१० महिने छोराको पेटमा बच्चा भेटियो

  • राजेश बर्मा / सुवास गोतामे
दसमहिने शिशु ऋतिकराज मण्डल आमा रन्जिताको काखमा। यिनै शिशुको पेटको शल्यक्रिया गरी अर्को शिशु निकालिएको हो।काठमाडौं : दस महिने शिशुको पेटमा अर्को शिशु देखिएपछि कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेका छन्। सर्लाही ललेमपुरका बैजु मण्डलकी पत्नी रन्जिताकुमारीको कोखबाट जन्मिएका ऋतिकराज मण्डलको पेट फुलेपछि भिडियो एक्सरे गर्दा अर्को शिशु देखिएको थियो। चिकित्सकका अनुसार यो घटना नेपालमा पहिलोपटक भएको हो।

अस्पतालका वरिष्ठ चिकित्सक तथा बालरोग विशेषज्ञ डा. आरपी चौधरीले दस महिने शिशुको पेटमा शिशु देखेपछि अचम्म लागेको बताए। उनले नै शल्यक्रिया गरेर शिशु निकालेका थिए। उनका अनुसार संसारका पाँच लाख शिशुमध्ये एकमा यस्तो हुन्छ।

पाठेघरमा जुम्ल्याहा शिशुका लागि गएको स्पम (डिम्ब र शुक्रकिटको समष्टिगत रूप) एउटैमा केन्द्रित भएपछि शिशुको पेटमै अर्को शिशु विकास भएको उनले बताए।  छोराले लगातार बान्ता गर्न थालेपछि बैजु दम्पतीले उपचारका लागि काठमाडौं ल्याएका थिए। अस्पतालका चिकित्सकले सुरुमा ट्युमरको आशंका गरेका थिए।

‘एक्सरे गरेर हेर्दा शिशुको पेटको माथिल्लो भागमा ट्युमर देखियो, शल्यक्रिया गर्दा त ट्युमरभित्र अर्को शिशु भेटियो’, चौधरीले भने। ट्युमरले आन्द्राको भागसमेत ओगट्दै गएको थियो। ऋतिकको पेटभित्र रहेको मृत शिशुको तौल तीन सय ग्राम थियो। साढे दुई घन्टा लगाएर गरिएको शल्यक्रियाबाट ऋतिकको पेटभित्र हात, खुट्टा, टाउको र सुँढजस्तो आकारको अर्को मानवाकृति चिकित्सकले निकालेका थिए।

चौधरीका अनुसार सुरुमा रन्जिताले ऋतिकलाई जन्माउँदा पाठेघरको अल्ट्रासाउन्ड गरेको भए यस्तो फेला पर्थ्यो र समयमै उपचारपछि समस्या बल्झिँदैन थियो। रन्जिताको गर्भमा जुम्ल्याहा शिशुको स्पम गएपछि एउटा विकास भएको तर अर्को स्पम विकास भएकै शिशुको पेटमा छिरेपछि यस्तो भएको चौधरीले बताए।

अस्पतालका अनुसार ऋतिकको स्वास्थ्य अहिले सामान्य छ। बेरोजगार बैजु दम्पतीले जीवनमा सोच्दैनसोचेको घटना भएको बताए। ‘जन्मेको तीन महिनादेखि छोराको पेट एकाएक बढ्न थाल्यो, रुनकराउन थालेपछि भारतको सीतामडीस्थित अस्पतालमा पुर्‍यायौं, कलेजोमा ट्युमर बढेको छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि डराएर नेपाल फर्कियौं। मलंगवा अस्पतालमा जचाउँदा काठमाडौं लैजानुस्, यहाँबाट हुँदैन भने। कान्तिमा ल्याउँदा पो थाहा भयो छोराको पेटमा त बच्चा पो रहेछ’, बैजुले भने।

वरिष्ठ बालरोग विशेषज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक गोविन्द ओझाले आमाको गर्भमा दुईवटा स्पम (शुक्रकीट र डिम्बको मिलन) प्रवेश भएपछि जुम्ल्याहा शिशु हुनुपर्नेमा एउटै शिशुमा अर्को स्पम गएर मिसिँदा यस्तो हुने बताए। ‘यो विरलै हुने घटना हो’, उनले भने।

बैजु दम्पतीले आफूहरूसँग भएको पैसा सकिन लागिसककाले सहयोगको याचना समेत गरे। ‘१६ दिन भयो अस्पतालमा बसेको, ६० हजार रुपैयाँ सकियो। अब कसरी खर्च जुटाउने? कतैबाट सहयोग मिले पनि हुन्थ्यो’, बैजुले भने।
 २०७० चैत १५

Comments