मधेश आन्दोलनको “कुरुक्षेत्र” मै अर्जुनको अभाव

प्रतिनिधित्वको सबालमा शहीद परिबारको उपहास


  • राजेश बर्मा

पौराणिक कालमा कौरवहरुलाई हराउन कुरुक्षेत्रमा एक्लो अर्जुन प्रर्याप्त भएपनि यसपटकको संविधानसभाको निर्वाचनमा मधेश आन्दोलनको केन्द्रविन्दु मानिने सिराहा जिल्लाको रणभूमीमा शक्तिशाली अर्जुनको अभाव देखिएको छ । गत ०६३ माघमा भएको मधेश विद्रोह नामक मधेश कुरुक्षेत्रले उपेन्द्र यादबसहित थुप्रै अर्जुनहरुको जन्म दिएको थियो । जसको शक्तिको आधारमा संविधानसभाको निर्वाचनमा यो जिल्लाबाट अधिकाँंश सिट हात परेको थियो । तर त्यही अर्जुनहरुले वर्तमान संविधानसभाको निर्बाचनमा आफ्नो शक्ति देखाउन प्रभावहिन देखिएका छन । 


मधेश आन्दोलनका कारण यसअघिका निर्बाचनमा कूल ६ सिटमध्ये ५ सिट प्राप्त गरेका मधेशी जनअधिकार फोरम नेपालले यसपटक भने एक सिट प्राप्त गर्न पनि असम्भवजस्तै बनेको मतदाताहरुको आँंकलन छ । आफ्नै घरेलु मैदानमा पनि फोरम नेपाललगायत आधा दर्जनभन्दा बढीको संख्याका दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदबारी दिएका कुनै पनि उम्मेदबारले “चमत्कार” गर्न नसक्ने विश्लेषकहरु बताउछन । यसअघिका निर्वाचनमा त्यति आधारशिला बलियो नभएका नयाँं अनुहारहरु पनि एकप्रकारको “हावा” चलेका कारण जित प्राप्त गरेका थिए । 

“तर यसपटक अवस्था भने फरक छ । जनताले मधेश मुद्दा सम्बोधन गराउनुपर्ने भनेर जनाधार दिएर पठाएका मधेश केन्द्रित दलका नेताहरु क्षणिक पद लाभका कारण पार्टी फुटाएर दर्जनौंमा विभक्त भएकाले ठूलो शक्ति छिन्न भिन्न भएको र जनताको मुद्दाभन्दा शत्ता लोभमै केन्द्रित भएकाले मधेशको कुरुक्षेत्रको अवस्था फेरिएको छ,” लाहान १० का जय कर्ण भन्छन,“यसपटकको कुरुक्षेत्रको रणभूमीमा कौरवहरुलाई हराउन अर्जुनको अभाव देखिएको छ । बलियो आधार क्षेत्र र जनाधार भएको एउटै अर्जुन रणभूमिमा नभएकाले मधेश केन्द्रित दलको अवस्था दयनिय देखिएको हो ।” हिन्दी भाषाको चर्चित लोकोउक्ति “भाई फुँंटे गवार लुँंटे” झै कुरुक्षेत्रमा शक्तिशाली अर्जुनको अभावमा तीन ठूला दललाई उपलब्धिमूलक जित हासिल हुन सक्ने प्रवल सम्भावना छ । 

मधेश आन्दोनलको क्रममा शहीदहरुको वलिदानीबाट पटक पटक सत्ताको स्वाद चाख्न पुगेका मधेश केन्द्रित दलहरुले भने संविधानसभाको निर्बाचनमा शहीद परिबारहरुकोसमेत उपहास गरेका छन । जसले गर्दा प्रतिस्र्पधामा मधेश केन्द्रिय दलहरु कमजोर देखिएका हुन । मञ्चमा भाषण गर्दा सहीदहरुको नाम जप्ने दलका नेताहरु भने निर्बाचनको क्रममा उनीहरुको सहभागिताको सबालमा “बेमतलव” बनेका छन । संविधानसभा निर्वाचनका लागि मधेश केन्द्रित दलहरुले आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुका परिबारका कुनै पनि सदस्यलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदबार बनाएका छैनन । सवै दलले तत्कालिन समयमा मधेश आन्दोलनमा कुनै भूमिका नखेलेका व्यक्तिहरुलाई “जातीय भोटर”, “आसेपासे” तथा “धनाढ्य” व्यक्तित्वका आधारमा मात्र टिकट वितरण गरेका छन । जसका कारण मधेश केन्द्रित दलप्रति मतदाताको अरुची बढेको छ । “मधेश आन्दोलनका कारण सत्तासिन हुन पुगेका मधेसवादी दलका नेताहरुले आन्दोलन सफल पार्न जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति इमान्दारी देखाउन सकेका छैनन,” लाहान ६ का लक्ष्मण पण्डितले भने । 

