- राजेश बर्मा
त्यसमा पनि काभ्रेबाट काठमाडौं भित्रिने तरकारीमा सबैभन्दा धेरै विषादी भेटिएको छ। प्रतिवेदनअनुसार धेरै तरकारी उत्पादन हुने बारा, चितवन, मकवानपुर, पर्सा, धादिङ, काठमाडौं, भक्तपुर र काभ्रेबाट आउने अधिकांश तरकारीमा विषादी भेटियो। भारतबाट आउने तरकारीमा पनि विषादीको मात्रा उच्च छ।
एक महिनादेखि तरकारी परीक्षण गरिरहेको कालीमाटी तरकारीबजारस्थित द्रुत विषादी अवशेष विश्लेषण एकाइका अनुसार काभ्रेका पाँचखाल र पनौतीमा उत्पादन भएको तरकारीमा तुलनात्मक रूपमा बढी विषादी भेटिएको छ। काभ्रेमा उत्पादित तरकारीका ३८ वटा नमुनामध्ये आठवटामा उच्च परिमाणमा कार्वामेट र अग्रानो फस्फेट विषादी भेटियो।
बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माका अनुसार पाँचखाल र पनौतीमा उत्पादन भएका बोडी, हात्तीसुँडे खुर्सानी, सिमला खुर्सानी, भिन्डी र आलुमा विषादी भेटियो। पाँचखालमा उत्पादित हात्तीसुँडे खुर्सानीका दुईवटा नमुनामा ९५ प्रतिशत, सोही स्थानमा उत्पादित सिमला खुर्सानीमा ९४ प्रतिशत, पनौतीमा उत्पादित आलुका दुईवटा नमुनामा शतप्रतिशत र पाँचखालमा उत्पादित बोडीमा ९८ प्रतिशत विषादी भेटिएको छ।
राजधानीमा बेचिने भान्टा, करेला, अकबरे खुर्सानी, काउली, बोडी, तने बोडी, हात्तीसुँडे खुर्सानी, भिन्डी, आलु, फर्सीको मुन्टा, पालुंगो साग, केरा र आँपमा विषादी पाइएको छ।
भक्तपुरमा उत्पादित २६ वटा तरकारीका नमुनामध्ये हरियो प्याजमा ४६, काँक्रोमा ४९, गाजरमा ५५, चाइनिज बन्दामा ९२ र पालुंगो सागमा ८८ प्रतिशत विषादी भेटियो। यसैगरी भारतबाट ल्याइएका ११ वटा आलुका नमुनामध्ये चारवटामा ९७ प्रतिशतसम्म र दसहरी जातका आँपमा ४७ प्रतिशत विषादी भेटिएको छ।
प्रतिवेदनअनुसार बाराको एक नमुनामध्ये एक, चितवनका आठ नमुनामध्ये एक, मकवानपुरका १३ नमुनामध्ये एक, पर्साका दुई नमुनामध्ये एक, धादिङका ३३ नमुनामध्ये तीन र काठमाडौंका २६ नमुनामध्ये तीनवटा तरकारीमा विषादी भेटिएको छ। कालीमाटी बजारमा वार्षिक काभ्रेबाट २०, धादिङबाट १८, मकवानपुर र चितवनबाट करिब ८ प्रतिशत तरकारी आउने गर्छ।
निर्देशनालयका अनुसार ९५ प्रतिशत किसानले तरकारीमा रासायनिक विषादी प्रयोग गर्दै आएका छन्। बारा, काभ्रे र धादिङका किसानले सबैभन्दा बढी विषादी तरकारीमा हाल्छन्। कुल विषादीको परिमाणमध्ये ८५ प्रतिशत यही तीन जिल्लाका किसानले तरकारीमा प्रयोग गर्छन्। यी तीन जिल्लाका किसानले ६ प्रतिशत प्रतिबन्ध लगाइएको विषादी प्रयोग गर्दै आएको निर्देशनालयका प्रमुख शर्माले बताए। 'किसानले खुला सीमाबाट लुकीछिपी तथा एग्रोभेट पसलबाट सीधै कडा खालका विषादी किनेर प्रयोग गर्दै आएका छन्', उनले भने, 'यसबाट स्वयं किसान पनि उच्च जोखिममा परेका छन्।'
