कोइरालाको दोस्रो घर थियो सिराहा

  • राजेश बर्मा
शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधनले सिराहाबासी गहिरो शोकमा डुबेका छन्। कोइरालाको सिराहासँग भावनात्मक साइनो छ। बाल्यकालमा होस् वा भूमिगत राजनीतिक जीवनका बेला होस्, कोइरालाले आफ्नो जीवनका महœवपूर्ण क्षण सिराहामा बिताएका थिए। उनले यस जिल्लालाई दोस्रो घरको संज्ञा दिने गर्थे। कोइरालाले जीवनका महœवपूर्ण आरोहअवरोह सिराहामा बिताए पनि यसबारे इतिहासका कुनै पनि पानामा उल्लेख नगरिँदा सिराहाबासीलाई दु:ख लागेको छ। 


राजनीतिक सिलसिलामा सिराहा आउँदा उनले पटकपटक भन्ने गर्थे, ‘मेरो दोस्रो घर नै सिराहा हो। सिराहा कांग्रेसकी सभापति सीतादेवी यादवका अनुसार कोइरालाले कार्यकर्तामाझ आफ्नो दोस्रो घर सिराहा भएको बताउँथे। उहाँलाई यो जिल्ला औधी मनपथ्र्याे। पार्टीका कार्यक्रमको सिलसिलामा पूर्वमा आउँदा प्रत्येक पटक कोइराला सिराहामा आउनुहुन्थ्यो। यो उहाँको जिल्लाप्रतिको मोह नै थियो’, सभापति यादवले भनिन्। जिल्लाबासीसँग कोइरालाको सम्बन्ध कहिल्यै नचुँडिने बन्धनले बाँधिएको थियो। सिराहाको माडरबासीले कोइरालाको निधनलाई नचिताएको घटनाको संज्ञा दिए। कोइरालाले आफ्नो बाल्यकालको लामो अवधि तत्कालीन चन्द्रगंज (हाल माडर) मा बिताएकाले पनि माडरबासीले उनको निधनलाई सहजरूपमा लिन सकेका छैनन्। 


माडरबासी एवं तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य राजेन्द्र साहका अनुसार चन्द्रगन्ज-५ मा त्यस बेला गैरमधेसी समुदायको बस्ती थियो। बस्तीमा अधिकांश पहाडी मूलका बासिन्दा बस्थे। त्यही बस्तीमा कोइरालाका पिताजी कृष्णप्रसाद केही समय फुसको घर बनाएर बसेका थिए। त्यस बेला भन्सारमा राजस्व उठाउन ठेक्का लगाउने चलन थियो। कृष्णप्रसादले चन्द्रगन्जको भन्सारको राजस्व उठाउने ठेक्का लिएका थिए। भन्सार कार्यालयको राजस्वको ठेक्कासँगै काठ आपूर्ति गर्ने ठेक्का पनि कृष्णप्रसादले लिएका थिए। देशद्रोहको अभियोगमा निर्वासित भएका पिताजी कृष्णप्रसाद राणा शासकलाई छलेर सपरिवार वि.सं. १९८४ मा एक वर्ष त्यहाँ लुकेर बसेका थिए। उनका लागि निर्वासित जीवनको पहिलो कर्मथलो बनेको थियो चन्द्रगन्जबजार। हाल उक्त स्थान रामजानकी मन्दिरका नाउँमा छ।

स्थानीय ७५ वर्षीय वृद्ध रामनाथ यादवका अनुसार राणा शासकका विरोधी कृष्णप्रसादले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई गरिब जनताले लगाएको थोत्रो लुगा कुरियरमार्फत पठाएका थिए ।
कांग्रेसकी स्थानीय वयोवृद्ध नेत्री बुना रेग्मीका अनुसार त्यसबेला गिरिजाप्रसादको उमेर करिब चार वर्षको थियो। उनले दाजु विश्वेश्वरप्रसाद, मातृकाप्रसाद र आमा दिव्यासँग त्यहाँ करिब एक वर्ष बिताएका थिए।


लुक्ने ठाउँ थियो सिराहा
राणा शासन र पञ्चायती निरंकुश शासकविरुद्ध भएका आन्दोलनमा कोइरालालाई सिराहाका विभिन्न स्थानमा लुकेर बस्नुपरेको थियो। २०४६ सालको जनआन्दोलनताका कोइराला औरहीस्थित कांग्रेसका स्थानीय नेता सूर्यनाथ दासको घरमा एक साता लुकेर बसेका थिए। २०४२ सालमा भएको सत्याग्रहअघि पनि कोइराला सिराहा १ निवासी तत्कालीन कांग्रेसी नेता रामजतन यादवको घरमा फागुन ६ गतेदेखि तीन दिन लुकेर बसेका थिए। कोइरालाले सत्याग्रह सफल पार्न यादवको घरमा केही उच्चस्तरका नेतासँग छलफलसमेत गरेका थिए।
काठमाडौं, ८ चैत, 2068

Comments