चुरिया क्षेत्र बन्दैछ बाघको सुरक्षित बासस्थल


  • राजेश बर्मा 
 विश्वमा बाघको संख्या घट्दै गएको अबस्थामा नेपालमा भने बाघको संख्यामा बृद्धि भएको छ । चोरी शिकारीका कारण निरन्तर अस्तित्व संकटमा पर्दै गएको अबस्थामा दुलर्भ बाघको संख्यामा पछिल्लो पटक नेपालमा आश्चर्यजनक रुपमा बृद्धि भएको हो । बाघ परिबारमा पछिल्लो पटक ३४ वटा बाघ थपिएको छ । नेपालमा पाइने पाटे बाघ विश्वमै दुर्लभ मानिएको छ ।

 
पछिल्लो पटक बाघ पाइने मुख्य स्थल चितवन राष्ट्रिय निकुन्जमा गरिएको एक सर्वेक्षण अनुसार त्यँहा १ सय २५ वटा वयस्क बाघको संख्या पुगेको छ । सन् २००८/२००९ मा निकुन्ज क्षेत्रमा ९१, बर्दिया राष्ट्रिय निकुन्जमा १८, शुक्लाफाँंटमा ८ र पर्सामा ४ वटा भेटिएको थियो । चितवनमा हाल भेटिएको थप ३४ र बर्दिया, शुक्लाफाँंट, पर्सामा भेटिएको पुरानो बाघ गरी अब नेपालमा बाघको संख्या १ सय ५५ पुगेको छ । बर्दिया राष्ट्रिय निकुन्ज र शुक्लाफाँंट बन्यजन्तु आरक्षमा गरिएको सर्वेक्षणको तथ्याँंक भने अहिले आउन सकेको छैन ।

पछिल्लो पटक चुरिया क्षेत्र पनि बाघको सुरक्षित आवास स्थल र आहारा विचरन गर्ने थलोको रुपमा बिकसित हुँदै गएकाले बाघको संख्यामा बृद्धि भएको बाघ बिज्ञको दावी छ । मकवानपुरको चितवनस्थित राष्ट्रिय निकुन्जको माथिल्लो भेग चुरिया क्षेत्रमा पछिल्लो पटक सर्वेक्षण गर्दा उक्त क्षेत्रमा पनि बाघ भेटिएको बिज्ञले बताएका छन । चितवनमा भेटिएका नयाँं बाघमध्ये १२ वटा चुरेको माथिल्लो भेगमा पाइएको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको अबस्था र संख्या पत्ता लगाउन विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ नेपाल) र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा पछिल्लो पटक चितवन राष्ट्रिय निकुन्जमा सर्वेक्षण गरेको थियो । बिभागले मंसिर २२ देखि चैत्र ९ गतेसम्म विभिन्न चरणमा गरी सर्वेक्षण तथा अनुगमन गरेको थियो । 

बिभागका बिज्ञले यस पटक भने निकुन्जको दुई क्षेत्र तल्लो भेग र माथिल्लो भेग अर्थात चुरिया क्षेत्रमा पनि सर्वेक्षण गरेको थियो । यसअघि चुरे क्षेत्रमा सर्वेक्षण नहुँदा बाघको संख्या कम फेला पारिएको बिज्ञहरुको दावी छ । चुरिया क्षेत्रमा बाघको पदचाप, बासस्थान र आहारा भेटिएकाले पहिलो पटक माथिल्लो भेग चुरिया क्षेत्रमा पनि बाघको सर्वेक्षण गर्याै,’ बिभागका महानिर्देशक गोपालप्रसाद उपाध्यायले भने । विभागले प्रत्येक दुई बर्षमा बाघको संख्या र अबस्थाको अद्यावधिक गर्न सर्वेक्षण गर्दै आएको छ । यस बर्ष चितवन राष्ट्रिय निकुन्जको चुरिया र बरण्डाभार मध्यवर्ती क्षेत्रको १ हजार २ सय ६१ वर्ग किलोमिटर क्षेत्रमा बाघको बैज्ञानिक अनुगमन गर्दा १ सय २५ वटा वयस्क बाघ भेटिएको गणना संयोजक तथा विभागका उपसचिब झमकबहादुर कार्कीले बताए । उनका अनुसार प्रति सय वर्गकिलोमिटरको क्षेत्रफलमा ६.५३ वटा वयस्क बाघ रहेको सर्वेक्षणको क्रममा फेला पारिएको छ ।

