रोजगार विभागमा 'चिट्ठा' विधि

  • राजेश बर्मा
काठमाडौं, १९ माघ, कार्यसम्पादनमा ढिलासुस्ती हुने र भ्रष्टाचारको अखडा भनेर चर्चामा रहेको वैदेशिक रोजगार विभागलाई तत्काल सुधार गर्न 'चिट्ठा' विधि कार्यान्वयनमा ल्याइने भएको छ। एउटै शाखामा धेरै दिनसम्म एउटै कर्मचारी कार्यरत रहँदा काममा सुस्तता आएको तथा अनियमितता पनि बढेको ठहर गर्दै सरकारले आगामी आइतबारदेखि विभागमा यस्तो विधि लागू गर्न लागेको हो।

विभागलाई चुस्त दुरुस्त तथा गुनासोरहित बनाउन तत्कालै सुधार गर्नुपर्ने सुझाउअनुसार यो विधि (आकस्मिक खटनपटन प्रणाली) कार्यान्वयनमा ल्याउन लागिएको श्रम विभागका महानिर्देशक कृष्णहरि पुष्करले जानकारी दिए। विभागलाई सुधार गर्न गठित कार्यदलको संयोजकसमेत रहेका पुष्करले भने, 'एउटै कर्मचारी धेरै दिनसम्म एकै स्थानमा रहँदा काममा ढिलासुस्ती हुनुका साथै भ्रष्टाचार बढ्ने भएकाले त्यस्ता कार्यमा रोक लगाउन यो विधि आइतबारदेखि कार्यान्वयनमा ल्याइँदैछ।'
उनका अनुसार उक्त दिनदेखि विभागमा काम गर्ने कर्मचारीले पहिलेको विधिअनुसार काम गर्न पाउनेछैनन्। कार्यालय समयमा पुगेका कर्मचारीले सबैभन्दा पहिले एउटा बाकसबाट एउटा चिट्ठा टिप्नुपर्नेछ। यस्ता चिट्ठाले त्यो दिन उक्त कर्मचारीले कुन शाखामा बसेर कस्ता काम गर्न पाउने भनेर निर्धारण गर्नेछ। सोही चिट्ठाले तोकेको शाखामा बसेर ती कर्मचारीले अह्राएको कार्यसम्पादन गर्न पाउनेछन्। 'यसबाहेक कर्मचारीले अन्य काम गर्न पाउने छैनन्', पुष्करले  भने।
घुस नदिने कामदारको अम्तिम स्वीकृतिमा आलटाल गर्ने, महिनौंसम्म एउटा फायल एउटै शाखामा लुकाइराख्ने, समयमा फाइल नभेटिनेजस्ता समस्या समाधान गर्न तथा गतिविधि पारदर्शी बनाउन यो विधि प्रभावकारी हुन सक्ने सुझाउ कार्यदलले गत मंगलबार श्रम तथा रोजगार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा दिइएको हो। 'यो विधि मुलुकमै पहिलोपटक वैदेशिक रोजगार विभागमा कार्यान्वयनमा आउँदैछ', पुष्करले भने। यो विधिका कारण विभागमा घुस खाएर काम गर्ने प्रवृत्ति हट्ने महानिर्देशक पुष्करको विश्वास छ।
कामदारका कागजातसहितको फाइल हराउने गरेको गुनासो हटाउन पनि कार्यदलले कामदारको सबै कागजात कम्प्युटर सर्भरमा राख्ने विधि पनि सुरु गर्दैछ। कार्यदलको सुझाउअनुसार कम्प्युटर सर्भर तयार गरेर त्यसमा 'ड्रप बक्स' राखिनेछ, जहाँ कामदारका सबै कागजात स्क्यान गरेर सुरक्षित राखिनेछ। यस्तो ड्रप बक्सको सहयोगमा कर्मचारीले तत्कालै सेवाग्राहीको कार्यसम्पादन गर्न सक्नेछन्। यसका लागि आधुनिक सुविधासम्पन्न प्रविधिसहितको पुस्तकालय स्थापना गर्ने योजना अघि बढाइएको छ।
यसैगरी श्रम स्वीकृतिलगायतको काम अबदेखि एउटै शाखाको एकै टेबुलमा सम्पन्न गर्ने योजना पनि कार्यान्वयनमा ल्याइँदैछ। यसअनुसार एउटा शाखामा एक शाखा अधिकृत दिएर तिनलाई त्यस दिन आएका सम्पूर्ण कामबकारबाही सम्पन्न गर्ने जिम्मेबारी दिइनेछ। शाखा अधिकृतलाई सघाउन एकजना नायबसुब्बा र एकजना कम्प्युटर अपरेटर राख्ने व्यवस्था गरिएको छ। 'एउटै फाइल धेरै शाखा र धेरै टेबुलमा घुम्ने हुँदा हराउने र चोर्ने प्रवृत्ति भएकाले यो योजना अघि सारिएको हो। यसले गर्दा कम समयमै कार्यसम्पादन गर्न सजिलो हुन्छ', पुष्करले भने।
गत मंसिर २७ गते सरकारले विभागको पुनर्संरचना गर्ने निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनका लागि छुट्टाछुट्टै कार्यालयको व्यवस्था नहुँदासम्म साउदी अरब, मलेसिया, कतार र अन्य मुलुकसम्बन्धी शाखा विभागमै राखेर सञ्चालनमा ल्याउनसमेत कार्यदलले सुझाउ दिएको छ। यो सुझाउ पनि आइतबारदेखि नै कार्यान्वयनमा आउनेछ।
यस्ता कार्यालयहरूबाट अन्तिम श्रम स्वीकृति गर्नेलगायतको काम सम्पादन हुनेछ।
पुन: श्रमस्वीकृति दिने जिम्मेबारी श्रम कार्यालय र हुलाक कार्यालयलाई तत्काल दिन प्रतिवेदनमा सुझाइएको छ। यसैगरी मोबाइलको एसएमएसमार्फत लाइन (क्यु) व्यवस्थापन गर्ने सुझाउ पनि प्रतिवेदनमा उल्लेख छ। विभागमा हुने भीड व्यवस्थापन गर्न शैक्षिक संघसंस्थाबाट स्वयंसेवक तथा प्रशिक्षार्थी परिचालन गर्न पनि कार्यदलले सुझाउ दिएको छ।

Comments