हतियार मुद्दामा फस्दैछन् मधेसका युवा
भर्खरै सोह्र पुगेका सिराहाका शुभनारायण शर्मा
हतियार तथा खरखजनाको मुद्दामा एघार महिनादेखि सिराहा जिल्लाको कारागारमा बन्दी
जीवन बिताइरहेका छन्। रौतहटको सरुहठठा गाउँ विकास समितिका सचिव शेख
मन्जुलका १६ बर्षीय छोरा सोयल अवैध हतियार प्रयोगकै मुद्दामा दुई महिनादेखि
गौरस्थित कारागारमा सजाय भोगिरहेका छन्।
- राजेश बर्मा

शर्मा र सोयल दुवै कुनै हिंसात्मक समूहमा संलग्न
थिएनन्। विद्यालयमा पढ्दै गर्दा साथीभाईको संगतमा शर्मा र सोयलमा पनि हतियार
चलाउने रहर जाग्यो र अन्तत: यो रहर उनीहरूलाई जेल पु:याउने कसुर भइदियो।
साथीसंगतमा परेर हतियार धन्दामा आकर्षित भएका मध्य मधेसका थुप्रै युवाहरू यतिबेला
शर्मा र सोयलकै नियति भोगिरहेका छन्।
सिराहको फुलकाहाकट्टी ४ बस्ने शर्मा सिराहको
स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कूलमा कक्षा ८ मा पढ्दै थिए। सम्पन्न परिवारमा
जन्मिएका उनलाई नपुग्दो केही थिएन। तर उनी साथीभाइको लहलहैमा लागेर हतियार मोहमा
फसे। सोयल पनि सम्पन्न परिवारका सदस्य थिए। साना
हतियारको त्रास बढी देखिएको मध्य मधेसका ८ जिल्ला सप्तरी, सिराहा,
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा छन्।
आर्थिक बर्ष ०६४/०६५ देखि आर्थिक बर्ष ०६७/०६८ जेठसम्मको अवधीमा मात्रै मध्य
मधेसको आठ जिल्लामा १ हजार १ सय ३१ युवाहरु हातहतियार तथा खरखजाना मुद्दामा जेल
परेका छन्। पक्राउ परेका मध्ये १६ देखि ३५ बर्ष समूहका युवाको संख्या बढी छ।
प्रहरीको तथ्यांकअनुसार यस अवधिमा आठ जिल्लामा ६ सय ३० थान कटुवासहित अन्य खालको
पेश्तोल र १ हजार ४ सय ७२ थान गोली बरामद गरिएको छ।
‘युवाहरुमा देखिएको हतियारको बढदो आर्कषणले सिंगो
मधेसलाई हिंसाको क्रिडास्थल बनाएको देखाएको छ,’ मधेसी
जनअधिकार फोरम(गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले भने।
स्थानीयस्तरमा राजनीतिक दलको कमजोर उपस्थिति, बढदो
बेरोजगारी र खुला सिमानाका कारण मध्य मधेसमा पछिल्लो समयमा हतियारको व्यवसाय र
संस्कृति फस्टाउँदै गएको विश्लेषण राजनीतिक बिश्लेषक सिके लालको छ। तराई मानव अधिकार रक्षक संजालका अध्यक्ष रवी
ठाकुरले हतियारको धन्दामा मधेसका युवाहरूलाई जबरजस्ती फसाउन खोजिएको बताए। ‘कानुनी उपचारले मात्र यो समस्याको हल हुँदैन। यसलाई राजनीतिक तहबाटै
गम्भीरतापूर्वक सम्बोधन गरिनुपर्छ, मधेसका युवामा देखिएको
हतियार मोहबारे अध्ययन गरिरहेको लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्थाका
अध्यक्ष दीपेन्द्र झाले भने।
युवाहरुबाट बरामद
हतियार जिल्ला पेस्तोल गोली
धनुषा १ सय २० थान २ सय ७० वटा गोली
सिराहा १ सय १७ थान २ सय २९ वटा गोली
सप्तरी १ सय ४ थान ३ सय ४९ वटा गोली
रौतहट ८६ थान १ सय ६६ वटा गोली
बारा ७७ थान १ सय ४८ थान गोली
पर्सा ६८ थान ६१ थान गोली
सर्लाही ५८ थान १ सय ४९ वटा गोली
स्रोत: विभिन्न जिल्ला प्रहरी कार्यालय
०६८ जेठ
Comments
Post a Comment