अब डुवान र पानी नभएको स्थानमा पनि धान उत्पादन

  • राजेश बर्मा
काठमाडौं, १४ चैत /
खडेरीको मारका कारण धानबाली भित्र्याउन नसकेका नेपाली किसानले निकटसमयमै जस्तोसुकै खडेरी भएपनि पर्याप्त मात्रामा धान उत्पादन गर्न सक्ने भएका छन्। यति मात्रै होइन। बर्षेनी आउने बाढीका कारण डुवानमा परेर नष्ट हुने धानबालीको दिन पनि गएको छ। किसानले जस्तो सुकै डुबान क्षेत्रमा पनि मनग्गै धान उत्पादन गर्न पनि सक्षम हुनेछन्।



यो उपलब्धता अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान(इरी) र नेपाल कृषि अनुसन्धान परिषद(नार्क) को संयुक्त प्रयासमा किसानले उपभोग गर्न पाउने भएका छन्। ति दुवै निकायले करिब १० बर्षको अनुसन्धान तथा नेपालका बिभिन्न स्थानमा सफल परीक्षण पश्चात सुख्खा सहन सक्ने सुख्खाधान चार, पाँच र सुख्खा तथा डुवान दुवै सहन सक्ने विशेषता भएको सुख्खाधान छ विकास गरेको छ। बरिष्ठ कृषि बैज्ञानिकहरूका अनुसार कृषि क्षेत्रमा यो तीनवटै धानको जातलाई ठूलो उपलब्धता मानिएको छ। ति तीनवटै जातका वीउ प्रयोग गर्न नेपाली किसानले केही महिनामात्र पर्खनुपर्ने हुन्छ।



कारण धानको उत्पादन लिन नसक्ने बाढीका कारण डुवानमा परेर नष्ट हुने र खडेरीका कारण धानको उत्पादन लिन नसक्ने नेपाली किसानहरूले निकट समयमै डुवान तथा खडेरी सहन सक्ने धानको वीउ प्रयोग गर्न पाउने भएका छन्। कृषि विकास मन्त्रालयका सचिब जयमुकुन्द खनालले बुधबार मात्रै तीनवटै जात यसै आर्थिक बर्षमा किसानका लागि सिफारिश गर्न निर्देशन पनि दिइसकेका छन्। ‘सचिबज्युले आगामी तीन महिनाभित्रमा किसानले बीउ पाउने गरी सिफारिश गर्न निर्देशन दिनुभएको छ,’ राष्ट्रिय बीउ बिजन गुण नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीले भने,‘हामी त्यसैको आवश्यक गृहकार्य सुरू गरेका छौं। सम्भवत: आउने धानबालीको मौसममा किसानले यो बीउ किसानहरूले प्रयोग गर्न पाउनेछन्।’




नेपालस्थित इरीका प्रमुख तथा बरिष्ठ बैज्ञानिक भवप्रसाद त्रिपाठीकाअनुसार सुख्खाधान चार नामको जातको बिरूवा रोपेको करिब ४५ दिनसम्म एक थोपा पानी नपरेपनि पर्याप्त मात्रामा उत्पादन दिन सक्षम छ। सुख्खाका कारण कुनै पनि जातको धानबाली नफलेको स्थानमा यो जातले प्रति हेक्टरमा ४ टनसम्म उत्पादन दिन्छ। यो एकसय १८ देखि एकसय २५ दिनमा पाक्छ। सोही विशेषता भएको सुख्खाधान पाँचले भने प्रति हेक्टरमा ४.२ टनसम्म उत्पादन दिन्छ। यस्तै सुख्खाधान ६ ले भने ४५ दिनसम्म सुख्खा सहन सक्ने र १५ दिनसम्म डुबानमा रहन सक्ने क्षमताको छ। हालसम्म डुबानमा परेका धानका कुनै बालिले उत्पादन दिन नसकेको अवस्थामा यो जातले त्यस्तो अबस्था पार गरेर पनि प्रति हेक्टर चार टन उत्पादन दिने राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका धानसम्बन्धी संयोजक सूर्यनारायण साहले बताए।





कृषि बिकास मन्त्रालयकाअनुसार बढी धान उत्पादन हुने तराईको झापा, मोरंग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहठ, बारा, पर्सा, कपिलबस्तु, बाँके, बर्दिया र दाँगमा बर्षेनी डुबान र सुख्खाका कारण धानवाली प्रभावित हुँदै आएको छ। इरीका प्रमुख त्रिपाठीकाअनुसार नेपालमा धान उत्पादन हुने कूल १५ लाख हेक्टरमध्ये करिब ५ लाख हेक्टर सुख्खाबाट हरेक बर्ष प्रभावित भइरहेको छ। यसैगरी करिब डेढलाख हेक्टर जग्गा बर्षेनीको बाढीका कारण डुवानमा पर्ने गरेको छ। जसका कारण बर्षेनी धानको उत्पादनमा ह्रास हुँदै गएको छ। ‘यस्ता बीउको प्रयोगबाट खाद्य सुरक्षामा उल्लेख्य टेवा पुग्ने हाम्रो ठहर छ,’ उनले भने।



मन्त्रालयकाअनुसार चालु आर्थिक बर्षमा १८ हजार सातसय हेक्टरमा डुबान परेर तथा ५० हजार हेक्टरमा सुख्खाका कारण धानको रोपाँई हुन सकेन। यो बर्ष ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको थियो।

Comments