व्यक्ति गलत कि विज्ञान






  • राजेश बर्मा
हेरोइनसहित एक व्यक्ति प्रहरीको पञ्जामा परे। प्रहरी प्रयोगशालाले पनि परीक्षणबाट उक्त हेरोइन वास्तविक भएको तथ्य अघि सार्दै लागूऔषध कारोबारमा हदैसम्मको सजायको माग गर्दै अभियुक्तमाथि अदालतमा मुद्दा दायर गर्‍यो। तर, प्रहरीको दाबी धेरै टिकेन । अदालतले उक्त हेरोइनलाई पुन: परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठायो। नास्टले बरामद वस्तुमा हेरोइनको परिमाण थोरै र अन्य वस्तु धेरै भेटियो भनेर फरक प्रतिवेदन प्रस्तुत गर्‍यो।
अर्को घटना पनि छ, केन्द्रीय अनुसन्धान ब्युरोले गत २०६८ असार २३ गते काठमाडौं- १६ बालाजुबाट एक थान गैंडाको खागसहित आठजनालाई पक्राउ गर्‍यो। यो घटनामा गुन्डागर्दी, गोलीप्रहारलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको मानिएका चरी अर्थात् दिनेश अधिकारीसहित आठजनालाई पक्राउ गरिएको थियो।
पक्राउ परेकाहरूबाट बरामद गरिएका गैंडाको खाग खुमलटारस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षण गरियो। अन्तत: उक्त खाग नक्कली निस्कियो। पक्राउ परेका सबै धरौटीमा रिहा भए। त्यसघटना पछि पक्राउ गर्न गएको टोलीले सक्कली खाग लुकाएर नक्कली देखाएको भन्दै आरोप ब्युरोमाथि लाग्यो।
झट्ट सुन्दा घटना अपत्यारिलो लाग्न सक्छ। तर, यो वास्तविक घटना हो। 'फरेन्सिक ल फर जस्टिस' अर्थात् न्याय सम्पादनका लागि भौतिक प्रमाणको वैज्ञानिक परीक्षण प्रक्रिया दोषीमाथि कारबाही गराउन तथा निर्दोषलाई कारबाहीबाट जोगाउन अपनाइने अत्याधुनिक तथा अचुक उपाय मानिन्छ। तर, समाधानको अचुक मानिने गरेको यो प्रविधिले हामीकहाँ भने विवाद निम्त्याइरहेको छ।
आश्चर्यको कुरा त के छ भने यस्ता घटना नेपालमा स्वाभाविक बन्न थालेका छन्। सरकारी निकायबाटै हुने वैज्ञानिक परीक्षणका फरकफरक प्रतिवेदन आउन थालेपछि दोषी निर्दोष हुने र निर्दोष दोषी हुने क्रम दोहोरिरहेको छ। आखिर किन यस्तो हुन्छ? परीक्षण गर्ने व्यक्ति गलत वा वैज्ञानिक पद्धति? यसबारे स्पष्ट जवाफ भने पाइँदैन।
प्रतिवेदन बाँझिएको अवस्थामा व्यक्तिवादी घटनासमेत अछूतो रहन सकेको छैन। चितवन शिवनगर- ७ की नीता गुरुङले सोही जिल्लास्थित पटिहानी- ५ का राजीव गुरुङ आफ्नो लोग्ने भएको र आफ्नो कोखबाट जन्मेको छोराको बाबु पनि उनै भएको भनेर चितवनको जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दा जिल्ला अदालतहुँदै हेटौंडाको पुनरावेदनबाट सर्वोच्च अदालतसम्म आइपुग्यो।
न्याय सम्पादनका लागि बच्चा र राजीवको रगतको नमुनाको डीएनए परीक्षणका लागि सर्वोच्चले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सहयोग लियो। प्रयोगशालाले सर्वोच्च अदालतका एक प्रतिनिधिसहितको रोहवरमा राजीव, नीता र बच्चाको डीएनएन परीक्षण पनि गर्‍यो। तर डीएनए प्रतिवेदनमा उक्त बच्चाको बुबा राजीव नभएको पुष्टि भयो।
तर, विधि विज्ञान प्रयोगशालाले दिएको उक्त प्रतिवेदनलाई काट्दै सर्वोच्चले नीताकै दाबीलाई सदर गरेर उनको पक्षमा फैसला सुनायो। गत २०५८ मा सुरु भएको उक्त मुद्दाको किनारा लगाउने क्रममा सर्वोच्चले 'डीएनए प्रतिवेदन अकाट्य प्रमाण नहुने' भन्दै गत २०६७ जेठमा नीता र तिनको सन्तानसँग राजीवको नाता कायम गराउने फैसला दियो। अदालतले आफ्नै कर्मचारीको रोहवरमा गराइएको सरकारी निकायकै डीएनए प्रतिवेदनलाई मान्य नहुने भनेर व्याख्या गरेको थियो।

