रु चढाउन कुरिरहेको थियो। दोस्रोमा १५ जना यात्रु थिए, ऊ पनि थप यात्रु कुरिरहेको थियो। भीडभाडमा कोचिएर जान मन लागेन मलाई। म तेस्रोमा चढें, तर अगाडिको माइक्रोबसले मैले चढेको गाडी एक घन्टा ढिलो जान्छ भनेर मलाई उसैकहाँ तान्न खोज्यो। उसका कुरा नसुनीकन म तेस्रो नम्बरको माइक्रोको अगाडिको सिटमा बसें। अगाडिको माइक्रोबसमा चढ्न खोजेका यात्रुहरू पनि म चढेको माइक्रोबसतिर आए। सहचालकले यात्रुहरू आफ्नो माइक्रोबसमा चढेन भनेर लात्तीले हान्न खोज्दै थियो, तर हान्न सकेन।
अर्को कुरा, तेह्रवटा सिट भएको माइक्रो बस हेरें। त्यसमा २१ जना यात्रु रहेछन्। २० जना थिए म चढेको माइक्रोबसमा। हरेक स्टपमा यात्रु माइक्रो चढ्न आउँछन्, तर सिट त के उभिने ठाउँ पनि नपाएर फर्किन्छन्। त्यत्तिकैमा एउटा सिट खाली भयो। भृकुटीमण्डपसम्म आइपुग्दा एकजना यात्री चढ्न खोजे, तर अचानक माइक्रो मोडिएर जान खोज्दा झन्डैझन्डै एउटा मोटरमा सबार सर्वसाधारण बाँचे। चालकले के भन्यो भने १० रुपैयाँका लागि झन्डै पाँच सय रुपैयाँ तिर्नुपरेन।
केही बेरपछि त्यो बस थापाथली पुग्यो। एकजना बूढा मान्छे जाउलाखेल जाने भन्दै माइक्रो चढ्न खोज्दै थिए। पछाडिको सिटमा तीनजना यात्रु बसिरहेका थिए, जसमा चारजना यात्रु बस्दा रहेछन्। तीनजना बसेको स्थानमा अर्को यात्रुलाई बस्न सहज थिएन। उनले भित्र गएर बस्ने आँट गर्न सकेनन्। भित्र छिर्नसक्ने अवस्था पनि थिएन। यात्रु फर्केपछि चालकले चाबी निकाले, गाडी बन्द गरे। चालकले के भने भने त्यो सिट खाली नगराइदिए म गाडी लैजादिनँ। त्यसपछि छेउको सिट खाली गराइदिएपछि ती बूढा मान्छे ढोकानिरको सिटमा बसे। मचाहिँ पुल्चोकमा ओर्लिएँ।
सामान्यतया माइक्रो बसमा १३ वटा सिट हुन्छ। औसत नौजना बोकेर जान पाउँछ भनेर सरकारले १५ रुपैयाँं भाडादर निर्धारण गरेको हो। औसतमा १२ जनाभन्दा बढी यात्रु चढाएमा सरकारले तोकेको दरभन्दा बढी शुल्क लिएको ठहर्छ। २१ जना चढाउनु त नियमविपरीत ठहरिन्छ। सरकार बलियो नभइदिँदा यस्तो अव्यवस्था भएको भन्ठान्नु होला, जुन सही हो। तर पालना गर्नुपर्ने आचरण, नीति, गुणहरू कडाइका साथ कार्यान्वयनमा ल्याउन खोजे यातायात व्यवसायी, चालकहरू हडतालमा उत्रिन्छन्, त्यसलाई समाधान गर्ने विकल्प सरकारसँग छैन र हुँदैन पनि। त्यसबेला सरकारमा बसिरहनेहरू जहिले पनि बाध्यतामा परिरहने र अनावश्यक मागमा झुक्दै जाँदा यात्रुहरू मार्कामा पर्ने गर्छन्। अहिले यही अवस्था छ।
