सिरहाको सारस्वरमा सदभाव र्‍याली, तनाव विस्तारै साम्य हुँदै

तस्विर सौजन्यः रामभरोसी महतो
अपडेट \ सिरहा सारश्वर घटना

सिरहा जिल्लाको सारस्वर गाविसमा गएको शुक्रबारदेखि जारी तनाव साम्य भएको छ । जिल्लास्थित प्रमुख राजनीतिक दलहरुको पहलमा गाउँमा आइतबार बिहान भएको सर्वपक्षीय छलफलमा पाँच बुँदे सहमति भएपछि दिउँसो संयुक्त सदभाव र्‍याली निकालिएको छ ।


सिरहाका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुर, नेपाली कांग्रेसकी नेतृ मञ्जु खाँड एकीकृत माओवादीका केन्द्रीय सदस्य रामरिझन यादवलगायत जिल्ला नेताहरुको सहभागितामा स्थानीय सारस्वरनाथ उच्च मावि प्राङ्गणबाट निस्किएको संयुक्त सद्भाव र्‍यालीमा महान् सारस्वरबासी एकता जिन्दावाद, सामाजिक सद्भाव कायम गरौंलगायतका नाराहरु लगाइएको थियो । र्‍यालीमा स्थानीय हिन्दु मस्लिम समुदायका महिला, बालबालिका, युवा, पत्रकार, अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

केहीदिनअघि भएको झडपको घटनामा संलग्न दोषीमाथि कारबाही, झडपमा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था, सारस्वरमा सशस्त्र प्रहरी बलको बेस क्याम्पको स्थापना, पीडितहरुलाई क्षतिको आधारमा क्षतिपूर्तिको व्यवस्था र प्रहरीको नियन्त्रणमा रहेकाहरुलाई रिहाई गरिनु पर्नेमो बैठकमा सहमति भएको बैठकका सहभागी नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले जानकारी दिनुभयो ।
साउन २१ गते मन्दिरमा जल चढाउन गएकी महिलालाई स्थानीय केही उच्छृङ्खल युवाहरुले जिस्क्याएपछि सुरु भएको तनाव साउन २५ गते दोहोरो झडपमा परिणत भएको थियो । स्थानीय समुदायबीभ झडप हुँदा थप हिंसा भड्किन नदिन स्थानीय प्रशासनले गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

कर्फयू हटेपनि गाउँ सुरक्षाकर्मीकै घेरामा 
 सुरक्षित बासस्थानतर्फ स्थानीय जादैं
 शुक्रवार दिनभर झडप भएपछि १२ घण्टाको लागि स्थानीय प्रशासनले कर्फयू लगाएपनि सिरहा सारश्वरमा अहिले पनि अवस्था तनावग्रस्त छन् । शुक्रवार साढे ४ बजेदेखि आज विहान साढे ४ बजेसम्मको लागि कर्फयू लगाएको थियो । मुस्लिमको घरमा आगो लगाउने क्रममा २४ जना हिन्दुपक्षका व्यक्तिहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका मध्यै सारश्वर १ का ३० बर्षीय रामप्रसाद मुखियाको साथबाट प्रहरीले लोड गरिएको अवस्थामा कटुवा पेस्तोल समेत बरामद गरेको छ । सिरहाका प्रमुख प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले पक्राउ परेका सबैमाथि अनुसन्धान भईसकेपछि कोमाथि कारबाही चलाउने वा नचलाउने भन्ने सकिने बताउनुभयो ।


सारश्वर गाविस १ र २ मा मुस्लिम समुदायको करिब ६० घरपरिवारको बसोबास रहेपनि डरले सबै अन्यन्त्र भागेको जिल्ल प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रमुख प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भन्नुभयो, च्हिजोको प्रभाव अझै छदैछ । मुस्लिम र हिन्दुबीचको सदभाव कायम गर्न हामी लागि परेका छौं ।
गत सोमवार स्थानीय सारश्वरनाथ मन्दिरमा जल चढाउन गईरहेकी एक युवतीलाई मुस्लिम समुदायका तीन युवकले जिस्क्याएपछि घटना उग्ररुप लिएको छ । विवाद बढ्दै गएपछि हिजो हिन्दुपक्षका व्यक्तिहरुले करिब १० बटा मुस्लिम समुदायको घरमा आगो लगाई दिएका छन् । उनिहरुले दर्जनौं बढी घर तोडफोड समेत गरेका छन् ।