नेपालमा हालस म न्यास सम्पादनका लागि भौतिक प्रमाणको वैज्ञानिक परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति तथा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गर्दै आएको छ। तीनवटै निकाय अर्थात्, खुमलटारको विधि विज्ञान प्रयोगशाला, प्रहरीको प्रयोगशाला र अदालतबीचको बेमेलले कारण यस्ता प्रतिवेदन नै विवादास्पद बन्दै गएका छन्।
यता लागूऔषधसम्बन्धी प्रहरीको प्रतिवेदनलाई अदालतले स्वीकार नगरेको देखिन्छ। प्रहरी प्रयोगशालाका प्रहरी नायब उपरीक्षक अम्बिकाप्रसाद धिताल भन्छन्, 'जहाँसम्म हिरोइनमा अन्य पदार्थको अवशेषको परिमाणको कुरा छ भने हामी अहिले त्यस्ता अवशेषको परिमाण छुट्टयाउन सकेका छैनौं। प्रतिवेदन बाझिँदै आएको छ अवस्थामा खुमलटारको प्रतिवेदनलाई न्यायालयले वैध मान्दै आएको छ।'
उनका अनुसार निकट समयमै प्रहरीको प्रयोगशालालाई लागूऔषधमा अन्य प्रकारको मिसावटको परिमाणसहित प्रतिवेदन दिन सक्षम बनाइँदैछ।
घटना नियाल्दै जाने हो भने हालसम्म वन्यजन्तु आखेटापहार वस्तुसहित पक्राउ परेको व्यक्ति नक्कली वस्तुको कारोबार गरेको भन्दै धरौटीमा रिहा हुँदै आएका छन्।
बरामद हुने सयौं वस्तुमध्ये केहीमात्र सक्कली फेला पर्ने क्रम बढ्दो छ। यसो किन हुन्छ त? नास्टको विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल भन्छन्, 'हामी कहाँ परीक्षणका लागि अधिकांश वन्यजन्तु आखेटोपहार वस्तु नै नक्कली आउने गर्छन्। परीक्षणका लागि रीतपूर्वक त्यस्ता पदार्थ नआएकाले पनि समस्या सिर्जना भएको हो।'
चरी अर्थात् दिनेशको उक्त प्रकरण विवादास्पद बन्दै गएपछि महान्यायाधिवक्ता कार्यालयको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक रिजालसँग बयानसम्म लिएको थियो। बयानको क्रममा उनले बरामद हुने वन्यजन्तुको विभिन्न अंगको रीतपूर्वक नमुना आफूले प्राप्त गर्न नसकेको बताएका थिए।
सोही बयानको आधारमा अख्तियारले वन प्रशासनलाई बरामद गरिएका त्यस्ता सामग्रीको लम्बाइ, चौडाइ, बरामद वस्तुको विभिन्न प्रकारले खिचिएको तस्बिर तथा भिडियो क्लिप, मुचुल्काको प्रतिलिपि र विस्तृत विवरणसहित सिलबन्दी गरेर विधि विज्ञान प्रयोगशालामा पठाउन निर्देशन दियो।
'घटनास्थलबाट बरामद भएका गैंडाको खाग हामीनिर आइपुग्छ भन्ने कुरामा म विश्वस्त हुन सकेको छैन', रिजाल भन्छन्, 'अहिलेसम्म जे जति परिमाणमा परीक्षणको क्रममा नमुनाहरू प्राप्त भयो तीमध्ये अधिकांश नक्कली फेला परेका छन्।'
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता पिताम्बर अधिकारीले भने आफ्नो निकायले 'चेन अफ कस्टडी' अन्तर्गत रहेर प्राप्त गरेका सबै प्रमाणलाई सुरक्षितसाथ राखेर विशेष निगरानीका साथ प्रयोगशालामा पठाउने गरेको बताउँछन्।
'हामी सक्कली आखेटोपहारसहित व्यक्तिलाई गर्न नै अप्रेसन थाल्दै आएका छौं', प्रवक्ता अधिकारीले भने, 'तर परीक्षणको क्रममा नक्कली निस्कने गरेको छ। यसले हामीलाई पनि थप चुनौती दिँदै आएको छ। यो अवस्थालाई हेर्दा अहिले नक्कली वस्तुलाई सक्कली भनेर बिक्री गर्ने केही गिरोह नै सक्रिय भएका छन्।'
स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तु अपराधको अनुसन्धान गर्ने सबै अधिकार पाउनुपर्ने माग गर्दै वन मन्त्रालयका पदाधिकारीसँग तीनपटक वार्ता गरिसकेको छ। मन्त्रालय प्रशासन यो विषयमा सहमत भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नमानेका कारण यस्तो खालको समस्या सिर्जना हुँदै आएको छ।
