कृषिमा स्वरोजगार बन्न खोज्दा नीतिगत अड्चन

रकारको नीतिगत प्रावधानका कारण नेपाली युवा स्वरोजगार बन्न सकेका छैनन। कृषि पेशामा शिक्षित युवाहरू आकर्षित हुन नसकेको अवस्थामा अन्य मुलुकहरू बाट कृषिजन्य सामाग्री आयात गरेर स्वरोजगार बन्न खोज्दा केही युवाहरूले यस्तै अड्चनको सामना गर्नुपरेको छ।
 

थाइल्याण्डमा माछाको काम नलाग्ने विभिन्न अंगहरूबाट प्राँगारिक रूपमा तयार पारिएको पशुपंक्षिको आहारा आयात गरेर स्वरोजगार बन्ने नेपाली युवाहरूको सपना यतिवेला चकनाचुर भएको छ। थाइल्याण्डको जोरूपव म्यानुफ्याक्चर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको उक्त पशु आहारा आयात गरेर बिक्रि बितरण गर्न नेपाल सरकारले उक्त उत्पादनको अन्तर्राष्ट्रिय गुणस्तरसम्बन्धी संस्था(आईएसओ)को प्रमाणपत्र र असल निर्माण अभ्यास(जीएमपी) को प्रमाणपत्र माग गरेपछि युवाहरू स्वरोजगार हुनबाट बिमुख हुन परेको छ।

वेलायतको लण्डनबाट तीनबर्षे बिजिनेस एडमिनिष्ट्रेशनको शिक्षा प्राप्त गरेका ललितपुरस्थित खुमलटारका पूर्णप्रसाद लुँइटेलको स्वरोजगार बन्ने प्रयास अहिले विफल भएको छ। लुँइटेल लण्डनबाट फर्केर कृषि पेशा अंगालेर केही गरू भन्ने उद्देश्यका साथ छजना शिक्षित युवाहरूसँग मिलेर जोरूपव कम्पनीको पशु आहारासहित प्राँगारिक मल आयात गर्ने गृहकार्य सुरू गरे। लुँइटेलले ‘नोकपल ट्रेडिङ इन्टरनेशनल प्राइभेट लिमिटेड कम्पनी खडा गरेर उक्त कम्पनीबाट नेपालका लागि आधिकारिक बिक्रेताको सम्बन्धन समेत प्राप्त गरे। ‘तर अहिले नेपाल सरकारको सरोकारवाला निकायले उक्त कम्पनीद्वारा उत्पादित सामाग्रीको विभिन्न प्रमाणपत्र खोजेपछि सबै योजना तुहिने भएको छ,’ नोकपलका सचिबसमेत रहेका लुँइटेलले अन्नपूर्ण पोष्टसँग गुनासो पोख्दै भने,‘हामी शिक्षित युवाहरू कृषि पेशालाई अंगाल्न खोजेका हौं। तर विभिन्न नीतिगत प्रावधानका कारण यो पेशाबाट बिमुख हुने अवस्था सिर्जना भएको छ।’

 लुँइटेलका अनुसार पशु सेवा विभागले पशु आहारा आयात गरेर बिक्रि बितरण गर्न उत्पादनकर्ताले उत्पादन गरेको सामाग्रीको प्राप्त गरेको दुईप्रकारका प्रमाणपत्र माग गरेपछि समस्या सिर्जना भएको हो। ‘उत्पादनकर्ता कम्पनीले आफ्नो सामान प्राँगारिक भएको भन्दै सामाग्री आयात गर्न र बिक्रि बितरण गर्न कुनै पनि प्रकारको प्रमाणपत्र आवश्यक पर्दैन भन्यो,’ उनले भने,‘कम्पनीले यस्ता प्रमाणपत्र बिना नै जापान, मलेसिया, ओमान, कम्बोडियालगायतका मुलुकमा त्यही सामाग्री निर्यात गरेर बिक्रि बितरण गर्दैआएको दावी गरेको छ। त्यही सामाग्री नेपाल भित्र्याउन भने हामीसँग दुईप्रकारको प्रमाणपत्र खोजियो।’

सरोकारवाला निकायले दुईप्रकारका प्रमाणपत्र उपलब्ध गराउन नसके आयात गर्न र बिक्रि बितरण गर्न अनुमति नदिने बताएपछि आफुहरू बिच्चलीमा परेको गुनासो लुँइटेलले पोखे। लुँइटेलले उक्त कम्पनीबाट उत्पादित अर्गानिक मल प्रयोग गरेर अहिले व्यवसायिक रूपमा इमाडोलमा २५ रोपनी जग्गा भाडामा लिएर विभिन्न प्रकारका तरकारी खेती, लामाटारमा १० रोपनीमा धान खेती, ललितपुरको हरिसिद्धिमा साढे दुई रोपनीमा गोलभेडा खेती गर्दैआएका छन। यसैगरी ललितपुरको लामाटारमै आधी रोपनी जग्गामा एउटा पोखरी निर्माण गरेर पशु आहाराको सहयोगमा ८ हजार मुग्री माछा हुर्काउदै आएको जानकारी दिए। ‘अन्य उत्पादनभन्दा उक्त कम्पनीबाट उत्पादित सामाग्रीको सहयोगमा हामी बढी उत्पादन लिन समक्ष भएका छौं,’ दावी गर्दै उनले भने,‘हामीले सुरू गरेको खेती प्रणाली र प्रयोगमा ल्याएको कृषि सामाग्रीको प्रयोग र त्यसले दिएको प्रतिफलबाट सरोकार निकाय सन्तुष्ट भएको बताएपनि आयात र बिक्रि बितरणका लागि स्वीकृत दिन मानेनन्।’
 
कृषि विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिब टेकप्रसाद लुँइटेलले पशु आहारको हकमा सरकारले व्यवस्था गरेको शर्त तथा प्रावधान पुरा गर्ने व्यक्ति तथा संस्थालाई आयात गरेर बिक्रि बितरण गर्न स्वीकृत दिने जानकारी दिए। उनका अनुसार आयात गरेर बिक्रि बितरण गर्न सामाग्री उत्पादन गर्ने कम्पनीले प्राप्त गरेको गुणस्तरियतासम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएसम्म स्वीकृत दिन नमिल्ने जानकारी दिए। ‘उत्पादनकर्ताले अन्य मुलुकमा आफ्नो सामाग्री पठाउदा आयात हुने मुलुकले बनाएको नीतिलाई मान्नु नै पर्छ,’ उनले भने,‘कम्पनीले आफ्नो सामाग्री गुणस्तरयुक्त भएको दावी गरेपनि निर्यात गर्न अन्तर्राष्ट्रिय गुणस्तरसम्बन्धी प्रमाणपत्र आवश्यक पर्छ।’ पशु सेवा विभागका उपमहानिर्देशक उदयचन्द्र ठाकुरले उत्पादनकर्ताले दुईप्रकारको प्रमाणपत्र उपलब्ध गराउन नसकेको अवस्थामा थाइल्याण्ड सरकारले उक्त उत्पादनहरूका लागि ‘प्रमाणपत्र आवश्यक नपर्ने’ भनेर नेपाल सरकारलाई लिखित रूपमा जानकारी गराएपछि पशु आहारासहित अन्य कृषि सामाग्री आयात गरेर बिक्रि बितरण गर्न दिन सकिने सुझाव दिए।
काठमाडौं, २३ साउन , 2070

Comments