- राजेश बर्मा
काठमाडौं : सरकारले चौधरी ग्रुपलाई विवादास्पद 'मोनसान्टो' कम्पनीको बीउ आयात तथा बिक्रीवितरणको अनुमति दिएको छ। कृषि विकास मन्त्रालय मातहतको नेपाल बीउ गुणस्तर निर्धारण केन्द्रले चौधरी ग्रुपअन्तर्गतको सीजी सिड्स् एण्ड फर्टिलाइजर्सलाई अमेरिकास्थित बहुराष्ट्रिय कृषि सामाग्री कम्पनी मोन्सान्टोद्वारा उत्पादित विभिन्न प्रकारका बीउ नेपाल आयात तथा बिक्रीवितरण गर्न अनुमति दिएको हो ।
केन्द्रका प्रमुख डिलाराम भण्डारीले आवश्यक प्रकृया पुरा गरेर बीउ आयात गर्न चौधरी ग्रुपलाई अनुमति दिइएको दावी गरे। 'मोन्सान्टो कम्पनीको बीउ परीक्षण पश्चातमात्र भित्र्याउने अनुमति दिएका हौँ', केन्द्रका प्रमुख डिलाराम भण्डारीले अन्नपूर्णसँग भने, 'मकैको बीउ दुई बर्षसम्म रोपेर उत्पादकत्व बारे गहन अध्ययन पश्चात दर्ता गरेर नै उक्त बीउ भित्र्याउन स्वीकृति दिइएको हो।'
दुई वर्षअघि अमेरिकी सहयोग नियोग (यूएसएड) ले नेपालमा खाद्य सुरक्षा र किसानको आम्दानी बढाउने भन्दै विश्वभर बदनाम मोनसान्टोको बीउ भित्र्याउने तयारी गरेको थियो।
पहिलो चरणमा चितवन र काभ्रेका २० हजार किसालाई मोनसान्टोको बीउ उपलब्ध गराउने र विस्तारै मुलुकभरका जिल्लामा उक्त कार्यक्रम विस्तार गर्ने अभियान युएसएडको थियो। तर जनस्तरबाटै व्यापक विरोध भएपछि सरकारले मोनसान्टोद्वारा उत्पादित बीउ आयात गर्न तत्कालका लागि रोक लगाएको थियो।
युएसएडले पशुपंक्षीलाई आवश्यक दाना बनाउनका लागि अभियान सुरू गर्न लागेको दावी गरेको थियो।
तर अहिले सोही कम्पनीको हाइब्रिड (वर्णशंकर) जातका बीउ आयात गर्ने अनुमति दिएर सरकारले स्थानीय जातको बीउ उत्पादन प्रणाली ध्वस्त पार्ने षडयन्त्र गरेको कृषि अभियन्ताको आरोप छ। कृषि विकास मन्त्रालयकै मिलेमतोमा विवादित मोन्सान्टो कम्पनीका बीउ आयात हुन लागेको उनीहरुको आरोप छ।
कृषि प्राविधिक समेत रहेका विनोद आचार्यको बुझाईमा मोन्सान्टो कम्पनीका बाइब्रिड बीउ पनि नेपाल भित्र्याउनु भनेको कृषि कर्म गर्नेहरुप्रतिको बेइमानी हो। 'उनीहरु बीउमात्र हैन, विषादीपनि उत्पादन गर्छन्। बीउ उत्पादन प्रणालीमा कब्जा जमाएपछि त्यही बीउ नदिई किसानलाई सुखै छैन', उनी भन्छन्, 'अनि बालीमा लाग्ने रोग नियन्त्रण गर्न उनीहरुकै विषादी नहाली हुन्न। हामीलाई परनिर्भर बनाउने र ब्यापार बिस्तार गर्ने उनीहरुको ध्येय हो।'
बीउ आयात तथा बिकीवितरणको अनुमति पाएको चौधरी ग्रप अन्तर्गतको सीजी सिड्स् एण्ड फर्टिलाइजर्सले मकैसहित अन्य जातका तरकारीका बीउ तयार गरेर किसानलाई बेच्ने तयारीमा छ। आफु बीउ बिक्रीका लागि तयार भएको भन्दै चौधरी ग्रुपले गत हप्ता पत्रपत्रिकामा सूचना समेत निकालेको छ।
कृषिमन्त्रालय भन्छ- थाहै छैन
