रोपाँई : धोका दियो अकाशे पानीले




  • राजेश बर्मा
काठमाडौं : किसानलाई 'अकाशे पानी' ले यो वर्ष पनि धोका दिएको छ। समयमै मनसुन नहुँदा मुलुकभरका अधिकांश जग्गा बाँझै छन्। सतहगत सिँचाइको मुहानसमेत सुकेका छन। पर्याप्त वर्षा नभएका कारण किसानले यो वर्ष पनि समयमा रोपाइँ सम्पन्‍न गर्न सक्ने अवस्थामा छैन।

महँगिदै गएको डिजेल र लोड सेडिङका कारण भूमिगत सिँचाइका पूर्वाधारसमेत अहिले अलपत्र छन्। अधिकांश भूमिगत पूर्वाधार पनि बिग्रेर थन्किएको अवस्था छ। धान रोपाइँका लागि सिँचाइका तीनवटै स्रोत यतिबेला किसानको पक्षमा नहुँदा मानो रोपेर मुरी उब्जाउने उनीहरूको सपना अधुरै रहने चिन्ता बढेको छ।
सामान्यतया जुन १० मा सक्रिय हुने मनसुन यो वर्ष जुन २० देखि मात्र भित्रियो। मनसुन सक्रिय हुन नसक्दा मुलुकभरका किसानले पानीको चर्को अभाव व्यहोरेका छन्। वर्षाका लागि आवश्यक पर्ने पानीको बाफसहितको हावा अहिले बंगालको खाडीतिर अल्मलिएकाले यो बर्ष मनसुनमा ढिलो गरी औसतभन्दा निकै कम वर्षा हुने भविष्यवाणी मौसमविद्ले गरेका छन्। मनसुनी वर्षा नहुँदा आधा असार सकिनै लाग्दा पनि मुलुकभर ८.८ प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको बाली विकास निर्देशनालयले जनाएको छ। कृषि विकास मन्त्रालयका अनुसार गत वर्ष यो अवधिसम्म झन्डै दोब्बर अर्थात् १७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
कृषि विकास मन्त्रालयका अनुसार समयमा पानी नपर्दा मोरङ-सुनसरी, गण्डक, तिनाउ, बागमतीजस्ता सिँचाइ आयोजनामा पनि अहिले पानीको स्तर निकै तल झरेको छ। यस्ता आयोजनाबाट खेतमा पानी पुर्‍याउन अकाशे पानी नै चाहिन्छ। 'अकाशे पानी नपर्दा सिँचाइ आयोजनाबाट समेत किसान लाभान्वित हुन सकेका छैनन्', मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले भने। ठूला आयोजना मानिएका सिक्टा र रानीजमरा-कुलरिया र भेरी-बबई समयमा सम्पन्न नहुँदा किसान झनै मारमा परेका छन्। 'धान रोपाइँका लागि आधारभूत मानिने पानीकै चर्को समस्या छ', राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले भने, 'समयमा अकाशे पानी नपरे यो वर्ष ठूलो खडेरीको सामना गर्नुपर्ने अवस्था आउँदै छ।'
सामान्यतया जुन १० मा सक्रिय हुने मनसुन यो वर्ष जुन २० देखि मात्र भित्रियो। मनसुन सक्रिय हुन नसक्दा मुलुकभरका किसानले पानीको चर्को अभाव व्यहोरेका छन्। वर्षाका लागि आवश्यक पर्ने पानीको बाफसहितको हावा अहिले बंगालको खाडीतिर अल्मलिएकाले यो बर्ष मनसुनमा ढिलो गरी औसतभन्दा निकै कम वर्षा हुने भविष्यवाणी मौसमविद्ले गरेका छन्।
कुल गार्हस्थ उत्पादनमा कृषिको करिब ३५ प्रतिशत योगदान छ। धानले मात्रै करिब २० प्रतिशत योगदान पुर्‍याउँदै आएको छ। नेपालमा करिब १५ लाख हेक्टरमा धानबाली लगाइँदै आएको छ। सरकारले स्वीकृत गरेका ५४ जातका धानबाली किसानले लगाउँदै आएका छन्। कतिपय किसानले आफूखुसी बाहिरबाट आएको धानको बीउ प्रयोग गरेका कारण धान नफलेको समस्या पनि वर्षेनि देखिने गरेको छ। नेपालको कुल खाद्यान्नमा धानले ५० प्रतिशत हिस्सा ओगटेको भए पनि सरकारले सिँचाइ प्रणाली सुधारमा कुनै चासो देखाएको छैन।
करिब ५० वर्षअघि निर्माण भएका अधिकांश सिँचाइ आयोजना अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। सिँचाइ विभागका महानिर्देशक माधव बेलवासेले सबै आयोजनाहरूको अद्यावधिक गर्नुपर्ने बताए। उनका अनुसार कुल सिँचाइ हुन सक्ने क्षेत्रफल १७ लाख ६५ हजार ८ सय ४० हेक्टरमध्ये हालस म १३ हजार ३१ हजार ५ सय २० हेक्टरमा मात्र सिँचाइको पूर्वाधार पुगेको छ।
कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीले कृषि मन्त्रालयअन्तर्गत सिँचाइ नहुँदा समस्या आएको बताए। 'बढी धान, मकै, गहुँ उत्पादन हुने स्थानमा सतह र भूमिगत सिँचाइको पूर्वाधार निर्धारित समयमा तयार हुनुपर्ने हाम्रो ठम्याइ छ', जिसीले भने, 'तर अहिलेसम्मको अवस्था हेर्दा सिँचाइको आयोजनाबाट सन्तुष्ट हुने अवस्था छैन।'
तयार पूर्वाधारमध्ये पनि सतह सिँचाइबाट ५५ प्रतिशतका दरले करिब नौ लाख ७० हजार जग्गामा मात्र सिँचाइ पुगिरहेको छ। 'त्यसबाट वर्षभर करिब ३० प्रतिशतको हाराहारीमा मात्र जग्गा सिँचाइ भइरहेको छ', बेलवासेले भने, 'डिजल र विद्युत्बाट सञ्चालनमा आउने भूमिगत सिँचाइ प्रणाली पनि पूर्ण रूपमा सञ्चालनमा आउन पाएको छैन।'
पानीकै अभावका कारण वर्षेनि सयौं हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुन सकेको छैन। मन्त्रालयका सहसचिव पुलामीका अनुसार पछिल्लो तीन वर्षको अवधिमा करिब साढे तीन लाख हेक्टरमा धान उत्पादन भएन।
गत आर्थिक वर्ष २०६३/०६४ देखि २०६९/०७० सम्म तीन लाख २२ हजार ४ सय ५० हेक्टरमा किसानले धानबाली लगाउन पाएनन्। सामान्यतया एक हेक्टरमा ३.४ मेट्रिक टन धान फ ल्छ। यसरी हेर्दा उक्त तीन आर्थिक वर्षमा करिब १० लाख ९६ हजार तीन सय ३० मेट्रिक टन धान फलेन। नेपाल राष्ट्र ब्यांकको आँकडाअनुसार स्वदेशमा धान उत्पादनमा कमी आउँदा गत आव २०६८/०६९ मा दुई अर्ब ८५ करोड, ०६९/०७० मा सात अर्ब १५ करोड तथा चालू आव ०७०/०७१ को दस महिनामा नौ अर्ब ७५ करोडको चामल आयात भएको छ। मन्त्रालयका अनुसार गत आव २०६९/०७० मा करिब १४ अर्ब ३३ करोड रुपैयाँबराबरको पाँच लाख ३० हजार मेट्रिन टन चामल आयात गरिएको थियो।
सिँचाइ अभावमा बढी धान उत्पादन हुने जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटजस्ता जिल्लाहरूमा पछिल्ला पाँच वर्षदेखि निरन्तर रूपमा धानबाली लाग्न सकेको छैन। धान अभाव भएका कारण ती जिल्ला भारतबाट आयातित चामलमा निर्भर हुँदै गएका छन्। यो वर्ष तराईका ६ जिल्ला र पहाडका २१ जिल्ला खाद्यान्न अपुग हुने सूचीमा दरिएका छन्। नेपालको उपभोग्य खाद्यान्नको बासलातको समीक्षा गर्ने हो भने विगत २५ वर्षमध्ये १४ वर्षमा खाद्यान्‍न अपुग भएको देखिन्छ।



