अति जोखिममा डेढ सय झोलुङगे पुल

मर्मत सम्भार गर्न बजेट अभाव


  • राजेश बर्मा
रकारले अति जोखिमको अबस्थामा रहेका मुलुकभरका करिब डेढसय झोलुङगे पुलको मर्मत गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक आयोजना(डोलिडार) ले चालु आर्थिक बर्षमा अति जोखिममा रहेका मुलुकभरका एकसय ३८ वटा झोलुङगे पुलको मर्मत सम्भार गर्न लागेको हो। डोलिडारअन्तर्गतको पुलशाखाका इन्जिनियर स्मिता शर्माका अनुसार गत आर्थिक बर्षमा पुलको अवस्थाको बारेमा स्थलगत अध्ययन गरिएको थियो।


उनका अनुसार अध्ययनको क्रममा सन् १९३० देखि ०५ सम्म निर्माण भएका एकहजार दुईसय पुल जोखिम अबस्थामा भेटिएको थियो। त्यसमध्ये १ सय ३० वटा अत्यन्त जोखिमको अवस्थामा रहेको पाइएको छ। 
डोलिडारका अनुसार संखुवासभाका १४, ताप्लेजुँगका ८, इलामका ७, गोर्खाका ६, धाँदिङ, रोल्पा, स्याग्जा र अछामका ५/५ वटा, सल्यान, पर्वत, डडेलधुरा, डोल्पा र कालिकोटका ४/४, खोटाङ, सिन्धुपाल्चोक, ओखलढुँगा, बाजुरा, बाग्लुङ, म्याग्दी, र हुम्लाका ३/३, भोजपुर, तनहुँ, काभ्रेप्लान्चोक, दोलखा, मकवानपुर, डोटी, कास्की, पाल्पा, प्युठान, गुल्मी, रुकुम, कैलाली र जाजरकोटमा २/२ पुल अत्यन्त जोखिम अबस्थामा परेका छन। यसैगरी उदयपुर, धनकुट्टा, मोरंग, पाँचथर, रामेछाप, सोलुखुम्बु, दार्चुला, दाङ, कपिलवस्तु, मुस्ताङ, नवलपरासी, बाके, बर्दिया, सुर्खेत, दैलेख र मुगुमा १/१ पुल पनि जोखिममा परेका छन। 

जोखिममा रहेेका पुलहरुको मर्मत सम्भार गर्न करिब १८ करोड ४८ लाख ६ हजार ४० रुपैयाँ लाग्ने बताइएपनि चालु आर्थिक बर्षमा गत बर्ष खर्च भएको रकममध्ये एक तृतियाँश बजेट मात्र सरकारले उपलब्ध गराउदा यस्ता पुलहरुको मर्मत सम्भारको काम सुरु हुन सकेको छैन। सरकारको उदासिनताका कारण सर्बसाधारण जोखिममा परेका झोलुङे पुलबाट ओहोर दोहोर गर्न बाध्य भएका छन। पछिल्लो समयमा चितवन, फिदिमलगायत अन्य जिल्लाका झोलुङे पुल भत्केर एक दर्जनभन्दा बढीको संख्यामा सर्बसाधारणको मृत्यु भएको छ। एक तृतियाँश बजेट मात्र उपलब्ध हुँदा पुलको मर्मत गर्ने काम सुरु गर्न सकिएको छैन,’ डोलिडारका उपमहानिर्देशक भीमप्रसाद उपाध्यायले भने,‘पूर्ण बजेट आएपछि मात्र मर्मत सम्भारको काम आरम्भ हुन्छ।’ 

नेपालमा २०२५ देखि स्वीसको विकास सहयोग (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा आधुनिक प्रविधिमा आधारित झोलुङे पुल बन्न थालेको हो। त्यसपछि डोलिडारले एसडीसीकै प्राविधिक सहयोगमा स्थानीयस्तरको पुल बनाउन थालेको हो । झोलुगे पुल मुख्यतया तीन प्रकारको हुन्छ । जसमा सस्पेन्डेड(दुवै पुछारमा टावर नभएको), सस्पेन्सन(दुवै पुछारमा टाबर भएको) र स्टील ट्रस (यो ३२ मिटरभन्दा सानो हुन्छ) हुन । 

इन्जिनियर शर्माकाअनुसार हालसम्म सबैभन्दा बढी बाग्लुङमा ४ सय ५५ वटा र सबैभन्दा कम काठमाडौंमा एउटा झोलुङे पुल निर्माण गरिएका छन। गत आर्थिक बर्ष ०६८/६९ सम्म मुलुकभर झोलुगे पुलको संख्या ५ हजार ६१ वटा थियो । जसमध्ये गत आर्थिक बर्षमा ३ सय २५ निर्माण भएको थियो । मुलुकभरका जिल्लाहरु मा अहिले पनि ५ हजार ६ सय ४४ वटा यस्ता पुल निर्माण गर्न माग छ । चालु आर्थिक बर्षमा डोलिडारको झोलुङे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ४ सयवटा यस्ता पुल निर्माण गर्ने लक्ष्य छ। यस्ता खाले पुलका लागि एउटा पुल र अर्को पुलबीचको दुरी कम्तिमा एक घण्टाको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ।
काठमाडौं, २७ भदौ, 2069

Comments