मापदण्ड र 'प्रमाणित बिनाको अर्गानिक' तरकारी

  • राजेश बर्मा
काठमाडौं : सरकारले अर्गानिक तरकारीको मापदण्ड बनाउने भएको छ। राजधानीमा 'अर्गानिक' को नाममा विभिन्‍न स्थानमा तरकारी पसल सञ्‍चालन भइरहे पनि यसका लागि मापदण्ड नहुँदा उपभोक्ता नै अन्योलमा छन्। अहिले विश्वासको भरमा मात्र अर्गानिक तरकारी किनबेच भइरहेको छ। कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेल मापदण्ड तयार गर्न सरकारले सरोकारवाला निकायसँग छलफल सुरु गरेको जानकारी दिए।



डिपार्टमेन्टल स्टोरदेखि ससाना पसलमा समेत 'अर्गानिक' भनेर तरकारी राखिएको हुन्छ। यस्ता तरकारीको मूल्य किलोमा नै ३० देखि ७० रुपैयाँसम्म महँगो पर्छ। 'स्वच्छ र प्रमाणित प्रांगारिक' तरकारी विषादी र रासायनिक मलरहित उत्पादन हो। तर, अहिले यसका लागि आवश्यक मापदण्ड छैन। त्यसैले अर्गानिक भनेर बिक्रीमा राखिएको तरकारी साँच्चिकै अर्गानिक यो या होइन भन्ने उपभोक्तालाई थाहा हुने अवस्था छैन। सरकारी कर्मचारीले समेत व्यवसायीको 'विश्‍वास' को आधारमा यस्तो बजार चल्दै आएको फितलो प्रतिक्रिया दिएका छन्। 'अर्गानिक उत्पादनलाई व्यवस्थित गर्न मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरेको छ', सहप्रवक्ता लुइँटेलले भने, 'चिया, कफी, अदुवाबाहेक अन्य तरकारीको आधिकारिक रूपमा अर्गानिक भनेर प्रमाणीकरण गरिएको छैन।'


अर्गानिक अभियानकर्ता रविकृष्ण जोशी कृषि विकास मन्त्रालयले प्रांगारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्डसम्बन्धी निर्देशिका ल्याए पनि छुट्टै मापदण्ड नल्याएका कारण समस्या आएको बताउँछन्। उनी भन्छन्, 'अर्गानिक भनेर बजारमा बिक्री हुने सबै तरकारीलाई अर्गानिक भन्न मिल्ने अवस्था छैन।'


बजारमा अहिले अर्गानिकको नाममा तरकारी, दूधदेखि मह, मसलादेखि फलफूल, चामल, दाल, कुखुरासम्म बिक्री भइरहेको छ। नेपाली उपभोक्तासँगसँगै विदेशी पाहुना तथा विभिन्न कूटनीतिक नियोगका उच्च अधिकारीले आफ्नो स्वास्थ्यको ख्याल गरेर बढी मूल्य तिर्न तयार भएपछि यो व्यवसाय फस्टाउँदै गएको छ।
मापदण्ड नभएकोले आवश्यक परीक्षण, अनुगमन तथा प्रमाणीकरण नहुँदा व्यवसायीको 'विश्‍वास' कै भरमा बजारमा यस्तो तरकारी बिक्री भइरहेको छ। 


'हामीले कसैलाई पनि हालसम्म अर्गानिक उत्पादन भनेर प्रमाणपत्र दिएका छैनौं', जिल्ला कृषि विकास कार्यालय काठमाडौंका प्रमुख शरदचन्द्र श्रेष्ठले भने, 'नेपालमा बल्ल अर्गानिक अभियानको जग बन्ने काम सुरु भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु हुन्‍न।' बजारमा अर्गानिकको नाममा बिक्री भइरहेका तरकारी अर्गानिक भएको दाबी गरिएको आधारमा बिक्री हुँदै आएको उनको ठहर छ।

अर्गानिक भनेर बिक्रीमा राखिएको तरकारी साँच्चिकै अर्गानिक हो या होइन भन्‍ने उपभोक्तालाई थाहा हुने अवस्था छैन। सरकारी कर्मचारीले समेत व्यवसायीको 'विश्‍वास' को आधारमा यस्तो बजार चल्दै आएको फितलो प्रतिक्रिया दिएका छन्।