स्थानीय गणेश मण्डलका अनुसार मधेश केन्द्रिय दलहरुले पछिल्लो समयमा मधेश आन्दोलनमै सघाएकालाई प्रतिनिधित्व नगराएर  र सहादत प्र असफलता प्राप्त गर्नुमा पण्डितका अनुसार मधेश पहिलो र दोश्रो आन्दोलनमा गरेर सिराहा जिल्लाका ६ जनाले आफ्नो जीवन उत्सर्ग गरेका थिए । यि ६ जनासहित ५२ जनाले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका थिए । मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुभन्दा शत्ता समिकरणको नाममा दलहरु १३ टुक्रामा विभाजित हुनु र स्थानीय मुद्दाहरुलाई सम्बोधन गर्नुनसक्नु नै मधेश केन्द्रित दलहरुको असफलता हो । जसका कारण यसको प्रत्यक्ष असर दोश्रो संविधानसभाको निर्वाचनमा देखिएको छ । 

यस्तो छ प्रतिस्र्पधाको अवस्था
हुनत् यो कुरुक्षेत्रमा मधेश केन्द्रित दलहरुका तर्फ ३६ जनाले उपम्मेदबारी दिएका छन । क्षेत्र नम्बर १ मा तमलोपाका तर्फ डा. पशुपति चौधरी, मजफो नेपालतर्फ रामचरित्र महतो, मजफो लोकतान्त्रिकतर्फ शुभानन्द चौधरी, सदभावनाबाट रामनारायण महतो, रामसपाबाट बिजयकुमार दनुवारले उम्मेदबारी दिएका छन । गत निर्बाचनमा लक्ष्मण मेहताले नेकाँंका बलिया उम्मेदबार मानिने पद्मनारायण चौधरीलाई ४ सय ११ मतले हराएका थिए । मेहताले यसपटक उम्मेदबारी नदिएपनि चौधरीले पुनः सोही क्षेत्रबाट नेकाँंबाट उम्मेदबारी दिएका छन । लाहान ६ का बद्रिनारायण चौधरीका अनुसार पदमनारायण थारु समुदायका भएकाले तथा सोही समुदायबाट राप्रपा नेपालका तर्फबाट ललित चौधरीे र मजफो लोकतान्त्रिकतर्फ शुभानन्द चौधरीले समेत उम्मेदबारी दिएकाले थारु समुदायको केही मत तीनतर्फ बाँंडफाँंड हुने तय छ । यो क्षेत्रमा चौधरी समुदायको ८ हजार ७ सय ५१, यादब समुदायको ४ हजार ६ सय १, महतो समुदायको ४ हजार ६ र मुसहर समुदायको २ हजार ६ सय संख्या छ । अधिकाँंश चौधरीहरु एमालेप्रति कटिवद्ध भएकाले तथा महतोहरु जातिय उम्मेदबारलाई बढी सघाउने अवस्था देखिएकाले अन्ततः पद्मनारायण, राजेन्द्र महतो र एमाओवादीका मुनी साहबीच कडा त्रिपक्षिय प्रतिस्र्पधा हुने देखिन्छ । साह यस अघि एमालेतर्फबाट स्थानीय निकायको निर्बाचनमा लाहान नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । 

यसैगरी क्षेत्र नम्बर २ मा तमलोपातर्फ रामनाथ यादब, मजफो नेपालतर्फ हरेराम यादब, मजफो लोकतान्त्रिकतर्फ बसन्तकुमार यादब, सदभावनातर्फ रामप्रसाद साह र रामसपातर्फ अशोक यादब, एमालेबाट रामचन्द्र यादब, एकीकृत माओवादीका जितेन्द्रकुमार यादब र नेकाँंबाट सूर्यनारायण यादबले उम्मेदबारी दिएका छन । अघिल्लो निर्बाचनमा मजफो नेपालका उम्मेदबार र हाल मजफो गणतान्त्रिकका नेता राजलाल यादबले पूर्व सामान्य प्रशासन मन्त्री तथा एमालेका रामचन्द्र यादबलाई ८ हजार ८३ मतअन्तरले पराजित गरेका थिए । मुख्यगरी नेकाँंका सूर्यनारायण, रामचन्द्र र एकीकृत माओवादीका जितेन्द्र यादबबीच त्रिपक्षिय प्रतिस्र्पधा छ । प्रतिस्र्पधामा मजफो गणतान्त्रिकका राजलाल भएपनि संगठन त्यति बलियो नदेखिएकाले उनको अवस्था सकसपूर्ण मानिएको छ । यादब समुदायको बाहुल्यता भएकाले र त्यही समुदायबाट सातभन्दा बढी उम्मेदबार दिएकाले मत बाँंडिएर झिनो मतले एक उम्मेदबार जित्ने सम्भावना छ । 
  