'तीन वर्षमा धानमा आत्मनिर्भर'
काठमाडौं : कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले आगामी तीन वर्षमा धानको उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने दाबी गरेका छन्। नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)द्वारा असार १५ को पूर्वसन्ध्यामा राजधानीमा आयोजित अर्थतन्त्रमा धानको योगदान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।
मन्त्री पराजुलीले मुलुकलाई आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि सिँचाइ सुविधा पुगेका झापादेखि कैलालीसम्मका जिल्लामा मसिनो धान उत्पादन हुने गरी 'धान उत्पादन' अभियान सञ्चालनमा ल्याउन लागेको जानकारी दिए। यसका लागि चालू आर्थिक वर्षमा आठ हजार हेक्टरका लागि तीन हजार मेट्रिक टन बीउसमेत अनुदानमा वितरण गरिएको उनले जानकारी दिए। अभियानअन्तर्गत आगामी आर्थिक वर्षमा साढे चार लाख मेट्रिक टन मसिना जातका धानको बीउ वितरण गरिने जानकारी गराउँदै उनले सिँचाइ, आधुनिकीकरण, कृषि उपकरण र उन्नत जातका बीउका कारण वर्षेनि १३ अर्ब मूल्यबराबरको धान आयात भइरहेको जानकारी दिए। उनले आगामी आर्थिक वर्षमा सरकारले सिँचाइ, कृषि यन्त्र, सुलभ ऋण, बिमा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। कार्यक्रममा धानविज्ञ भोलामानसिंह बस्नेतले धानसम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए।
धुर्मुस र बिनिता कृषि सदभावना दूत
सोही कार्यक्रममा कलाकार सीताराम कट्टेल अर्थात धुर्मुस र नायिका विनिता बराललाई नेपाल कृषि पत्रकार प्रतिष्ठानले कृषि सद्भावना दूत घोषणा गरेको छ। कलाकारिताको माध्यमबाट कृषि क्षेत्रको प्रचार प्रसारमा जुटेको भन्दै प्रतिष्ठानले ती दुवैलाई सदभावना दूत घोषणा गरेको हो।




अन्नपूर्ण पोष्टमा १५ असार, २०७१ मा अर्थतन्त्रको पृष्ठ १ को मुख्य समाचार 

Comments