राजनीतिले सिकिस्त शिक्षण अस्पताल


  • राजेश बर्मा
दक्ष चिकित्सक उत्पादन र प्रभावकारी उपचारको उद्देश्य लिएको एउटा संस्था राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलका कारण कसरी धराशयी बन्दो रहेछ भन्ने उदाहरण हो, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)।
एकाताका उपचारका लागि गतिलो नाम बनाएको यो संस्था 'स्वास्थ्य राजनीति' कै कारण कति विचरो बनेको छ भने यहाँको प्रशासन स्वच्छ होस् भन्ने कामना गर्दै डा. गोविन्द केसीजस्ता चिकित्सक धर्ना बस्नुपर्छ। र, उनको धर्नाकै बलले नियुक्त असल ठानिएका एकजना चिकित्सक डा. प्रकाश सायमीले राजीनामा दिनुपर्छ।

चार वर्षका लागि गत वर्ष भदौ ३ गते संस्थानको डिनमा नियुक्त डा. सायमीले दुई साताअघि राजीनामा दिए। सायमीले राजीनामा दिनुका पछि 'दबाब झेल्न नसक्नु' प्रमुख कारण मानिएको छ।
भनिन्छ, काठमाडौं नेसनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, पिपुल्स डेन्टल एन्ड मेडिकल कलेज र नेपाल प्रहरीको मेडिकल कलेजलाई संस्थानअन्तर्गतको विद्या परिषद्ले सम्बन्धन दिनुपर्ने राजनीतिक दबाब सायमीले झेल्न सकेनन्। बरु उनी आफैं पन्छने निर्णय गरे। 'चारवटा कलेजलाई सम्बन्धन दिलाउन उच्चस्तरबाटै दबाब आउन थालेपछि उनले उक्त कुरा नमानेर राजीनामा दिएका हुन्', स्रोतले भन्यो।
संस्थानमा सम्बन्धन विवाद पुरानै हो। संस्थानका पूर्वडिन डा. अरुण सायमीले आफ्नो कार्यकालमा चारवटा मेडिकल कलेजलाई सम्बन्धन दिएका कारण उनी अहिलेसम्म विवादित छन्।
भाइ सायमीलाई प्रभावमा पारेर सम्बन्धन दिलाएका सोही समूहले थप चार मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने दबाब झेल्न नसक्दा दाइ प्रकाश सायमी राजीनामा गर्न बाध्य हुनु परेको बताइन्छ। स्रोतका अनुसार एउटा कलेजलाई सम्बन्धन दिलाउन उक्त समूहले पाँच करोड रुपैयाँका दरले २० करोड रुपैयाँ उठाएका थिए। तर, पैसा लिएर सम्बन्धन दिलाउने कार्यमा सायमी तयार देखिएनन्।
स्रोत भन्छ, 'सायमीलाई सम्बन्धनका लागि सहमत गराउन त्रिवि उपकुलपति हीराबहादुर महर्जन, शिक्षामन्त्री माधवप्रसाद पौडेल, प्राध्यापक डा. डीएन शाहसहित संस्थानकै केही उच्च अधिकारीहरू सक्रिय थिए।'
तीनवटा मेडिकल कलेजको सम्बन्धन प्रक्रिया रोकिएपछि पछिल्लो समय प्रहरी मेडिकल कलेजको कुरा अघि सारेर सम्बन्धनको दबाब दिएका थिए। तर, पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोपछि सम्बन्धन कार्य तत्कालका लागि रोकिएको छ।