क्षेत्र नम्बर ३ मा तमलोपातर्फ राजेन्द्रकुमार साह, मजफो नेपालतर्फ बिजयकुमार यादब, मजफो लोकतान्त्रिकतर्फ डा. नविनकुमार यादब, सदभावनातर्फ गोपाल राय र रामसपातर्फ मो. सज्जाद सिद्धिकी, नेकाँंबाट सीतादेवी यादब, एमालेबाट प्रमोदकुमार यादब र एकीकृत माओवादीका रामरिझन यादबले उम्मेदबारी दिएका छन । बिजयले यसअघिको निर्बाचनमा नेकाँंकी नेतृ सीतादेवी यादबलाई ४ हजार ७ सय ५८ मतअन्तरले पराजित गरेका थिए । बिजयलाई यो क्षेत्रमा पुनः जित हासिल गर्न यसपटक त्यति सहज छैन । मधेश केन्द्रित दलहरु फुटेर मत विभाजन, सीतादेवी पुरानो, प्रभावशाली तथा जनतासँंग प्रत्यक्ष रुपमा भिज्ने नेतृ भएकाले र सोही क्षेत्रमा पर्ने औरही गाउँं विकास समितिमा भिषण आगलागी हुँंदा तत्कालिन समयका प्रधानमन्त्री बाबुराम भट्टराईलाई ल्याएर राहत सामाग्री उपलब्ध गराउनमा महत्वपूर्ण भूमिका खेलेका बौद्धिक जमातका रामरिझन यादबबीच कडा प्रतिस्र्पधा देखिएको छ । यसअघिका निर्बाचनमा ८ हजार २९ मत प्राप्त गरेका प्रमोद प्रतिस्र्पधा देखिएपनि हालसम्म त्रिपक्षिय भिडन्त देखिएको छ । 

त्यसैगरी क्षेत्र नम्बर ४ मा तमलोपातर्फ रुपेशकुमार रिपु, मजफो नेपालका तर्फ विन्देश्वर पंजियार, मजफो लोकतान्त्रिकतर्फ शत्रुघनप्रसाद सिंह, सदभावनातर्फ रोहितकुमार पासवान, रामसपातर्फ जयप्रकाश यादब, एमालेबाट रामऔतार यादब, एकीकृत माओवादीबाट रामकुमार यादब र नेकाँंबाट रामचन्द्र यादबले उम्मेदबारको रुपमा आफुलाई मतदाताबीच अघि सारेका छन ।  अघिल्लो निर्बाचनमा मजफो नेपालबाट शत्रुघन साहले एमालेका रामअवतार यादबलाई ३ हजार २ सय ३७ मतअन्तरले हराएका थिए । यसपटक भने रामचन्द्र, रामअवतार र रामकुमारबीच त्रिपक्षिय प्रतिस्र्पधा छ । यो क्षेत्रमा पनि मधेश केन्द्रित दलको अवस्था चौथो नम्बर देखिएको छ । यसअघिको निर्बाचनमा शत्रुघनलाई सघाएका मधेश आन्दोलनका अगुवा कृष्णवहादुर, राहुल यादब र विन्देश्वर पंजियार अहिले आफै विभिन्न दलबाट उम्मेदबार बनेकाले अवस्था फेरिएको छ । शत्रुघन अहिले मजफो लोकतान्त्रिकबाट उम्मेदबारी दिएका छन । 