शुक्रवार हिन्दु र मुस्लिम पक्षको झडप, आगजनी, तोडफोडबाट करिब ५० लाख भन्दा बढीको क्षति भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, च्क्षति कति भएको भनेर ठ्याकै भन्ने अवस्था छैन् । तथ्यांक संकलन हुँदैछ । घटना स्थलमा अहिले नेपाल प्रहरीको प्रहरी उपरिक्षकको कमाण्डमा २ सय २८ जना र सशस्त्र प्रहरीको सशस्त्र प्रहरी उपरिक्षकको कमाण्डमा २ सय जना तैनाथ अवस्थामा रहेका छन् । साथै पूर्व क्षेत्रिय सशस्त्र प्रहरी गणबाट प्रहरी उपरिक्षकको कमाण्डमा पनि ४४ जना टोली तैनाथ रहेका छन् ।

जातीय रंग नदिनुस : रेग्मी
रकारले सिरहामा उत्पन्न भएको विवादलाई धार्मिक एवं जातीय रंग नदिन आहृवान गरेको छ । सामाजिक जनजीवनमा असहमति वा मतभिन्नतालाई आपसी छलफल, वार्ता तथा कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने भन्दै मन्त्रिपरिषद्का अध्यक्षको निजी सचिवालयले विज्ञप्तिमार्फत भनेको छ-’कुनै पनि विवादलाई धार्मिक वा जातीय विषयवस्तुसँग नजोडी त्यस्तो विवादलाई समाधान गर्नेतर्फ अग्रसर हुन सम्बद्ध सबैलाई हार्दिक आग्रह गरिएको छ ।’
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले यसप्रकारको घटना भविष्यमा नदोहोरिने र आज भएको घटनाको यथाशीघ्र समाधान गर्नेतर्फ सम्पूर्ण स्थानीयबासीलाई आहृवान गर्नु भएको छ । यस्तै प्रहरी प्रधान कार्यालयले पनि हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरुलाई संयम अपनाउन र आपसी सद्भाव कायम राख्न अनुरोध गरेको छ ।


सारश्वर झडपका क्रममा पेस्तोलसहित मुखिया पक्राउ
सिरहाको सारश्वर गाविसमा शुक्रवार दिनभर भएको झडपमा हिन्दु पक्षका व्यक्तिहरुले हतियार प्रयोग गरेको रहस्य खुलेको छ । झडपपछि मुस्लिम समुदायको घरमा आगो लगाउने क्रममा प्रहरीले पक्राउ गरेका १७ जना मध्यै एक जनाको साथबाट पेस्तोल बरामद भएको छ । सिरहाका प्रमुख प्रहरी उपरिक्षक पुर्णचन्द्र जोशीका अनुसार सारश्वर १ का ३० बर्षीय रामप्रसाद मुखियाको साथबाट एक राउण्ड लोड भएको कटुवा पेस्तोल बरामद भएको छ । मुखियामाथि थप अनुसन्धान भईरहेको उहाले बताउनुभयो ।

हिन्दुको डरले मुस्लिम र प्रहरीको डरले हिन्दु विस्थापित, 
गाउँ प्रहरीको घेरामा

सारस्वर महादेव मन्दिरमा जल चढाउन आउने दर्शनार्थी महिलाहरुलाई दुर्व्यवहार भएको भन्दै शुक्रबार दिनभर तनावग्रस्त रहृयो । एक पक्षले अर्को पक्षमाथि आक्रमणका घटना भएका छन् । आक्रमण रोक्न सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । दर्जनौं हवाइ फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालय राजविराजबाट थप सुरक्षाकर्मी उतारिएको छ । अप्रिय घटना रोक्न शुक्रबार साँझ ४ः३० बजेदेखि शनिबार विहान ४ः३० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले बताए ।

घटनाको बारेमा सत्यतथ्य बुझन पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकर अधिकारी, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी उपेन्द्रकान्त अर्याल र पूर्वाञ्चल सशस्त्र प्रहरीका डीआईजी देवेन्द्र सुब्बा घटनास्थल आएका छन् । प्रमुख जिल्ला अधिकारी ठाकुरले सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक र अनुसन्धान अधिकृतको चार सदस्यीय छानविन समिति गठन गरेको बताए ।