सायमीले सम्बन्धन दिन अस्वीकार गरेपछि त्रिवि पदाधिकारीआफैं अग्रसर भएका थिए। स्रोत भन्छ, 'संस्थानले संविधानसभा निर्वाचनको एक साताअघि आफैं कार्यदल बनाएर सम्बन्धन प्रक्रियाका लागि कलेजको अनुगमनमा पठाएको थियो।' कुलपति महर्जनले अनुगमन टोलीमा डा. शशी शर्मा, डा. डीएन शाह, डा. कृष्णकुमार वली र डा. करवीरनाथ योगी सहभागी थिए। टोलीका सबै सदस्य संस्थानको संकाय बोर्डका सदस्य छन्।
त्रिविले एकलौटी रूपमा सम्बन्धन दिलाउन प्रक्रिया सुरु गरेपछि संस्थानस बद्ध केही अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यसविरुद्ध उजुरी गरेका थिए। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई भेटेर थप सम्बन्धनले गुणस्तरहीन चिकित्सक उत्पादन हुनुका साथै शिक्षण अस्पतालको सेवा पनि खस्कने र सम्बन्धनका लागि करोडौं रुपैयाँको चलखेल भएको जानकारी गराएका थिए।
कलेजलाई सम्बन्धन दिने विषयमा पछिल्लो समयमा डा. सायमी, उपकुलपति महर्जन र शिक्षामन्त्री पौडेलबीच जुहारी नै चलेको थियो। साउन १ गते भएको शिक्षण अस्पतालको वार्षिकोत्सवलाई स बोधन गर्दै शिक्षामन्त्री पौडेल, उपकुलपति महर्जनलगायतले संस्थानको नीति परिवर्तन गरेर भए पनि प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने दबाब दिएका थिए।
कार्यक्रममा डा. सायमीले प्रस्तावित कलेजले कुनै पनि प्रकारको मापदण्ड पूरा नगरेकाले तथा त्यस्ता कलेजलाई अनुगमन गर्न जनशक्ति र भौतिक पूर्वाधार संस्थानसँग नभएकाले सम्बन्धन दिन नमिल्ने उत्तर दिएका थिए।
डा. सायमीको त्यो अडानपछि उपकुलपति महर्जन र शिक्षामन्त्री पौडेलसँगको सम्बन्ध झन् चिसिएको थियो। सम्बन्ध चिसिँदै गएपछि शिक्षण अस्पतालका अस्थायी साढे सात सय कर्मचारीलाई स्थायी गर्नुपर्ने भन्दै डा. सायमीले त्रिविसमक्ष राखेको प्रस्तावप्रति समेत त्रिविले बेवास्ता गर्न थालेको थियो।
'आफ्नो सम्बन्ध र अडानका कारण अन्य कर्मचारीलाई बेफाइदा हुने देखेपछि यसो हुन नदिन नै सायमीले राजीनामा दिएका हुन्', शिक्षण अस्पतालका एक वरिष्ठ चिकित्सकले भने।
उपकुलपति महर्जन सायमी राजीनामामा आफ्नो संलग्नताको आरोप गलत भएको बताउँछन्। 'प्रक्रिया पुर्याशएरै मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने मेरो धारणा हो, केके हल्ला चल्छ, त्यसको पछि लाग्दिनँ', उनले भने।
सम्बन्धन विवाद नै डिनको राजीनामाको कारण भएकोमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइराला पनि सहमत छन्। 'सम्बन्धन दबाब थेग्न नसकेरै उहाँले छाड्नुभएको हो', कोइरालाले भने।
संस्थानको पुरानो संरचनाअनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिँदा समस्या उत्पन्न हुने उनको भनाइ थियो। हाल नेपालमा २० वटा मेडिकल कलेज सञ्चालनमा छन्। 'भएका मेडिकल कलेजलाई सर्वसाधारणको चाहनाबमोजिम सेवासुविधा र जनशक्ति उत्पादन गर्न नसकेको अवस्थामा थप कलेजलाई सम्बन्धन दिनु दुर्भाग्य हुन्छ', डा. कोइराला भन्छन्, 'सम्बन्धन नै दिने हो भने आवश्यक भौतिक पूर्वाधार तथा मापदण्डका आधारमा राजधानीबाहिरका मेडिकल कलेजलाई दिनुपर्छ।'
डा. सायमीको राजीनामा स्वीकृत नहुँदै अहिले नयाँ डिन नियुक्तिका लागि चलखेल सुरु भएको छ। एक पक्ष भने सायमीले नै डिनका रूपमा निरन्तरता पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् भने अर्को पक्ष भने सायमीमा व्यवस्थापकीय कमजोरी रहेको भन्दै नयाँ डिनको खोजीमा लागेको छ।
सायमी यसअघि शिक्षण अस्पतालकै मनमोहन कार्डियो भास्कुलर थोरासिक सेन्टरका कार्यकारी निर्देशक रहँदा डेढ महिनामै र सर्जरी विभागको विभागीय प्रमुखबाट दुई सातामै राजीनामा दिएका कारण पनि सायमीको विपक्षीलाई बल पुगेको हो।
२०७० पुस ३, बुधबार 

Comments