मोन्सान्टो कम्पनीको बीउ बिक्रीको अनुमति दिइएको बारे कृषि विकास मन्त्रालयले भने अनविज्ञता प्रकट गरेको छ। मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. प्रभाकर पाठकले मोनसान्टो बीउ बिक्री अनुमति दिइएको बारे आफुलाई कुनै जानकारी नभएको बताए। 'यो बिषयमा मलाई केही थाहा भएन। बीउ गुणस्तर निर्धारण केन्द्रमै बुझनुस्', उनले प्रतिक्रिया दिए।
किसानको भविष्यसँग खेलबाडः कृषि वैज्ञानिक
![]() |
चौधरी ग्रुपको प्रेस विज्ञप्ति ! हाईब्रिड होस् कि जी यम ओ हामीलाई मोन्सान्टो कम्पनिको आगमन स्वीकार्य छैन ! |
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का एक वरिष्ठ वैज्ञानिकले नार्कले उत्पादन गरेका बीउलाई प्रोत्साहन नगरेर सरकारले मल्टिनेशनल कम्पनीको बीउ भित्र्याएर किसानको भविष्यसँग खेलवाड गरेको प्रतिक्रिया दिए। 'आयातित बीउले सुरूमा राम्रै उत्पादन दिएपनि केही वर्षपछि उत्पादन ठप्प हुन्छ', उनले भने, 'बीउको बजार उनीहरुकै नियन्त्रणमा हुन्छ। हाम्रो बीउले काम गर्न छोड्छ। सबै कुरा थाहा हुँदाहुँदैपनि किन यो निर्णय गरिएको हो, बुझ्न सकिएन।'
उनले भक्तपुर तथा काभ्रेलगायतका स्थानमा यस्तै आयातित बीउका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको बताए। 'भक्तपुरमा मात्रै २७ करोडभन्दा बढी क्षति भएको छ', उनले भने।
मोनसान्टो बीउ प्रयोगबाट सुरूमा उत्पादन बढाउन सकेपनि पछिल्लो समय उत्पादन घट्दै गएकाले छिमेकी मुलुक भारतका किसानले आत्महत्या गरेको विषय भारतीय सञ्चारमाध्यममा ठूलै समाचार बनेको थियो।
भारतमा मोनसान्टो विरूद्धको आन्दोलनका कारण नेपाली अभियानकर्मीले पनि उक्त कम्पनीको वीउ भित्र्याउन नदिन पुन: अभियान थालेका छन।
'यस्ता बीउले माटोको उर्वरा शक्ति समाप्त पार्छ', ति वैज्ञानिक भन्छन्, 'अनि बिस्तारै बीउमा परनिर्भर बनाउँदै लैजान्छ।' मोनसान्टो कम्पनीले बीउको आडमा आफ्ना अन्य उत्पादन, रसायनिक मल तथा किटनाशक बिषादीसमेत किसानलाई भिडाउँछने गरेको अन्तराष्ट्रिय अनुभव रहेको उनी बताउँछन्।
दोष सरकारको
भारतलगायत तेश्रो मुलुकबाट आयात हुने खाद्यान्न तथा तरकारी बालीको बीउ परीक्षणमा सरकार चुक्दै आएको छ। बाहिरी मुलुकबाट बीउ आयात गर्दा एकपटक परीक्षण गरेर स्वीकृति दिएपछि बर्षौँसम्म भित्र्याउन पाइन्छ, पुनः परीक्षण गर्ने चलन छैन।
पछिल्लो समय सरकारले यस्तै प्रकृयाका आधारमा चौधरी सिड्सलाई बीउ आयातअनुमति दिएको नेपाल बीउ गुणस्तर निर्धारण केन्द्रका प्रमुख डिलाराम भण्डारीले स्वीकार गरे। भण्डारीका अनुसार एक पटक दर्ता भइसकेका बीउको जात पुनः अन्य कम्पनीले भित्र्याउदा परीक्षण गरिँदैन।