अब साझा जस्तो सार्वजनिक यातायात पुन: सुचारु हुन लागेको छ। यात्रुका सुविधा, सुरक्षा, समानता र नियमकानुनका विषयमा विचार पु:याएर यो यातायात सञ्चालन हुन्छ। सार्वजनिक यातायातको बेन्चमा यो सफल रूपमा स्थापना भएको छ। कलंकीसम्म रुट परमिट लिँदा सुरुमा धेरै झमेला हुन्छ कि भन्ने विषयमा हामीबीच छलफल भइरह्यो। कतिपय यातायातले साझा बस सञ्चालनमा आए हाम्रो रोजीरोटी खोसिन्छ भने। तर साझा बस सञ्चालनमा आएपछि कसैको पनि रोजीरोटी खोसिँदैन। सार्वजनिक यातायातलाई सञ्चालन गरेर तोकेको समयमा सुविधा दिन सकियो भने यात्रुहरूको संख्या बढ्छ। अरू व्यवसायी पनि सुध्रिन्छन्। गुणस्तरीय सेवा दिन सके यात्रु बढ्छन् भन्ने धारणा उनीहरूमा विकास हुन्छ। अनि उपभोक्तालाई छनोटको अवसर मिल्छ। उपभोक्तालाई छनोट गर्ने अवसर छैन अहिले। म कोच्चिएको माइक्रोबस चढेर किन आएँ भने छनोट गर्ने अवसर नभएकाले हो। सम्भवत: मसँग त्यसको विकल्प थिएन। त्यसकारण म भीड भएको माइक्रोबसमा चढ्न बाध्य भएँ।
अब यात्रुहरूको सुरक्षा र अधिकारको विषय, समयमा गन्तव्यमा पुग्ने, अपांग र अशक्तलाई उपलब्ध गराइने विशेष सुविधा अनि भाडामा शोषण नगर्ने आदि विषयमा साझा यातायातले स्तर निर्धारण गर्नेछ र त्यस नियममा आउन सबै सार्वजनिक यातायातलाई उत्प्रेरित गर्नेछ। साझा यातायात सञ्चालनमा आइसकेपछि सरकारलाई नियम लागू गर्न सहज हुनेछ। यसको सेवाका कारण अन्य यातायातका सञ्चालकहरूलाई पनि नियमन गर्न सहयोग गर्नेछ। सडक विस्तार गरेका छौं। ऐतिहासिक काम भएको छ सडक विस्तार गरेर। भोलिका दिन मान्छेको चाप बढ्दै जाँदा सवारी पनि बढ्छन्। सवारीको चाप बढ्दै जाँदा सडक जाम हुन्छ। त्यसको व्यवस्थापन भनेकै मास ट्रान्सपोर्टलाई प्रमोट गर्दै लैजाने हो र साना ट्रान्सपोर्टलाई निरुत्साहित गर्दै लैजाने हो। साझा बसले ट्राफिक व्यवस्थापनलाई सहयोग गर्दै मास ट्रान्सपोर्टलाई प्रमोट गर्ने भूमिका खेल्छ। साझालाई आजको दिनसम्म ल्याइपुर्याउन लागिपरेको छु। तर असाध्यै खुसी लागेको दिन आजै हो। यसले धेरै यात्रुलाई सघाउ पुर्याउँछ। अरूले कतिलाई सघाउ पुर्याउँछन् भन्न सक्दिनँ तर साझाले लाखौंलाई सघाउ पुर्याउनेछ।
अर्को कुरा, यसको सेवा काठमाडौं उपत्यकामा मात्रै छ। सानोमा घर आउजाउ गर्दा टिकट पाउँदासम्म साझामै चढिन्थ्यो। साझा यातायात राम्रो छ, बीच बाटोमा बिग्रँदैन, समयमै गन्तव्यमा पुग्छ भन्ने विश्वास थियो र चढ्थ्यौं। त्यो अबका दिनमा पनि कायम गर्नुपर्छ। देशव्यापी रूपमा साझाको नेटवर्क फैलाउन आवश्यक सबै पहल गर्न म भरमग्दुर सहयोग गर्नेछु। बन्द भएको ल्हासा सेवा आगामी दिनमा सुचारु गर्न प्रयास गर्नेछु।
(पुल्चोकस्थित साझा यातायात उद्घाटन कार्यक्रममा मुख्य सचिव पौड्यालसँग राजेश बर्माले गरेको वार्ताका आधारमा)
Comments
Post a Comment