क्षेत्र नम्बर ५ मा भने तमलोपातर्फ चन्द्रकला साह, मजफो नेपालतर्फ बिष्णुकुमार साह, मजफो लोकतान्त्रिकतर्फ मो. जावेद खाँं, सदभावनातर्फ रोहित महतो, रामसपातर्फ भरतकुमार साह र नेकाँंबाट रामपरीकुमारी यादबले उम्मेदबारी दिएका छन । यो क्षेत्रले राष्ट्रिय राजनीतिमा विशेष महत्व पाएको छ । उक्त क्षेत्रबाट एकीकृत नेकपा माओवादीका तर्फबाट स्वयम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदबारी दिएकाले यो क्षेत्रले अहिले छुट्टै महत्व पाएको छ । यही क्षेत्रबाट स्थानीय रैथाने लिलानाथ श्रेष्ठले नेकपा एमालेबाबाट उम्मेदबादी दिएकाले प्रतिस्र्पधा कडा नै हुने मतदाताहरुको बुझाई छ । लिलानाथ एमालेका पुराना वलिया र प्रभावशाली नेता मानिन्छन । उनी यस अघि जिल्ला विकास समितिको उपसभापतिमा निर्बाचित भएका थिए । क्षेत्र नम्बर ५ को राजनीतिमा लिलानाथको पन्ध्र बर्षभन्दा बढीको लगानी तथा जनतासँंग प्रत्यक्ष सम्बन्ध राख्ने नेता मानिने भएकाले पनि प्रचण्डलाई उक्त क्षेत्रबाट जित हात पार्न त्यति सजिलो छैन । प्रचण्डका लागि जित हासिल गर्न “फलामे च्युरा” चपाईसरह सावित हुने वताइएको छ । प्रचण्डलाई जित पार्न अर्को पनि चुनौती थपिएको छ । मात्रृका यादबले नेतृत्व गरेको नेकपा माओवादीले प्रचण्डलाई मात दिन स्वतन्त्रतर्फ जगत यादबको उम्मेदबारी दिलाएका छन । गएको निर्बाचनमा तत्कालिन समयमा नेकपा माओवादीका उम्मेदबार महेन्द्र पासवानलाई जिताउन उल्लेख्य भूमिका खेलेका तथा सोही समयमा वाईसीएल इन्चार्जसमेत रहेकाले जगतको स्थानीय क्षेत्रमा प्रभाव पनि कम छैन । 

अघिल्लो निर्बाचनमा पासवानले ४ हजार ९ सय २ मत ल्याएर एमालेका रामनाथ साहलाई हराएका थिए । उक्त निर्बाचनमा यो क्षेत्रमा मात्र माओवादीले आफ्नो जित हासिल गरेका थिए । पासवानले यतिखेर एकीकृत माओवादीको समानुपातिक उम्मेदबार छन । विकासका नारा दिएर बौद्धिक जमातको मत, जनमोर्चा र संगठनको मत आउने दाउमा रहेका प्रचण्डसँंग अन्ततः लिलानाथसँंग कडा सम्भावना छ । यो क्षेत्रमा थोरै मतले हातजित हुनसक्ने असनपुरका स्थानीय बुद्धिजीवी प्रकाश साह बताउछन । 

क्षेत्र नम्बर ६ मा तमलोपातर्फ सुरेशकुमार मण्डल, मजफो नेपालतर्फ रामसोगारथ यादब, मजफो लोकतान्त्रिकतर्फ पारोदेवी भिण्डवार, सदभावनातर्फ ओमप्रकाश साह र रामसपातर्फ प्रदिपकुमार मण्डलले उम्मेदबारी दिएका छन । यसमध्ये सुरेशकुमार मण्डल पहिलो मधेश आन्दोलनका अगुवाहरुमध्ये एक हुन । मण्डल तत्कालिन समयमा मजफो नेपालका विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष रुपमा कार्यरत रहेर जिल्लामा भएका सबैप्रकारका आन्दोलनमा अगुवाको रुपमा भुमिका खेलेका थिए । पछि उक्त पार्टीबाट असन्तुष्ट भएर तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका मण्डल यो क्षेत्रमा नयाँं उम्मेदबारको रुपमा प्रभावशाली नेता मानिएका छन । तर जित हासिल पार्न उनको लागि पनि सहज अवस्था छैन । यसअघिको निर्बाचनमा ७ हजार ४ सय ३८ मतअन्तरले एकीकृत माओवादीका फुलगेन नायकलाई पराजित गरेका राजकिशोरको अवस्था पनि सहज छैन । यस क्षेत्रमा नेकाँंबाट डा. गणेश मण्डल, राप्रपाका अशेश्वर यादब र एमाले नेतृ सीताकुमारीले उम्मेदबारी दिएपनि अन्ततः गणेश, अशेश्वर, अमरनाथ तथा एमालेको वागी उम्मेदबार जागेश्वर यादबबीच कडा चार पक्षीय प्रतिस्र्पधा देखिन्छ । 
सिराहा, २८ कात्तिक, २०७०

Comments