कार्कीका अनुसार अघिल्लो पटक निकुन्जको समथर भेगमा मात्रै सर्वेक्षण गरिएको थियो । यसपटक निकुन्जको समथर भेग, दुर्गम कानामाना उपत्यकासहित चुरिया क्षेत्रको ३२ स्थानमा क्याम्प राखि दक्ष प्राविधिक र कर्मचारीको सहयोगमा क्यामेराबाट ट्रयापिङ गरिएको थियो । तीमध्ये ३० स्थानका क्यामेराले बाघको दृश्य खिचेको थियो । निकुन्जलाई तीनवटा भागमा बँाडेर सर्वेक्षण गरिएको थियो । पहिलो चरणमा रिउ पश्चिम, दोश्रो चरणमा रिउ पूर्व र तेश्रो चरणमा डुमरिया पूर्वमा क्याम्प स्थापना गरी ३ सय १० वटा क्यामेराको सहयोगमा बाघको पदचाप पछयाउदै तस्विर खिचिएको थियो । बिज्ञले १ महिना सर्वेक्षणमा र ६२ दिन क्यामेरा ट्रयापिङमा समय खर्चेका थिए । सर्वेक्षणमा १ सय ८० कर्मचारी, १० हाक्ति र ९ वटा सुरक्षा पोष्ट परिचालन गरिएको थियो ।

पहिले नभेटिएको स्थानमा यसपटक आश्चर्यजनक रुपमा बाघ भेटियो,’ विश्व वन्यजन्तु कोषका बाघ बिज्ञ विवश पाण्डवले भने, ‘बाघ भेटिएपछि चुरे क्षेत्र बासस्थानको रुपमा नयाँं स्थान फेला परेको छ ।सर्वेक्षणका लागि कोषले राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ३८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भुटानमा ३ हजार ५ सय मिटरको उचाँंईमा र नेपालमा चुरेक्षेत्रको ६ सयदेखि २ हजार १ सय मिटरको उचाँंईमा बाघ पाइन्छ । पश्चिम नेपालको चितवन राष्ट्रिय निकुन्ज र बरण्डाभार क्षेत्र, बर्दिया राष्ट्रिय निकुन्ज तथा शुक्लाफाँंट वन्यजन्तु आरक्ष बाघको उर्वर भूमि मानिन्छ । संसारभरी पाइने बाघमध्ये आधा जति भारतीय क्षेत्रमै पाईन्छ । 

दुलर्भ बाघ नेपालसहित भारत, कम्बोडिया, चीन, लाओस, भियतनाम, थाइल्याण्ड, इण्डोनेशिया, रुस र मलेसियामा पाईन्छ । पछिल्लो पटकको आँंकडा अनुसार नेपालमा बाघको संख्या १ सय ५५ पुगेको छ । यस्तै भारतमा १ हजार ४ सय, कम्बोडियामा ३०, चीनमा ३०, लाओसमा ३० भियतनाममा ३०, थाइल्याण्डमा २ सय देखि ३ सय, इण्डोनेशियामा ४ सय, रुसमा ४ सय २० र मलेसियामा ५ सयको हाराहारीमा बाघ छन । विश्वभरीको बाघको संख्यामध्ये ७५ प्रतिशत बाघ दक्षिणी एशिया महादेशमा पाईन्छ । २० औं शताब्दीमा १ लाखको हाराहारीमा रहेका बाघको संख्या घटेर २१ औं शताब्दीमा ३ हजार २ सयमा सिमित भएको छ । अन्तर्राष्ट्रिय बजारमा बाघको छाला र अन्य सामाग्री महँंगो मूल्यमा बिक्रि हुने भएकाले यसको चोरीशिकारी तिव्र रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा १० हजार र नेपाली बजारमा १ हजार डलरमा यसको छाला तथा अन्य सामाग्री अबैध रुपमा बिक्रि बितरण हुँंदै आएको छ ।