ब्युरोले आफूले पक्राउ गरेका व्यक्ति, खाग र मुचुल्का संरक्षित क्षेत्रभित्र निकुञ्जलाई र संरक्षित क्षेत्र बाहिरको हकमा जिल्ला वन कार्यालयलाई बुझाउने गरेको छ। वन्यजन्तु विभागका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार ब्युरोले अधिकार माग गरे पनि कानुनी रूपमा दिन जटिल भएकाले उक्त प्रक्रिया अघि बढ्न सकेको छैन।
उनी भन्छन्, 'कानुनले कुनै पनि निकायले वन्तुजन्तुसम्बन्धी सामग्री बरामद गर्‍यो भने अनुसन्धानको लागि जिल्ला वन कार्यालय वा राष्ट्रिय निकुञ्जमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। बरामद भएको वस्तु सक्कली हो वा नक्कली प्रयोगशालाले परीक्षणपश्चात् निष्कर्ष निकाल्ने गरेको तर परीक्षणबिना नै सञ्चारमाध्यममा सक्कली भनेर आइदिँदा हल्ला बाहिर आएको हो।'
६ वटामात्रै सक्कली
विधि विज्ञान प्रयोगशालाले आफ्नो २७ वर्षे कार्यकालमा एक सय ३५ वटा खाग परीक्षण गरेको छ। जसमध्ये करिब ६ वटामात्रै सक्कली भेटिएको छ। 'बाँकी नक्कली फेला परेको छ', कार्यकारी निर्देशक रिजाल थप्दै भन्छन्। गैंडाको खाग र खुरसम्बन्धी तथ्यांक हेर्दा गत २०६७ चैत २५ देखि यस वर्षको जेठ १ गतेसम्म १० वटा अप्रेसनमा केन्द्रीय अनुसन्धान ब्युरोले आठ थान गैंडाको खाग बरामद गरिएको थियो। तर यसमध्ये सातवटा नक्कली सावित भएका छन्।
'तथ्यांकलाई नियाल्ने हो भने प्रष्ट हुन्छ। पक्राउ परेका खाग कि नक्कली हो कि सक्कली लुकाइएको छ', रिजालले भने, 'म कसैमाथि आरोप लगाउन चाहँदिनँ। सक्कली खाग खाट्दा दुईटा फाइदा हुन्छ। एउटा, बेच्न पाइयो, अर्को कारोबारीलाई उम्काएर छुट्टै पैसा असुल हुने भयो।'
नीता र राजीव प्रकरणमा प्रयोगशालाले पटकपटक पुन: डीएनए परीक्षण गर्न माग गरे पनि अदालतले त्यो अवसर प्रदान नगर्दा यथार्थमा गर्भमा रहन पुगेको प्रयोगशालाको ठहर छ। कार्यकारी निर्देशक रिजाल भन्छन्, 'परीक्षण गर्ने पुन: मौका नपाउँदा अनाहकमा हामी दोषी हुन पुग्यौं। संसारमै काट्न नसक्ने डीएनए प्रतिवेदनलाई प्रमाणको रूपमा मानिएन। यो घटना हाम्रो लागि निक्कै दु:खद रहयो।'
उनी चुनौती दिन्छन्, 'विज्ञानलाई गलत सावित गर्न त वैज्ञानिक आधार नै चाहिन्छ। वैज्ञानिक आधार विना विज्ञानलाई गलत ठहराउनुहुन्न।'
नक्कली आखेटोपहार
ठूलो खालको भैंसी र गोरुको सिंगलाई अत्याधुनिक प्रविधिको सहयोगमा परिमार्जन गरेर गैंडाको खागजस्तु रूप दिइन्छ। कतिपय अवस्थामा सिमेन्ट र फलाम हालेर पनि बनाइन्छ। एक प्रकारको पदार्थ रेजिनलाई पनि फर्मामा हालेर नक्कली खाग बनाउने गिरोह सक्रिय रहेको सरोकारवाला निकायको ठम्याइ छ। यस्ता खागलाई सक्कली भन्दै गिरोहले पाँच लाख रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।
यसैगरी खसीको विभिन्न प्रकारका धुप दलेर कस्तुरीको बिना भनेर पनि बिक्री वितरण हुन्छ। खसीकै नाभीलाई नक्कली बिना बनाएर बिक्री हुन्छ भने खसीकै छालालाई चितुवा र बाघको छालाजस्तो बनाएर पनि बिक्री हुने विधि विज्ञान प्रयोगशालाको ठहर छ।
के हो डीएनए ?
डीअक्सिरिबोन्युक्लिक एसिडको सानो रूपलाई डीएनए भनिन्छ। हाम्रो वंशाणुगत गुण बोक्ने हाम्रो शरीरको कोष केन्द्रहरूमा पाइने क्रोमोजोमहरू यसैबाट बनेका हुन्छन्। डीएनए परीक्षण ठूलठूला र जटिल घटनाहरूको यथार्थ बाहिर ल्याउन गरिन्छ।
केशको केही भाग, छाला, थुक, लुगा वा अन्य वस्तुबाट शरीरबाट निस्केको तरल पदार्थ सुकेको अवस्थामा भए पनि, मुख वा गालाको भित्री भागबाट निस्कने तरल, शरीरको कुनै पनि अंगलाई नमुनाको रूपमा डीएनएअन्तर्गत परीक्षण गर्ने गरिन्छ। यसमा एक जीवको अर्को जीवबीचको स बन्धका बारेमा पनि परीक्षण गरिन्छ।
 २०७० पुस १५, सोमबार

Comments