घटनामा के के भयो ?
शनिबार राति धनुषाबाट सिरहास्थित सारस्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबमका दर्शनार्थीहरुलाई दुर्व्यवहार गरेको भन्दै आक्रमण सुरु भएको हो । मंगलबार पनि यही निहुँमा आक्रमण हुँदा दुवै पक्षका गरी दुई दर्जन घाइते भएका थिए । आक्रमणका लागि सिरहाका विभिन्न गाउँ तथा छिमेकी धनुषाबाट पनि ठूलो समूह आएको छथियो । घरघरमा आएर आक्रमण भएपछि स्थानीय घर छाडेर भागेका छन् आक्रमणकारीहरुले स्थानीय सुभान दफाली, आमिन कुजरा, आदम दफाली, ताहिर मिया, नथिया मियाँ, सुनर राइन, इसा दफाली, नबाब सेखको घरमा र मस्जिदमा समेत आगजनी गरेको छ । उनीहरुले एक दर्जन परालको कुन्यूँमा समेत आगजनी गरेको छ । आगजनीबाट नौ वटा घर जलेको छ । घरमा भएको सम्पूर्ण सामग्री जलेको हो । लहान, धरान र इटहरीबाट आएको बारुण यन्त्र र शुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको छ । आक्रमणकारीहरुले मदन साफी, बिनिया खातुन, हनिफ दफाली, मोखतार, असलम, अल्लाउद्दीन, मोहम्मद इसाखलगायत एक दर्जन घरमा तोडफोड गरि लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । घरमा भएको सुनचाँदीको गहना, नगद, कपडा, ल्यापटपलगायतका सामग्री तथा खसीबोका समेत आक्रमणकारीहरुले लगेको पीडित खबिरा खातुनले गुनासो पोखिन् ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासकको संयोजकत्वमा छानबिन समिति गठन
सिराहाको सारस्वर गाविसमा भएको झडप, आगजनी र लुटपाट घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सात दिनभित्र प्रतिवेदन पेश गर्न सरकारले गरेको छ । समितिको सदस्यहरुमा नेपाल प्रहरीका पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख रहेको गृह मन्त्रालयद्वारा आज साँझ जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच स्थितिलाई थप उत्तेजित हुन नदिई शान्ति सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सिराहाले प्रभावित क्षेत्रमा शुक्रबार अपराह्न ४ बजेदेखि शनिबार बिहान ४ बजेसम्म लागू हुने गरी निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । स्थानीय प्रशासनले घटनास्थलमा आवश्यक सुरक्षा कारबाही गरी स्थितिलाई पूर्ण नियन्त्रणमा लिएको र हालसम्म २८ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयका अनुसार घटनामा हालसम्म सात जना घाइते भएका र आगजनीबाट ११ वटा घरमा क्षति पुग्नुका साथै १७ वटा घरमा तोडफोड तथा लुटपाट हुन गएको छ । घाइतेहरुको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा सदियौँदेखि रहँदै आएको सामाजिक सद्भाव कायम राखी राख्न मन्त्रालयले सम्बन्धित सबैमा हार्दिक अनुरोध पनि गरेको छ ।

 घटनाको मूल चुरो
युवतीलाई जिस्क्याएको घटनाले यतिखेर सिरहाको सारश्वरमा तनाव बढ्दै गएको छ । गत सोमवार शिव मन्दिरमा जल चढाउन गईरहेकी एक युवतीलाई स्थानीय युवाहरुले जिस्क्याएपछि उत्पन्न विवाद उग्ररुप लिएका छन् । घटनाको विहान पल्ट गाउँका भरभलादमीहरु भेला भई जिस्क्याएका तीन युवकलाई बोलाएर छलफल गरिरहेको क्रममा झडप भयो । करिब चार जना घाईते भए । अहिले पनि त्यहाँको अवस्था तनाव नै छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । 

छलफलमा हिन्दु र मुस्लिमको फिलिङ हुँदा घटना उग्ररुप लिएको हो । यदि युवकले युवतीलाई जिस्क्याएकै हो भने कानुन अनुसार कारबाही हुनुपर्छ । घटनालाई धर्मसंग जोडिनु कदापी उचित होईन् । धर्मसंग जोड्दा सामाजिक सदभाव विग्रिने खतरा बढ्छ । मुस्लिम समुदायको महानपर्व रमजान सकिदैछ । उनिहरु खुःशी मनाउनुका सट्टा अहिले त्रसित बनेको अवस्था छ । डरका कारण केहि मुस्लिम समुदायका व्यक्तिहरु गाउँ नै छाडेको गलत हल्ला फैलिएको छ । तर त्यस्तो अवस्था आउन सक्ने देखिएको छैन् । सामाजिक सदभाव कायम राख्न स्थानीय प्रशासन सक्रिय हुनुपर्छ ।

