आलुमा भेटियो शतप्रतिशत विष

स्वदेशी र विदेशी दुवै तरकारीमा बिष

  • राजेश बर्मा
काठमाडौं : दैनिक उपभोग्य बस्तु तरकारी आलुमा शतप्रतिशत घातक बिषादी भेटिएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले दु्रत बिषादी अवशेष विश्लेषण प्रयोगशालाको स्पेक्टो फोटो मिटरको सहयोगमा आलु परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो । कालीमाटी फलफुल तथा तरकारी बजारमा बिक्रि हुंदै आएका आलुलगायतका तरकारीमा निर्देशनालयले नियमित परीक्षण गर्दैआएको छ ।

राजधानीमा बिक्रि बितरण हुने तरकारीमा शतप्रतिशतसम्म घातक बिषादी भेटिएको छ । बिषादीको यो परिमाण स्वदेश तथा विभिन्न मुलुकबाट आयात भएको सबै प्रकारका तरकारीमा भेटिएको हो । यो बिषादी मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ । परीक्षण प्रतिवेदनकाअनुसार तुलनात्मक रुपमा भारतबाट आएका तरकारीभन्दा स्वदेशमै फलेका तरकारीमा बढी परिमाणमा यस्तो बिष भेटिएको छ । 


कालिमाटी तरकारी बजारमा पछिल्लो सातदिनमा गरिएको नियमित परीक्षणको क्रममा ५३ देखि सतप्रतिशतसम्म हरियो तरकारीमा बिभिन्न प्रकारका घातक बिषादीको अवशेषको मात्रा फेला परेको छ । मुख्य गरी कार्वोनेट तथा अग्रेनोफस्फेट अन्तर्गतको बिषादीको अवशेष पाइएको हो । अगे्रनोफस्फेट समूहअन्तर्गत करिब ८० प्रतिशत विभिन्न प्रकारका घातक बिषादीहरु पर्दछ । “तुलनात्मक रुपमा स्वदेशमा फलेका र बाहिरी मुलुकबाट आयात भएर आएका दुवै थरीका तरकारीमा घातक बिषको मात्रा उत्तिकै परिमाणमा भेटिएको छ, कतिपय स्वदेशी उत्पादनमै अत्याधिक मात्रामा भेटिएको छ,” कालिमाटी बजारका अध्यक्ष तथा मन्त्रालयका सहसचिब मोहन चापागाईले भने ।


द्रुत बिषादी अवशेष विश्लेषण इकाईका बरिष्ठ बाली संरक्षण अधिकृत बासुदेव पोखरेलकाअनुसार सातदिनमा आठवटा तरकारीको नमूनामा मापदण्डभन्दा बढी बिषको मात्रा भेटिएको हो । परीक्षणको क्रममा हरियो केरा, बोडी, पालुङ्गो साग, आलु, भान्टा, चीनीया जातको बन्दा, भेडे खुर्सानी, काउली, फर्सिको मुन्टालगायतमा बिष भेटिएको हो । यसमध्ये बाफलबाट आएको बोडी, पनौतीबाट आएको आलु र धादिङ्गबाट आएको भान्टामा सतप्रतिशत बिषादीको मात्रा भेटिएको छ । भारतबाट ल्याइएको आलुमा भने बिषादीको अवशेष ५८ प्रतिशत पाइएको छ । 


सरकारले तरकारीमा ३५ प्रतिशतभन्दा कम परिमाणमा भेटिएको बिषादीको निषेध दरलाई खान योग्य मानेको छ । यसैगरी ३५ देखि ४५ प्रतिशत भेटिदा त्यस्ता तरकारीलाई केही दिन बिक्रिमा रोक लगाउनुपर्ने तथा ४५ प्रतिशतभन्दा बढी पाइएमा पूर्ण रुपमा नष्ट गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

परीक्षणको क्रममा हरियो केरा, बोडी, पालुङ्गो साग, आलु, भान्टा, चीनीया जातको बन्दा, भेडे खुर्सानी, काउली, फर्सिको मुन्टालगायतमा बिष भेटिएको हो ।

बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माकाअनुसार कुनै कुनै तरकारीमा विषादीको निषेध दर (मानव शरीरको रगतमा भएका इन्जाइमलाई सक्रिय हुन बिषादीले रोक्ने दर) अत्याधिक भेटिएको बताए । उनकाअनुसार भक्तपुर, धादिङ्ग, पांचखाल, ठिमी, बाफललगायतका स्थानबाट आएको तरकारीमा पनि अपेक्षाभन्दा बढी बिषादीको मात्रा भेटिएको छ ।


मन्त्रालयले ३६ देखि ४५ प्रतिशतसम्म विषादी भएको तरकारीलाई तीन दिनसम्म चिस्यान केन्द्र(फ्रिज) मा राखेर खान मिल्ने बताएको छ । तरकारी वा फलफूलमा बिषादी भएको शंका लागेमा चारपटकसम्म राम्ररी धुन सल्लाह दिदैं शर्माले सम्भव भएमा मनतातो पानीमा १० मिनेटसम्म तरकारीलाई डुवाएर राख्दा करिब ६० प्रतिशतसम्म यस्ता घातक बिषादी बगेर जाने जानकारी दिए । “त्यस्तै तरकारीको बोक्रा हटाएर पनि घातक बिषादीको प्रभावबाट बच्न सकिन्छ,” उनले भने ।


उनकाअनुसार बिषादीयुक्त तरकारीको उपभोगका कारण क्यान्सर, पक्षाघात, अन्धोपन, कलेजो, टयुमर, गर्भ तुहिने, नपुंसकता, मृगौलालगायतका जटिल रोग लाग्ने प्रवल सम्भावना रहेको निर्देशनालयको ठहर छ । कालिमाटीवाहेक बालाजु, बल्खु, बानेश्वर, टुकुचा, चावहिल, लगनखेल, कलंकी, कोटेश्वर, बनस्थली, सामाखुशीसहित मुलुकभरका २४ बटा तरकारीको थोकबजारसहित दुईसय ४५ वटा संकलन केन्द्रमा अहिले पनि बिषादीसम्बन्धी कुनै परीक्षण हुंदैन । 


यसैबीच मन्त्रालयले मापदण्डभन्दा बढी बिषादी प्रयोग भएको तरकारी तथा फलफुल नष्ट गर्नका लागि सरकारले बिषादी अवशेष दु्रत बिश्लेषण कार्यक्रम सञ्चालन कार्यविधि आइतबार स्वीकृत गरेका कार्यान्वयनमा ल्याएको छ । बिक्रिका लागि विभिन्न बजारमा ल्याइएको तरकारीको बिषादी परीक्षण गर्ने तथा मापदण्डभन्दा बढी बिषादी भेटिएको खण्डमा नष्ट गर्ने व्यवस्था कार्यविधिमा गरिएको सञ्चालन समितिका सदस्य तथा उपभोक्तावादी ज्योति बानियाँंले जानकारी दिए । “स्वीकृत भएर आएको कार्यविधिअनुसार अब थप कडाईका साथ तरकारीको बिषादी परीक्षण गर्ने कामलाई प्रभावकारी बनाउदै छौं, अब श्रोत केन्द्रमै नमूना संकलन गरेर परीक्षण गर्नेछौं ।” 

                          तरकारीमा बिषादीको अवस्था
मिति         आयात स्थान        तरकारी                      बिषादीको मात्रा
असार २०     बाफल             बोडी                         १००  %
असार २१     बाफल                       बोडी                           ९९    %
असार २३     ठिमी                         चाइनिज बन्दा              ९७    %
असार २३     धादिङ्ग                 भान्टा                           १००  %
असार २४     भारत                         आलु                             ५८    %
असार २४     पनौती                       आलु                            १००   %
असार २६     भक्तपुर                       पालुङ्गो साग               ८८     %
असार २९     पाँंचखाल                      बोडी                            ९५      %
असार ३०     चितवन                        हरियो केरा                  ५३      %

श्रोत : द्रुत बिषादी अवशेष विश्लेषण इकाई, कालिमाटी
अन्नपूर्ण पोष्टमा ३२ असार, २०७१ मा अर्थतन्त्रको पहिलो पृष्टको मुख्य समाचारको रुपमा प्रकाशित





Comments