मोनसान्टोविरुद्ध सर्वोच्चमा मुद्दा दायर

  • राजेश बर्मा
काठमाडौं: खाद्यान्न र तरकारी बालीको बीउ उत्पादन गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनी नसान्टोलगायत अन्य कम्पनीको बीउ आयात तथा बिक्रीमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरिएको छ।

मोनसान्टोलगायत अन्य कम्पनीले उत्पादन गर्ने कुनै पनि बीउ नेपालमा आयात र बिक्रीवितरणसमेत गर्न नदिन माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।
रिटमा मोनसान्टोसहित अन्य कम्पनीद्वारा उत्पादित बीउबिजन एकपटक प्रयोग गरेको जग्गामा पछि अर्को बीउ लगाएर उत्पादन गर्न नसकिने दाबी गरिएको छ। अधिवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि विकास मन्त्रालय, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई विपक्षी बनाएका छन्।
जेनेटिकली मोडिफाइ अर्गानिजम (जीएमओ, वंशाणुगत गुणमा फेरबदल गरिएका) बीउ रोपिएका खेतबाट परागसेचन भएर अन्य स्थानीय जातका बिरुवामा समेत जीएमओको गुण देखिने दाबी गर्दै रिटमा अर्यालले जीएमओ गुण भएको खाद्य पदार्थले मानिस र पशुको स्वास्थ्यमा समेत गम्भीर समस्या आउने उल्लेख गरेका छन्।
भारतमा मोनसान्टोसहित अन्य कम्पनीले उत्पादन गरेका बिउविजन प्रयोग गर्दा उत्पादन नभई किसानले आत्महत्या नै गर्नुपरेको समेत उनले रिटमा उल्लेख गरेका छन्।
'विश्वका ६० भन्दा बढी मुलुकमा मोनसान्टोको उत्पादनमाथि प्रतिबन्ध लागेको अवस्थामा नेपालमा भने जिम्मेवार अधिकारीले विश्व व्यापार संगठनको सदस्य भएको कारण बीउविजन खरिदमा प्रतिबन्ध लगाउन नसकिने भनाइ सार्वजनिक गरेका छन्’, रिटमा अर्यालले उल्लेख गरेका छन्, 'मोनसान्टोलाई अनुमति दिएमा विदेशी कम्पनीको भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्नुका साथै करोडौं रुपैयाँ बीउबिजनमा खर्च हुने तथा बीउमाथिको किसानको अधिकारसमेत समाप्त हुनेछ।’
यसैबीच सरकारले बहुराष्ट्रिय कम्पनी मोनसान्टोद्वारा उत्पादित जीएमओ बीउ नेपालमा आयात तथा बिक्री गर्न प्रतिबन्ध रहेको जानकारी गराएको छ। कृषि विकास मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी मोनसान्टोद्वारा उत्पादित जीएमओ बीउ आयात तथा बिक्रीवितरणमा नेपालले प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ।
मन्त्रालयले कुनै पनि कम्पनीलाई जीएमओ बीउ आयात गरेर बिक्रीवितरण गर्न स्वीकृति नदिएको दाबी गरेको छ।
'हामीले कुनै पनि कम्पनीलाई जीएमओ बीउ आयात गर्त तथा बिक्रीवितरणका लागि स्वीकृति दिएका छैनौं’, पत्रकार सम्मेलमा राष्ट्रिय बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीले भने, 'राष्ट्रिय उत्पादनमा खलल पुर्या्उने बीउ आयातका लागि स्वीकृति दिन सकिँदैन।’
बीउविजन ऐन २०५४ र बीउविजन नियमावली २०६९ ले समेत बहुराष्ट्रिय कम्पनीहरू बाट उत्पादित वर्णसंकर बीउ प्रक्रिया पूरा गरी नेपाल भित्र्याउन पाउने व्यवस्था गरेको छ। हाल नेपालमा आनुवंशिक परिवर्तित विदेशी जात सूचीकृत नगरिएको मन्त्रालयका सचिव जयमुकुन्द खनालले जानकारी दिए।
विदेशबाट आयात भएर बजारमा किक्री भइरहेको बीउको नमुना संकलन गरी परीक्षण गर्दा जीएमओ नेगेटिभ भेटिएको उनको भनाइ छ।
'नेपालमा मोनसान्टो कम्पनीका बीउहरू छिमेकी मुलुक भारतबाट आउँछन्’, पाठकले भने, 'तर भारतमा समेत मोनसान्टोद्वारा उत्पादित बीउ परीक्षणकै क्रममा छ।’ आनुवांशिक परिवर्तित जातको बीउबारेमा बीउ उत्पादक कम्पनीले अनिर्वाय रूपमा घोषणा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताले गर्दा जीएमओ बीउ आउने सम्भावना नभएको खनालले बताए।
हाल नेपालमा प्रचलनमा रहेका ६० बालीका लागि पाँच सय ५६ जातमध्ये दुई सय १५ जात यहीं विकास गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक दिलबहादुर गुरुङले बताए। बाँकी तीन सय ४१ जातको बीउ आयात हुँदै आएको छ। बहुराष्ट्रिय कम्पनीबाट आयातित बीउमध्ये धानका १७, मकैका ३२ र तरकारीका दुई सय ९२ जात रहेको नार्कले जनाएको छ। तीमध्ये मोनसान्टो कम्पनीद्वारा उत्पादित मकैका पाँच र तरकारीका चार जात रहेको बताइएको छ। यी वर्णसंकर बीउ भएको मन्त्रालयले जनाएको छ।
२०७० पुस १४, आइतबार

Comments