दुईसय अनठाउन्न पुल ‘अति जोखिम’ अबस्थामा

  • राजेश बर्मा
मुलुकभरका दुईसय ५८ वटा पुल ‘ अति जोखिम ’ को अवस्थामा रहेको सरकारको अध्ययनले देखाएको छ। अध्ययनले यी पुलहरूको तत्काल मर्मत सुधार गर्नुपर्ने पनि देखाएको छ। भौतिक योजना,निर्माण तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पुल आयोजना कार्यालले मुलुकभरका मुख्य सडकहरूमा रहेका पुलहरूको स्थलगत अध्ययन पछि तयार पारिएको प्रतिवेदनमा यस्तो निश्कर्ष निकालिएको छ। मुलुकभरका २१ वटा राजमार्गका एकहजार ७ सय ९ वटा पुलमध्ये एकहजार ३१ पुललाई खराव अवस्थामा रहेको र यी मध्ये ५५ वटा जिल्लाका २ सय ५८ वटा पुल सबैभन्दा बढी जोखिममा रहेको निष्कर्ष निकालिएको छ। यसैगरी आयोजनाले १ सय ६९ वटा पुललाई उच्च खरावको अबस्थामा र मध्यम खरावको सुचीमा ७ सय २ वटा पुललाई सुचीकृत गरेको छ।

‘प्रतिवेदनको निश्कर्ष अनुसार सबैभन्दा जोखिमको सुचीमा परेका पुलको मर्मत सम्भार तत्कालै गर्नुपर्ने देखिन्छ,’ पुल आयोजनाका प्रमुख कृत्यानन्द ठाकुरले भने,‘तर बजेट उपलब्ध हुन नसक्दा यस बर्ष यसमध्ये एउटै पुलको मर्मत सम्भार गर्न सकिएको छैन। तत्कालै मर्मत सम्भार नगरिए यस्ता पुल कुनै पनि वेला ठूलो दुर्घटनामा पर्न सक्छ।’ आयोजनाका अनुसार सबैभन्दा खरावको सुचीमा सिन्धुली राजमार्गका २० वटा पुल परेका छन। यसैगरी पर्साका १७, महोत्तरीका १६ र बाराका १३ वटा पुल यस्तो सुचीमा परेका छन।

आयोजनाका प्रमुख ठाकुरका अनुसार करिब पचासौं बर्ष पहिले निर्माण भएका पुलहरुमध्ये २ सय ५८ वटा पुल सबैभन्दा बढी जोखिमको सुचीमा परेका हुन। पचास बर्षअघि निर्माण भएका अधिकाँश पुलहरुको खप्ने अवधी ५० बर्षकै हुन्थ्यो। मानविय गतिविधिका कारण तथा खप्ने अवधी सकिनै लाग्दा पुलहरु जोखिममा परेका हुन। अत्यन्त खरावको सुचीमा परेका अधिकाँश पुलहरु ४९ बर्षभन्दा बढी नाघिसकेको छ।

काठमाडौं र कैलालीमा क्रमश: ९/९ वटा, मोरंग, डोटी र दाङमा ८/८ वटा, उदयपुर र झापामा ७/७, नवलपरासीमा ६ वटा, धनुषा, गोरखा, सप्तरी, दार्चुला, सर्लाही, कास्की, वाग्लुङमा क्रमश: ५/५ वटा, मकवानपुर, सुनसरी, अछाम, बर्दिया, तनहुँ, दोलखा, कपिलबस्तु, रसुवामा क्रमश: ४/४ वटा पुल सबैभन्दा जोखिमपूर्ण अबस्थामा सूचीकृत भएका छन। यस्तै रामेछाप, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, संखुवासभा, धनकुट्टा, इलाम, सुर्खेत, दैलेख, पर्वत, रौतहठ र रुपन्देहीमा क्रमश: ३/३ वटा पुल यस्तो सुचीमा परेका छन। त्यसैगरी म्याग्दी, सल्यान, बांके, नुवाकोट, सिराहा, बाजुरा र भोजपुर जिल्लाका २/२ वटा पुल अत्यन्त खरावको सुचीमा दरिएका छन। काभ्रेप्लान्चोक, धादिङ, पांचथर, बझांग, डडेलधुरा, लम्जुङ, वैतडी, तेह्रथुम, चितवन जिल्लाका १/१ वटा पुल पनि यस्तो सुचीमा परेका छन।