संरक्षण र संख्या बढाउन विशेष अभियान
नेपाल सरकारले बाघको संरक्षण तथा संख्या बढाउन उनीहरुको बासस्थान बिस्तार गरेको छ । सरकारले यसै आर्थिक बर्षमा बर्दिया राष्ट्रिय निकुन्ज जोडिएको क्षेत्रलाई बाँंके राष्ट्रिय निकुन्ज घोषणा गरी बाघको थप बासस्थान बिस्तार गरेको हो । बर्दिया र पर्सामा पनि सुरक्षित बशोबास स्थल बिस्तार गरी बाघको संख्या बढाउन सरकारले आवश्यक गृहकार्य सुरु गरेको छ । चोरी शिकारीका कारण लोप हुन लागेको बाघको संरक्षणलाई प्रभावकारी बनाउन र हाल रहेको बाघको संख्यालाई दोब्बर पार्न १३ वटा राष्ट्रले संयुक्त रुपमा १२ बर्षे अभियान सुरु  गर्दैछ । नेपालले यस अवधीमा बाघको संख्या १ सय २१ बाट उकासि २ सय ४२ वटा पुरयाउने लक्ष्य राखेको छ । इण्डोनेसियाको बालीमा सम्पन्न बाघ सम्मेलनमा नेपालसहित १३ वटा राष्ट्रले सन् २०२२ सम्ममा बाघको संरक्षण गरी त्यसको संख्या दोब्बर पार्ने सम्बन्धमा १३ बुन्दें कार्ययोजना तयार गरी प्रतिवद्धता जनाएका थिए । इण्डोनेसियामा तयार गरिएको १३ बुन्दें कार्ययोजना कार्यान्वयनका लागि आगामी सेप्टेम्बरमा रुसको पिटरसवर्गमा बाघसम्बन्धी बैठक बस्दै छ । बैठकमा बाघ पाइने १३ वटा मुलुकका राष्ट्र प्रमुख र सरोकार राख्ने निकायका उच्च अधिकारीले कार्ययोजनाको अनुमोदन गर्नेछन । 

दुलर्भ वन्यजन्तुको संरक्षण गरी तिनीहरुको अबैध चोरी शिकारी रोक्न नेपाल र भारतसरकारबीच प्रथम बाघ संरक्षण दिवसको अबसरमा दुई पक्षिय सम्झौता भएको छ । सीमा क्षेत्रमा रहेका दुई देशका संरक्षित क्षेत्रमा बाघ, गैडालगायत वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक गोपालप्रसाद उपाध्याय र भारतको तर्फबाट राष्ट्रिय बाघ संरक्षण प्राधिकरणका सह निर्देशक एसपी यादबले हस्ताक्षर गरेका थिए । बाघको दुलर्भ बन्यजन्तु तथा व्यापार नियन्त्रण महासन्धी(साइटीस) ले कुनै पनि अंग व्यापारका लागि प्रतिवन्ध लगाएको छ ।

बसाई सराई उतिकै
भारतीय क्षेत्रसँंगै नेपालको बाघ पाइने स्थल जोडिएकाले पछिल्लो समयमा नेपालको बाघ भारततर्फ बसाई सर्ने क्रम पनि बढदै गएको छ । विशेषगरी चितवन तथा बरण्डाभार क्षेत्रबाट भारतको बाल्मिकी र सोहेल्वा, बर्दिया राष्ट्रिय निकुन्जबाट भारतको कतरनियाघाट र दुधवा तथा शुक्लाफाँंट वन्यजन्तु आरक्षबाट भारतको दुधवा र लग्गावग्घा क्षेत्रतिर बाघको बसाई सराई बढदै गएको छ । बढदो असुरक्षित बासस्थान र आहाराका लागि बाघ बसाई सराई गर्दै आएका छन । । पछिल्लो समयमा बाघको अस्तित्व संकटमा पर्दै गएकाले उनीहरुको बसाई सराई र ओहोर दोहोरमा तिव्रता आएको हो,’ विभागका उपसचिब कार्कीले बताए । सिमा क्षेत्र जोडिएकाले भारत सरकारले शुक्लाफाँंट नजिकैको दुधवा नेशनल पार्कलाई दुधवा टाइगर रिजर्भ’, बर्दिया नजिकैको कतरनियाघाट र चितवन नजिकैको बाल्मिकी र सोहेल्वा क्षेत्रलाई टाईगर रिजर्भको रुपमा बिकास गरी सम्बद्र्धन गर्दै आएको छ । बाघको आवात जावत गर्ने करिडर (बाटो) पनि पछिल्लो समयमा अतिक्रमणमा परेपछि बाघको अस्तित्व संकटमा परेको हो । बिगत १० बर्षको अबधीमा काता, बसन्त, लालझाडीलगायतका करिडर बिनाशको चपेटामा परेको पश्चिम तराई भूपरिधी विकास आयोजनाका प्रमुख एकराज सिग्देलले जानकारी दिए ।
काठमाडौं, 2068, Sawan

Comments