मुस्लिम समुदायका अगुवाहरु पनि गल्ती गर्ने युवालाई कारबाही हुनुपर्ने पक्षमै देखिएको छ । उनिहरु कहिल्यै सामाजिक सद्भाव विग्रोस भनेर नसोचेको बताउन थालेका छन् । तरपनि समाजिक द्वन्द्व उत्पन्न हुने खालका गतिविधिहरु भयो भने त्यसलाई कदापी सही भन्न सकिदैन । सामाजिक सदभाव कायम भएन भने त्यहाँको विकास सम्भव छैन । त्यहाँका बुद्धिजिविहरुले हरेक कुरा सोच्नुपर्ने अवस्था आएको छ । घटना उचाल्न हिन्दुधर्मको प्रचारमा रहेका राजावादीहरु प्रयत्न गरिहेको बुझिएको छ । त्यसैले उनिहरुको घुसपैठ हुन नदिन स्थानीय प्रशासनले उचित कदम अपनाउनु जरुरी भएको छ । अनि मात्र सारश्वरमा समाजिक सदभाव कायम रहनेछ ।

धार्मिक रंग नदिई समाजमा सहिष्णुता तथा सदभाव कायम गर्न अपील
सिरहा जिल्लाको सारस्वर गाविसमा शुक्रबार भएको दुई पक्षबीचको झड्प पछि जिल्लामा मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न १० वटा संघ संस्थाले कुनै पनि घटनालाई जातीय, धार्मिक रंग नदिई समाजमा सहिष्णुता तथा सदभाव कायम गर्न सबैसँग अपील गरेका छन् ।
मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहाले शनिबार एक संयुक्त प्रश विज्ञप्ति जारी गरी यस्तो अपील गरेको हो । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :-
संयुक्त प्रेस विज्ञप्ती
सिरहा जिल्लाको सारस्वर गाविसमा मिति २०७० साउन २५ गते भएको दुई पक्षको विवादपछि बनेको असहज परिस्थितीले त्यस क्षेत्रको जनजीवनमा परेको भय र त्रासप्रति हामी मानवअधिकारका क्षेत्रमा कृयाशील संघ संस्थाको गंम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त गाविसस्थित सारस्वरनाथ महादेवको मन्दिरमा धनुषाबाट जल चढाउन आएका युवतीहरुलाई स्थानीय केही युवाहरुले अभद्र व्यवहार गरेको भन्दै गत मंगलवार सामाजिक छलफलमा दुवै पक्षविच सहमती हुनन नसकी स्थानीय विनोद महतो लगायत अन्य युवामाथि आक्रमण भएपछि घटनाले उग्ररुप लिदै गएकोले समयमै कानूनी समाधान हुन नसक्दा उक्त घटना घटेको मानवअधिकार संरक्षण केन्द्र, (संजाल), सिरहाको ठहर छ । केही उच्शृंखल युवाहरुले गरेको अपराधको दोष सम्पूर्ण समुदायमा माथि लाउन नहुने र अपराधको कुनै जात, धर्म र वर्ग नहुने भएकाले सोको कानूनी उपचारबाटै न्याय खोजि उक्त घटनाप्रति संवेदनशील हुनै सबै पक्षलाई आग्रह गर्दछौं ।


साथै उक्त घटनाले उग्ररुपलिई थप जनधनको सुरक्षा र थपक्षति हन नदिन सिरहा प्रशासनले त्यसक्षेत्रमा निषेधज्ञासम्म जारी गर्नु पर्नेसम्मको अवस्था सृजना भई स्थानीयवासीको सुरक्षा र दुई समुदायबीच थप टकरावको स्थिती पैदा नहुनदिन त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न सिरहा प्रशासनसंग आग्रह गर्दछौं । कुनैपनि अपराधको घटनालाई जातीय, धार्मीक रंग नदिई समाजमा सहिष्णुता तथा सदभाव कायम गर्न सबै पक्षसंग मानवअधिकार संजाल, सिरहा अपील गर्दछ ।



मानवअधिकार संरक्षण केन्द्र (संजाल), सिरहा
समग्र जनउत्थान केन्द्र, लहान
आरेक नेपाल, सिरहा
ईन्सेक, सिरहा
मानवअधिकार एलाईन्स, सिरहा शाखा
मानवअधिकार संरक्षण मंच, शाखा सिरहा
इह्रिकन सिरहा
सहयोगी हाथहरु
मुक्ति नेपाल, लहान
महिला मानवअधिकार रक्षक संजाल, सिरहा


शब्दः सन्तोष यादब
तस्विर ः सुभक महतो
सिरहा , श्रावण २६  ,2070

Comments