एउटै पाइपबाट 'खानेपानी र फोहोर पानी'

  •   राजेश बर्मा
 काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वर्षौंदेखि एउटै पाइपलाइनबाट खानेपानी र फोहोर पानी वितरण गर्दै आएको छ। केयूकेएलअन्तर्गत त्रिपुरेश्वर शाखामार्फत एक दिन बिराएर यस्तो पानी वितरण गरिँदै आएको छ। पिउन अयोग्य प्रमाणित भएको फोहोर पानी र खानेपानी एउटै धारामार्फत भोटेबहाल, त्रिपुरेश्वर, न्युरोड, असनलगायतका क्षेत्रमा उपभोक्ताका घरमा पुगिरहेको छ। शाखाका अनुसार एक दिन त्रिपुरेश्वरमा गाडिएको डिप ट्युबवेलको पिउन अयोग्य पानी र अर्को दिन सुन्दरीजलबाट आएको महांकालस्थित प्रशोधन केन्द्रको खानेपानी वितरण हुँदै आएको हो।

'त्रिपुरेश्वर शाखा र महांकाल प्रशोधन केन्द्रमार्फत उक्त क्षेत्रमा एउटै पाइपलाइनमार्फत फोहोर पानी र खानेपानी वितरण हुँदै आएको छ', त्रिपुरेश्वरस्थित केयूकेएलका शाखा प्रमुख इन्जिनियर सतिशकुमार दत्तले भने, 'त्रिपुरेश्वर शाखामार्फत आएको पानी मानव स्वास्थ्यका लागि उपयुक्त होइन तर पनि वितरण गर्दै आएका छौं। यो पानी लुगा धुनलगायत घरायसी प्रयोजनका लागि हो।'

एउटै धाराबाट दुईखाले पानी आउँदा उपभोक्ता आक्रोशित छन्। भोटेबहालका समीर श्रेष्ठले केयूकेएलले सूचना नदिई एउटै पाइपलाइनबाट फोहोर पानी र खानेपानी वितरण गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको बताए। 'धाराबाट कहिले फोहोर पानी आउँछ, कहिले ठिकैको आउँछ', उनले भने, 'पानीकै कारण धेरैपटक बिरामी भइसकें।'

करिब दुई हजार घरमा त्यस्तो पानी वितरण भइरहेको केयूकेएलका प्रवक्ता मिलन शाक्यले पनि स्वीकारे। 'एक दिन बिराएर लुगा धुन र खानलाई छुट्टाछुट्टै पानी वितरण गर्दै आएका छौं', उनले भने। उपभोक्ताले फोहोर पानी भए पनि उपलब्ध गराउन आग्रह गरेकाले वितरण गर्दै आएको उनको दाबी छ।

केयूकेएलले भक्तपुरको लोकन्थली शाखामार्फत पनि दुईखाले पानी एउटै पाइपलाइनबाट वितरण गरिरहेको छ। लोकन्थलीकी कमला खड्काले धाराबाट कहिले धमिलो र कहिले लेदोयुक्त पानी आउने गरेको बताइन्। 'वर्षौंदेखि फोहोर पानी खान बाध्य छौं', उनले भनिन्, 'कतिपटक बिरामी परियो, त्यसको लेखाजोखा छैन।'

केयुकेएलले सर्वसाधारणको स्वास्थ्यसँग कतिस म फट्याई गरेको छ भने ज्वागलको प्रशोधन केन्द्रको अवस्थाबाट प्रष्ट हुन्छ।  केयुकेएलले आफै 'यो पानी सिधा पिउन योग्य छैन' भनेर सूचना पाटी झुण्डयाएर ललितपुर शाखाअन्तर्गतको ज्वागल प्रशोधन केन्द्रमार्फत थापाथलीस्थित बागमती किनारको सुकु बासी बस्तीका करिब ६० घरपरिबारलाई उक्त गुणस्तरहिन पानी वितरण गर्दैआएको छ। यही पानी ललितपुरको वडा न बर १० र २२ का करिब तीनसयभन्दा बढी घरको धारामा पानी आउछ। करिब अढाई बर्षदेखि उक्त पानी वितरण भइरहँदा पनि सरकार मौन भएर बसेको छ। 

कीर्तिपुरस्थित केयूकेएलको केन्द्रीय प्रयोगशालाले त्यहाँ वितरित पानी पिउन अयोग्य रहेको पुष्टि गरे पनि वितरणमा रोक लगाइएको छैन। उक्त पानीमा अमोनिया, आइरन र मानव स्वास्थ्यका लागि हानिकारक कोलिफर्म देखिएको छ।

केयूकेएलकै रत्नपार्कमा बोरिङ गरिएको पानी पनि कुनै प्रशोधन बिना बागबजार, भोटाहिटी, महाबौद्ध, असन, महाराजगन्ज, न्युरोड, रानीपोखरीलगायतका क्षेत्रमा वितरण हुँदै आएको छ। पानीविज्ञ डा. सुमन शाक्यले केयूकेएलको ९० प्रतिशत पानीका नमुनामा विभिन्न प्रकारका रोगका जीवाणु भेटिएको बताए। यस्तै पानीका कारण झाडापखाला, जन्डिस, टाइफाइड, हैजा, आउँ, ज्वरो र छालाजन्य रोग लाग्छ। सहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी महाशाखाका प्रमुख अवधकिशोर मिश्रले केयूकेएलबाट वितरित पानी पिउँदा आफू धेरैपटक बिरामी परेको बताए।

शहरी विकास मन्त्रालयअन्तर्गतको खानेपानी महाशाखाका प्रमुख अवधकिशोर मिश्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)बाट वितरित पानी खाएर आफै धेरैपटक बिरामी परे। धु बाराही घर भएका उनी आफै पनि एमोनियायुक्त केयुकेएलको पानी खान बाध्य छन्। 'म आफै केयुकेएलको एमोनियायुक्त पानी खान बाध्य छु, त्यस्तो पानी सेवन गरेका कारण कति पटक विरामी पनि परिसकेको छु,'उनी भन्छन् ।


अन्नपूर्ण पोष्ट दैनिकमा  २०७१ वैशाख, ३१  गते पहिलो पृष्टमा प्रकाशित

Comments