‘उत्पादित कम्पनीको विवरण खुलाइएको लेवल हेरेर विश्वासको आधारमा पहिले दर्ता भइसकेका बीउ पुन: आयात गर्न सरकारले स्वीकृत दिँदै आएको छ’, भण्डारीले भने।
दर्ता भइसकेका बीउको विवरणबाट आयातकर्ताले झुक्याएर अन्य प्रकारको गुणस्तरहीन बीउ भित्र्याउन सक्ने आधार भएपनि सरकारले चासो देखाउन सकेको छैन।
पछिल्लो समय बाहिरबाट आयात गरिएका यस्तै गुणस्तरहीन धानको बीउका कारण दाना नलाग्दा भक्तपुर तथा काभ्रेका किसान तथा मकैको बोटमा घोघा नलागेर बारा, रौतहट र सर्लाहीका किसानले करोडौं मूल्यबराबरको क्षति बेहोरेका थिए।
केन्द्रका अनुसार मोनसान्टो कम्पनीबाट उत्पादित हाइब्रिड जातका मकैका पाँच प्रकारका बीउ भित्र्याउन सरकारले अनुमति दिएको छ। डेकाल डबल, सुपर ९०० एम, डीकेसी ९०८१, अल राउण्डर र डीकेसी ७०७४ नामका मकैका बीउ भित्र्याउन सरकारले अनुमति दिएको छ।
यस्तै मोनसान्टो कम्पनीकै काउलीको मेघा, बन्दाको जेनिथ, काँक्रोको मालिनी तथा भन्टाको सामली जातलाई केन्द्रले आयात गर्न स्वीकृति दिएको छ।
हाइब्रिड हो, जेनेटिकल्ली मोडिफाइड हैन : चौधरी ग्रुप
आफूहरुले जेनेटिकल्ली मोडिफाइड बीउ बेच्न लागेको भनी सामाजिक सञ्जालहरुमा भएको आलोचनाको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले खण्डन गरेका छन्। ट्विटरमा प्रतिक्रिया दिँदै उनले यी आरोपहरुलाई 'आधारहीन' भनेका छन्।

सिजी सिड्सका अध्यक्ष वसन्त चौधरीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ- मेरो कम्पनीले न विगतमा न वर्तमानमा र न भविष्यमा जेनेटिकली मोडिफाइड बीउ आयात गर्ने वा प्रवर्ध्दन गर्ने काम गर्नेछ।
जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म के हो ?
हाइब्रिड (वर्णशंकर) र जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म (जिएमओ) बीच फरक छ। जेनिटिकली मोडिफिकेसन भनेको जीवको डिएनए (जीन) कणहरू निकाल्नु हो। नयाँ हालेर वा दुई भिन्न प्रकारका डिएनए जोडेर नयाँको विकास गर्नुलाई जेनेटिकल्ली मोडिफिकेशन भनिन्छ। यस्ता कण एउटै जीव वा दुई थरी जीवका हुन सक्छन्।
नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक ज्वाला बज्राचार्य हाइब्रिड बीउ भन्दाभन्दै जिएमओ भित्रन्छ कि भन्ने चिन्ता थपिएको बताउँछिन्। 'हाइब्रिडका नाममा जिएमओ बीउ आउँछ कि भन्ने अहिलेको चिन्ता हुनसक्छ', उनले अन्नपूर्णसँग भनिन्, 'जिएमओले जैविक विविधतामासमेत नास गर्छ।'
बज्राचार्यका अनुसार हाइब्रिड बीउ ल्याउने नाममा जिएमओ बीउ भित्रिएमा सँगसँगै विभिन्न रोगसमेत आउन सक्छन्। 'जहाँसम्म अहिले चर्चामा आएको मोन्सान्टो नामको कम्पनीको कुरा छ, यो जिएमओमा पनि उत्तिकै काम गरिरहेको कम्पनी हो' बज्राचार्य भन्छिन्, 'सरोकारवालाले चिन्ता गर्नु अस्वभाविक हैन। उत्पादन बढाउनुपर्छ तर हाम्रो राष्ट्रिय आवश्यकता र नीति के हुने भन्नेमा राज्यको ध्यान चाहियो।'
