प्याजको मूल्य फेरि बढ्दै

  • राजेश बर्मा
काठमाडौं : नेपाली उपभोक्ता यो वर्ष महँगीको थप मारमा पर्ने भएका छन्। यो वर्ष फेरि महँगोमा प्याज खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ। भारतमै प्याजको मूल्य बढेका कारण नेपाली बजारमा पनि यसको मूल्य उच्च हुन सक्ने व्यापारीले बताएका छन्।




गतवर्ष प्याजको मूल्य एक केजीको एक सय ९० रुपैयाँ पुगेको थियो। व्यापारीका अनुसार चर्को गर्मीका कारण भारतमा उत्पादनमा ह्रास आएपछि प्याजको मूल्यमा वृद्धि भएको छ। भारतीय बजारमा सोमबारसम्म प्रतिकिलो प्याजको मूल्यमा नौ रुपैयाँ बढेको छ। दुई साताअघि १६ रुपैयाँ प्रतिकिलोमा पाइने प्याज व्यापारीले सोमबार २५ रुपैयाँ भारतीय मूल्यमा खरिद गरेर नेपाल भित्र्याएका हुन्। कालीमाटी तरकारी बजारस्थित थोक प्याज व्यापारी नवासीलालप्रसाद साहका अनुसार भारतीय बजारमै प्याजको मूल्यमा उच्च वृद्धि भएकाले नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर पर्नेछ।


उनले भने,'भारतीय बजारमा खरिद मूल्य उच्च भएर नेपाली बजारमा पनि प्याजको मूल्य उच्च बढ्न प्रबल सम्भावना छ।' प्याजमा नेपाल परनिर्भर भएका कारण मागअनुसार शतप्रतिशत भारतीय बजारबाट प्याज आपूर्ति हुँदै आएको छ। अर्का थोक व्यापारी दधिराज उप्रेतीका अनुसार अहिलेकै अवस्थामा भारतीय बजारमा प्याजको मूल्य वृद्धि भइरहने हो भने अबको केही महिनामा नेपाली उपभोक्ताले दुई सय रुपैयाँ प्रतिकिलोसम्म खरिद गर्नुपर्ने अवस्था आउन सक्छ।
प्याजमा नेपाल परनिर्भर भएका कारण शतप्रतिशत भारतीय बजारबाट प्याज आपूर्ति हुँदै आएको छ।
उनका अनुसार भारतको कानपुर, इन्दौर, नासिक, पुणे, गुजरात, कोलकाता, लासौंला गाउँ, गुलियाजस्ता स्थानबाट नेपाली बजारमा प्याज आयात हुँदै आएको छ। 'उत्पादन भएको प्याज बिग्रेर भारतमै अपुग भएको छ', उप्रेतीले भने, 'प्याज कम भएको मौका छोपेर उतैका व्यापारीले चर्को मूल्य बढाएका छन्। हामीले लागतअनुसार नाफा उठाउन स्थानीय बजारमा पनि मूल्य बढाउ नै पर्छ। यसको विकल्प छैन।'


कालीमाटी तरकारी बजारका निर्देशक अर्जुन अर्यालले पनि मूल्यमा वृद्धि हुन सक्ने जानकारी दिएका छन्। शतप्रतिशत भारतकै उत्पादनमा भर पर्दा नेपाली उपभोक्ताले यो वर्ष फेरि महँगीको मार सहनुपर्ने उनले जानकारी दिए। व्यापारीका अनुसार सोमबार मात्रै ४० रुपैयाँ नेपाली प्रतिकिलोका दरले ५६ लाख रुपैयाँबराबरको एक लाख ४० हजार किलो (सात गाडी) प्याज कालीमाटीमा भित्रिएको थियो।


कालीमाटी बजारमा थोक मूल्य ४५ र खुद्रा ४७ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भइरहेको छ। स्वदेशमै प्याज उत्पादनमा वृद्धि गराउने कार्यक्रम नहुँदा बर्सेनि अर्बौं मूल्यबराबरको भारतीय प्याज नेपालमा भित्रिने क्रम जारी छ। प्याजको आयात दरलाई कम गर्न सरकारले गत आर्थिक वर्ष २०६४/६५ देखि लागू गरेको मिसन प्याज कार्यक्रमले पनि उल्लेखनीय योगदान दिन सक्दा गत साउनमा उक्त कार्यक्रम खारेज गरेको थियो।
प्याजको आयात दर प्रतिस्थापना गर्न तराईका १० जिल्लामा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको थियो। 'करिब १७ करोडभन्दा बढी खर्च भए पनि उपलब्धि आशाजनक नदेखिएका कारण उक्त कार्यक्रम बन्द गरिएको थियो', कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले भने।

१८ असार, २०७१ अन्नपूर्ण पोष्टको अर्थतन्त्रमा प्रकाशित

Comments