फेरि भत्काइँदै राजधानीका सडक

कालोपत्रेको लगानी बालुवामा पानी


काठमाडौं : विस्तारसँगै कालोपत्रे गरिएका काठमाडौं उपत्यकाका अधिकांश सडक भत्किने भएका छन्। सरकारले योजनाबिना खानेपानी र ढलका पाइप राख्न लागेपछि विस्तारित सडक एक वर्षभित्रै दुईपटक भत्काउनुपर्ने अवस्था आएको हो।

साढे तीन अर्ब रुपैयाँ खर्चेर कालोपत्रे गरिएका सडक मेलम्ची खानेपानीको पाइपलाइन राख्न पहिलोपटक र ढल राख्न दोस्रोपटक भत्काइनेछ। आगामी आर्थिक वर्ष लागेपछि यी सडक भत्काउने तयारी छ। सरकारको दीर्घकालीन योजना नहुनु र सरोकारवाला निकायबीच समन्वय नहुनु यसको मुख्य कारण हो।


काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले मेलम्चीको पानी ल्याउन सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टबाट बल्खुसम्म २७ किलोमिटर र घरघरसम्म पुर्‍याइएका पुराना पाइप फेरेर करिब आठ सय किलोमिटर नयाँ पाइप राख्न लागेको छ।


मेलम्चीको पानी उपत्यकामा भित्र्याउन आवश्यक पर्ने पाइपलाइन र अन्य प्राविधिक काम पीआईडीले गर्दै आएको छ। सरकारले मेलम्चीको पानी दुई वर्षभित्र उपत्यकामा ल्याउने बताउँदै आएको छ।


मेलम्चीको पानीका लागि पाइप राख्न चक्रपथका साथै चक्रपथभित्रका प्रमुख सडक खण्ड थिरबम, कालिका मार्ग, कमलपोखरी-ज्ञानेश्वर-रातोपुल, गौशाला-बानेश्वर-शंखमुल, कालीमाटी-बल्खु, माइतीघर-तीनकुने सडक भत्काइनेछ। यस्तै लैनचौर-महाराजगन्ज-बूढानीलकण्ठ, माइतीघर-भद्रकाली, धुम्बाराही-मन्डिखाटार-गल्फुटार, जडिबुटी-पेप्सी-मनोहरा, सिनामंगल-पुरानो बानेश्वर-मैतीदेवी-सेतोपुल सडक खण्ड पनि भत्किनेछन्।


जय नेपाल सडक, कालिकामोड-डिल्लीबजार-पुतलीसडक, ज्ञानेश्वर-मैतीदेवी सडक खण्ड पनि भत्काउने तयारी छ। पाइप लाइनका लागि चाबहिल सडक, गैह्रीधारा-बालुवाटार, हनुमानस्थान-नयाँ बानेश्वर, बालाजु बाइपास, टेकु-कुलेश्वर, सीतापाइला सडक, पीपलबोट-सुकेधारा सडकखण्ड पनि भत्काउने योजना छ।
सरकारले उपत्यकाभित्र एक सय १७ किलोमिटर आठ सय ३८ मिटर सडकमध्ये ४८ किलोमिटर सात सय ७१ मिटर सडक खण्ड विस्तारपछि कालोपत्रे गरिसकेको छ। उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्याम खरेलका अनुसार आगामी जेठसम्म १८ किलोमिटर ८३ मिटर सडक खण्डमा थप कालोपत्रे गर्ने तयारी छ। खरेलले भने, 'थोरै रकममा एकैपटक योजनाबद्ध रूपमा हुनसक्ने कामका लागि अर्बौं लगानी खेर गइरहेको छ।'


खरेलले सरकारी निकायबीच दीर्घकालीन एकीकृत योजनाबारे छलफल नहुँदा यस्तो अवस्था आएको बताए। 'हालसम्म बनेका सबै सडक दुईपटक भत्किने भए', उनले भने, 'एकैपटक सकिने काम दोहोर्‍याएर गर्नुपरेको छ।'


पीआईडीका सिनियर डिभिजनल इन्जिनियर लीलाप्रसाद ढकालका अनुसार एकीकृत योजनाअन्तर्गत पहिले ढलका पाइप राख्नुपथ्र्यो। त्यसपछि मात्रै खानेपानीका पाइप राखेर विस्तारित सडकमा कालोपत्रे गर्नुपर्ने थियो। उनले खानेपानीको पाइप राख्ने काम सकिएपछि भत्काइएको सडकमा कालोपत्रे गर्ने काम पीआईडीले गर्ने सम्झौता भएको बताए।


खानेपानीको पाइप राखेको ६ महिनादेखि एक वर्षभित्रमा ढलको पाइप राख्न फेरि सडक खन्ने काम सुरु हुन्छ। तीन सय २१ किलोमिटर सडकखण्डमा ढलको पाइप राख्ने तयारी छ। 'ढलको पाइप राख्ने सम्झौता भइसकेकाले खानेपानीको पाइप त्यससँगै राख्नसक्ने अवस्था छैन', ढकालले भने।


बनिनसक्दै धमाधम भत्काइयो
विस्तारित सडक खण्डमा कालोपत्रे गरिनसक्दै भत्काउन थालिएको छ। १५ दिनअघि नारायणगोपाल सडक खण्डमा गरिएको कालोपत्रे खानेपानीको चुहावट रोक्न भन्दै भत्काइएको छ। यसैगरी दुई महिनाअघि कालोपत्रे गरिएको महाराजगन्ज सडकखण्डअन्तर्गत प्रहरी प्रतिष्ठानअगाडि पनि भत्काइएको छ।
एक महिनाअघि कालोपत्रे गरिएको लैनचौर-पानीपोखरी सडकखण्डको १८ ठाउँमा खानेपानी पाइप मर्मतका नाममा भत्काइएको छ। 'कालोपत्रे भएको केही दिनपछि पाइपलाइन चुहावट भएको देखियो', काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता मिलन शाक्यले भने, 'सडक नभत्काई पाइपलाइन मर्मतसुधार गर्न नसकिने भएकाले भत्काउनुपरेको हो।'
२०७१ बैशाख ३, बुधबार

Comments