'कस्मेटिक्स बिष'

  • राजेश बर्मा
सुन्दर बन्ने चाहना जोकोहीको हुन्छ । विवाह, पार्टी, चाडवाडको समयमा अरुभन्दा अलि बढी नै सुन्दर देखिने चाहना हरेक महिलाको हुन्छ । यसका लागी बजारमा पाइने जस्तोसुकै क्रिम, लिपिस्टिक, र नक्कली गरगहना किन्ने गरेको पाइन्छ । हाल बजारमा सानादेखि केही ठूला कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका सौन्दर्य प्रसाधनको प्रयोगले केही समयको लागि सुन्दर देखिएपनि यसले अन्ततः हाम्रो छालालाई नकारात्मक असर पुरयाइरहेको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । 


बजारमा पाइने यस्ता सामाग्रीमा केही कम्पनीको लोगोसहितका व्राण्डेड सामान हुन्छन् भने केहीले भने चलनचल्तीका नाम प्रयोग गरेपनि सामान नक्कली हुन्छन् । तर यी दुवै खालका उत्पादन मानव शरीरका लागि अस्वस्थ्य मानिन्छ । नेपाल र विभिन्न ठूला मुलुकमा भएका अध्ययनहरुले 'ह्वाइट स्किन क्रिम', 'लिपिस्टिक' र 'नक्कली गरहना' छालाका लागि निकै हानिकारक मानिएको पुष्टि गरिसकेको छ ।

क्रिममा पारो
अहिले बजारमा पाइने ह्वाइट स्किन क्रिम लगाएर आफ्नो अनुहारलाई क्षणिक भएपनि चम्किलो र गोरो बनाउने रहर महिला पुरुष दुवैलाई हुन्छ । यस्ता क्रिमले दीर्घकालिन तथा तत्कालै विभिन्न प्रकारका घातक रोग निम्त्याउने खतरा त्यतिकै हुन्छ । छाला टल्काउने क्रिममा पारो (मर्करी) प्रयोग गरिएको हुन्छ । पारो आफैमा घातक बिष हो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र(सिफेड) ले गरेको अध्ययनअनुसार बजारबाट संकलन गरिएका साना तथा ठुला ब्राण्डेड कम्पनीबाट उत्पादित क्रिममा पारो भेटिएको छ । बजारमा पाइने कुनै पनि क्रिमको प्याकेटमा पारोसम्बन्धी विवरण खुलाइएको भेटिएन । नेपालमा त झन क्रिममा कति परिमाणमा पारो हुनुपर्छ भनेर कुनै मापदण्डसमेत नतोकिएकाले उपभोक्ता जानीनजानी यस्ता क्रिम प्रयोग गर्न बाध्य भइरहेका छन् ।

सिफेडले बजारमा सबैभन्दा बढी बिक्रि हुने बिभिन्न ब्राण्डका सातवटा नमुना संकलन गरेर भारतको दिल्लीस्थित देल्ही टेस्ट हाउसमा परीक्षण गराएको थियो । जसअनुसार सातमध्ये दुईवटा सेभेन इन वन एण्टी एजिङ्ग क्रिम(ओले) र लोट्स हर्बलमा पारोको मात्रा ०.०२५ एमजी/केजिभन्दा कम रहेको भेटियो । यसैगरी सबैभन्दा बढी गार्नियर स्किन नेचुरलमा पारोको मात्रा ०.५२१ एमजी/केजि भेटियो । सबैभन्दा कम भने पुरुषका लागि बिक्रि हुने फेयर एण्ड लब्लीमा ०.०२६ एमजी/केजि रहेको पाइयो ।


गरगहनामा सिसा
सुन र चांदी होइन ।तर, त्यस्तै महंगो गरगहनाजस्तो देखिने नक्कली गरगहनाको अवस्था पनि राम्रो भेटिएन । चोरी हुनबाट पनि जोगिने र सौन्दर्य पनि चम्काउने हुनाले हिजोआज सुन र चांदीको जलप लगाइएका गहनाप्रति धेरैको आकर्षण बढेको पाइन्छ । ग्यारेण्टी भएको र ग्यारेण्टी नभएको यस्ता गरगहनामा सिसा(लिड) को मात्रा भेटिएको छ । सिफेडले राजधानीका केही गहना पसलबाट औठी, हातमा लगाउने बाला, टप, नेक्लेसको नमुना संकलन गरेको थियो । नमुनालाई सरकारी मातहतको नेपाल इन्भ्यारोमेण्ट एण्ड साइन्टिफिक सर्भिस प्रयोगशालामा परीक्षण गर्दा सिसाको मात्रा अत्याधिक रहेको पाइयो ।

सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार परीक्षणका क्रममा कानमा लगाइने टपहरुमा धेरै सिसा भेटिएको थियो । टपमा सातलाख ७५ हजार पांचसय पीपीएम(पार्टस पर मिलियन) को हाराहारीमा सिसा भेटिएको थियो । अमेरिकाले सामान्यतया तीनसय पीपीएमसम्म सिसाको मात्रालाई 'ठिक' भनेको छ । यस्तै औठीमा भने अधिकतम ६१ ह्जार दुई सय पीपीएमसम्म सिसाको मात्रा पाइयो । सबैभन्दा कम भने बालामा ९० पीपीएमको हाराहारीमा मात्रै सिसा भेटिएको उनले बताए । गरगहनामा समेत सिसाको परिमाणबारे उपभोक्तालाई जानकारी गराउने हिसावले कुनै पनि विवरण उल्लेख गरिएको छैन ।


लिपिस्टिकमा पनि सिसा
ओठ चम्काउन लगाइने लिपिस्टिकको अवस्था त झन भयावह नै भेटिएको छ । सिफेडले गरेको अर्को अध्ययनअनुसार लिपिस्टिकमा पनि सिसाको मात्रा अत्याधिक भेटिएको छ । सिसा मिसाइएको लिपिस्टिक अत्यन्त हानिकारक मानिन्छ । राजधानीमा बिक्रि हुने सामान्य मात्रै नभई सबै ब्राण्डेड लिपिस्टिकमा समेत सिसाको औसत मात्रा ९०.१२५ पीपीएम रहेको पाइयो ।

यो अमेरिकी मापदण्डभन्दा नौसय एक गुणा बढी हो । अमेरिकी मापदण्डअनुसार रङ्गमा ०.१ पीपीएमभन्दा बढी सिसा प्रयोग गर्नु भनेको मानव स्वास्थ्यका लागि विभिन्न प्रकारका घातक रोग निम्त्याउनु हो । अन्तर्राष्ट्रियस्तरका म्याक ब्राण्डको ब्लड रेड, लोरियल पेरिस ब्राण्डको वेरी, रेभ्लनको चकलेट, ल्याक्मे स्ट्रवेरी, सिसिडोको ग्लाम साइन, डिलीको पिंक, च्यानलको ब्राउन, मिडाईको लाइट पिंक ब्राण्डका लिपिस्टिकमा सिसाको मात्रा भेटिएको हो ।

अध्ययनअन’सार सबैभन्दा बढी एकसय ४५ पीपीएम म्याक ब्राण्डको ब्लड रेडमा पाइएको छ । यसैगरी सबैभन्दा थोरै लोरियल पेरिस ब्राण्डमा ३० पीपीएम पाइएको छ । रेभ्लन, ल्याक्मे, सिसिडो, डिली, च्यानल, र मिडाईमा सिसाको मात्रा क्रमशः ४०, ५०, एकसय २३, एकसय १६, एकसय एक र एकसय १६ पीपीएम पाइएको जानकारी बैज्ञानिक साहले दिए ।

सिफेडको अध्ययनपछि विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयबीच सौन्दर्य प्रसाधनमा हुनुपर्ने सिसा तथा पारोको आवश्यक मापदण्ड निर्धारण गर्ने बिषयमा नीति बनाउने तयारी भएको छ ।


कुन पदार्थले के गर्छ ?

सिसा
 सिसा मिसाइएको रङ्ग सेवनले रक्तनलीमा पुगेर रातो रक्त कोशिकालाई मार्छ । यसले गर्दा विभिन्न अंग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै जान्छ । अक्सिजनको मात्रा घट्दै गएपछि मानिसको मृत्यु हुने सम्भावना हुन्छ । सिसाले मिर्गौलामा असर पुरयाउनुका साथै छारेरोग पनि निम्त्याउछ । साथै मस्तिष्क र स्नायुप्रणालीमा पनि असर गर्छ । गर्भावस्तामा सिसाको सम्पर्कमा आउदा गर्भको बच्चालाई समेत खतरा हुन्छ । यसवाहेक पेट दुख्ने, तौल घट्ने, कब्जियत, अनिद्रालगायतका समस्या पनि आउन सक्छ ।

पारो
विश्व स्वास्थ्य संगठनकाअनुसार पारोले स्नायुप्रणाली, पाचनप्रणाली, श्वासप्रश्वास प्रणालीसहित मिर्गौला तथा फोक्सोमा असर पुरयाउछ । यसले सुन्ने र हेर्ने शक्तिमा हस ल्याउनुका साथै बच्चाको बौद्धिक तथा शारीरिक विकासमा असर गर्छ । रिसाउने, लजाउने, काम्ने, स्मरण शक्तिसम्बन्धी समस्या, वाकवाकी लाग्ने, रक्तचाप तथा छातीको धडकन बढ्ने, फोक्सोको समस्या, छालामा दाग निस्कने तथा आंखा पाक्ने रोगहरु देखा पर्छ । गर्भावस्थामा पारोको सम्पर्कमा आउंदा बच्चाको शारीरिक विकासमा वाधा हुनुका साथै बौद्धिक विकास र सिक्ने क्षमतामा पनि नकारात्मक प्रभाव गर्छ ।

२८ जेठ २०७१ मा अन्नपूर्ण पोष्टको साप्ताहिक परिसिष्टाङ्ग संगीको कभर स्टोरीको रुपमा प्रकाशित

Comments