भक्तपुरको धानको वालामा दाना लागेन

२६ करोडभन्दा बढीको क्षति

  • राजेश बर्मा

धानको वालामा दाना नलाग्दा भक्तपुरका किसानहरूले मंगलबार धानको वालासहित सिंहदरबार घेराउ गरेका छन। धानको वालामा दाना नलागेर क्षति व्यहोरेका स्थानीय सैकडौं किसानहरूले क्षतिपूर्तिको माग गर्दै सिंहदरबार दक्षिण क्षेत्रमा घेराउ गरेका थिए। मजदुर किसान पार्टीको भगिनी संगठन नेपाल क्रान्तिकारी किसान संघको नेतृत्वमा किसानहरूले विहान १० देखि अपराह्न २ बजेसम्म सिंहदरबार घेराउ गरेका थिए। प्रदर्शनकारीहरूले नक्कली वीउ र मल आयात गर्ने स्थानीय अधिकृत विक्रेतामाथि कारवाही गर्नुपर्ने, मल र वीउ नेपालमै उत्पादन गर्नुपर्नेलगायतका माग राखेर चर्को घाममा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले घटनाको ध्यानाकर्षण गराउदै सिंहदरबारस्थित कृषि विकासमन्त्री टेकवहादुर घर्ति थापालाई ज्ञापन पत्रसमेत बुझाएका थिए।




प्रदर्शनको नेतृत्व गरेका पूर्व सभासद तथा मजदुर किसान पार्टीका महासचिब सुनिल प्रजापतिका अनुसार चीनको डेयु वीउ कम्पनीबाट उत्पादित हाईव्रीड जातको डिवाई २८ नामको वीउ प्रयोग गरेका किसानहरूको धानको बोटमा दाना लागेन। धानको वालामा दानाको स्थानमा भुसमात्र फलेको छ। 'जेठको दोश्रो सातामा उक्त वीउ छरेर उम्रेका वेर्नाबाट सारिएको बोटमा अहिले भूसमात्र लागेको छ,Ó पूर्व सभासद प्रजापतिले भने,'असोजको अन्तिम सातादेखि वाला काटेर घर भित्र्याउने किसानको योजनामाथि ठूलो तुषारापात भएको छ। दाना नलागेर उनीहरूको सबै लगानी अहिले डुब्यो।Ó



प्रजापतिका अनुसार झण्डै ५ हजार रोपनीमा लगाइएको उक्त जातका वीउको बोटमा दाना लागेन। किसानहरूले एक रोपनीमा करिब २० हजार गरेर २६ करोड मूल्य बराबरको क्षति व्यहोरेको प्रजापतिले दावी गरे। उनका अनुसार काष्ठमण्डप ट्रेड प्वाइन्ट अधिकृत विक्रेता रहेको उक्त वीउ किसानहरूले स्थानीय वीउसम्बन्धी सहकारी पसलहरूबाट खरिद गरेका थिए। भक्तपुर १० व्यासीका स्थानीय किसान जगरनाथ सुजकुका अनुसार गत बर्ष दोब्बर उत्पादन दिएको देखेर किसानहरूले यसपटक पनि सोही जातका वीउको प्रयोग गरेका थिए। बोटमा वाला लाग्ने, दानाको स्थानमा भुस मात्र फ ल्ने र बोट विस्तारै सुक्नेजस्ता समस्या आएको उनले जानकारी दिए। किसानहरूले एक किलो प्याकेटको वीउलाई साढे चारसय रूपैयाँ तिरेर खरिद गरेका थिए। यसअघि ताइचिन जातका धानको वीउ प्रयोग गर्दैआएका स्थानीय किसानले डिवाई २८ नामको वीउबाट गत बर्ष एक रोपनीमा करिब ७ सय २० किलो धान फलाएको सुजकुले दावी गरे।



वाली विकास निर्देशनालयका निर्देशक तथा वरिष्ठ धान बिज्ञ डा. सुरज पोखरेलका अनुसार सिफारिश भएको स्थानभन्दा अन्य स्थानमा वीउ लगाउदा पनि यस्ता समस्या आउन सक्ने जानकारी दिए। उनका अनुसार नेपालमै अनुसन्धान गरेर उत्पादन भएको मन्जुश्री जातको धानको वीउले पनि केही बर्ष दाना दिएन। 'केही बर्षपछि मात्र दाना दियो। घटनाको गहन अध्ययन पश्चातमात्र मूल कारण पत्ता लाग्छ।Ó किसानले खरिद गरेको वीउको प्याकेटमा उत्पादकले नेपालीमा पाक्ने अवधी १ सय २० दिन(तराई), बोटको उचाई १ सय २१ सेन्टिमिटर, दानाको आकार र सुख्खा सहनशिलता मध्यम, वालाको लम्बाई २९ सेन्टिमिटर, उत्पादकत्व प्रति हेक्टर १० मेट्रिक टन भन्ने विवरण उल्लेख गरेको छ।

उच्चस्तरीय छानविन समिति गठन

सरकारले धानको वालामा दाना नलागेको घटनाबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरेको छ। कृषि विकास मन्त्रालयका सह प्रवक्ता टेकप्रसाद लुँइटेलका अनुसार मन्त्री थापाले वीउ विजन गुण नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेका छन। 

पन्ध्र दिनभित्रमा स्थलगत अध्ययन गरेर सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेबारी दिइएको उक्त समितिमा वाली विकास निर्देशनालयका निर्देशक डा. सुरज पोखरेल, वीउ विज्ञान प्रविधि महाशाखा नार्कका प्रमुख ज्वाला वज्राचार्य, किट विज्ञान महाशाखाका प्रमुख डा.प्रेमनिधी शर्मा, कृषि वनस्पति महाशाखाका प्रमुख शम्भुप्रसाद खतिवडा, वाली रोग विज्ञान महाशाखाका प्रमुख गोपालप्रसाद पराजुलीलाई सदस्यमा तथा जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अधिकृत वेदप्रसाद चौलागाईलाई सदस्य सचिबमा राखिएको छ।


समितिलाई के कारणले समस्या आएको हो, आगामी दिनमा यसलाई कसरी रोक्न सकिन्छ, रोगको उपचार तत्काल शुरू गरेर पुनस्र्थापन गर्न सकिन्छ वा सकिदैंन तथा रोगको कारणले भएको क्षतिको विवरण तयार गरेर क्षतिपूर्तिको लागि प्याकेजका बारेमा सुझावसमेत दिन जिम्मेबारी दिइएको छ। 
काठमाडौं, १ असोज, 2070

Comments