सुध्रिएन केयूकेएल : उपभोक्ताका धारामा दूषित पानी


  • राजेश बर्मा 
 काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी अभावको बहाना बनाएर उपभोक्तालाई दूषित पानी खुवाउँदै आएको छ।  केयूकेएलले विभिन्न शाखामार्फत अझै एउटै धाराबाट सातामा दुईपटक क्रमश: 'फोहोरपानी' र 'खानेपानी' वितरण गर्दै आएको छ। त्रिपुरेश्वर, लोकन्थली र ज्वागल शाखामार्फत वर्षौंदेखि एउटै पाइपलाइनबाट सातामा एकपटक खानेपानी र अर्कोपटक लुगा धुने भनेर पानी वितरण हुँदै आएको छ। त्रिपुरेश्वर शाखामार्फत भोटेबहाल, त्रिपुरेश्वर, न्युरोड, असनलगायत क्षेत्रका करिब दुई हजार उपभोक्ताको घरमा यसरी खानेपानी वितरण गर्दै आएको छ। 

असनकी सुमित्रा पुडासैनीले एउटै धाराबाट दुई थरीको पानी नदिन बारम्बार ताकेता गर्दा पनि कुनै चासो नदेखाएको जानकारी दिइन्। 'कुन दिन सफा र फोहोर पानी आउँछ भन्ने पूर्वजानकारी नै हुन्न', उनले भनिन्, 'एउटै धाराबाट दुई प्रकारको पानी आउँछ। त्यही पानीका कारण कतिपटक बिरामी परिसक्यौं। तैपनि सरोकारवाला निकायले चासो देखाएनन्।' 

उक्त क्षेत्रमा त्रिपुरेश्वरमा गाडिएको डिप ट्युबवेलको पिउन अयोग्य पानी र अर्को दिन सुन्दरीजलबाट आएको महांकालस्थित प्रशोधन केन्द्रको पानी वितरण हुँदै आएको छ। केयूकेएलका प्रवक्ता मिलन शाक्यले भने, 'मेलम्ची नआउँदासम्म यो समस्या समाधान गर्न कठिन छ।' 

उपभोक्ता अधिकारवादी ज्योति बानियाँले खानेपानीका कारण विराटनगरलगायत अन्य सहरी क्षेत्रमा रोगको महामारी फैलिरहँदासमेत सरकारले सरोकारवाला निकायमाथि कारबाही गर्न नसकेर आफ्नो लाचारीपन व्यक्त गरेको बताए। 

उनले भने, 'उपभोक्तालाई दूषित पानी वितरण गर्नु ठूलो अपराध हो', उनले भने, 'समयमा सरकार नचेतेकै कारण मोरङ, मकवानपुर, पर्सा, बाँके, कैलालीलगायतका जिल्लामा पानीको कारण ठूलो महामारी फैलिएको हो।' यस्तो अवस्था हेर्दाहेर्दै पनि सरकारले एउटै पाइपबाट लुगा धुने र खानेपानी वितरण गरेर रोग निम्त्याइरहेको उनले बताए। उनका अनुसार यसलाई कडाइका साथ नियमन गर्न सहरी विकास मन्त्रालय, खानेपानी संस्थान तथा उपभोक्ता अधिकारवादीसहितको छुट्टै अधिकारसम्पन्न अनुगमन समिति निर्माण गर्नुपर्ने सुझाउ दिए। 

केयूकेएलले भक्तपुरको लोकन्थली शाखामार्फत पनि त्रिपुरेश्वर शाखाजस्तै दुईखाले पानी वितरण गर्दै आएको छ। उता ज्वागलको प्रशोधन केन्द्रको पानी पिउन अयोग्य भए पनि वर्षौंदेखि वितरण हुँदै आएको छ। थापाथलीस्थित वागमती किनारको सुकुमबासी बस्तीका करिब ६० घरपरिवारसहित ललितपुर उपमहानगरपालिका १० र २२ का तीन सयभन्दा बढी घरको धारामा पनि सोही दूषित पानी पठाइन्छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खानेपानी महाशाखाका प्रमुख अवधकिशोर मिश्रले केयूकेएलले दूषित पानी वितरण गर्दै आएको बारेमा आफूलाई जानकारी नभएको दाबी गरे। उनले भने, 'यस विषयमा सरोकारवाला निकायलाई डाकेर म गम्भीर रूपमा बुझ्छु। मलाई यस विषयमा केही जानकारी थिएन।' जानेर कसैलाई दूषित पानी खुवाउने सरकारको नियत नभएको उनले जानकारी दिए।

अन्नपूर्ण पोष्टमा २२ असार, २०७१ पृष्ठ तीनमा प्रकाशित

Comments