बाह्रजना बैज्ञानिकमाथी कारवाही

नार्कमा कृषि बैज्ञानिकको चर्काे अभाव

  • राजेश बर्मा
कृषि बालीनालीको अनुसन्धानका लागि स्थापना गरिएको नेपाल कृषि अनुसन्धान परिषद(नार्क) मा बैज्ञानिकको अभाव भएको छ। दरवन्दीअनुसार बैज्ञानिक पदपूर्ति नहुँदा चर्काे रूपमा अभाव सिर्जना भएको हो। तुलनात्मक रूपमा अन्य मुलुकको दाँजोमा पनि नेपालमा कृषि बैज्ञानिकको अभाव हुँदा कृषिको अनुसन्धान क्षेत्र प्रभावित हुँदै आएको छ।

नार्कमा अहिले दुईसय ६० जना बैज्ञानिक र प्राविधिक अधिकृतको अभाव देखिएको छ। जसअनुसार बैज्ञानिकतर्फ एकसय ६८ र प्राविधिक अधिकृततर्फ ९२ जनाको पद रिक्त छ। नार्कका कार्यकारी निर्देशक दिलवहादुर गुरुङका अनुसार बैज्ञानिकतर्फ चारसय ११ जना र प्राविधिकतर्फ ४ सय १२ जनाको दरवन्दी छ। रिक्त रहेका बैज्ञानिकहरूमध्ये श्रेणीअनुसार सबैभन्दा बढी एस तेश्रो अन्तर्गत दरवन्दीअनुसारको बैज्ञानिकको पद रिक्त छ। एकसय २० जना दरवन्दी रहेको उक्त श्रेणीमा हाल २९ जनामात्र कार्यरत छन।

‘दरवन्दीअनुसार बैज्ञानिक पदपूर्ति नहुँदा अनुसन्धान क्षेत्र प्रभावित हुँदै आएको छ,’ कार्यकारी निर्देशक गुरूङले भने। उनका अनुसार यसैगरी ३३ जना दरवन्दी रहेको एस पाँचौंमा ७ जना, एकसय ५५ जनाको दरवन्दी रहेको एस एकमा एकसय ४ जना कार्यरत रहेका छन भने एस दोश्रो, एस चौथो र एस छैठौंमा दरवन्दीअनुसार गरिएको छ। नार्कमा एस सातौं र एस आठौं श्रेणी अर्थात बरिष्ठ बैज्ञानिक आवश्यक भएपनि हालसम्म उक्त श्रेणीमा भने कुनै दरवन्दी राखिएको छैन। नार्कबाट हालसम्म बैज्ञानिकतर्फ एकसय ८ जना र प्राविधिकतर्फ दुईसय ६९ जना अनिवार्य अवकाश पाएका छन। यस्तै बैज्ञानिकतर्फ २२ जना र प्राविधिकतर्फ एकसय १ जना उपदानतर्फ अवकाश लिएका छन। नार्कका वरिष्ठ प्रशासकिय अधिकृत वीरेन्द्र खड्काले अन्य निकायभन्दा नार्कमा सेवा सुविधा न्युन भएका कारण कर्मचारीहरू आकर्षित हुन नसक्दा दरवन्दीअनुसार पदपूर्ति हुन नसकेको जानकारी दिए। उनका अनुसार नार्कबाट बाहिरिएका बैज्ञानिकहरू कृषि क्षेत्रमै काम गर्ने गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा मासिक एकलाखभन्दा बढी पारिश्रमिक र अन्य सुविधा पाउछन। नार्कमै कार्यरत रहेका बैज्ञानिकहरूले न्युनतम साढे उन्नाइसहजार रूपैयाँ मासिक तलव पाउदै आएका छन।

‘सुरूमा आकर्षण होला भनेर प्रवेश गरेका प्राविधिक र बैज्ञानिकहरु पछि न्युन सेवा सुविधाका कारण जागीर छाडेर जाने प्रवृति बढेको छ,’ प्रशासकिय अधिकृत खड्काले भने,‘अर्काेतर्फ उच्च अध्ययनका लागि विभिन्न मुलुक जाने बैज्ञानिकहरू उतैको आकर्षणका कारण पनि बैज्ञानिकहरूको संख्या न्युन देखिएको छ। समयअनुसारको सेवा सुविधा उपलब्ध नगराएसम्म बैज्ञानिकहरू नार्कमै दिगोसमयसम्म बस्न सक्ने अबस्था छैन।’ नार्कमा आकर्षण छ भन्दै केही महिना अघि मात्रै बैज्ञानिकहरूको विभिन्न उपसमूहतर्फ भर्ना भएका १७ जना बैज्ञानिकसमेत पछि खोजेअनुसारको सुविधा पाउन नसक्दा लोकसेवामार्फत अन्य निकायमा गएको नार्कले जनाएको छ।

कार्यकारी निर्देशक गुरुङका अनुसार कृषि क्षेत्रअनुसारसमेत बैज्ञानिकको संख्या अत्यन्त न्युन छ। नेपालमा कूल दुईसय ४३ जना बैज्ञानिक कार्यरत रहेका छन। जसमध्ये धानतर्फ दश, गहँुतर्फ ७, मकैतर्फ ८, दालतर्फ ४ र तेलहनतर्फ ५ जनासहित अन्य क्षेत्रमा कार्यरत छन। नेपालकै छिमेकी भारतमा भने धानतर्फमात्र एकहजारभन्दा बढी र बंगलादेशमा सयजनाभन्दा बढी बैज्ञानिक कार्यरत छन। ‘एउटै क्षेत्रमा थोरै संख्यामा देखिएका बैज्ञानिकहरूले समयअनुसारको अनुसन्धान गर्न सकेका छैनन,’ निर्देशक गुरुङले भने।

विदेश गएका बाह्रजनामाथी कारवाही
अध्ययन विदा लिएर जापान, फिलिपिन्स, भारत र अमेरिकाजस्ता मुलुक गएका बैज्ञानिकहरूमध्ये १२ जनामाथी नार्कले कारवाही गरेको छ। नार्क स्थापना भएयता बाह्रजना बैज्ञानिकमाथी कारवाही गरिएको हो। अध्ययन गरेर उतै बसेका बैज्ञानिकहरूमाथी कारवाही गरिएको प्रशासयिक अधिकृत खड्काले जानकारी दिए। नार्कका अनुसार गत ०५९/६० मा एकजना, ०६०/६१ मा ५ जना, ०६१/०६२ मा दुईजना र अन्य गरेर १२ जनामाथी कारवाही गरिएको छ। नार्कका अनुसार दुई बर्षका लागि अध्ययन विदा लिएर विदेश गएर फर्कने बैज्ञानिकले अनिवार्य रूपमा चारबर्ष नार्कमा काम गर्नुपर्छ। ‘तर विदेश गएकाहरू नफर्कने र पत्राचार गर्दा जवाफसमेत नदिने प्रवृति देखिएकाले बाह्रजनालाई खाईपाएको तलव तथा अन्य सुविधा असुल गर्नेगरी कारवाही गरिएको छ,’ उनले भने। कारवाही गरिएका बैज्ञानिकहरूको नाम भने नार्कले खुलाउन मानेन।
काठमाडौं, ११ कात्तिक , 2069

Comments