पुल बिज्ञहरुका अनुसार सबैभन्दा बढी जोखिममा रहेका पुलहरुलाई तत्कालै मर्मत सम्भार गर्न आवश्यक भएपनि बजेट अभावका कारण हुन सकेको छैन। आयोजनाले जोखिममा परेका पुलहरुमध्ये पनि तत्कालै मर्मत सम्भार नगरे नहुने भन्दै ३३ वटा पुललाई प्राथमिकतामा राखेर मर्मत सम्भारका लागि गत असारमा सरकारसँग ६४ करोड रुपैयाँ माग गरेको थियो। ‘तर उक्त रकम अहिलेसम्म उपलब्ध भएको छैन,’ प्रमुख ठाकुरले भने। सरकारी रणनीतिका कारण पनि यस्ता पुलहरु जोखिममा पर्दैगएको आयोजनाको ठहर छ। मर्मत सम्भारका लागि आवश्यक परिमाणको बजेट उपलब्ध नगराइदा जोखिमा परेका पुलहरुको मर्मत सम्भार हुन नसकेको ठाकुर स्वीकार गर्छन। सरकारले गत बर्षदेखि आशलाग्दो परिमाणमा मर्मतसम्भारको शिर्षकमा बजेट उपलब्ध गराउदै आएको छ।

पुलमुनीको प्लेट खिइएर, भार वहन क्षमताभन्दा बढी भारको सबारी साधन गुडाइदा क्षतिग्रस्त भएर, पुलमुनीबाट अनियन्त्रित रुपमा गिट्टीवालुवा निश्कासन हुँदा फाउन्डेसन कमजोर भएर पुल जोखिममा परेका छन। यसवाहेक पुलमुनी र पुलको दुवै किनारमै फोहोरजन्य पदार्थ बिसर्जन गरिंदा पनि पुलमा लगाइएका मेसिनरी पार्टपुर्जा बिगिएका कारण जोखिममा पर्दै आएको पुल आयोजनाले जनाएको छ।



नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब डोलनाथ खनालले अति जोखिममा परेका पुलहरुको मर्मत सम्भार गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको बताए। आइतबार मात्रै पनि महासंघले भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयका सचिब तुल्सीप्रसाद सिटौंलालाई जोखिम अबस्थाका पुलहरुको तत्कालै मर्मत सम्भारका लागि आग्रह गरिएको बताए। सचिबले मर्मत सम्भारका लागि मौखिक आवश्वासन दिएका छन। पुल मर्मत सम्भार नगरिंदा जोखिम मोलेर यात्रुहरुलाई सेवा उपलब्ध गराउन हामी बाध्य छौं,’ महासंघका महासचिब खनालले भने।


आठ पुलको मर्मतसम्भार
पुल आयोजनाले गत आर्थिक बर्षमा जोखिमा परेका आठवटा पुलको मर्मत सम्भार गरेको छ भने एउटा पुल मर्मत सम्भार हुने क्रममा छ। दोलखाको जिरी - चरिकोट सडक खण्डको तामाकोशी पुल, सोही जिल्लाको खाडीचौरस्थित सुनकोशी पुल, त्रिशुली- नुवाकोट सडक खण्डको नादी पुल, चितवन- तनहुँ सडक खण्डको मुग्लिङ पुल, आवुखैरेनी- गोरखा सडक खण्डको मस्र्यागदी पुल, तनहुँस्थित सेती पुल, पोखरा- सुनवल सडक खण्डको कालीगण्डकी पुल, कोहलपुर- सुर्खेत सडक खण्डको भेरी पुललाई गत बर्ष मर्मत सम्भार गरेर सुचारू गरिएको छ। यसैगरी नारायणघाट- वुटवल सडक खण्डमा पर्ने झरही पुल मर्मत सम्भारको क्रममा छ।
काठमाडौं,९ भदौ , 2069

Comments