उपभोक्तावादी ज्योति बानियाँ उपभोक्ताप्रति सरकार साँच्चै नै इमानदार छ भने पहिले अर्गानिक उत्पादनसम्बन्धी मापदण्ड ल्याउनुपर्ने बताउँछन्। राजधानीका महाराजगन्ज, गैरीधारा, नयाँबानेश्‍वरको मिलन चोक, धापासी, कपन, बौद्ध, सामाखुसीलगायत दर्जनौं स्थानमा अर्गानिक पसल सञ्चालनमा छन्।


दरबारमार्गमा हालै सञ्‍चालनमा आएको अर्गानिक एग्रो बजारका प्रवक्ता बिलबहादुर अधिकारीले मापदण्ड र प्रमाणीकरण गर्ने निकायको विकास नहुँदासम्म बजारमा उपभोक्ता आफैं सचेत हुनुपर्ने बताए। सरकारी पक्षबाट प्रमाणीकरण गर्ने काम सुरु नभए पनि निजी क्षेत्रले भने यो कामको सुरुआत गरिसकेको छ। अर्गानिक सर्टिफिकेसन नेपालका प्रबन्ध निर्देशक गोविन्द शर्माले अर्गानिक भनेर बजारमा बिक्री भइरहेका करिब ९० प्रतिशत तरकारी अर्गानिक नभएको जानकारी दिए। उनले राज्यले गरेको नियमनको आधारमा प्रमाणीकरण निकायबाट प्रमाणित भएपछि मात्र अर्गानिक भन्न मिल्ने बताए। उनले भने, 'अर्गानिक पसलबाट बिक्री भइरहेका सबै प्रकारका तरकारीलाई अर्गानिक भन्न मिल्दैन।' उनका अनुसार अहिलेसम्म जुम्ला, कास्की, पाल्पा, काभ्रेलगायत करिब दुई हजार सात सय किसानले अर्गानिक उत्पादन गर्छु भनेर प्रमाणीकरणको प्रमाणपत्र लिएका छन्। 


किसानले उत्पादन गर्नुभन्दा ३० दिनअघि आवश्यक प्रक्रिया पूरा गरेर आफ्नो जग्गाको प्रमाणीकरण गरिदिन निवेदन दिन्छन्। निवेदनको आधारमा जग्गाको अवस्था र अन्य आवश्यक परीक्षण गरेर प्रमाणीकरण गरिन्छ। यस्तो जग्गाबाट उत्पादित जुनसुकै कृषि उपज अर्गानिक हो भनेर एउटा लोगोसहितको स्टिकर उपलब्ध गराइन्छ। अर्गानिक कृषि उपजको प्याकेटमा यस्तो स्टिकर टाँसिएको हुन्छ। तर, नेपालमा अहिलेसम्म यो व्यवस्था लागू भएको छैन।


अर्गानिक तरकारी उत्पादन प्रक्रिया
रासायनिक मल र विषादी प्रयोग नगरेको कम्तीमा पनि तीन वर्ष भएको जग्गामा विषादी नभएको बीउ प्रयोग भएको, रासायनिक र अर्गानिक जमिनबीचको दूरी कम्तीमा चार मिटर भएको, विषादी र रासायनिक मल प्रयोग नभएको हुनुपर्छ। यसैगरी रासायनिक फर्ममा प्रयोग भएको विषादीयुक्त उपकरण अर्गानिक फर्ममा प्रयोग नभएको, कम्तीमा ९० दिन कुहेको जैविक मल प्रयोग भएको, एउटै किसानले समानान्तर रूपमा अर्गानिक , विषादी तथा रासायनिक मल प्रयोग गरेर उत्पादन नगरेको, ढल र खोलाको पानी प्रयोग नभएको हुनुपर्छ। यी प्रक्रिया पूरा गरी उत्पादनकर्ता किसानले आफ्नो कृषि उपजको सम्पूर्ण तथ्यांक राखेर उत्पादनको पुन: परीक्षण गराएपश्चात् बजारमा आएको तरकारीलाई मात्र अर्गानिक भन्‍न मिल्छ।

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको मुख्य पृष्ठमा ५ असार, २०७१ मा प्रकाशित

Comments