बीउविजन ऐन २०४५ ले आयातित हाइब्रिड जातका बीउलाई बिक्रीबितरण गर्न दिने व्यवस्था गरेको छ। तर जेनेटिकली मोडिफाइ (वंशाणुगत गुणमा फेर वदल गरिएका) बीउको आयात उत्पादन तथा बिक्रीबितरणमा प्रतिबन्ध लगाएको छ।
२०७० मंसिर ३०
मोनसान्टोका उत्पादन आयात नगर्न सद्भावनाको माग
मिति : २०७० पुस ३, बुधबार
काठमाडौं : नेपाल सद्भावना पार्टीले अमेरिकी वहुराष्ट्रिय कम्पनी मोनसान्टोद्वारा उत्पादित मकै तथा विभिन्न तरकारीका बीउ र किटनाशक विषादी आयात प्रकृया स्थगित गर्न माग गरेको छ। सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीद्वारा बुधबार जारी विज्ञप्तीमा मोनसान्टोका उत्पादन नेपाल भित्र्याउन रोक नलगाए आन्दोलनमा जाने चेतावनी दिइएको छ।
‘दुईवर्ष अघि सरकारले नै रोक लगाएको कम्पनीका उत्पादन पुनः खुल्ला गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा अध्यक्ष गिरीले भनेकी छन्, ‘मुलुकमा जनप्रतिनिधिमूलक सरकार नभएको अवस्थामा निजी क्षेत्रको संलग्नता र विभागीय निर्णयबाट दूरगामी प्रभाव पर्ने निर्णय किन गरियो, सरकारले छानबीन गरोस्।‘
आयातित बीउ र किटनाशक औषाधि प्रयोगले दीर्घकालमा कृषियोग्य माटो, खाद्य सुरक्षा र बीउ संरक्षण अधिकार डर लाग्दो प्रकारले दुष्प्रभावित हुने सद्भावनाले जनाएको छ। ‘किसानहरु परनिर्भर भई गरिबी र असुरक्षाबाट ग्रसित हुने र खाद्यान्न परनिर्भरता बढ्ने मोन्सान्टो कम्पनीका बीउ, मल र किटनाशक औषधि बिक्रीवितरणको सम्पूर्ण प्रक्रियामा प्रतिबन्ध लगाउन माग गर्छौँ।‘
सरकारले चौधरी ग्रुप अन्तर्गतको सिजी सिड्स एण्ड फर्टिलाइजर्सलाई विवादास्पद मोनसान्टो कम्पनीको बीउ आयात तथा बिक्रीवितरणको अनुमति दिएपछि यसको बिरोध भैरहेको छ।
सीजीले सिड्सले फेरी ढाँटे
सीजिले सातामै वोली फेरी
काठमाडौं, ५ पुस । वहुराष्ट्रिय अमेरिकी कम्पनी मोनसान्टोद्वारा उत्पादित कुनै पनि प्रकारको वीउ आयात गरेर विक्रि बितरण नगर्ने सीजी सिड्स एण्ड फर्टिलाइजर प्राइभेट लिमिटेडले शुक्रबार दावी गरेको छ । सीजीले पछिल्लो समयमा मोनसान्टो कम्पनीकै तरकारीको वीउ आयात गर्न सरकारसँंग स्वीकृतका लागि दौडधुप गरिरहेको अवस्थामा यस्तो प्रतिक्रिया दिएको हो । गत सातामात्रै सीजी सिड्सका प्रतिनिधि मोनसान्टोद्वारा उत्पादित काउलीको मेघा, बन्दाको जेनिथ, काक्रोको मालिनी र भान्टाको सामली नाम गरेको वीउ आयात गर्न बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा धाइरहेका थिए ।
सीजी सिड्सले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर आफु मोनसान्टोको बीउ बिक्रि नगर्ने उदघोष गरेपनि केन्द्रबाट भने सोही कम्पनीको वीउ आयात गर्न लागेको केन्द्रका प्रवक्ता लालप्रसाद आचार्यले जानकारी दिए ।