उनका अनुसार ११ प्रतिशत किसानले भने आफ्ना लागि विषादीरहित तरकारी फलाउने गरेका छन्। विज्ञका अनुसार विषादीयुक्त तरकारी खाँदा क्यान्सर, पक्षाघात, अन्धोपन, ट्युमर, गर्भ तुहिने, नपुंसकता, मिर्गौलालगायत जटिल रोग लाग्ने खतरा हुन्छ।
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले तरकारीमा रगतको इन्जाइमलाई सक्रिय हुन विषादीले रोक्ने दर अत्यधिक भेटिएको जानकारी दिए। उनले मन्त्रालयले हालै स्वीकृत गरेको विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम सञ्चालन कार्यविधिअनुसार कडाइका साथ विषादीसम्बन्धी अनुगमन गरिने बताए। उनका अनुसार तरकारीमा शतप्रतिशत विषादी भेटिए स्थानीय प्रशासन ऐनअनुसार नष्ट गरी खाद्य ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिनेछ।
कार्यविधिअनुसार तरकारीमा विषादीको निषेधदर ३५ प्रतिशतसम्म भेटिँदा खानयोग्य हुन्छ। ३५ देखि ४५ प्रतिशतभन्दा बढी भेटिएमा त्यस्ता तरकारी केही दिन चिस्यान केन्द्रमा राखेर मनतातो पानीले १० मिनेटजति पखालेरमात्र खानुपर्छ। विषादीको निषेधदर ४५ प्रतिशतभन्दा बढी भए त्यस्ता तरकारी मानवस्वास्थ्यका लागि हानिकारक मानिन्छ। 'त्यस्ता तरकारी भेटिए तत्काल नष्ट गर्न निर्देशन दिएको छु', सचिव खनालले भने।
यसैबीच उपभोक्ता हित संरक्षण मञ्चले आलुमा अत्यधिक विषादी भेटिए पनि त्यस्ता विषादीयुक्त आलु नष्ट नगरेको भन्दै आपत्ति जनाएको छ। संस्थाका महासचिव ज्योति बानियाँले विषादीयुक्त आलु र अन्य तरकारी तत्काल नष्ट गर्न सरकारसँग माग गरेका छन्।
यस्तो छ बिषादीको परीक्षण नतिजा
जिल्ला कूल नमूना हरियो(< ३५ % ) पहेलो(३५ -४५ %) रातो(>४५ % बढी)
बारा १ ० ० ०
चितवन ८ ७ ० १
मकवानपुर १३ १२ ० १
पर्सा २ १ ० १
धादिंग ३३ २९ १ ३
काठमाडौं २६ २१ २ ३
भक्तपुर २६ २१ १ ४
काभ्रे ३८ ३० ० ८
भारत ११ ५ २ ४
असार, २०७१ को परीक्षण नतिजा
श्रोतः कृषि विकास मन्त्रालय
अन्नपूर्ण पोष्टमा पहिलो पृष्टमा २ साउन, २०७१ मा प्रकाशित
जिल्ला कूल नमूना हरियो(< ३५ % ) पहेलो(३५ -४५ %) रातो(>४५ % बढी)
बारा १ ० ० ०
चितवन ८ ७ ० १
मकवानपुर १३ १२ ० १
पर्सा २ १ ० १
धादिंग ३३ २९ १ ३
काठमाडौं २६ २१ २ ३
भक्तपुर २६ २१ १ ४
काभ्रे ३८ ३० ० ८
भारत ११ ५ २ ४
असार, २०७१ को परीक्षण नतिजा
श्रोतः कृषि विकास मन्त्रालय
अन्नपूर्ण पोष्टमा पहिलो पृष्टमा २ साउन, २०७१ मा प्रकाशित
Comments
Post a Comment