मानव स्वास्थ्यका लागि चुनौती बन्दैछ चिकित्साजन्य फोहोर

वार्षिक रुपमा पाँच हजार मेट्रिक टन फोहोर निस्काशन
  •  राजेश बर्मा
मानव स्वास्थ्यका लागि चिकित्साजन्य फोहोर अत्यन्त डरलाग्दो रुपमा बढी रहेको पाइएको छ। सुरक्षित र भरपर्दाे प्रविधि विना विसर्जन गर्ने परिपाटीका कारण पछिल्लो समयमा यस्ता फोहोरले मानव स्वास्थ्यलाई जोखिममा पार्दै आएको बिज्ञहरुले औल्याएका छन्। 


उनीहरूका अनुसार मानव स्वास्थ्यका लागि अत्यन्त खतरनाक मानिने चिकित्साजन्य फोहोरमध्ये तुरुन्तै संक्रमन गर्ने फोहोरका कारण पछिल्लो समयमा नेपालमा हेपाटाइटिस बी, सी र एचआइभी एड्सजस्ता डरलाग्दा रोग भयावह रुपमा बढन थालेका छन्। पछिल्लो समयमा खुलेका निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट अझ बढी परिमाणमा डरलाग्दो फोहोरको निस्कासन हुने क्रम बढेको वातावरण मन्त्रालयका सचिब कृष्ण ज्ञवालीले बताए। स्वास्थ्य संस्थाहरुबाट दैनिक निस्कने फोहोरमध्ये मानव स्वास्थ्यका लागि खतरनाक मानिने तुरुन्त संक्रमण गर्न सक्ने फोहोरबाट हेपाटाइटिस बी ३० प्रतिशत, हेपाटाइटिस सी १.८ प्रतिशत र एचआइभी एड्स ०.३ प्रतिशतका दरले बढ्ने सम्भावना हुन्छ। असुरक्षित रुपमा बिसर्जन गरिएको एउटा सिरिन्जको सुइको सम्पर्कबाट सर्बसाधारणमा यस्ता प्रकारका डरलाग्दा रोग सर्ने गरिएको अध्ययनले देखाएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महासाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने।

मुलुकभरका ९५ सरकारी अस्पतालबाट वार्षिक ३ सय ६ मेट्रिक टन, १ सय १७ वटा निजी अस्पतालबाट २ हजार १ सय १५ मेट्रिक टन र ८ वटा मिसन अस्पतालबाट ७२ मेट्रिक टन गरी तीनहजार ९३ मेट्रिक टन संक्रमण गर्ने खालका फोहोर उत्पादन हुन्छ। यस्तै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी तथा नीजि क्लीनिकबाट वार्षिक १ हजार २ सय १२ टन र औषधी कम्पनीबाट ७ सय ९ मेट्रिक टन फोहोर निस्कन्छ। मुलुकभरका स्वास्थ्य संस्थामा करिब २६ हजार वेड छन्। प्रत्येक वेडमा दैनिक शुन्य दशमलव ५ किलोका दरले चिकित्साजन्य फोहोर निस्काशन हुन्छ।

एउटा स्वास्थ्य संस्थाबाट २० प्रतिशतको हाराहारीमा तुरुन्त संक्रमण गर्ने खालका डरलाग्दा फोहोर हुन्छ। यही फोहोरले बाँकी ८० प्रतिशत निसंक्रमित फोहोरलाई पनि डरलाग्दो रुपमा परिणत गर्छ। विसर्जन हुने कूल २० प्रतिशत डरलाग्दो फोहोरमा मानव शरीरका विभिन्न प्रकारका अंग प्रत्यंग १५ प्रतिशत, धारिलो उपकरण १ प्रतिशत, एक्सरे, अल्ट्रासाउन्ड गर्दा उत्पन्न हुने रेडियो विकिरण १ प्रतिशत र विभिन्न प्रकारका रसायनिक पदार्थ तथा औषधी कम्पनीबाट निस्काशन हुने तरल अबस्थाको फोहोर ३ प्रतिशतको हाराहारीमा हुन्छ। मुलुकभरका स्वास्थ्य संस्थाहरुमध्ये १ सय २२ संस्थाले ७५ प्रतिशत फोहोरलाई जमिनमुनी गाडने गरेका छन। ५० वटा संस्थाले ३० प्रतिशत जलाउने यन्त्रमा राखेर र १३ वटा संस्थाले खुल्ला आकाशमुनी ८ प्रतिशत फोहोरलाई जलाएर अर्काे बिष उत्पादन गर्दै आएका छन। बाँकी ११ वटा संस्थाले ६ प्रतिशतको हाराहारीमा यस्ता फोहोरलाई निसंक्रमित बनाउदै आएको छ।

फोहोरबाट अस्पतालमा उपचार गराउन आएका बिरामी, स्वास्थ्यकर्मी, नगरपालिकाका सफाई कर्मचारी, फोहोर बोक्ने बालबालिका र फोहोरलाई पुन: प्रयोग गर्ने उधोग कलकारखानाका कर्मचारी प्रमुख रुपमा जोखिममा परेका छन,’ स्थानीय विकास मन्त्रालयका सचिब शीतलबाबु रेग्मीले भने।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार बिज्ञहरुले यस्ता फोहोरलाई उत्सर्जन गर्ने स्थानमै श्रोत छुट्टयाएर निसंक्रमित फोहोर (कागज, खानेकुरा, प्लास्टिक, बोतल)लाई पून: प्रयोगमा ल्याउनुपर्ने तथा संक्रमित फोहोरलाई गैरभष्मीकरण प्रविधिद्वारा जैविक तथा रसायनीक रुपमा प्रशोधन गरेर निर्मलीकरण गर्नुपर्ने सुझाव दिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. प्रविण मिश्रले असुरक्षित रुपमा व्यवस्थापन गरिदैं आएको चिकित्साजन्य फोहोर मानव स्वास्थ्यका लागि ठूलो चुनौती बनेको बताए। औलामा गन्न सकिने केही स्वास्थ्य संस्था वाहेक सबै स्वास्थ्य संस्थाहरुले असुरक्षित र अव्यवस्थित रुपमा चिकित्साजन्य फोहोरलाई व्यवस्थापन गर्दैआएका छन,’ उनले भने। उनका अनुसार उपत्यकाको पाटन, बिर, स्तुपा, किडनी सेन्टर, सुषमा कोइरालालगायत छवटा सरकारी र निजी अस्पतालमा डरलाग्दो रुपमा संक्रमण गर्ने खालको फोहोरलाई गैरभष्मीकरण गर्ने प्रविधि प्रयोगमा ल्याएका छन। काठमाडौं महानगरपालिका कार्यकारी अधिकृत केदारबाबु अधिकारीले यस्ता डरलाग्दा फोहोरलाई व्यवस्थापन गर्न सरोकार राख्ने निकायहरुबीच सहकार्य गरी एकीकृत रुपमा योजना आउनुपर्ने सुझाव दिए।
काठमाडौं, १७ माघ, 2070

Comments