“मोनसान्टो कम्पनीको कुनै पनि प्रकारको वीउ आयात गरेर हामी बिक्रि वितरण गर्दैनौं,” कम्पनीको प्रवन्ध निर्देशक अविनाश पन्तले भने, “सरकारको अनुमतिमा गत बर्ष उक्त कम्पनीबाट हाइव्रीड जातको मकैको वीउ आयात गरेका थियौं । मोनसान्टोसँंगको हाम्रो सम्बन्ध गत बर्ष नै समाप्त भइसकेको छ ।
उक्त कम्पनीसँंग अब हाम्रो कुनै सम्बन्ध छैन ।” प्रवन्ध निर्देशक पन्तले आफ्नो कम्पनीले जेनेटिकली मोडिफाइइ (वंशाणुगत गुणमा फेर वदल गरिएका) बीउलाई प्रोत्साहन नगरेको तथा भविष्यमा पनि यसप्रकारका बीउ आयात, उत्पादन तथा विक्रि बितरणमा कुनै पनि प्रकारको प्रवद्र्धन नगर्ने दावी गरे । कम्पनीका सञ्चार अधिकृत आरपी मैनालीले गत बर्ष मोनसान्टो कम्पनीले उत्पादन गरेको करिब दुई सय किलो मकैको हाइव्रीड बीउ नेपाल भित्र्याएर बिक्रि वितरण गरेको दावी गरे । तर कुन जातको बीउ आयात गरिएको थियो, त्यो बारेमा भने खुलाउन मानेनन् ।
पन्तले अहिले आफ्नो कम्पनीसँंग अहिले मोनसान्टो कम्पनीबाट उत्पादन गरिएका कुनै पनि प्रकारको वीउ मौज्दात नरहेको पनि दावी गरेका छन । मोनसान्टोद्वारा उत्पादित मकै तथा विभिन्न तरकारीवालीका वीउ बिक्रिका लागि तयार रहेको भन्दै केही दिन अघि मात्रै एक राष्ट्रिय दैनिकमा सूचना नै जारी गरेका थिए । (हेर्नुस तस्वीर)
पन्त भन्छन, “पत्रिकामा आएको सूचना स्टोर किपरको गल्तिका कारण आएको हो । हामीसँंग मोनसान्टोको कुनै पनि प्रकारको बीउ मौज्दात छैन ।” पन्तले करिब एक दिनमै दुईप्रकारको वोली फेरेर नियतवशः सबैलाई ठगेको प्रस्ट हुन्छ । पन्तले वंगलादेशको एनएस सिड्स प्राइभेट लिमिटेडसंग सहकार्य गरेर सोही कम्पनीको प्रत्यक्ष रेखदेखमा नेपालमा गुणस्तरयुक्त बीउ उत्पादन गर्न सुरु गरिएको दावी समेत गरेका छन ।
Some Other Artile
सम्बन्धित लिङ्कहरु
मोन्सान्टोका उत्पादनहरु
अभियानमुखी मकै कार्यक्रमको प्रतिवेदन
बाली विकास कार्यक्रम वार्षिक प्रगति २०६७/६८
A COMPENDIUM OF OUTREACH RELATED ABSTRACTS OF AGRICULTURAL RESEARCH IN NEPAL
विवादित मोनसान्टो कम्पनीका बीउ बेच्न सरकारको अनुमति
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि
मोन्सान्टो किन ?
मोन्सान्टोका उत्पादनहरु
अभियानमुखी मकै कार्यक्रमको प्रतिवेदन
बाली विकास कार्यक्रम वार्षिक प्रगति २०६७/६८
A COMPENDIUM OF OUTREACH RELATED ABSTRACTS OF AGRICULTURAL RESEARCH IN NEPAL
विवादित मोनसान्टो कम्पनीका बीउ बेच्न सरकारको अनुमति
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि
मोन्सान्टो किन ?
Comments
Post a Comment